साहित्य


राष्ट्र–परराष्ट्र : डा. भेषबहादुर थापाको बहुप्रतीक्षित पुस्तक सार्वजनिक

राष्ट्र–परराष्ट्र : डा. भेषबहादुर थापाको बहुप्रतीक्षित पुस्तक सार्वजनिक

नेपालखबर
मंसिर ५, २०८० मंगलबार १७:५९, काठमाडौँ

लामो प्रतीक्षापछि कूटनीतिज्ञ डा. भेषबहादुर थापाको आत्मकथा ‘राष्ट्र–परराष्ट्र : एकतन्त्रदेखि गणतन्त्रसम्म’ पुस्तक मंगलबार (५ मंसिर) सार्वजनिक भयो। पुस्तकको सफलता कतिसम्म भने, पुस्तकबारे समीक्षा मन्तव्य दिने वक्ताहरुले डा. थापाले आफ्ना अनुभवका विभिन्न विधा छुट्ट्याएर थप पुस्तक प्रकाशन गर्न आग्रह गरे। 

‘डा. थापाको आत्मकथा पढ्दै जाँदा मलाई एक्सन मुभी हेरेजस्तै लाग्यो,’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद सुमना श्रेष्ठले भनिन्, ‘नयाँ पुस्ताले उहाँको जीवन र अनुभवबाट धेरै कुरा सिक्न सक्छ। मेरो आग्रह छ, यो पुस्तकलाई विस्तार गरेर थप एक वा दुई वटा पुस्तक लेखिदिनुहोस्।’

‘अझ आफ्नो सेवाकालमा कामको सिलसिलामा के–के अप्ठेरा आइपरे भन्नेबारेमा एउटा र के–के कुरामा असफल भएँ भनेर अर्काे पुस्तक लेखिदिनु भयो भने त्यो निकै उपयोगी हुनेछ,’ उनले थपिन् ‘किनभने, उहाँसँग हामी नयाँ पुस्ताले सिक्नसक्ने धेरै अनुभव छन्।’ 

लेखक एवं पत्रकार सुधीर शर्माले पनि डा. थापाको लामो अनुभवका आधारमा यो एउटा पुस्तक मात्र अपर्याप्त भएको बताए। सांसद श्रेष्ठको आग्रहमा सही थाप्दै शर्माले भने, ‘राजनीतिज्ञ, कूटनीतिज्ञ वा प्रशासनिक व्यक्ति भएर होइन, विशुद्ध लेखकका रुपमा तपाईंको अर्काे पुस्तकको अपेक्षा छ।’ 

सांसद श्रेष्ठ र पत्रकार शर्माले डा. थापासँग यस्तो आग्रह गर्नुको कारण हो, डा. थापाको आत्मकथा ‘मपाईंत्व’ बाट मुक्त रहनु। 

‘यसअघि प्रकाशित कतिपयका आत्मकथा पढ्दा यस्तो हुने कि– यस्तो पनि भएको थियो होला र जस्तो लाग्ने,’ शर्माले भने, ‘डा. थापाको आत्मकथा त्यस्तो छैन। लेखकले आफ्नाबारेमा गर्ने बढाइचढाइबाट पुस्तक मुक्त छ। उहाँ आफ्नोबारे भन्दा तत्कालीन घटनाक्रमका बारे बढी केन्द्रित हुनुभएको छ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेको भनाइमा वृत्ति–विकासका लागि तत्कालीन शासकीय संरचनाको लाभ डा. थापालाई प्राप्त भए पनि जीवनकालमा डा. थापाले प्राप्त गरेका महत्वपूर्ण जिम्मेवारीमा उनको वैयक्तिक उत्कृष्टताको भूमिका थियो। 

विसं २०१७ वैशाखमा अमेरिका भ्रमणमा गएका गएका राजा महेन्द्रसँग क्यालिफोर्नियाको क्लेयरमेन्ट ग्य्राजुएट स्कुलमा थापाको पहिलो भेट भएको थियो। त्यहाँ उनी अर्थशास्त्र अध्ययन गरिरहेका थिए। 

विद्यावारिधिको थेसिसको तयारी गरिरहेका बेला यता राजा महेन्द्रले १ पुस २०१७ मा शासनसत्ता आफ्नो हातमा लिए। लगत्तै थापालाई विशेष जिम्मेवारी दिनेगरी नेपाल बोलाए। फर्केलगत्तै उनलाई राष्ट्रिय योजना परिषदको सदस्य सचिव बनाइयो। 

त्यसयता उनले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, अर्थसचिव–अर्थमन्त्री, परराष्ट्रमन्त्री, अमेरिका (दुई पटक) र भारतमा राजदूत, नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) नेपालतर्फको संयोजक जस्ता महत्वपूर्ण जिम्मेवारी सम्हाले। 

राजा महेन्द्रको पालादेखि राजा ज्ञानेन्द्रको पालासम्म उनले निरन्तर विभिन्न प्रशासनिक, राजनीतिक र कूटनीतिक जिम्मेवारी पाइरहे। प्रधानमन्त्री छँदा केपी शर्मा ओलीले उनलाई ईपीजीको संयोजकको जिम्मेवारी दिएका थिए। 

‘डा. थापा राजा महेन्द्रको पालादेखि अहिलेसम्म सान्दर्भिक छन्,’ पत्रकार शर्माले भने, ‘उहाँको व्यक्तित्व र सक्षमताका कारण यो सम्भव भएको हो। राजनीतिक दल वा नेता–व्यक्तिप्रति भन्दा राज्यप्रति उत्तरदायी भएकाले उहाँलाई यस्ता महत्वपूर्ण जिम्मेवारी मिलेको हो।’  

पुस्तकको सम्पादन पत्रकार हरिबहादुर थापाले गरेका हुन् भने प्रकाशन फाइन प्रिन्टले गरेको हो। ‘देश चलाउन देशलाई मिहिन गरी चिन्न सक्नुपर्छ,’ पत्रकार थापाले विमोचन कार्यक्रममा भने, ‘देश चिन्न यो पुस्तकले भूमिका खेल्छ।’ 

‘कतिपयमा हुटिट्याउँले थामेजस्तै नेपाल आफूले थामेको हो भन्ने भ्रम अहिले पनि देखिन्छ,’ प्रकाशकका तर्फबाट अजित बरालले भने, ‘यस्तो भ्रमबाट मुक्त छ, डा. थापाको आत्मकथा। त्यसैले, शासनयन्त्र र प्रशासनयन्त्रमा बस्नेहरुले डा. थापाको अनुभवलाई आत्मसात गर्दा समाजलाई फाइदा पुग्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .