ad ad

जीवनशैली


पेनलेस डेलिभरी : प्रसव पीडाबिनै बच्चा जन्माउने सौभाग्य

पेनलेस डेलिभरी : प्रसव पीडाबिनै बच्चा जन्माउने सौभाग्य

प्रतिकात्मक तस्बिर।


समृद्धा केसी
माघ १०, २०७९ मंगलबार ९:१५, काठमाडौँ

भनिन्छ, प्रसव व्यथा त्यति पीडादायक हुन्छ, जसका कारण शिशुसँगै आमाले पनि नयाँ जीवन पाउँछिन्। तर, अहिले त्यस्तो प्रविधि भित्रिसकेको छ, जसले प्रसव पीडा महसुस नगरी आमा बन्ने सौभाग्य दिन्छ।  

झापाकी ३५ वर्षीया सिर्जना श्रेष्ठ पहिलो बच्चा जन्माउँदा भोगेको प्रसव पीडा सम्झेर अझै तर्सिन्छिन्।

‘व्यथा लागेको जति–जति समय बित्दै थियो, दुखाइ पनि उत्तिकै बढिरहेको थियो। पीडा सहनै नसकेर अप्रेशन गरिदिनु भनेकी थिएँ,’ उनले सुनाइन्, ‘तर डाक्टरले हिम्मत गर्नु, नर्मल बच्चा नै जन्मिन्छ भनेपछि निकै पीडा सहेर नर्मल बच्चा नै जन्माएँ।’

त्यो पीडा फेरि पनि भोग्न नपरोस भनेर उनले अर्को सन्तान नजन्माउने योजना बनाएकी थिइन्। तर, उनी ६ वर्षपछि पुनः गर्भवती भइन्।

दोस्रो पटक सुत्केरी हुने समय जति नजिकिँदै थियो, उनको डर पनि उत्तिकै बढ्दै गइरहेको थियो। पहिलो बच्चा नर्मल जन्मिएको र स्वास्थ्य अवस्था सबै ठिक भएकाले डाक्टरले यस पटक पनि नर्मल डेलिभरी गराउने सुझाव दिए।

२८ असार २०७८ मा उनको नर्मल डेलिभरी भयो तर सिर्जनाले यस पटक पहिलाको जस्तो पीडा सहनु परेन।

‘यो पटक बिनादुखाइ नै डेलिभरी भयो,’ उनले भनिन् ‘मैले पाउन सक्दिनँ भनेर हार मानिसकेकी थिएँ। तर अहिले त विश्वास नै लागेको छैन। १० घण्टा जति व्यथा लाग्यो। अनि ला बेबी भइसक्यो भन्ने भयो।’

आमा बन्न पाउनु सौभाग्यको कुरा भए पनि सुत्केरी पीडा चाहिँ निकै कष्टपूर्ण हुन्छ। ‘पेनलेस डेलिभरी’ का कारण त्यो पीडाबाट छुटकारा पाएको उनले सुनाइन्।

बिर्तामोडकी अर्की  सुत्केरी आमाको अनुभव पनि उस्तै छ। उनले पनि पहिलो बच्चा प्रसव पीडा सहेर जन्माएकी थिइन्। 

०७८ असोजमा ‘पेनलेस डेलिभरी’ गराएकी उनले न त बच्चा जन्माउँदा दुखाइको अनुभव गरिन्, न त टाँका लगाउँदा नै।

उनका श्रीमान् आशिष भन्छन्, ‘पहिलो सन्तान जन्माउँदा श्रीमतीज्यूको  हातबाट एक झापड भेटेको थिएँ। यो पटक त्यस्तो भएन।’

दुवै जनाले झापास्थित बीएन्डसी मेडिकल कलेजमा ‘पेनलेस डेलिभरी’ गराएका थिए। 

के हो ‘पेनलेस डेलिभरी’?
बीएन्डसी मेडिकल कलेजका एनेस्थेसियोलोजिस्ट तथा पेन म्यानेजमेन्ट स्पेसेलिस्ट डा. राजु श्रेष्ठका अनुसार परापूर्वकालमा दुखाइलाई एउटा श्रापका रुपमा लिइन्थ्यो। जब विज्ञानको विकास हुँदै गयो तब मान्छेहरुले दुखाइलाई कसरी कम गर्न सकिन्छ भनेर उपाय खोज्न थाले। गाँजा र रक्सीजस्ता पर्दाथ खुवाएर अप्रेसन गर्न थालियो। त्यतिले मात्र नभएपछि एनेस्थेसियाको विकास भयो। 

‘पेनलेस डेलिभरी’ मा प्रसव पीडा सुरु भएपछि ढाडमा एउटा क्याथेटर राखिन्छ जसबाट दुखाइ कम गर्ने औषधि दिइन्छ। यसलाई ‘एपिड्यूरल एनाल्जेसिया’ भनिने उनको भनाइ छ। डेलिभरी नहुन्जेलसम्म  दुई–दुई घण्टाको फरकमा औषधि थपिरहनु पर्ने डा. श्रेष्ठले जानकारी दिए। 

औषधि दिएपछि केहीमा टाउको दुख्ने, रिगंटा लाग्ने, एलर्जी हुने र खुट्टा झम्झमाउने जस्ता समान्य समस्या देखिने उनले बताए। 

उनी भन्छन्, ‘प्रसव पीडा सहन नसकेर धेरैले अप्रेसन गरिदिन आग्रह गर्छन्।  दुखाइ सहनै नसक्ने महिला र मुटुमा समस्या भएका महिलाका लागि ‘पेनलेस डेलिभरी’ बरदान साबित भएको छ।’

डेलिभरी गर्ने समय नजिकिँदै गर्दा धेरै जना डराउने भएकाले विभिन्न खाले समस्याहरु पनि देखिने गर्छन्। ती समस्यालाई ‘पेनलेस डेलिभरी’ ले निकै राहत दिनेको उनी बताउछन्। 

विकसित देशहरुमा ‘पेनलेस डेलिभरी’ गराउनेको संख्या धेरै भए पनि नेपालमा कमैलाई मात्र यसबारे थाहा भएको उनको भनाइ छ।

कस्तो अवस्थामा ‘पेनलेस डेलिभरी’ नगर्ने? 
कुनैकुनै अवस्था ‘पेनलेस डेलिभरी’ गर्न नमिल्ने डा. श्रेष्ठ बताउँछन्। 

‘बच्चा धेरै ठुलो भएमा (साढे चार किलोभन्दा माथि), उल्टो बसेको भए, रगत धेरै बग्ने, प्लेटलेट्स कम र रगत नजम्ने रोग, उच्च रक्तचाप, छारे रोग, सुइ लगाउने ठाउँमा संक्रमण भएमा ‘पेनलेस डेलिभरी’ गर्न सकिँदैन,’ उनले भने। 

त्यसैगरी पहिलो बच्चा शल्यक्रिया गरेर जन्माएको छ भने पनि ‘पेनलेस डेलिभरी’ गर्न नमिल्ने उनको भनाइ छ। ‘पेनलेस डेलिभरी’ गराउँदा गाइडलाइनमा तोकिएको सुत्केरी व्यथा भन्दा एक–दुई घण्टा बढी लाग्न सक्ने उनले बताए। 

डा. श्रेष्ठका अनुसार ‘पेनलेस डेलिभरी’  गर्दा समय बढी लाग्ने र बच्चालाई भ्याकुम लगाएर तान्नु पर्ने जोखिम नर्मल डेलिभरी भन्दा एक प्रतिशत बढी हुन्छ।

‘पेनलेस डेलिभरी’ गराउँदा गर्भवती आमालाई मात्र नभएर पेट भित्रको बच्चाको धड्कन पनि जाँचिराख्नु पर्ने भएकाले सोही अनुसारको टिम बनाउनु पर्ने उनले जानकारी दिए। 

महिलालाई छैन जानकारी
नेपाली समाजमा अझै पनि यस प्रविधिबारे निकै कमलाई मात्र ज्ञान भएको प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. सुजाता खड्का न्यौपानेले बताइन्।

उनी भन्छिन्, ‘अस्पताल आउने धेरै गर्भवती महिलालाई ‘पेनलेस डेलिभरी’ बारे थाहा नै छैन। हामीले यसबारे भनेपछि दुखाइ नसहेर पनि बच्चा जन्मिन्छ र भन्दै अचम्म मानेर हाँस्छन्।’

‘गर्भवतीहरु आफ्नो सासू वा आमाहरुसँग सुत्केरी हुन आउँदा उनीहरुलाई दुखाइ बिना पनि नर्मल बच्चा जन्माउन सकिन्छ भनेपछि उनीहरु कहाँ हुन्छ? पीडा सहनु पर्छ, हामीले १०–१२ वटा बच्चा दुःख सहेरै पाएको हो भन्ने गर्छन्,’ उनले थपिन्।

गर्भवती महिलाले यो सेवा लिन खोजे पनि परिवारले भने सुरुमै पीडा सहेरै जन्माउनु पर्छ भन्ने गरेको डा.न्यौपानेले बताइन्। 

‘पेनलेस डेलिभरी’ गर्नका लागि चिकित्सको टिम हरबखत उपलब्ध हुनु पर्ने भएकाले यस सेवालाई निरन्तरता दिन चुनौतीपूर्ण रहको उनी बताउँछिन्। 

२०१८ मा काठमाडौंका दुई सय ५० जना महिलामा गरिएको एक अध्ययनमा १६ प्रतिशत महिला मात्र यसबारे जानकार रहेको र ८० प्रतिशत महिलाले ‘पेनलेस डेलिभरी’ सुविधा नेपालमा भए आफूहरुले उपभोग गर्ने बताएको उनले जानकारी दिइन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .