ad ad

लुम्बिनी


तुलसीपुर उपमहानगरको बजेट चालु आवको भन्दा डेढ अर्ब कम, कसरी घट्यो ४५ प्रतिशत?

तुलसीपुर उपमहानगरको बजेट चालु आवको भन्दा डेढ अर्ब कम, कसरी घट्यो ४५ प्रतिशत?

सुदीप भण्डारी
असार ११, २०७९ शनिबार ८:२३, काठमाडौँ

दाङको तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८६ करोड ४८ लाख ७९ हजारको बजेट सार्वजनिक गरेको छ। यो चालु आर्थिक वर्ष भन्दा १ अर्ब ५३ करोडले कम हो। चालु आर्थिक वर्षको लागि एक वर्ष अघि असारमा तुलसीपुर उपमहानगरपालिकाले ३ अर्ब ३९ करोड ४६ लाख विनियोजन भएको थियो।

चालु आर्थिक वर्ष २०७८/७९ को तुलनामा आज सार्वजनिक भएको बजेट ४५ प्रतिशतले कम हो। बजेटको आकार ४५ प्रतिशतले घट्नुको मुख्य कारण स्मार्ट सिटी हो। अघिल्लो आर्थिक वर्षमा संघीय सरकारले तुलसीपुरलाई स्मार्ट सिटी बनाउन भनेर १ अर्ब रुपैयाँ विनियोजन गरेको थियो। जसलाई चालु आर्थिक वर्षको बजेटमा तुलसीपुरले आफ्नो बजेटमा जोडेको थियो। स्मार्ट सिटीको बजेट आएन र कार्यक्रम पनि अघि बढेन। 

केपी ओली सरकारबाट हटेर शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि स्मार्ट सिटीको कार्यक्रम हटाइएको थियो। यो वर्ष स्मार्ट सिटीको नभएकाले बजेटमा ठूलो अन्तर आएको तुलसीपुरका सूचचना अधिकारी तथा तथ्यांक अधिकृत बाबुराम न्यौपानेले बताए। ‘स्मार्ट सिटीको एक अर्ब भनेर संघीय सरकारले घोषणा गरेको थियो। केन्द्रमा सरकार परिवर्तन भएपछि कार्यान्वयनमा आएन’, उनले भने, ‘त्यसैले यो पटक भएन त्यसैले भोलुममा अन्तर देखिएको हो।’

बजेट घट्नुको अर्को कारण यो पटक आन्तरिक आयको कम प्रक्षेपण पनि हो। अघिल्लो पटक भन्दा यो पटक २५ करोड कम प्रक्षेपण गरिएको तुलसीपुरका तथ्यांक अधिकृत न्यौपानेले बताए। ‘पोहर ६० करोडको प्रक्षेपण गरिएको थियो। धेरै महत्वकांक्षी थियो। अहिले ३५ करोड मात्र अनुमान गरिएको छ’, उनले भने।

तुलसीपुरमा आगामी आर्थिक वर्षका लागि चालु तर्फ २५.५९ प्रतिशत अर्थात् ४७ करोड ७२ लाख ७७ हजार विनियोजन भएको छ। त्यस्तै पुँजीगततर्फ ७३.९९ प्रतिशत अर्थात् १ अर्ब ८६ करोड ९७ लाख रुपैयाँ छुट्याइएको नगर उपप्रमुख स्यानी चौधरीले बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .