कोशी


विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ५६ करोड

विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ५६ करोड

नेपालखबर
असार १०, २०८३ बुधबार १५:२७, विराटनगर

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ। महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले नगर सभामा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन्।

उनले महानगरले आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकार, प्रदेश सरकार, राजस्व बाँडफाँड, आन्तरिक आय, अनुदान तथा बैङ्क मौज्दातसमेत गरी ३ अर्ब ४६ करोड ५७ लाख रुपैयाँ आय हुने अनुमान प्रस्तुत गरिएको छ। खर्चतर्फ भने सङ्घीय तथा प्रदेश सरकारका सशर्त कार्यक्रमसमेत समेटेर कुल ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट प्रस्ताव गरिएको बताइन्।

बजेटमा सबैभन्दा ठुलो प्राथमिकता पूर्वाधार विकासलाई दिइएको छ। पूर्वाधार विकासतर्फ मात्रै १ अर्ब ६० करोड ३९ लाख ३२ हजार रुपैयाँ विनियोजन गरिएको छ। जसमा वडा स्तरीय योजनाका लागि ४३ करोड ४६ लाख ३२ हजार, बहु वर्षीय तथा गौरवका आयोजनाका लागि १५ करोड, ठेक्का तथा दायित्व सरेका योजनाका लागि २५ करोड र नगर स्तरीय योजना तथा कार्यक्रमका लागि ६० करोड रुपैयाँ छुट्याइएको उपप्रमुख कार्कीले जानकारी दिइन्।

यस्तै सडक, सहरी विकास, विद्युत्, फोहोर पानी प्रशोधन केन्द्र र मर्मत सम्भारका कार्यक्रमलाई पनि बजेटमा समेटिएको बजेट वक्तव्यमा उल्लेख छ। विद्युततर्फ १ करोड ६० लाख, फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड ६० लाख र मर्मत सम्भारतर्फ १० करोड रुपैयाँ विनियोजन गरिएको छ।

सामाजिक विकासतर्फ २६ करोड ५० लाख ५९ हजार रुपैयाँ छुट्याइएको छ। शिक्षाका लागि १० करोड ५ लाख २८ हजार, स्वास्थ्यतर्फ ६ करोड ३ लाख ५० हजार, महिला विकासतर्फ ६६ लाख, बालबालिकाका कार्यक्रमका लागि ४८ लाख ५० हजार र सङ्घसंस्था अनुदानका लागि ६ करोड ३१ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ।

आर्थिक विकासतर्फ ३ करोड २६ लाख ३७ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको छ। कृषि विकास, पशुपन्छी तथा भेटेरिनरी, सहकारी, उद्यमशीलता विकास, रोजगार प्रवर्द्धन तथा पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई यसअन्तर्गत समेटिएको छ।

सुशासन तथा संस्थागत विकासका लागि २ करोड ३३ लाख १० हजार र वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि २ करोड ५६ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ। फोहोर मैला व्यवस्थापनका लागि १ करोड २५ लाख र विपद् व्यवस्थापनका लागि ९६ लाख रुपैयाँ छुट्याइएको छ।

आन्तरिक आयतर्फ सङ्घीय सरकारबाट वित्तीय समानीकरण, सशर्त अनुदानलगायत गरी १ अर्ब ७ करोड २८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। प्रदेश सरकारबाट प्राप्त हुने १४ करोड २६ लाख ७४ हजार, राजस्व बाँडफाँडबाट २८ करोड ६४ लाख १८ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

महानगरले आन्तरिक आयतर्फ १ अर्ब २७ करोड २० लाख ५ हजार रुपैयाँ उठाउने लक्ष्य लिएको छ। विभिन्न सङ्घसंस्थाबाट १ करोड १६ लाख र बैङ्क मौज्दातबाट १४ करोड रुपैयाँ आय हुने अनुमान गरिएको छ। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको अध्यक्षतामा नगर सभा सुरु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad