ad ad

जीवनशैली


‘एचआईभी लागेको भनेर मलाई डाँडा कटाउने आफन्तलाई केही बनेर देखाउनु छ’ (भिडिओ)

एचआईभी संक्रमणपछि बहिष्कृत बालबालिकाको कथा
‘एचआईभी लागेको भनेर मलाई डाँडा कटाउने आफन्तलाई केही बनेर देखाउनु छ’ (भिडिओ)

तस्बिर : सरोज बैजु


समृद्धा केसी
जेठ ४, २०८० बिहिबार ६:९, काठमाडौँ

भर्खर १८ टेक्दैछिन् कैलाली-१। तर उनले भोगेको पीडा कहिसक्नु छैन।

बर्दियामा जन्मिएकी कैलाली-१ सात वर्षकी थिइन्, आमाबुबा अलग भए। उनी आमासँग भारत लागिन्। त्यसपछि बुबा कता गए, आजसम्म पनि उनलाई थाहा छैन। 

भारत गएपछि आमाले अर्को बिहे गरिन्। बिहे गरेको केही महिनामै आमा बिरामी भएर बितिन्। भारतमा लास उठाउने मान्छेसमेत नभएपछि कैलाली-१ का मामाहरू नेपालबाट गएर मृत आमा र उनलाई नेपाल ल्याए।

कैलाली-१ लाई धमिलो याद छ– उनको अगाडि आमाको लास लडिरहेको थियो। उनी मम्मु भन्दै एकोहोरो रोइरहेकी थिइन्, तर उनको मम्मु कहिल्यै उठिनन्। 

त्यसपछि कैलाली-१ हुजुरआमा र फुपूसँग बस्न थालिन्। तर, त्यहाँ पनि उनी हेला भइन्। हजुरआमा र फुपू विस्तारमा सुत्थे, कैलाली-१ लाई छुट्टै चिसो भुइँमा सुताउँथे। 

आमाको मृत्युपछि कैलाली-१ को बाल्यावस्था नै खोसियो। आमा बुबा, साथीभाइ र परिवारसँग रमाउने मौका उनले कहिल्यै पाइनन्। आफन्तले पनि जाती व्यवहार गरेनन्।

उनी सम्झिन्छन्, ‘हजुरआमाले घरको काम सबै गर्न लगाउनुहुन्थ्यो। म बच्चा हो कि त्यहाँ काम गर्न बसेको हो, छुट्याउन सकिन्नथ्यो। त्यतिबेला ती कुराको वास्ता मैले गरिनँ। तर आज सोच्छु- मलाई गरिएका ती व्यवहार के थिए भनेर।’

कैलाली-१ सँग कोही खेल्दैनथे। कोही उनको नजिक पर्दैनथे। छि:छिः दूरदूर गर्थे। उनी सोच्थिन्- आमाबुबा नहुनेलाई यस्तै गर्ने रहेछन्।

तर, उनी ठूलो हुँदै गइन् र मान्छेहरूले गर्ने व्यवहार पनि अलि बुझ्दै गइन्। उनीहरूको व्यवहारले उनलाई बिझाउन थाल्यो।

उनी ११ वर्षकी थिइन्। मामाले कैलाली-१ लाई भने– अब गाउँमा नबस्ने। मामाले उनलाई एक दिनको यात्रा गराएर काठमाडौँ ल्याउँछन्। त्यतिबेलासम्म पनि कैलाली-१ लाई थाहा थिएन, आफूलाई कहाँ र किन लगिँदै छ भनेर।

मामाले कैलाली-१ लाई काठमाडौंको कीर्तिपुरस्थित भत्केपाटीमा रहेको बेबी लाइफ होम बालगृहमा छाडेर फर्किन्छन्। 

कैलाली-१ ले त्यहाँ आफूजस्तै आमाबुबा गुमाएका र आफन्त, समाजबाट तिरस्कृत साथीहरू भेट्छिन्। तर उनको मनले गाउँ नै सम्झिरहन्छ। ती निर्दयी भए पनि हजुरआमा सम्झेएर उनी रोइरहन्छिन्।

नयाँ परिवार र आमाबुबा पाएकी कैलाली-१ बिस्तारै नयाँ संसारमा रमाउन थाल्छिन्। केही दिनपछि उनलाई अस्पताल लगेर रगत निकालिन्छ। बालगृहका आमा–बुबाले कैलाली-१ लाई एचआईभी रोग लागेको बताउँछन्। 

एचआईभी रोग के हो, कसरी लाग्यो, त्यो सबै सुनाइन्छ। त्यहाँ भएका अरु साथीहरूलाई पनि त्यही रोग लागेकै कारण त्यहाँ आइपुगेका सबै कुरा पत्तो पाउँछिन्। 

अनि बिस्तारै बुझ्छिन् मम्मु बिरामी परेर बित्नुको कारण। हजुरआमा, फुपू र समाजले गरेको त्यो तिरस्कार र मामाले डाडाँकाँडा कटाएर काठमाडौं पुर्‍याउनुको कारण।

एकपछि अर्को गर्दै सबै घटना उनको मानसपटलमा आउँछन्। सायद उनको बालमस्तिष्कले ती सबै कुरा धान्न सक्दैनन्। उनी बेहोस हुनु पुग्छिन्।  

उनी कक्षा १ देखि नै पहिलो हुँदै आइरहेकी थिइन्। तर उनको स्वास्थ्यसँगै पढाइ पनि बिग्रिँदै जान्छ। एक्लो हुँदाको पीडा एकातिर छँदै थियो। अर्कोतिर बुबाआमाले छाडेर गएको एचआईभी रोगसँगको लडाइँले उनलाई मानसिकरुपमै कमजोर बनाउँदै लगेको थियो।

बेबी लाइफ होमले नै स्थापना गरेको सफलता एचआईभी शिक्षा सदनमा पढ्दै आइरहेकी उनी कक्षाकोठामै बेहोस हुन थालेपछि अस्पताल लगिन्छ। उनको दिमागमा असर परेको देखिन्छ। 

मानसिक समस्याकै कारण उनी पढ्न नसक्ने अवस्था पुग्छिन्। र, केही वर्ष पढाइ रोकिन्छ। अहिले १८ वर्षकी भइन् कैलाली-१। उनी नौ कक्षामा पढ्दैछिन्। 

कैलाली-१ भन्छिन्, ‘यहीँ आएरै एचआईभी लागेको थाहा पाएँ। मैले धेरै सोचेँ। अनि म बिरामी पर्न थालेँ। पढाइमा पनि मन जान्थेन। म भित्रभित्र टुक्रिएको थिएँ। तर बिस्तारै मम्मीड्याडीले हौसला दिनुभयो। सम्झाइबुझाइ गर्नुभयो। मैले नराम्रो कुरा सम्झेर हुँदैन, पढ्नुपर्छ भन्ने लाग्यो।’ 

भोगाइले कैलाली-१ लाई निकै बलियो बनाइसकेको छ। अहिले उनी साथीभाइहरूलाई दु:खी हुनु हुँदैन भनेर सम्झाउँछिन्। 

उनलाई एचआईभी संक्रमित मोडल बन्ने रहर छ। अभिनय गर्न मन छ।

‘मलाई पनि इच्छा छ हिरोइन बन्ने। मम्मीले पनि तिमी सक्छौ भन्नुभएको छ मलाई। तर थाहा छैन कतिसम्म पूरा हुन्छ,’ उनले भनिन्। 

उनी नाच्ने र अभिनय गर्ने गर्छिन्। उनको कुरा सुन्दा लाग्छ, उनी निकै परिपक्व भइसकिन्। 

उनी बालगृह आएपछि एक/दुईपटक मामा भेट्न आए पनि अरु कोही सम्पर्कमा नरहेको बताउँछिन्। एचआईभी लागेकैले आफूलाई छि:छिः दूरदूर गर्ने समाज अनि परिवारबाट मिल्काउने आफन्तका अघि केही बनेर देखाउने कसम उनले खाएकी छन्। 

‘एक पटक बर्दिया जान्छु। तर अहिले होइन,’ गला अवरुद्ध पार्दै उनी भन्छिन्, ‘जब म केही बन्छु, तब जान्छु। म पनि ठूलो मान्छे बनेँ भनेर मेरा आफन्तहरूलाई देखाउनु छ। उनीहरूलाई गर्व होस्, मलाई देखेर। म त्यस्तो बन्ने छु।’

पढाइमा पनि निकै मेहनत गरिरहेको उनले सुनाइन्।  

आमा र बुबाले छोडेर गएको भन्दा पनि आफन्तले दिएको पीडाले निकै चोट दिएको आँखाभरि आँसु पार्दै उनले सुनाइन्। 

‘छोडेर जाने मान्छेलाई केही हुँदैन। तर हामीले जसलाई आफ्नो ठानेर बस्छौँ, त्यसलाई भुलाउन कति गाह्रो छ,’ उनी भन्छिन्।

‘जमाना मोडर्न छ भन्छन् तर मान्छेले आफ्नो सोचलाई अझै मोडर्न बनाउन नसकेर एचआईभी लागेकाहरूलाई हेला गर्छन्। त्यो देख्दा चित्त दुख्छ,’ कैलाली-१ भन्छिन, ‘यो सोच बदलेर एचआईभीलाई पनि सामान्य मानियो भने लुकेर बसेका मान्छे पनि खुलेर आउँछन् होला।’

इन्जिनियरिङको तयारीमा प्रकाश
कैलाली–१ जस्तै २१ वर्षीय प्रकाशको पनि तीतो अनुभव छ। दाङमा जन्मिएका प्रकाशले सानैमा एचआईभी लागेकै कारण आमा–बुबा गुमाए।

प्रकाश चार वर्षको हुँदा आमाको मृत्यु भयो। आमा बितेको दुई वर्षपछि बुबाले पनि संसार छाडे। प्रकाश र उनकी बहिनी एक्लो भए। 

आमाबुबा गुमाएपछि प्रकाश र बहिनी मामाघर सल्यान गए। मामाघरमै छँदा भिरबाट लडेर प्रकाशको खुट्टा भाँचिन्छ। 

अस्पतालमा प्रकाशको रगत जाँच गरिन्छ। र, रगतमा एचआईभी पोजिटिभ देखिन्छ। रोजगारीका लागि प्रकाशका बुबाआमा भारत जान्थे। तर उनीहरू आफूलाई  एचआईभी लागेको पत्तो नपाई संसारबाट बिदा भए। 

प्रकाशलाई एचआईभी देखिएपछि बहिनीको पनि जाँच गरिन्छ, उनलाई पनि एचआईभी पुष्टि हुन्छ। सबैको माया पाएका प्रकाशले त्यसपछि कसैको माया पाउँदैनन्। सबैले हेप्न थाल्छन्। 

एचआईभी पुष्टि हुनुभन्दा अगाडि मामासँगै एउटै ओछ्यानमा सुत्ने प्रकाशलाई अलग्याइन्छ। मामाहरूले प्रकाश र उनकी बहिनीका लागि बस्ने, खाने सबै छुट्टै बनाइदिन्छन्। 

बिस्तारै  साथीहरू, छिमेकी सबैले उनलाई एचआईभी लागेको कुरा थाहा पाउँछन्। पहिला सँगै खेल्ने साथिहरू पनि खेल्न छाड्छन्। 

‘तिमीहरूलाई एचआईभी लागेको छ। सँगै खेल्दैनौँ भन्थे, अपशब्द बोल्थे,’ प्रकाश सम्झिन्छन्।

त्यतिबेला एचआईभी के हो, प्रकाशले बुझेका थिएनन्। तर मान्छेले गरेको घृणा र तिरस्कार भने अहिलेसम्म भुल्न सकेका छैनन्। 

‘मान्छेले गरेको त्यस्तो व्यवहार देख्दा धेरै रिस उठ्थ्यो,’ प्रकाश भन्छन्, ‘त्यतिबेला खुब रिस उठ्थ्यो।’ 

एचआईभी पुष्टि भएको केही महिनामै प्रकाश र उनकी बहिनबारे समाचार आउँछ। अनि बेबी लाइफ होमका संस्थापक उमा गुरुङ र राजकुमार पुन दाङ गएर उनीहरूलाई  काठमाडौं ल्याउँछन्। 

अहिले प्रकाश बीएस्सी पढ्दै छन्। बहिनी ११ कक्षामा पढ्छिन्। 

प्रकाशलाई कहिलेकाहीँ घरतिरको याद आउँछ। तर घरतिरबाट उनीहरूको याद गर्ने कोही छैन। प्रकाशको इन्जिनियर बन्ने लक्ष्य छ। बुबा–आमाले पनि पढाइदिने वाचा गरेको उनले सुनाए। 

प्रकाश आफ्नो पढाइसँगै सफलता एचआईभी शिक्षा सदनका शिक्षक पनि हुन्। जुन विद्यालयबाट उनले शिक्षा लिए, अहिले त्यही विद्यालयमा आफूजस्तै भाइबहिनीहरूलाई पढाउँदा उनी खुसी छन्।

भन्छन्, ‘अहिले त मलाई एचआईभी लागेको छ भनेर सोच पनि आउँदैन। सबै काम गर्न सकेकै छु। नर्मल मान्छे नै हो भन्ने लाग्छ। म एचआईभी संक्रमित हो भन्न पनि अप्ठ्यारो लाग्दैन। बरु म एचआईभी संक्रमित हो भनिदिन्छु।’ 

हाम्रो समाजले एचआईभी लागेकाहरूलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन नसकेकोमा उनी गुनासो गर्छन। बुझ्ने मान्छेले पनि एचआईभी भनेपछि अझै जिब्रो टोक्ने गरेको उनले सुनाए। 

‘क्यान्सर, टीबी, हेपाटाइटिसजस्ता रोग लाग्दा मानिस खुलेर यी रोगहरू लागेको हो भन्न सक्छन् तर मलाई एचआईभी लागेको छ भन्न सक्ने अवस्था अझै सिर्जना भएको छैन,’ प्रकाशले भने, ‘मलाई एचआईभी लागेको छ भन्दा समाजले बहिष्कार गर्ने युगमै छौँ हामी। तर अब यसको अन्त्य गर्नु पर्छ।’

एचआईभी संक्रमितले बाँचेर आफूले चाहेको हरेक काम गर्न सक्ने प्रकाशले सुनाए।

जो गायिका बन्न चाहन्छिन् 
कैलालीमा जन्मिएकी कैलाली–२ (नाम परिर्वतन) बेबी लाइफ होममा आउँदा ५ वर्षकी थिइन्। अहिले उनी १४ वर्षकी भइसकिन्। 

उनका बुबा एचआईभी लागेर बिते। बुबा बितेपछि आमाले अर्को बिहे गरिन्। उनको एक दिदी र एकजना भाइ छन्। तीनजनालाई नै एचआईभी लागेको थाहा पाएपछि गाउँलेले हेला गर्न थाले। 

बेबी लाइफ होमका संस्थापकले उनीहरूलाई कैलालीबाट काठमाडौं ल्याउँछन्। अहिले त कैलाली–२ ले घर पनि बिर्सिसकिन्। बेबी लाइफ होम नै उनको पूरा संसार बनेको छ। उमा र राजकुमार अभिभावक बनेका छन्। 

८ कक्षामा पढ्दै गरेकी कैलाली–२ पाँच वर्षदेखि नै गीत गाउँथिन्। उनी अहिले पनि स्कुलमा वा कुनै कार्यक्रम हुँदा गीत गाउँछिन्। उनलाई भविष्यमा गायिका बन्नु छ। त्यसका लागि अहिलेबाट नै मेहनत गरिरहेको उनले सुनाइन्। 

कैलाली–२ भन्छिन्, ‘एचआईभी सँगै खाँदैमा, बस्दैमा, सुत्दैमा सर्दैन। तर मेरो हातमा घाउ छ र हजुरको हातमा घाउ छ भने सर्छ।’

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .