ad ad

जीवनशैली


दैनिक ८ घण्टाभन्दा बढी स्क्रिन हेर्दा ज्यानमा के हुन्छ?

दैनिक ८ घण्टाभन्दा बढी स्क्रिन हेर्दा ज्यानमा के हुन्छ?

नेपालखबर
मंसिर २३, २०८० शनिबार १८:३१,

‘डेस्क जब’ र ‘डिजिटल स्क्रिन’ को जमाना छ। थुप्रै व्यक्ति दिनको अधिक हिस्सा कम्प्युटरअगाडि बसेर बिताउने गर्छन्। कतिपयको त जिन्दगी नै कम्प्युटर स्क्रिनमा केन्द्रित छ भन्दा पनि फरक नपर्ला। यस्तो प्रकृतिको दैनिकीले हाम्रो मानसिक र शारीरिक स्वास्थ्यमा दुरगामी असर पार्न सक्छ।

उसोभए हरेक दिन ८ घण्टा कम्प्युटर स्क्रिन नियाल्ने व्यक्तिको शरीरमा कस्ता समस्या देखा पर्न सक्छन् त?

ओभानो आँखा
हाम्रो आँखा हरबखत रसिलो हुनुपर्छ। तर, जब हामी लामो समय स्क्रिन हेर्छौँ, तब आँखा झिम्क्याउन बिर्सिन्छौँ। सामान्यतः प्रतिमिनेट १०–२० पटक आँखा झिम्क्याइन्छ। तर, एकोहोरो स्क्रिन नियाल्दा यो दर ३–८ पटकमा सीमित हुन पुग्छ।

आँखा झिम्क्याउँदा अश्रुग्रन्थीबाट आँसु निस्किएर कर्नियालाई रसिलो बनाउने गर्छ। तर, स्क्रिनमा घोरिँदा यो प्रक्रिया अवरुद्ध हुन गई आँखा सुक्खा हुने समस्या देखा पर्ने नेत्र विशेषज्ञहरुको भनाइ छ।

आँखा ज्यादा ओभानो हुँदा आँखामा असजिलो हुने, बिझाउने, रातो हुने, पानी बग्नेजस्ता समस्या देखा पर्न सक्छन्।

यो समस्या ज्यादा बढे कर्नियामा क्षति पुगेर दृष्टि क्षमता समेत कमजो हुनसक्ने विज्ञहरु बताउँछन्। त्यस्तै, आँखामा संक्रमणको जोखिम समेत बढ्छ।

यसलाई रोक्न निम्न उपाय अपनाउन सकिन्छः
–प्रत्येक आधा घण्टामा पाँच मिनेट स्क्रिनबाट नजर हटाउने। कुर्सीबाट उठ्ने र वरिपरि डुल्ने
–नियमित आँखा झिम्क्याइरहने
–आँखामा पानी नछ्याप्ने
–ओमेगा ३ फ्याट्टी एसिड भएका खानेकुरा खाने
–नेत्र विशेषज्ञको सल्लाहअनुसार आइ ड्रप लगाउने

दृष्टिमा समस्या
लामो समय स्क्रिन हेरिरहँदा र आँखाले आराम नपाउँदा नजरमा पनि समस्या देखिन सक्छ। जसमा टाउको दुख्ने, आँखा दुख्नेजस्ता लक्षण देखा पर्न सक्छन्।

यसलाई रोक्न निम्न उपाय अपनाउन सकिन्छः
–नियमित आँखा जाँच गराउने र चिकित्सकको सल्लाहअनुसार उपयुक्त चस्मा लगाउने
–हरेक २० मिनेटमा २० फिट टाढाको कुनै वस्तुलाई २० सेकेन्डसम्म हेर्ने।

शरीर दुखाइ
कम्प्युटरअघि लामो समय आसन नमिलाई बस्दा हाम्रो गर्धन र ढाडमा पनि समस्या देखिन सक्छ। जसले स्पाइन तथा मेरुदण्डको दुखाइ सुरु गर्न सक्छ।

यसलाई रोक्न कम्प्युटर वा ल्यापट स्क्रिनको उचाइ आँखाको उचाइसँग बराबर बनाउनुहोस्। कतिपयले उभिएर काम गर्न मिल्ने डेस्क पनि बनाएका हुन्छन्।

अनिद्रा
स्क्रिनले फाल्ने ब्लु लाइटका कारण हाम्रो निद्रा खलबलिन सक्छ। यसले हाम्रो मेटाबोलिजममा दखल दिन सक्छ, जसले गर्दा हाम्रो तौल घटबढ हुन सक्छ। 

यसलाई रोक्न निम्न उपाय अपनाउन सकिन्छः
–सुत्नुभन्दा दुईतीन घण्टाअघि स्क्रिन बन्द गर्ने
–कोठा तथा स्क्रिन लाइटको ‘कन्ट्रयास्ट’ कम राख्ने
–स्क्रिन कभर र चस्माले सहयोग गर्न सक्छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .