नेकपा एमाले र नेपाली कांग्रेसले चुनाव जितिरहेको खोटाङमा यसपटक नयाँ पार्टीले इतिहास रचेको छ।
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका महासचिवसमेत रहेका २९ वर्षीय आरेन राईले नेकपा एमालेका उम्मेदवार देवविक्रम राईलाई ३ हजार ८९८ मतले पछि पार्दै पहिलोपटक संसद् यात्रा तय गरेका हुन्।
केपिलासगढी गाउँपालिका-१, फेदीस्थित सुङ्देका आरेन पहिचानको आन्दोलनबाट राजनीतिमा उदाएका व्यक्ति हुन्।
सानै उमेरमा राजनीति र व्यवसाय दुवै क्षेत्रमा हात हालेका राई पहिलोपालिमै परम्परागत राजनीतिक शक्तिलाई पछार्दै केन्द्रीय संसद्मा पुग्न सफल भए।
आरेनको सक्रिय राजनीतिक यात्रा २०७० सालमा सुरु भएको देखिन्छ।
उनले सुरुवाती चरणमा ‘राष्ट्रवादी केन्द्र नेपाल’ नामक संस्था दर्ता गरेर बेरोजगार युवाहरूलाई संगठित अभियान चलाएका थिए।
उनको मुख्य एजेन्डा शैक्षिक प्रमाणपत्रको मूल्यांकन हुनुपर्ने, उत्पादनमुखी शिक्षा लागु गरिनुपर्ने र स्वदेशी लगानीलाई प्राथमिकता दिएर बन्द उद्योग खोलिनुपर्ने थियो।
२०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा उनलाई मधेसी दलका तर्फबाट टिकटको प्रस्ताव आए पनि उनले इच्छा गरेनन्।
त्यसपछि झन्डै साढे ६ वर्ष उनले पहिचानको आन्दोलनमा बिताए। पहिचानको मुद्दालाई जातीय घेराभित्र सीमित राख्न नहुने उनको तर्क छ।
उनी भन्छन्, ‘पहिचानवादी हुनु भनेको पशुपतिनाथ, लुम्बिनी र पाथीभराजस्ता सबै धर्म र संस्कृतिको रक्षा गर्नु हो।’
नेपालको मौलिक संस्कृति र अर्ग्यानिक उत्पादनलाई पुँजीकरण गरेर डलर आर्जन गर्नुपर्छ भन्ने योजना उनले अघि सारेका छन्।
उनी मंगोल नेसनल अर्गनाइजेसन पार्टीका सर्वोच्चसभा सदस्य एवं आर्थिक विभाग प्रमुख पद छाडेर श्रम संस्कृति पार्टी प्रवेश गरेका थिए।
राई पहिचानवादी नेताका रूपमा समेत परिचित छन्।
सानै उमेरदेखि विभिन्न संघसंस्थामा आबद्ध भएर सामाजिक काम गर्दै दलीय राजनीतिमा आएका राई अब प्रतिनिधिसभामा गएर भुइँमान्छेका मुद्दालाई नीति निर्माणका लागि आवाज उठाउन चाहन्छन्।
सामाजिक अभियानसँगै राई सानै उमेरदेखि व्यावसायिक क्षेत्रमा पनि क्रियाशील छन्।
कक्षा ८ पढ्दादेखि नै उनले घरको किराना पसल सम्हाल्न थालेका थिए। काठमाडौँ छिरेपछि केही समय होटल र रेस्टुरेन्ट व्यवसाय गरे।
पछि अरूकै कम्पनीमार्फत ठेक्कापट्टाको काममा पनि हात हाले। व्यवसायका क्रममा धेरै हन्डर र ठक्कर खाएको अनुभव उनले सँगालेका छन्।
स्नातक तहमा अध्ययनरत राईले एमाले र कांग्रेसजस्ता पुराना दलको दबदबा रहेको खोटाङमा हासिल गरेको जितलाई ऐतिहासिक सुरुवात मानिएको छ।
२९ वर्षको उमेरमा प्राप्त यो भारी जिम्मेवारीलाई उनले जनताको विश्वासका रूपमा लिएका छन्।
कुनै पनि आग्रह वा पूर्वाग्रह नराखी निष्पक्ष ढंगले खोटाङवासीको हितमा काम गर्ने अठोट उनले व्यक्त गरेका छन्।
‘जित्दा वा हार्दा मलाई व्यक्तिगत लोभलालच केही छैन,’ उनले भने, ‘अबको ८–१० वर्षमा देशको नेतृत्व लिने गरी इमानदार भएर काम गर्नेछु।’
Shares

प्रतिक्रिया