बाह्य द्वन्द्व र आन्तरिक अस्थिरताका कारण आर्थिक क्षेत्र निराश बनेको छ। आइतबार विराटनगरमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघ कोसीको आठौँ प्रदेश सभामा व्यवसायीहरूले अहिले देशमा लगानीको वातावरण नबनेको बताए।
लगानी गर्न उत्साहित लगानीकर्ताहरू समेत पछिल्लो घटनाक्रमपछि पछि हटेको उनीहरूको भनाई छ। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै यस क्षेत्रमाथि हुने कुनै पनि प्रकारका प्रहारले समग्र मुलुकको आर्थिक भविष्य संकटमा पर्ने बताए।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले विगत तीन वर्षको आफ्नो कार्यकाल चुनौती र सिकाइको महत्त्वपूर्ण रहेको उल्लेख गरे।
उनले २०७९ मा नेतृत्व सम्हाल्दा देशको अर्थतन्त्र निकै असहज अवस्थामा रहेको स्मरण गर्दै कठिन परिस्थितिमा पनि निजी क्षेत्रमा आशा जगाउने काम गरिएको दाबी गरे। सम्बोधनका क्रममा अध्यक्ष राउतले पछिल्लो समय विकसित अन्तर्राष्ट्रिय र आन्तरिक परिस्थितिका कारण अर्थतन्त्रमा थप अन्यौलता थपिएको प्रति गम्भीर चासो व्यक्त गरे।
अमेरिका र इरानबिच बढ्दो द्वन्द्वले विश्व बजारमा तेलको आपूर्ति प्रभावित भई महँगी बढ्ने र त्यसको प्रत्यक्ष असर नेपाल जस्तो आयातमुखी अर्थतन्त्रमा पर्ने उनको विश्लेषण थियो । त्यस्तै, नेपालको अर्थतन्त्र विप्रेषणमा आधारित रहेको सन्दर्भमा मध्यपूर्वको अस्थिरताले रोजगारी र आम्दानी दुवै सङ्कुचित हुने जोखिम रहेको भन्दै उनले अब देशभित्रै उत्पादन र रोजगारीका अवसर सिर्जना गर्न ढिला गर्न नहुनेमा जोड दिए।
अध्यक्ष राउतले गत भदौमा भएको ‘जेन्जी’ आन्दोलनका क्रममा निजी क्षेत्रका व्यापारिक प्रतिष्ठान र होटलहरूमाथि भएको तोडफोड र आगजनीलाई निजी क्षेत्रको आत्मविश्वासमाथि लागेको गहिरो चोटका रूपमा चित्रण गरे। राज्यका नियामक निकायहरूको अक्षमताको भारी निजी लगानीकर्ताले बोक्न नहुने भन्दै उनले निजी क्षेत्रलाई हतोत्साहित बनाउँदा युवाहरू बिदेसिने र अर्थतन्त्र थप कमजोर हुने बताए।
यद्यपि, नयाँ निर्वाचन पछि बनेको सुविधाजनक बहुमतको सरकार र हालैका नीतिगत सुधारका प्रयासहरूले लगानीमैत्री वातावरण निर्माण हुनेमा केही आशा समेत व्यक्त गरे।
आफ्नो कार्यकालमा कोसी प्रदेशको आर्थिक पार्श्वचित्र प्रकाशन, लगानी सम्मेलन र डिजिटल अर्थतन्त्रको सुरुवात जस्ता महत्त्वपूर्ण काम भएको जानकारी दिँदै राउतले महासङ्घको आफ्नै भवन निर्माण कार्यलाई आगामी कार्यकालभित्रै सम्पन्न गर्ने लक्ष्य राखेको बताए।
कोसी प्रदेशमा चिया, अदुवा, अलैँची, जलविद्युत र पर्यटन जस्ता तुलनात्मक लाभका क्षेत्रमा अपार सम्भावना रहेको उल्लेख गर्दै उनले सरकार र निजी क्षेत्र बिच सशक्त पुलको भूमिका खेल्न महासंघ सधैँ तयार रहेको स्पष्ट पारे। अबको मुख्य आवश्यकता पारदर्शिता र उत्तरदायित्व मार्फत निजी क्षेत्रप्रतिको विश्वास पुनः स्थापित गर्नु रहेको उनको ठहर थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्ष पदका लागि राजेन्द्र राउत र नवीन रिजालको उम्मेदवारी दिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेश समितिको आइतबार विराटनगरमा सुरु भएको ८औँ प्रदेश सभाको बैठक सुचारु भए सँगै अध्यक्ष पदका लागि राउत र रिजालको उम्मेदवारी परेको निर्वाचन अधिकृत विकास थापाले जानकारी दिए।
राउत नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेश अध्यक्ष पदमा कार्यरत रहेका छन्। २०७९ मा नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्ष पदको जिम्मेवारी सम्हालेका राउतले ३ वर्षे कार्यकाल पुरा गरेका छन्। र आगामी कार्यकालका लागि पुनः अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
Shares

प्रतिक्रिया