ad ad

जीवनशैली


इलोन मस्क कतिबेला सुत्छन्?

‘म सुत्छु, उठ्छु, काम गर्छु, सुत्छु, उठ्छु, फेरि काम गर्छु’
इलोन मस्क कतिबेला सुत्छन्?

मस्कले भनेका थिए– म सुत्छु, उठ्छु, काम गर्छु, सुत्छु, उठ्छु, फेरि काम गर्छु (न्यूयोर्क टाइम्स)


टम हिगिन्स
माघ २५, २०७९ बुधबार १९:९,

इलोन मस्क थकित छन्। उनको ढाड दुख्छ। र उनकी आमा चाहन्छिन्, उनी केहीबेर सुतुन्।

‘दुर्भाग्यवश राति म सुत्न सकिनँ। म राम्रो अवस्थामा छैन,’ यी अर्बपतिले हालै सान फ्रान्सिस्कोमा एक मुद्दाको सुनुवाइ चलिरहँदा वकिलसँग भने। पछि उनले थपे, ‘म बारम्बार यता र उता फर्केकोमा माफी माग्छु। मेरो ढाड सहिनसक्नु दुखिरहेको छ।’

आफूलाई सूक्ष्म व्यवस्थापक भन्ने मस्क टेस्ला र स्पेसएक्सजस्ता आफूले सञ्चालन गर्ने कम्पनीहरुको कामकारबाहीमा मिहीन ढंगले लामो समयदेखि सहभागी हुँदै आएका छन्। जसका लागि उनी राति अबेरसम्म जागै हुन्छन् र एकदम कम सुत्छन्। उनको यो परिश्रमका कारण उनले अन्तरीक्ष यान अवतरणदेखि विद्युतीय कारलाई आकर्षक बनाउनेसम्मका अपत्यारिलो उपलब्धि हासिल गरेका छन्। 

तर, ५१ वर्षको उमेरमा यसरी ज्यान दिएर लागिपर्दा त्यसको मूल्य पनि उनले चुकाउनु परिरहेको छ।

अक्टोबरको अन्त्यमा ट्विटरको स्वामित्व लिएपछि मस्कको कार्यभार ह्वात्तै बढेको छ। पहिले हप्तामा ८० घण्टा काम गर्ने उनी त्यसपछि हप्तामा १२० घण्टा काम गर्न थालेको उनले नोभेम्बरमा एक कार्यक्रममा बताएका थिए।

‘म सुत्छु, उठ्छु, काम गर्छु, सुत्छु, उठ्छु, फेरि काम गर्छु। हप्तामा सातै दिन म यसै गर्छु,’ मस्कले भनेका थिए, ‘केही समयलाई यही क्रम जारी राख्नुछ। अरु विकल्प छैन। तर, एक पटक ट्विटर सही मार्गमा हिँड्न थालेपछि मलाई लाग्छ, यसलाई व्यवस्थापन गर्न स्पेसएक्स वा टेस्लाभन्दा निकै सजिलो हुन्छ।’

यो आलेख प्रकाशित भएपछि मस्कले ट्विटरमा जवाफ दिएः ‘गएका तीन महिना अति कठिन थिए। यस्तो पीडा कसैलाई नपरोस्।’

टेस्लाका लगानीकर्ताहरुले मस्कको ध्यान ट्विटरले बहकाएको भन्दै चिन्ता जाहेर गरेका छन्। कतिले त उनलाई ट्विटर सञ्चालनबाट अलग हुन पनि आग्रह गरेका छन्। उनले ट्विटरमा सीईओ भर्ती गर्ने बाचा गरेका छन्। र, ट्विटरमा अलमलिएर उनका अन्य व्यावसायिक साम्राज्यको कामकारबाहीमा सामेल नभएको भन्ने आलोचनालाई आफूले टेस्लाको एउटा पनि महत्वपूर्ण बैठक नछाडेको भन्दै पन्छाएका छन्। गतवर्षको अन्तिम त्रैमासमा टेस्लाले कीर्तिमानी नाफा कमाएको छ।

‘अझै पनि म टेस्लामा थुप्रो काम गर्छु,’ उनले नोभेम्बरमा ट्विट लेखेका थिए।

तैपनि गत महिना ट्विटरले भारतमा राम्रोसँग काम गर्न नसकेको गुनासो आएपछि उनले एकैपटक सबैथोक गर्न नसक्ने जवाफ दिएका थिए।

‘टेस्ला र स्पेसएक्स सञ्चालन गरिरहँदा मैले ट्विटरको सबै कुरा रातारात विश्वभर ठिक गर्न सम्भव छैन,’ उनले लेखेका थिए।

ट्विटर किन्नुअघि पनि उनले एक पटक मजाकमा भनेझैँ उनी ‘साधारण’ मानिस थिएनन्। आफू सामान्यतः बिहान ३ बजे सुत्ने र ६ घण्टा निदाउने तथा उठ्नेबित्तिकै फोन समात्ने उनले बताएका थिए।

आजभोलि उनी सान फ्रान्सिस्कोस्थित ट्विटरको मुख्यालयमा सुत्ने गर्छन्। उनले कर्मचारीका लागि समेत ओछ्यानको व्यवस्था गरिदिएका छन्।

उनको दैनिक कार्यतालिका मिथकजस्तै बन्न पुगेको छ। गत महिना सामाजिक सञ्जालमा मस्कका एक प्रशंसकले उनको एक दिनको दैनिकीप्रति आश्चर्य व्यक्त गरेका थिए। त्यो दिन बिहान उनले एक मुद्दामा बयान दिए, साँझ नेभाडामा टेस्लाको कार्यक्रममा सहभागी भए र राति टेस्लाकै आर्टिफिसियल इन्टेलिजेन्स टिमसँग भेट गरे।

सो ट्विटमा मस्कले सही थापे, ‘अनि मध्यरात पार भइसकेपछि ट्विटर मुख्यालय पुगेँ। साह्रै लामो दिन।’

वर्षौँदेखि मस्कले आफूले निद्रासँग गरेको संघर्ष र ढाड तथा गर्धन दुखाइको विषयमा चर्चा गर्दै आएका छन्। केही वर्षअघि पनि मस्कको स्वास्थ्यस्थितिलाई लिएर चासो व्यक्त भएको थियो। त्यतिबेला उनको गर्धनमा देखिएको नयाँ खतले त्यो चासोलाई जन्म दिएको थियो। गर्धन दुखाइका कारण आफूले दुई वटा शल्यक्रिया गरेको र पहिलो शल्यक्रिया असफल भएको २०२० मा उनले पुष्टि गरेका थिए।

गर्धनको त्यो दुखाइ वर्षौंअघि आफ्नी दोस्री पत्नीको जन्मदिनको पार्टीबाट सुरु भएको उनले जनाएका छन्। सो पार्टीमा एक सुमो रेसलर पनि सहभागी थिए।

मस्क ती रेसलरसँग भिड्न पुगे। र, मस्कका अनुसार उनले ती झण्डै १६० किलो वजन भएका रेसलरलाई हराएका थिए। तर, त्यसबेला उनको स्पाइनमा क्षति पुग्यो।

‘यसले मेरो सी५–सी६ डिस्क टुट्यो र ८ वर्षको अत्यधिक ढाड दुखाइ झेल्नपर्यो,’ गत वर्ष उनले ट्विटरमा भनेका थिए।

सुत्नका लागि उनले बेहोरेको कठिनाइको विषय २०१८ मा चर्चामा आयो। त्यो वर्ष उनको टेस्ला कम्पनी कार उत्पान संख्या बढाउन संघर्षरत थियो। जसका कारण मस्क कारखानाको भुइँमा सुत्ने गर्थे।

त्यसबेला सुत्नका लागि उनले औषधि लिने गरेका थिए। ‘अलिकति रेड वाइन, पुराना रेकर्ड र केही एम्बियन। अनि जादु,’ उनले ट्विटरमा लेखेका थिए।

सो वर्ष उद्यमी एरियाना हफिङ्टनले मस्कलाई आफ्नो ख्याल गर्न समेत अनुरोध गरेकी थिइन्। हफिङ्टन ‘द स्लिप रिभोलुसन’ नामक पुस्तककी लेखक हुन्। सो पुस्तकमा पर्याप्त नसुत्दा त्यसले स्वास्थ्यमा कसरी असर पार्छ र निर्णय क्षमतालाई कसरी कमजोर तुल्याउँछ भनेर उल्लेख गरिएको छ।

‘मानिसहरु मेसिन होइनन्,’ उनले मस्कलाई लेखिएको खुला पत्रमा भनेकी थिइन्, ‘विज्ञान स्पष्ट छ। र, विज्ञानले के भन्छ भने लखतरान परेर तपाईंले गतिलो निर्णय लिने र संसार बदल्ने महत्वाकांक्षा साकार पार्ने कुनै सम्भावना छैन।’

त्यसको जवाफ राति २ः३२ मा ट्विटरमा मस्कले दिए, ‘टाट पल्टिनबाट जोगिएका अमेरिकी कार कम्पनी फोर्ड र टेस्ला मात्रै हुन्। भर्खर कारखानाबाट घर आइपुगेँ। तपाईंलाई लाग्छ, मैले चाहेर यस्तो गरेको हुँ। होइन।’

मस्क त्यसबेलाको विवादसँग अझै जुधिरहेका छन्।

गत महिना ढाड दुखेको गुनासो गरिरहँदा उनी सान फ्रान्सिस्कोस्थित संघीय अदालतमा बयान दिन हाजिर भएका थिए। जुन मुद्दा उनले २०१८ मा टेस्लालाई निजी बनाउन आवश्यक रकम जम्मा गरिसकेको विषयमा उनले गरेको ट्विटसँग सम्बन्धित थियो। पछि सो रकम जम्मा भइनसकेको स्पष्ट भएको थियो।

त्यसपछि सेयरहोल्डरहरुले उनीविरुद्ध मुद्दा हालेका थिए। मस्कको ट्विटले झुक्याएकाले आफूहरुले पैसा गुमाएको उनीहरुको दलिल थियो। शुक्रबार जुरीले यसमा मस्क उत्तरदायी नहुने ठहर गर्यो।

उनले मुद्दा जितेपछि उनकी आमा मे मस्कले ट्विटरमै उनलाई बधाइ दिइन्, ‘ठूलो राहत। अब निद्रा पुर्याऊ।’ (वाल स्ट्रिट जर्नलबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .