इलाम क्षेत्र नं २ मा नेकपा (एमाले) को विरासत कति मजबुत छ भन्ने यो निर्वाचनले पनि पुष्टि गरेको छ। देशभर नयाँ राजनीतिक शक्तिहरूको लहर चलिरहँदा पनि यो क्षेत्रमा एमालेले आफ्नो तीन दशक लामो वर्चस्वलाई जोगाई राखेको छ।
विशेष गरी युवा नेता सुहाङ नेम्बाङले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भेषराज आचार्यलाई ७ हजार ७ सय ७६ को फराकिलो मतान्तरले पराजित गर्दै आफ्नो पकड प्रमाणित गरेका हुन्।
३६ वर्षे नेम्बाङले २२ हजार ४२६ मत प्राप्त गर्दा ६१ वर्षे आचार्यले १४ हजार ६५० मतमा चित बुझाउनु पर्यो।
यो क्षेत्रमा अर्को विषय भनेको श्रम संस्कृति पार्टीका सुदीप राईको उदय हो। जसले १४ हजार ४०० मत ल्याएर कांग्रेसलाई कडा टक्कर दिए।
यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका अन्य दलहरूले यस क्षेत्रमा एमालेको ’लालकिल्ला’ तोड्न सकेनन्।
२०५६ सालदेखि सुवासचन्द्र नेम्बाङले जोगाउँदै आएको यो विरासतलाई उनका छोरा सुहाङले २०८१ को उपनिर्वाचन र अहिलेको निर्वाचन दुवैमा निरन्तरता दिए।
सुहाङको यो जितको मुख्य श्रेय उनले छोटो समयमै संसदमा इलामका समस्याहरू प्रखर रूपमा उठाउनु र हालैको ठूलो प्राकृतिक विपद्का बेला पीडितको घरदैलोमा पुगेर व्यक्तिगत रूपमा राहत वितरण गर्नुलाई लिइएको छ। अधिवक्तासमेत रहेका सुहाङले युवा जोश र जनसेवाको भावलाई सँगै लैजाँदा मतदातामाझ ’प्रिय’ बनेको देखिन्छ।
इलाम–२ मा एमालेको विजय यात्रा ऐतिहासिक छ। २०५६ सालमा सुवासचन्द्र नेम्बाङद्वारा केबी गुरुङ पराजित भएका थिए।
२०६४ र २०७० सालमा संविधानसभा निर्वाचनमा पनि नेम्बाङकै जित भयो। सङ्घीयता आएपछि पनि २०७४ र २०७९ सालमा भूगोल परिवर्तन र सङ्घीयतापछि पनि यो क्षेत्रमा नेम्बाङकै वर्चस्व रहेको थियो।
२०८१ (उपनिर्वाचन)मा एमालेले उनका छोरा सुहाङ नेम्बाङलाई उपनिर्वाचनमा उम्मेदवार बनायो। उपनिर्वाचनमा समेत राम्रो मत ल्याएका सुहाङ फागुन २१ म सम्पन्न भएको निर्वाचनबाट समेत निर्वाचित हुँदै अर्को एउटा इतिहास बनाएका छन्।
Shares

प्रतिक्रिया