स्वास्थ्य र जीवनशैलीका अन्तरवस्तुलाई केलाएर सुखमय तवरले बाँच्ने सूत्र पस्कँदै आएका लेखक जीवनकुमार प्रसाईंको ‘धेरैको धपेडी’ नामक पुस्तक सार्वजनिक भएको छ।
बढ्दो उपभोक्तावादले जनस्वास्थ्य, सामाजिक जीवन र वातावरणमा के कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयलाई उठाउँदै यो पुस्तकले यस विषयमा वैज्ञानिक तथ्यहरुलाई सबैले बुझ्नेगरी सरल भाषामा व्याख्या गरेको छ ।
प्रसाईं संयुक्त राज्य अमेरिकाको बर्मिङघमस्थित युनिभर्सिटी अफ अलावामामा अनुसन्धान अनि अध्यापनमा संलग्न छन् ।
उनले अढाइ दशकभन्दा लामो समयदेखि जडीबुटी र खाद्यपदार्थमा रहेका पोलीफेनोलको क्यान्सरलगायत जीर्ण रोगहरूको नियन्त्रण तथा उपचारमा हुने असरका क्षेत्रमा अनुसन्धान गर्दै आएका छन् ।
खोजीमै आधारित उनका आलेख ‘साइन्स’ लगायत जर्नलहरूमा प्रकाशित छन् ।
प्रसाईंले वैज्ञानिक अध्ययन अनुसन्धानबाट फेला परेका तथ्यलाई हाम्रो मौलिकतासँग जोड्दै सरल भाषामा बुझाउने प्रयास गरेका छन्।
मानव समाज यतिबेला धेरैभन्दा धेरै उत्पादन र उपभोग गरेर जीवन सम्पन्न र सुखी हुन सक्छ भन्ने उपभोक्तावादी सोचतर्फ अग्रसर हुँदै गएको देखेपछि यस विषयमा आफूले जानेका कुरा पाठक समक्ष राख्न चाहेको प्रसाई बताउँछन् ।
उनका ‘जीवन जिउने काइदा’, ‘सँधै तन्नेरी’ र ‘वरिपरी नै सर्वोपरि’ गरेर तीनवटा पुस्तक यस अगावै पब्लिकेशन नेपालयबाट प्रकाशित भइसकेका छन् ।
२२८ पृष्ठ लामो‘धेरैको धपेडी’ पुस्तकको मूल्य ४२५ रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया