ad ad

लुम्बिनी


लुम्बिनीका ४ जिल्ला : गठबन्धनमा भागबन्डा कसरी मिल्ला?

रुपन्देही, दाङ, कपिलवस्तु र बाँकेमा गठबन्धनलाई सहमति जुटाउन सकस
लुम्बिनीका ४ जिल्ला : गठबन्धनमा भागबन्डा कसरी मिल्ला?

सुदीप भण्डारी
साउन ५, २०७९ बिहिबार १७:२७, बुटवल

लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा प्रतिनिधि सभाका कूल २६ वटा निर्वाचन क्षेत्र छन् । प्रदेश निर्वाचन क्षेत्र ५२ वटा छन्। नेपाली कांग्रेसको हालै सम्पन्न केन्द्रीय समिति बैठकले आगामी संघीय तथा प्रदेश चुनावमा गठबन्धन गरेर जाने निर्णय गरिसकेको छ। जसअनुसार लुम्बिनी प्रदेशका २६ वटा निर्वाचन क्षेत्रमा पनि भागबन्डा हुनेछ।

५ वर्षअघि २०७४ सालको चुनावमा यहाँबाट प्रतिनिधि सभातर्फ १३ क्षेत्रमा एमाले विजयी भएको थियो। त्यसमध्ये ३ सांसद अहिले एकीकृत समाजवादीमा छन्। ७ वटामा माओवादी केन्द्रले जित्दा ५ वटा क्षेत्र कांग्रेसले हात पारेको थियो। एउटा क्षेत्रमा संघीय समाजवादी पार्टी विजयी भएको थियो। एमाले र माओवादीबीच तालमेल हुँदा कांग्रेस लुम्बिनी प्रदेशमा ५ क्षेत्रमा खुम्चिएको थियो।

तर गत वैशाखमा भएको चुनावमा भने कांग्रेसले लुम्बिनी प्रदेशमा राम्रै प्रभाव देखायो। प्रदेशको १०९ स्थानीय तहमध्ये कांग्रेसले ४८ वटा पालिका प्रमुख जितेको छ। एमालेले २७ वटा पालिका प्रमुख जित्दा माओवादी केन्द्रले २५ पालिकाको नेतृत्व हात पारेको छ।

यसैगरी कांग्रेसले प्रदेशभरमा ३७५ वटा वडा जितेको छ। एमालेले ३१४ वटा वडा हात पारेको छ। माओवादी केन्द्रले १७० वडा जित्दा जनता समाजवादी पार्टी ४३ वडामा विजयी भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी १५, राप्रपाले २१ राष्ट्रिय जनमोर्चाले १६ र नेकपा एकीकृत समाजवादी पार्टीले ४ वटा मात्र वडा जितेको छ।

लुम्बिनी प्रदेशका केही ठाउँमा सत्ता गठबन्धनबीच तालमेल हुँदा कांग्रेसलाई फाइदा भएको हो। तालमेलबाट स्थानीय तह चुनावमा माओवादी पनि एमाले हाराहारीमा प्रमुख पद जितेको छ। माओवादीले वडा भने कम जितेको छ।

आगामी संघीय तथा प्रदेश चुनावमा ५ दलबीच तालमेल हुँदा २०७४ को चुनावसँगै गत चुनावलाई पनि आधार मानिने छ। तर ४ दलबीच चुनावमा भागबन्डा गर्न भने सहज छैन।

रुपन्देहीमा सिट बाँडफाँड गर्नै गाह्रो

रुपन्देही लुम्बिनी प्रदेशमा सबै भन्दा बढी निर्वाचन क्षेत्र रहेको जिल्ला हो। २०७४ को  चुनावमा जिल्लाका ५ निर्वाचन क्षेत्रमध्ये ३ वटा क्षेत्र नेकपा एमालेले जितेको थियो भने दुईवटामा कांग्रेस विजयी भएको थियो। अबको चुनावमा आफूले जितेका दुई क्षेत्र कांग्रेसले छाड्ने सम्भावना छैन। संघीय चुनावमा एमालेले जितेको क्षेत्रमा चुनावमा कांग्रेसले बलियो उपस्थिति देखाएको छ। त्यसैले तालमेलमा  कांग्रेसले बाँकी क्षेत्र पनि गुमाउन चाहेको छैन।

जिल्लाको दक्षिण भेगमा दुई संविधान सभाको चुनावमा मधेसवादी दलको प्रभाव रहेको ठाउँ हो। सत्ता गठबन्धनबीच तालमेल हुँदा जनता समाजवादी पार्टीले दक्षिण मर्चवार क्षेत्र पर्ने रुपन्देही ४ दाबी गर्न सक्छ। तर यो क्षेत्रमा कांग्रेस पनि बलियो भएकाले सहज छाड्ने देखिँदैन।

गत चुनावमा दक्षिणतर्फका ६ पालिकामा कांग्रेस र जसपाबीच तालमेलमा कुरा नमिलेपछि मित्रवत् प्रतिस्पर्धा गर्ने भन्दै छुट्टाछुट्टै चुनाव लडेका थिए। तर चुनावमा कांग्रेस नै बलियो देखिएको थियो। यो चुनावमा रुपन्देहीमा जसपा कमजाेर देखियो। जिल्लामा जसपाभन्दा लोसपा नै बलियो देखिएको थियो। २०७४ को चुनावमा रुपन्देही क्षेत्र नम्बर ४ मा कांग्रेसका प्रमोद यादवले राजपाका सर्वेन्द्रनाथ शुक्लालाई ११ हजार भन्दा बढी मतान्तरले हारेका थिए। संघ र चुनावमा आफ्नो बलियो उपस्थिति देखाएको कांग्रेसले रुपन्देही ४ गुमाउन पक्कै खोज्दैन। त्यसैले जनता समाजवादी पार्टीले गठबन्धनबाट रुपन्देहीमा सिंगो संघीय क्षेत्र पाउने सम्भावना कम छ।

रुपन्देहीमा माओवादी केन्द्रले आफ्नो प्रभाव केही बढी ठानेको क्षेत्र नम्बर ५ मा हो। २०७४ सालमा  तालमेल हुँदा एमालेले माओवादी केन्द्रलाई यही क्षेत्र दिएको थियो। तर कांग्रेसका भरतकुमार शाहले माओवादी केन्द्रका डिलाराम आचार्यलाई १२ हजार बढी मतान्तरले हराए। फराकिलो अन्तरले जितेको यो क्षेत्र पनि कांग्रेसले माओवादीलाई छाड्ने सम्भावना छैन।

गत चुनावमा कांग्रेससँग तालमेल हुँदा जिल्लाका केही पालिकामा माओवादीले उपप्रमुख उमेदवार पाएको थियो। तर जोगाउन सकेन।

५ वर्षअघिको चुनावमा रुपन्देहीको क्षेत्र नम्बर १, २ र ३ वाम गठबन्धनबाट एमालेले जितेका क्षेत्र हुन्।

२०७४ सालको चुनावमा क्षेत्र नम्बर १ मा एमालेका छविलाल विश्वकर्माले कांंग्रेसका अब्दुल रज्जाकलाई साढे ७ हजार भन्दा बढी मतान्तरले हराएका थिए। फोरम तेस्राे स्थानमा थियो। गत चुनावमा यो क्षेत्रमा कांग्रेस केही कमजाेर देखिएको थियो। त्यसैले अरु क्षेत्रभन्दा कांग्रेसले यो क्षेत्र छाड्न लचिलो हुन सक्छ। कांग्रेसले छाडेमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच एउटाको भागमा पर्न सक्छ।

क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेलले कांग्रेसका युवराज गिरिलाई २३ हजार मतान्तरले हराएका थिए। यो क्षेत्रमा मुख्य गरेर बुटवल उपमहानगरपालिका पर्छ। गत स्थानीय चुनावमा बुटवलमा कांग्रेसले मेयर र एकीकृत समाजवादीले उपमेयर लिएर तालमेल गरेका थिए। कांग्रेसका मेयर खेलराज पाण्डे साढे ७ हजारको मतान्तरले विजयी हुँदा एकीकृत समाजवादीका उपमेयर पराजित भए।

संघीय चुनावमा यो क्षेत्रमा एकीकृत समाजवादीले दाबी गरेको छ। नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष अविराम विश्वकर्माले गठबन्धन भएमा आफूहरुको दाबी रुपन्देही क्षेत्र नम्बर २ रहेको बताए। ‘हामी सबै क्षेत्रमा उमेदवार तोक्न तयारी अवस्थामा छौं। स्थानीय तहको अवस्था हेर्दा कांग्रेससँग गठबन्धन होला जस्तो लाग्दैन’, उनले भने, ‘तर गठबन्धन भएमा २ नम्बर क्षेत्र हाम्रो दाबी हो। केन्द्रमा नेताहरुले कसरी व्यवस्थापन गर्छन्।’

स्थानीय चुनावमा यो क्षेत्रमा राम्रो प्रभाव देखाएपछि चुनावमा उठ्ने बलियो उम्मेदवार कांग्रेससँग छैन।

रुपन्देही क्षेत्र नम्बर ३ मा एमालेका घनश्याम भुसालले राप्रपाका दीपक बोहोरालाई ५ हजार बढी मतान्तरले हराएका थिए। त्यसबेला कांग्रेसले दीपक बोहोरालाई सहयोग गरेको थियो। यो क्षेत्रमा पर्ने सिद्धार्थनगरको मेयर गत चुनावमा कांग्रेसले जितेको छ। ३ नम्बर क्षेत्रमै पर्ने मायादेवी, सियारी, शुद्धोधनलगायतका गाउँपालिकामा पनि कांग्रेस विजयी भएको छ। गृहमन्त्री बालकृष्ण खाँण चुनाव लड्न सक्ने क्षेत्र भएकाले पनि रुपन्देही ३ कांग्रेसले आफूसँगै राख्नेछ।

नेपाली कांग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरिले विगतमा जितेको र स्थानीय चुनावमा सुधारेको क्षेत्र कांग्रेसले नछाड्ने बताए। ‘दुईवटा क्षेत्रमा कांग्रेसले फराकिलो अन्तरले जितेको थियो। बाँकी क्षेत्रमा विगतमा कांग्रेस कमजाेर भए पनि स्थानीय चुनावमा राम्रो देखिएको छ’,  उनले भने, ‘संघीय क्षेत्र छोड्न कांग्रेसलाई गाह्रो छ। हेरौं केन्द्रबाट कसरी निर्णय हुन्छ?’

नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष निर्मल जिसीले रुपन्देहीका ५ क्षेत्रमध्ये २ क्षेत्रमा आफ्नो दाबी रहने बताए। ‘गठबन्धनमै जाने हो भने हाम्रो दुई क्षेत्रमा दाबी रहन्छ। नत्र गठबन्धनको के अर्थ हुन्छ र’, उनले भने।

कपिलवस्तुमा माओवादीलाई एउटा क्षेत्रको आश 

अघिल्लो चुनावमा कपिलवस्तुका तीन क्षेत्रमध्ये कांग्रेस, एमाले र माओवादी केन्द्रले एक-एक क्षेत्र जितेका थिए। कपिलवस्तु क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका चक्रपाणि खनाल कांग्रेसका दीपकुमार उपाध्यायभन्दा हजार कम मतान्तरले विजयी भएका थिए।

त्यसबेला एमालेको साथ पाएर खनालले थोरै मतान्तरले जितेका थिए। विगतमा जितेका ठाउँ पाउने मापदण्ड बन्यो भने अहिले यो ठाउँ फेरि माओवादी केन्द्रले पाउनेछ। तालमेल भएमा चक्रपाणि खनाल यो स्थान छाड्न तयार हुँदैनन्। 

क्षेत्र नम्बर २ मा सुर्य चिह्न लिएर बृजेशकुमार गुप्ता विजयी भएका थिए। उनी अहिले एमालेमै छन्। गुप्ता कांग्रेस उम्मेदवार सुरेन्द्रराज आचार्यभन्दा साढे ३ हजार बढी मत पाएर विजयी भएका थिए। त्यसबेला दोस्रो स्थानमा आएको कांग्रेस यो क्षेत्र कसैलाई छाड्न तयार छैन।

क्षेत्र नम्बर ३ मा कांग्रेसका अभिषेकप्रताप शाह विजयी भएका थिए। जसपाका मंगलप्रसाद गुप्ताले झण्डै ४ हजार मत कम ल्याएका थिए। यो क्षेत्रमा जसपा बलियो देखिए पनि पहिले आफूले जितेको ठाउँ भएकाले कांग्रेसले अरुलाई नछाड्ने निश्चितजस्तै छ।

कपिलवस्तुका १० पालिकामध्ये ४ पालिकाको नेतृत्व कांग्रेसले जितेको छ। ३ वटामा एमाले, जसपा, लोसपा र राप्रपा एक-एकवटा पालिका जितेका छन्।  

दाङमा कांग्रेसलाई २ क्षेत्र कि एक क्षेत्र?

दाङका ३ वटा निर्वाचन क्षेत्रमध्ये २०७४ को चुनावमा २ वटा क्षेत्र एमालेले जितेको थियो। एउटामा माओवादी केन्द्र विजयी भएको थियो। एमालेबाट विजयी मेटमणि चौधरी र हीराचन्द्र केसी दुवै सांसद अहिले एकीकृत समाजवादी पार्टीमा छन्।

क्षेत्र नम्बर १ मा तत्कालीन एमाले अर्थात् हाल एकीकृत समाजवादीमा रहेका मेटमणि चौधरीले कांग्रेसकी सुशीला चौधरीलाई १४ हजार मतान्तरले हराएका थिए। पहिले पनि चुनाव जितेको र एकीकृत समाजवादीका प्रदेश अध्यक्ष भइसकेका र प्रभावशाली नेता भएकाले यो क्षेत्र एकीकृत समाजवादीले दाबी गर्नेछ।  तर स्थानीय चुनावमा एकीकृत समाजवादीको अवस्था कमजाेर देखिएकाले कांग्रेसले सहजै छाड्ने देखिँदैन।

क्षेत्र नम्बर २ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका कृष्णबहादुर महरा विजयी भएका थिए। उनले कांग्रेसका राजु खनाललाई १४ हजार बढी मतान्तरले हराएका थिए। गठबन्धनका दलबीच तालमेल भएमा महराका लागि यो क्षेत्र माओवादी केन्द्रले दाबी गर्ने निश्चित छ।

क्षेत्र नम्बर ३ मा तत्कालीन एमालेका हीराचन्द्र केसी विजयी भएका थिए। उनी पनि अहिले एकीकृत समाजवादीमा छन्। केसीसँग कांग्रेसका दीपक गिरी साढे ६ हजार बढी मतले हारेका थिए। कांग्रेसका दीपक गिरीले अरुलाई छाड्ने छैनन्। त्यसैले दाङ क्षेत्र नम्बर ३ कांग्रेसले लिने निश्चितजस्तो छ।

गत स्थानीय चुनावमा तालमेल गरेर पनि दाङका तुलसीपुर र घोराही उपमहानगर गठबन्धनले गुमाउनपरेको थियो। अन्य पालिकामा भने कांग्रेसको राम्रो उपस्थिति छ।

एकातिर स्थानीय चुनावमा गठबन्धन सफल नहुनु र अर्कातर्फ जिल्लामा आफू बलियो भएकाले कांग्रेस अरु दललाई धेरै क्षेत्र छाड्न तयार छैन। दाङका नेता तथा कांग्रेसका लुम्बिनी प्रदेश उपसभापति राजु खनालले स्थानीय परिस्थिति र मतदाताको चाहना हेरेर दाङमा तालमेल हुनुपर्ने बताए।

‘हिजो जहाँ गठबन्धन गरियो, त्यहाँ रिजल्ट राम्रो आउन सकेन, गठबन्धन नभएको ठाउँमा हामीले जितेका पनि छौं। कहीँ न कहीँ कमजाेरी भयो कि भनेर हेर्नुपर्छ’, उनले भने ‘दाङमा गठबन्धन भएमा दुईवटा क्षेत्र कांग्रेसले छाड्नु हुँदैन। जिल्लाका धेरै पालिका जितेका छौं। जिल्लामा राम्रै बर्चस्व छ। यथार्थ धरातललाई हेरेर तालमेल हुनुपर्छ।’

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष चुरामणि बेलबासेले सरकार निर्माणमा जिल्लाका दुई सांसदले सहयोग गरेकाले दुवै क्षेत्रमा आफूहरुको दाबी रहेको बताए। ‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भोट दिएका सांसद हामीसँगै हुनुहुन्छ। त्यस आधारमा हाम्रा दुइवटै हुनुपर्ने हो, त्यसो भएन भने पनि एउटा संघीय निर्वाचन क्षेत्र हुन्छ भन्नेमा ढुक्क छौं’, उनले भने ‘स्थानीयमा तालमेल गर्न अलि गाह्रो भयो। संघ प्रदेशको केन्द्रबाट हुने हुँदा सहज होला।’

बाँकेमा कसरी मिल्लान् जसपा र कांग्रेस?  

वाम गठबन्धन हुँदा बाँके क्षेत्र नम्बर १ माओवादी केन्द्रले पाएको थियो। माओवादी केन्द्रका महेश्वरजंग गहतराजले ३ हजारजति मतान्तरले कांग्रेसका माधवराम खत्रीलाई हराएका थिए।

क्षेत्र नम्बर २ मा तत्कालीन फोरम र हाल जनता समाजवादी पार्टीका मोहम्मद इस्तियाक राईले चुनाव जितेका थिए। त्यसबेला कांग्रेसले राप्रपालाई सहयोग गरेको थियो। आफूले पहिले पनि जितेको क्षेत्र भएकाले अबको चुनावमा पनि यो क्षेत्र जसपाको दाबी रहन सक्छ। जसपाका जिल्ला अध्यक्ष कमरुद्दिन राईले जिल्लामा क्षेत्र नम्बर २ आफूहरुकै दाबी रहने बताए। ‘गठबन्धनको अहिले कुरा चलेको छैन। गठबन्धन भएमा एउटा संघीय क्षेत्र र ४ वटा प्रदेश सभा क्षेत्रमा हाम्रो दाबी हुन्छ’, उनले भने।

क्षेत्र नम्बर ३ मा एमालेका नन्दलाल रोका क्षेत्रीले कांग्रेसका बादशाह कुर्मीलाई ५ हजार मतान्तरले हराएका थिए। यो ठाउँ कांग्रेसका लागि सुनिश्चितजस्तै देखिन्छ।

गत स्थानीय तहको चुनावमा बाँकेका ८ पालिकामध्ये ६ पालिकाको प्रमुख कांग्रेसले जितेको छ।

नेपाली कांग्रेसका बाँके जिल्ला सभापति नारायण गौडेलले तीनवटै क्षेत्रमा कांग्रेस बलियो देखीएकाले स्थानीय तहको नतिजाअनुसार गठबन्धनमा तालमेल हुनुपर्ने बताए। ‘गत चुनावमा पनि हामीले धेरै पालिका जितेका छौं। तीनवटै क्षेत्र कांग्रेसले लिएर प्रदेशमा तालमेल गर्दा हुन्छ’, उनले भने, ‘स्थानीय तहलाई हेर्नुपर्छ। तर माथिबाट के निर्णय हुन्छ, त्यो हामीले मान्नुपर्छ।’

प्रदेशका एउटा र दुईवटा निर्वाचन क्षेत्र भएका जिल्लामा तालमेल झन् कठिन हुने देखिन्छ। गुल्मी, अर्घाखाँची, पाल्पा लगायतका जिल्लामा माओवादी र एकीकृत समाजवादीलाई मिलाउनुपर्ने चुनौती छ। रोल्पा, रुकुमजस्ता जिल्लामा आफ्नो प्रभाव भन्दै माओवादीले अन्य दललाई दिन नखोज्ने देखिन्छ। प्युठानमा राष्ट्रिय जनमोर्चालाई पनि चित्त बुझाउनुपर्ने हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .