कोशी


वैदेशिक रोजगारीबाट फर्किएका देउजा दाजुभाइको व्यावसायिक यात्रा

वैदेशिक रोजगारीबाट फर्किएका देउजा दाजुभाइको व्यावसायिक यात्रा

सुमन सुस्केरा
जेठ १, २०८३ शुक्रबार १४:३९, विराटनगर

बिर्तामोडको भित्री सडकको किनारमा दुई भाइ काममा व्यस्त थिए। एक जना वैदेशिक रोजगारीबाट फर्किएका र एक जना वैदेशिक रोजगार व्यवसायी हुन्। उनीहरूले सुरु गरेको पछिल्लो व्यवसाय ‘बिर्तामोड ग्रिल एन्ड तन्दुरी हाउस’ हो। उनीहरू अहिले भर्खरै यो व्यवसायमा  छिरेका हुन्।  

वैदेशिक रोजगारीको लामो अनुभव र स्वदेशमै केही गर्ने हुटहुटी बोकेका दुई दाजुभाइको सहकार्यले बिर्तामोड १ मा एउटा उदाहरणीय व्यवसायको रूप लिएको छ। उनीहरूको व्यावसायिक जग भनेको ‘फार्म देखि प्लेटसम्म’को अवधारणा हो।

सञ्चालकहरूले होटलसँगै आफ्नै कृषि फार्म पनि सञ्चालन गरिरहेका छन्। करिब ७ बिगाहा क्षेत्रफलमा फैलिएको देउजा कृषि फार्ममा उत्पादित ९० प्रतिशत सामग्रीहरू नै होटलमा प्रयोग हुने गरेका छन्। फार्ममा १५ वटा गाई छन्, जसमध्ये ६ वटाले दूध दिइरहेका छन्। साथै, ४ वटा खोरमा ४ हजार कुखुरा, २०० लोकल कुखुरा, हाँस र बट्टाईहरू पालिएका छन्। आफ्नै उत्पादन भएकाले यहाँका परिकारहरू ताजा र अर्ग्यानिक हुने उनीहरूको भनाई छ। 

होटलका परिकारहरूको कुरा गर्दा ग्रिलमा कुखुरा, हाँस र बट्टाईका साथै चिकेन एन्ड फिस ग्रिन तथा तन्दुरी यहाँका मुख्य विशेषता हुन्। अन्तर्राष्ट्रिय ब्रान्डका स्वादहरूलाई स्थानीय स्तरमा उपलब्ध गराउने उद्देश्यले खोलिएको यस होटलमा विदेशी सिपको भरपुर प्रयोग भएको उनको भनाई छ। 

यस व्यवसायको पछाडि देउजा दाजुभाइको फरक–फरक तर पूरक अनुभव छ। भाइ प्रकाशले २४ वर्ष विदेशमा बिताए। उनले दुबईमा ४ वर्ष, साउदीमा ४ वर्ष र बहराइनमा १६ वर्ष कुकका रूपमा काम गरे। विदेशमा काम गर्दा उनले ४० जनासम्म कर्मचारीहरूलाई परिचालन गर्ने अनुभव बटुलेर काम थालेका थिए। त्यही अनुभव र सिपलाई अहिले उनले आफ्नै जन्मभूमिमा उपयोग गरिरहेका छन्।

अर्कातिर, दाजु किरण देउजा विगत २७ वर्षदेखि काठमाडौँमा वैदेशिक रोजगार व्यवसायीका रूपमा कार्यरत थिए। विसं २०५८ देखि २०८१ सम्म म्यानपावरमा काम गरेका उनी अहिले भाइको सिप र अनुभवलाई साथ दिँदै गाउँमै रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ होटल व्यवसायमा जोडिएका हुन्। बाह्रदशी गाउँपालिका ५ निवासी किसान बाबुआमाका सन्तान ६ दाजुभाइमध्ये यी दुईले २० लाखको लगानीबाट होटल र ३० लाखको लगानीमा फार्म हाउस विस्तार गरेका हुन्। 

कोभिडको समयमा बजारमा देखिएको समस्याले उनीहरूलाई आत्मनिर्भर बन्ने पाठ सिकायो। ५ वर्षअघि दर्ता भएको देउजा कृषि फार्मले अहिले होटललाई कच्चा पदार्थ आपूर्ति मात्र गर्दैन, गाउँमा डेरी र अर्ग्यानिक खाद्य स्टोर समेत सञ्चालन गरिरहेको छ।

उनीहरूले अब असार १ गतेदेखि राइस मिल समेत सञ्चालन गर्ने तयारी गरेका छन्, जसले गाउँलेहरूलाई कुटानी–पिसानीमा सघाउनुका साथै आफ्नै ब्रान्डका खाद्यान्न बजारमा ल्याउने लक्ष्य राखेको छ। त्यस्तै छुट्टै डेरी प्रोडक्सनको काम समेत भइरहेको उनीहरू सुनाउँछन्।

विदेशी भूमिमा पसिना बगाउनु भन्दा आफ्नै गाउँ–ठाउँमा स्थानीयलाई रोजगारी दिने र स्वावलम्बी बन्ने देउजा दाजुभाइको यो यात्रा नयाँ रोजगारीमा केन्द्रित छ। व्यावसायिकतासँगै स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उनीहरूको यो प्रयास‍ बिर्तामोडका लागि नयाँ हो। दाइ किरणका अनुसार अहिले सबै क्षेत्रमा करिब एक करोडको लगानी भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad