ad ad

साहित्य


जंगी अड्डासँग जोडिएका रोचक तथ्य र घटनाक्रम

जंगी अड्डासँग जोडिएका रोचक तथ्य र घटनाक्रम

नेपालखबर
चैत ११, २०८० आइतबार ९:५५, काठमाडौँ

मोहन थापा नेपाली सेनाका पूर्वसुबेदार हुन्। ती ‘सैनिक’, ‘सुबेदार’, ‘सुबेदार मेघबहादुर थापा’जस्ता सैन्य मामिलामा अनुसन्धानमूलक एवं गहकिला कृति नेपाली पाठकलाई दिइसकेका उनी यसपालि ‘जंगी अड्डाः विगत र वर्तमान’ पुस्तकका साथ देखापरेका छन्।

थापाले नेपाली सेनाको प्रचारप्रसार शाखामा लामो समय काम गर्दा सैन्य मामिलाको अध्ययन, सामग्री संकलन, लेखन र अनुसन्धानको काममा अभ्यस्त हुने मौका पाए। त्यहाँ लागेको बानीले अवकाशप्राप्त हुँदा पनि छाडेन। बरु उनको अन्वेषण रुचि र क्षमता झनै उन्नत भएर आयो । त्यसैले त उनी एकपछि अर्को खँदिला कृति पाठकलाई दिन सफल भइरहेका छन्।

पुस्तकको शीर्षक झट्ट हेर्दा नेपाली सेनाको मुख्यालयको सामान्य चिनारीजस्तो लाग्छ। तर, यस पुस्तकका प्रत्येक पाना र परिच्छेद रोचक तथ्य र कथ्यहरुले भरिएका छन्। नेपाली सेनाको आधिकारिक इतिहासमा नअटाएका धेरै महत्त्वपूर्ण तथ्य, घटना र लिखतहरु यहाँ समावेश छन्। सैन्य कूटनीतिसँग सम्बन्धित केही उल्लेख्य घटना पनि लेखकले पुस्तकमा समावेश गरेका छन्।

सैनिक मुख्यालयको नाम जंगी अड्डा कसरी बन्न पुग्यो? यो अड्डा काठमाडौँ नगरको बीच भागमा कसरी र के कारणले स्थापित भयो? प्रत्येक राजनीतिक कालखण्डमा तत्कालीन शासक र जंगी अड्डाबीचको सम्पर्क एवं सम्बन्ध कुन रुपमा रह्यो? कहाँनिर यो आलोचित भयो? कहाँनिर यो रणनीतिकरुपमा चुक्यो? कुनकुन घटनामा सम्बन्धमा खटपट आयो? अनि यसका गौरवगाथा के छन्? यी विभिन्न पक्षबाट जंगी अड्डाको ३ सय ६० डिग्रीको तस्बिर खिच्न लेखक सफल भएका छन्।

जंगी अड्डाभित्र र बाहिर नेपाली सेनाका केकस्ता निकाय छन्? ती निकायहरुले केके काम गर्छन्? नेपाली सेनाको सैन्य संगठनको विकासक्रम कसरी हुँदै आयो? विभिन्न युद्ध तथा राजनीतिक संकटहरुमा सेना कसरी परिचालित भयो? सेना नेपाली समाज र संस्कृतिसँग कसरी जोडिएको छ? यी प्रश्नको जिज्ञासा मेटाउन लेखकले हरसम्भव प्रयास गरेका छन्। 

केही ऐतिहासिक दस्तावेज र सान्दर्भिक तस्बिरहरुले पुस्तकको महत्तालाई थप बढाएका छन्। तर, जंगी अड्डा राष्ट्रिय सुरक्षाको एक धरोहर अनि रणनीतिक सूचना तथा जानकारी भएको संवेदनशील मुकाम पनि मानिन्छ। त्यसैले यसबारे केकस्ता जानकारी कुन हदसम्म सार्वजनिक गर्ने भनेर पनि लेखकले निकै सोचविचार पुर्‍याएको देखिन्छ। त्यसैले कतिपय रोचक तथ्य, घटना एवं सूचनाको अपेक्षा गर्दागर्दै प्रसंग सकिन्छ वा अन्यत्र मोडिन्छ। उनले सेवाप्रवेश गर्दा खाएको शपथ र पाठकको जिज्ञासाबीच सन्तुलन कायम गर्दै प्रायः सहज सार्वजनिक पहुँचमा नहुने विषय, सूचना र ज्ञानलाई पुस्तकको आकारमा ल्याएर पाठकलाई ठूलो गुन लगाएका छन्। 

कतिपय प्रसंगमा लेखक स्वयंले पनि सेना र यसको नेतृत्वको कार्य र शैलीमा बहस उठाउन खोजेका छन् र केहीमा स्पष्टतः आलोचनात्मक दृष्टिकोण प्रस्तुत पनि गरेका छन्। जस्तो कि ३ अर्ब ४४ करोड रुपैयाँ खर्चे बनाइएको ‘बिलासी’ भवन सेनाका लागि आवश्यक हो कि होइन भनेर प्रश्न उठाउने साहस उनले गरेका छन्। त्यस्तै दरबार हत्याकाण्ड, होलेरी काण्ड, दाङ हमलालगायतका घटनामा तत्कालीन सैनिक र राजनीतिक नेतृत्वमाथि उठेका प्रश्न तथा द्वन्द्वको अवस्थाबारे उनले आफ्नो विश्लेषणात्मक टिप्पणी प्रस्तुत गरेका छन्। यी प्रसंगको वर्णनमा उनले केही अर्थपूर्ण घटना विवरण पनि दिएका छन्। 

यति मात्र होइन, जंगबहादुर राणाले सेनालाई आफ्नो नियन्त्रणमा राख्न सकेको, २००७ सालदेखि २०४६ सम्म दरबारकै पूर्ण नियन्त्रणमा रहेको र २०४७ पछि प्रधानसेनापतिको एकमना हाबी हुँदै गएको रोचक दृष्टिकोण उनले पुस्तकमा प्रस्तुत गरेका छन्। 

शारदादेवी खड्काले प्रकाशन गरेको पुस्तकको मूल्य ६२५ रुपियाँ तोकिएको छ। यो पुस्तक इतिहास, सुरक्षा तथा सैन्य मामिला, कूटनीतिक र राजनीतिक विषयमा चासो राख्नेहरुका लागि उपयोगी र महत्त्वपूर्ण सन्दर्भसामग्री बन्ने देखिन्छ।    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .