कारागारबाट आरम्भ भएको कथा विगततिर मोडिन्छ।
हसुली गाउँमा टुवरा र माइला नामक पात्रहरू भेटिन्छन्। मजबुरीले फरक धर्म संस्कृतिका दुई मानिस एकै ठाउँमा भेटिनु र एकअर्काको आत्मसम्मान गर्नु पुस्तकको पक्ष अति नै सुन्दर छ। टुवरालाई घोच्दा माइलालाई दुख्छ। माइलालाई पीर पर्दा टुवराको आँसु झर्छ। सायद मार्क्स र एंगेल्सले कल्पेको साम्यवाद यस्तै हुनुपर्छ, धनी र गरिब हुँदैन। सानो र ठूलो जात रहँदैन। कालो र गोरो भनिँदैन। लिङ्ग विभेद गरिँदैन। शक्तिशाली र कमजोर मुलुक हुनेछैन। एक वर्ग एक संसार।
बाढीले बगाउँदा बाआमा मरिसकेका हुनाले काकासँग गाँस, बास र कपास खोज्दै हिँडेको टुवरालाई हसुली गाउँमा मुखियाकहाँ छोडेर गएका काका फर्केर आउँदैनन्। लेखकले काकालाई क्षणिक भूमिकामा राख्नुको मूल उद्देश्य चाहिँ टुवरालाई दह्रो बनाउनु हो जस्तो लाग्छ। टुवराका बाआमासँग के कति जमिन थियो? या जिम्दारकहाँ काम गर्थे कि त्यो खुलाइएको छैन। बाढीले सर्वनाश पार्नुको अर्थ चाहिँ सर्वहारा वर्गका थिए भन्ने पुष्टि हुन्छ। हुनेखाने भए त ज्यान जोखिम हालेर खोला बगरमा किन बस्दा हुन्?
लेखकले कहीँकतै मुखियाको प्रशंसा गरिरहेका हुन्छन्। यो नभुलौँ कि मुखिया घर कामदारको कमी नभए टुवराले बास पाउने कुनै सम्भावना हुँदैन। उसले खेत नजोती गाँस पाउने सम्भावना न्यून छ। एउटा घटना यता भनिहालौँ, माइलाको गल्तीले गर्दा टुवरा पनि आधा पेट सुत्नुपरेको छ। त्यसो भएको हुनाले टुवरा टुहुरो हो थारु जातको उसलाई संरक्षक चाहिएको छ भनेर मुखियाले माम दिएको होइन, उसको काम देखेर हो। माइला तामाङ पात्र जो भर्खरै मुखियाकहाँ हली हुन आएको हुन्छ, जसलाई राम्ररी जोत्न आउँदैन उसलाई पटकपटक भोटे भन्दै पहाडै लखट्ने धम्की दिइरहने मुखिया टुवराका लागि मात्रै दिलदार हुनै सक्दैन। मुखियाले श्रम शोषण गरेर जमिन जोडेको हो। ग्वाले टुवरा निकै सोझो भएको हुँदा उप्रति मुखिया प्रसन्न हुनु स्वाभाविकै हो।
ती सामन्ती मुखियाकहाँ मजदुरी गर्ने निरीह पात्रहरू। एकसरो लाउन। दुई गाँस खान। रात गुजार्न टहरो पाएकाहरूलाई न वर्ग चेत हुन्छ। न उत्पीडनबारे ज्ञान छ। भाग्यवादी चिन्तन भएका ती पात्रले आफ्नो निधार ठोकेर मुखियालाई महान् बनाएका हुन्छन्। मुखिया जसको धेरै खेत छ। उसले हलीलाई दुई छाक पेटभरि खान दिन कन्जुस्याइँ गर्छ त्यसलाई कथित महान् कसरी भन्न सकिन्छ?
उज्यालो भएदेखि अँध्यारो नहुँदासम्म कहिल्यै नसकिने काम मुखियाको। रगत सुकाएर पसिना बगाएर उत्पादन गरेको अनाज सामन्तीको पोल्टामा। श्रम लुट्नेलाई सम्मान दिनुपरेको छ एउटै कारण थारु टुवरा र तामाङ माइलाको नाउँमा जमिन छैन।
मानवले चेतनाको प्रयोग गर्न जानेन। आत्मनिर्भरताका लागि हतियार बनाएका हाम्रा पुर्खाले अहिले आत्मरक्षाका लागि परमाणु बम बनाएको छ जसले केही सेकेन्डमै मानव अस्तित्व नै मेटाइदिन सक्छ। साम्राज्यवादी देशले हतियारकै दम्भमा दुनियाँमाथि कब्जा जमाउन चाहन्छ। हतियार दुई कारणले ऊठ्छन्, दमन गर्न र मुक्त हुन। दमन नगरी मुत्तिको सवाल नै आउँदैन। लडाइँ भनेको जमिनका लागि हो विश्वभर।
खेतमा काम गर्दै गर्दा अचानक केल्हिया किशोरी पात्र ढल्छिन्। त्यहाँ मुखियालाई मान्छे मर्नुभन्दा अनिष्ट हुने डर रहन्छ। उत्पादनमा ह्रास आयो भने आफू तिनै टुवरा–माइलाजस्तै बेजमिन होइन्छ। अन्य जमिनदारकहाँ ग्वाला बस्नुपर्दा शोषित हुनुपर्छ भन्ने अन्तर मनमा मुखियाले सोचेको हुनुपर्छ। दमनमा पर्छु कि भनी सोच्न सक्नेले अरुलाई किन शोषण गर्नु? कारण एउटै छ भगवान् त काल्पनिक मात्रै हो तर मानिस आफूलाई पूजा गरोस् भन्ने चाहन्छ। जमिन साझा हो सबैको उत्तिकै अधिकार छ। सामूहिक उत्पादनमा जुटौँ, बाँडेर उपभोग गरौँ किन भन्दैन मानिस? किनकि मतलबी छ निजी स्वामित्वका लागि। जसले ज्यादा जमिन हडप्न सक्यो उही उत्पीडक बन्यो। अनि यो पुँजीवादी व्यवस्थामा राजा उसलाई मानिन्छ जोसँग अधिक सम्पत्ति छ।
मुसलधारे पानी परेको रात मुखियासँग बसेर पतिया काका, माइला र टुवराले मोद (रक्सी) पिउँछन्। मुखियाले बिँडीको लामो सर्को तानेर टुवरालाई केही खेत र एउटा छाप्रो भए पनि बनाइदिने आशा देखाउँछ। मुखिया सहर जान लागेको र धान भित्र्याउन आउने कुरो सुनाउँछ। बफदार कामदारलाई आस देखाउन कुन ठूलो कुरो भयो र? तर, भइदिन्छ के भने त्यही रात मुखिया घर फर्केको भोलि बिहान हत्याको खबरले टुवरा झस्किन्छ। अन्नदाता मानेको व्यक्ति मर्दा दुःख लाग्नु स्वाभाविकै हो।
अर्को आपत् के पर्छ भने टुवरा, माइला र पतिया काका जो केल्हिया (किशोरी पात्र)का बा हुन् मुखियाको हत्याको आशङ्कामा पर्छन्। सोधपुछ, हप्काइ, दप्काइ हुन्छ। मातृभाषी टुवराले नेपाली राम्ररी बोल्न र बुझ्न नसकेका कारण झन् अपमान खेप्नुपर्छ। पछि तीनैजनालाई चौकी लगेर दुई हप्ताभन्दा बढी थुनिन्छ। ती परिश्रमीका पक्षमा बोल्ने कोही हुँदैनन्। सरकारी मान्छे नै यति क्रुर बनेपछि अरुको कसरी भर पर्नु? राज्यले न्याय दिने तोकेको ठाउँले नै अन्याय गर्छ। कारण उसँग जग्गा छैन, स्मरण गराउँछु जमिन त सबैको हो मात्र उसको नाउँमा छैन। इमानदारीको प्रमाण खोज्न योभन्दा अन्त कता जानु? जो फटाहा थिए उनले निजी बनाइसके। राज्य नै उत्पीडकको पक्षमा उभिएपछि पीडितको के नै लाग्दो रहेछ र?
केल्हिया, टुवरा र माइला बौराहा खोलातिर वस्तुभाउ चराउन गएका हुन्छन्। गैँडा रक्षक भनौँदा प्रहरीहरूले ती गोठालाकहाँ पुगेर जे घटना घटाउँछन्, त्यसले तीनैजनाको जीवनमा उथलपुथल ल्याइदिन्छ। केल्हिया बलात्कृत हुन्छिन्। माइला र टुवरा निर्घात कुटिन्छन्। सरकारी बर्दीको दुरूपयोग। पितृसत्ताको सनक नारीलाई भोग्या मात्रै देख्ने। विगत/वर्तमान नेपाली समाजमा बलात्कृत महिला सामाजिक बहिष्करणमा पर्छिन्।
तर, उपन्यास यहाँ सकिँदैन मध्यान्तर हुन्छ। कथा कता मोडियो होला भन्ने प्रबल इच्छा त जाग्छ तर लेखक यहीनिर चुके कि जस्तो पनि लाग्छ। कथालाई लगातार बग्न दिनुपर्थ्यो। एकैचोटि २०/२१ वर्षअगाडि धकलेर किञ्चित खल्लो बनेको जस्तो मलाई लाग्यो। तर, अन्य पाठकलाई त्यस्तो नलाग्न सक्छ।
भुखला–भुखली नामक पात्र जसका एक छोरा छ, उसले उच्च शिक्षा हासिल गरिरहेको हुन्छ। यो राम्रो पक्ष छ थारु समुदायका छोरा हुन्छ त्यो। एक साँझ भुखला–भुखली घर क्रान्तिकारीहरूको प्रवेश हुन्छ। कमान्डर अरु कोही नभई विगतको माइला हुन्छ। भुखला–भुखली बनेका टुवरा र केल्हिया हुन्छन्। यहाँनिर निकै रोचक लाग्छ तर पाठक अलमलिन्छन् कि भन्ने डर छ मलाई। हुन त लेखकले यहीबाट पुनः कथा राम्ररी बुनेका पनि छन्।
मारिए भनिएका माइला अहिले टुवरा र केल्हिया कसरी एकै ठाउँमा त? वास्तवमा त्यो बेला प्रहरीले मारेको ठानिएका तीनैजना जीवित हुन्छन्। माइलाले सोचेको हुन्छ टुवरा र केल्हिया मारिए। ती दुईले पनि माइलालाई मार्दियो ठानेका हुन्छन्। घाइते माइला गाउँ फर्कंदैन। टुवरा र केल्हिया जुन हुलियामा गाउँ पुगे समाजको त कुरै छोडौँ केल्हियाका बालेसमेत बलात्कृत छोरीलाई अस्वीकार गर्छन्। टुवरा केल्हियाको रूप र यौवनप्रति आकर्षित थिएन। समाज र परिवारले केल्हियालाई समर्थन नगरेर के भयो त, टुवराले बिहे गर्छ। माटोसँग जोडिएका तिनीहरू उत्पादनका साधन गोरु लिएर जिमीका लागि टुङ्गोविनाको गन्तव्य खोज्न हिँड्छन्।
बिहान हिँडेको घाम डुबेपछि बल्ल एक घरमा बास पाउँछन्। त्यहाँ कमाइ खाने जमिनको कुरा उठ्दा घरबेटीले बताइदिन्छन् चुरिया गाउँका मुखियाकहाँ। हेर्नुस् त त्यहाँ पनि मुखियाकै कब्जामा जग्गा छ। कुनैबेला खेत रहेको तर बाढी आउँदा हाल बन्जर बगर भएको जमिन देखाइदिन्छन् मुखियाले। उनलाई टुवरा–केल्हियाजस्ता मेहनती मान्छे चाहिएको थियो ताकि बन्जर खेत फेरि मलिलो बनोस्। मेहनत कसैले गरोस् फल भने आफैँले पाओस्।
टुवरा भन्छ– ‘सबथोकको भोको छु तर मानसम्मानको छैन।’ उसले समाजमा भोकै मरेकाहरू सुन्यो। नाङ्गै हिँडेकाहरू भेट्यो। बेघरले जूनतारामुनि रात गुजारेको पनि देख्यो। तर, परिश्रमीले आत्मसम्मान पाएको थाहा पाएन जो मानवका लागि महत्वपूर्ण हो। सामन्तवादी समाज जसको जरा पितृसत्तात्मक चिन्तन र आध्यात्मिक दर्शनले भुइँ मान्छेलाई धुलो भन्दामाथि उठ्न दिएन। भाग्यवादीले पूर्वजन्मको कर्मको फल भ्रम फैलाएर किसानलाई दास चिन्तनदेखि मुक्त हुन दिएन। त्यही दर्शनबाट प्रभावित उत्पीडित टुवरा थियो। मेहनती हातभन्दा किस्मती निधारमाथि भर परिरह्यो। इमानदारी र बफादारी त बनायो तर क्रान्तिकारी हुन आध्यात्मिक दर्शनले दिएन।
वर्षहरू बित्दै गएपछि छिमेकी बन्न आएका कथित उच्च जातका पहाडिया बाजे जो बाहुनवादी चिन्तनका हुन्छन्। (पाठकलाई भ्रम नपरोस्। बाहुन जाति सबै ब्राह्मणवादी चिन्तनका हुन्छन् भन्ने होइन। जनजाति र दलित पनि ब्राह्मणवादी चिन्तनका सर्मथक र संरक्षक हुन्छन्। जात अन्तर्गत पर्ने थर र चिन्तन फरक विषय हुन्।) उनलाई टुवरा र केल्हियाको खुसी अनि सुखले निकै पोल्न थाल्छ। पछिपछि त काले–काली मुसा खाने जात भनेर हेपाहा व्यवहार गर्न लाग्छन्। साँध मिचेर ढुङ्गासमेत हान्न भ्याउँछन्। सीमा सारिएको त्यो जमिन टुवरा र केल्हियाको नाममा थिएन। तर, मुखियाले ती दुईलाई पहिलो प्राथमिकतामा राखेका थिए कि केही रूपैयाँ तिरेर आफ्नो नाउँमा बनाऊ। पहाडिया बाजे त्यो जमिन टुवरा–केल्हियाले दिने मूल्यभन्दा अधिक तिर्न तयार थिए, एउटै कारण त्यो खेत उर्वर थियो। मुखियाले तोकेको मूल्य दिन सक्थे ती दुईले तर आफ्नै नागरिकलाई अनागरिक बनाउने विभेदपूर्ण राज्यको नागरिकता थिएन टुवरासँग। यहाँ लेखकले उठाउन खोजेको प्रश्न चाहिँ गजबको छ। देशकै माटोमा जन्मेर हुर्किएर माटोसँगै प्रेम बसेको टुवराको नागरिता बन्दैन। बाआमालाई बाढीले कता लग्यो? काका छोडेर कहाँ लागे? कोही नभएको व्यक्तिको राज्य हुनुपर्ने तर राज्यले साथभन्दा बढी तिरस्कार गर्छ कारण ऊ थारु हो। उसलाई राजनीतिक चेत छैन। नीति बनाउने स्थानमा पुग्न दिइएको छैन।
एक बर्खामास टुवरा र केल्हियाको मात्रै नभई पहाडिया बाजेको घर खेतमासमेत बाढी पस्छ। जातिवादी बाजे जसले कहिलै टुवरालाई राम्रो नजरले हेरेनन्। तर, बाजेलाई भलबाट बचाउन त्यहीँ टुवरा टुप्लुक्क आइपुग्छ। ‘देख्नलाई घोङ्ही जस्तो कालो छौँ हामी। घोङ्हीको खोपटी जस्तो विरूप पनि देखिन्छु। घोङ्हीभित्रको गुदा जस्तै लरम पनि छु हामी,’ टुवराले बाजेलाई भन्छ। यसको अर्थ के हुनसक्छ भने माटोसँग जोडिएको मान्छे गफाडी र गद्दारी भने हुँदैन। मलिलो माटोजस्तै उर्वर शक्ति भएको हुन्छ।
‘हामी दूधजस्तै सेतो भएर पनि मनलाई चुकजस्तो कालो बनाइरहृयौँ। माफ गरि दे।’ ब्रहृमवादी पहाडिया बाजेलाई आत्मग्लानि लाग्छ। यो त संयोग मात्र हो तर वर्णले मानिसको चरित्र निर्धारण गर्दैन। वस्तुगत परिस्थतिअनुसार उसले स्वयम् जीवन र जगतलाई हेर्ने दृष्टिकोण बदल्न सक्यो कि नाइँ? तथ्यगत विज्ञानको प्रयोग गर्न जान्यो कि नाइँ? समाज परिवर्तनीय छ भन्ने सिक्यो कि नाइँ महत्त्वपूर्ण विषय यो हो। टुवराको कुरा गर्दा आध्यात्मिक दर्शनबाट प्रभावित छ। उसले आफ्नो जीवन जिउँदा अभाव देख्यो। बाँच्न मात्रै सिक्यो, बदल्नतिर लागेन।
नेपाल एकीकरणसँगै राज्यलाई हिन्दुकरण पनि गर्न थालियो तब एकल जातिका धर्म र संस्कृतिलाई मात्रै मान्यता दिइयो। आफ्नै पहिचान भएको थारु समुदाय सायद हिन्दु धर्म र संस्कृतिमा सामेल हुन नमान्दाको सजाय भूमिहीन, पछौटे टुवरा बनाइए। एकीकृत नेपालदेखि राज्यले उपेक्षा गर्न थालेपछि थारुहरूले आफ्नो पहिचानसँगै आत्मसम्मान पनि गुमाए। एकतन्त्रीय राणा शासनको विरुद्ध होस् वा पञ्चायती व्यवस्थाविरुद्ध विद्यार्थी आन्दोलनमा या २०४६ सालको जनआन्दोलनमा थारु जातिको पनि उत्तिकै भूमिका थियो, तर उनीहरू भूमिहीन र तिरस्कृत रहिरहे।
माओवादीले पहिचानको मुद्दा उठाएको हुँदा यो आन्दोलनबाट थारु समुदायलाई अलिक बढी नै अपेक्षा थियो। थारुवान प्रदेश जहाँ भाषा र संस्कृतिको संरक्षणसँगै समाजवादको सुन्दर भविष्य कल्पेर क्रान्तिमा लागेका थिए टुवरा–केल्हियाका छोराछोरी। सर्वहारा माइला तामाङहरू। ०६२–६३ सालको आन्दोलनपछि शान्ति प्रक्रियासँगै जुन सपना थिए, ती पूरै पूरा हुन सकेनन्। नवसामन्ती मुखिया देखा पर्न थाले र टुवराहरूलाई साँच्चै टुहुरो बनाउन लागे। सुकुमबासी बस्तीमा डोजर चलाइए। आन्दोलित थारुहरूसँग वार्ता गर्नुभन्दा तिनीहरूलाई राज्यले बलपूर्वक शान्त पार्न खोज्दा झन् आगो बल्यो। सडक मानव रगतले रङ्गियो। प्रहरी–सर्वसाधरण मारिए। शङ्कास्पद व्यक्ति समातिए। टुवरा पनि साम्प्रदायिक दङ्गा भड्काउने आरोपमा गिरफ्तार भयो।
आज यो पुस्तकले प्रश्न गरेको छ, त्यत्रो आन्दोलनपछि पनि थारु समुदायको भूमि र आत्मसम्मान कहाँ छ? हाम्रो पुस्ता मात्रै होइन, आउने पिँढीमा पनि थारु समुदायप्रतिको दृष्टिकोण परिवर्तन हुँदैन कि? यो ठूलो चिन्ताको विषय हो।
मेहनत नगरेर सम्पत्ति जोड्न सकेनन् भनौँ भने थारु समुदाय तथा टुवराले जति माटोमा पसिना अरु कसैले बगाएको छैन, तर जमिन नाउँमा छैन। मुख्यतः इमानदारी र परिश्रमी बनिरहे। दोस्रो कारण जसले उनको जग्गा कब्जा गरेर जमिनदार कहलिए, तिनै शोषकलाई राज्य सत्ताले संरक्षण र समर्थन गरिरहृयो। तेस्रो असमान जमिन वितरण गरियो।
लेखकले जहिले र जहाँ पनि पात्रलाई उत्पादनसँग जोडेका छन्। त्यसैले त यो माटोको कथा हो। तर, माटोसँग अधिक प्रेम भएको थारु समुदायलाई यो राज्यले न माटोको नाम दियो न त बाटो खुलाइदियो।
थारु समुदायसँग जोडिएका सडक आन्दोलनहरू लेखकले सूक्ष्म ढङ्गले अझै केलाउन सकेनन् भन्ने लाग्छ। किताब मोटो हुने डरले हो कि कथाहरू तीव्रगतिमा भगाइएको छ। कुनै पात्रको छोटकरीमा भए तापनि विगत बताइदिएको भए अझ सुन्दर हुन्थ्यो।
अन्तमा जेलमुक्त भएको मुख्य पात्र टुवरा कहाँ जान्छ? निरीह बन्छ कि राजनीतिक सङ्घर्षतिर लाग्छ? त्यो लेखकले कल्पेका होलान्। आशावादी छु मनोजले अर्को एक पुस्तक लेख्नेछन् जसले थारु आन्दोलनको नालीबेली बताउनेछ।
पुस्तक : टुवरा
विधा : उपन्यास
लेखक : मनोज थारु ‘अज्ञात’
प्रकाशक : शिखा बुक्स
संस्करण : पहिलो, २०७९
पृष्ठ : २१६
मूल्य : ३७५
Shares
प्रतिक्रिया