पत्रकार लेखक टीकाबहादुर बस्नेतको मार्क्स्वाद र उत्तर आधुनिकतावाद पुस्तकको एक समारोहका बीच लोकार्पण गरिएको छ।
शनिबार घोराहीमा आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवप्रकाश लामिछाने र वाम विश्लेषक रोशन जनकपुरीले पुस्तकको लोकार्पण गरे।
पुस्तकको लोकार्पण गर्दै उपकुलपति प्रा. डा. लामिछानेले लेखनमा समाज झल्किनुपर्ने बताए। मुलुकको परिवर्तनका लागि भूमिका खेलेका साहित्यकारहरू परिवर्तनलाई संस्थागत गर्न भूमिका खेल्नुपर्ने बताए।
मार्क्स्वाद विश्वको उत्कृष्ट विचार धारा भएको भन्दै लामिछानेले यसैको आलोकमा विश्वमा थुप्रै परिवर्तन भएको बताए।
युवा पुस्तामा पठन संस्कृति हराउँदै गएको सन्दर्भ केलाउँदै लामिछानेले मार्क्सवाद र उत्तरआधुनिकतावाद पुस्तकले युवा पुस्तामा पठन संस्कृति विकास गराउनेमा विश्वास लिएको बताए।
‘युवा पुस्तामा पठन संस्कृति हराइरहेको सन्दर्भमा टीका जीले मार्क्स्वादलाई सरल ढंगले बुझाउने गरी पुस्तक प्रकाशन गर्नुभएको छ। जो अत्यन्तै सह्राहनीय पक्ष हो’, लामिछानेले भने, ‘लेखनीमा खडेरी उत्पन्न भइरहेको समयमा समालोचना विधामा टीका जीको प्रवेशले आशा दिलाएको छ। लेखनीमा निरन्तरता दिन म आग्रह गर्दछु।’
कार्यक्रममा वाम विश्लेषक जनकपुरीले मार्क्स्वाद र उत्तरआधुनिकतावाद विपरित ध्रुवीय सिद्धान्त भएको बताउँदै पुस्तकले सजिलै भ्रम चिर्नेमा विश्वास गरे।
उत्तरआधुनिकतापादी र उत्तरमार्क्स्वादीहरुले मार्क्स्वादलाई कमजोर बनाउने अभिव्यक्ति दिने गरेकोतर्फ लक्षित हुँदै जनकपुरीले यसका विरुद्धमा मार्क्स्वादीहरु एकजुट भएर लाग्नुपर्ने बताए।
पुस्तकको समीक्षा गर्दै राप्ती साहित्य परिषद्का अध्यक्ष डा. टीकाराम उदासीले समालोचना विधाको विकासमा बस्नेतको कृतिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरे।
समालोचना चुनौतीको विधा भएको भन्दै उनले मार्क्स्वाद र उत्तरआधुनिकतावाद पुस्तकका लेखक बस्नेतले समालोचकीय धर्म निर्वाह गरेको बताए।
उक्त अवसरमा दर्शनका अध्यता प्रमोद घितालले दर्शन र मार्क्स्वाद बुझ्न चाहने पाठकका लागि उपयुक्त कृति मार्क्स्वाद र उत्तरआधुनिकतावाद भएको बताए। कवि घनश्याम अस्तित्वले सहजीकरण गर्नुभएको कार्यक्रममा लेखक बस्नेतले लेखकीय मन्तव्य व्यक्त गरेका थिए।
Shares
प्रतिक्रिया