लुम्बिनी


भालुवाङमा धमाधम संरचना तयार हुँदै

भालुवाङमा धमाधम संरचना तयार हुँदै

फाइल तस्बिर


नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार ७:४६, काठमाडौँ

लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको भालुवाङमा मुख्यमन्त्री कार्यालय स्थान्तरण लागि संरचना तयारी गर्ने काम भइरहेको छ । राप्ती गाउँपालिका–३ लालमटियास्थित राप्ती प्राविधिक शिक्षालयलाई एक महिनाअघि सरस्वती माविमा स्थानन्तरण गरेपछि सोही स्थानमा मुख्यमन्त्री कार्यालयलगायत अन्य मन्त्रालयका लागि संरचना मर्मत गर्ने कार्य भइरहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी निर्देशक छविराज पोखरेलले बताए।

‘शिक्षालयका पहिलेका थुप्रै भवन छन्, तिनै भवनलाई मुख्य मन्त्रालयलगायत अन्य मन्त्रालय राख्नका लागि संरचना तयार गर्ने कार्य भइरहेको छ’, उनले भने, ‘अहिले मुख्यमन्त्रीको कार्यालयसहित मुख्यमन्त्रीको निवास, प्रमुख सचिवको निवाससहित केही मन्त्रालयका लागि संरचना निर्माण गर्ने कार्य भइरहेको छ।’ उनका अनुसार केही दिनदेखि संरचना मर्मत गर्ने कार्य भइरहेको हो। 

त्यस्तै, प्रदेशसभा भवन निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ। प्राधिकरणका इञ्जीनियर विष्णु केसीका अनुसार भित्रको सबै काम पूरा भइसकेको र बाहिरको केही काम मात्रै बाँकी रहेको छ। त्यो पनि छिट्टै पूरा हुने उनले बताए। एक अर्ब २० करोड लगानीमा प्रदेशसभा भवन निर्माण भइरहेको हो। वाइवी स्टोन बिल्ड्रर्स प्रालिले उक्त निर्माणको जिम्मा पाएको छ। प्रदेशसभा भवनमा सभाहलसँगै भिआइपी कोठा, भोटिङ कोठा, मर्यादापालकका लागि गरी १४ वटा कोठा बनेका छन्। 

स्थायी राजधानी तोकिए पनि अहिलेसम्म भालुवाङबाट कामकाज हुनसकेको छैन। ग्रामीण तथा सहरी विकास मन्त्रालय र स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालय भालुवाङमा सरे पनि काम भने बुटवलबाट हुँदै आएको छ।

स्थायी राजधानी तोकिएपछि प्रदेशको स्थायी राजधानीलाई आवश्यक पर्ने संरचना निर्माण गर्न प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन भई काम गर्दै आएको छ। त्यस्तै प्रदेश पूर्वाधार प्राधिकरणअन्तर्गत जग्गा एकीकरण आयोजनाको कार्यालय पनि खुलेको छ।

विसं २०७७ असोज २० गतेको प्रदेशसभा बैठकले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नं १, २ र ३ तथा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–८ र ९ वडालाई केन्द्र मानेर स्थायी राजधानी तोकेको थियो। जतिबेला एक वर्षभित्र स्थायी मुकामबाट काम सुरु हुने भनिएको थियो। तर त्यसो हुन सकेन।

विसं २०५० मा स्थापना भएको राप्ती गाउँपालिका–५ स्थित राप्ती प्राविधिक शिक्षालय १६ बिघा क्षेत्रफलमा फैलिएको छ। जहाँ अहिले तीन सय जना अटाउन सक्ने एउटा सभाहलसमेत छ। साना–ठूला गरेर ३५ वटा भवन रहेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए। ‘हामीसँग भवन प्रशस्त छन्’, उनले भने, ‘यिनै भवनमा सबै मन्त्रालय चलाउन सकिन्छ, त्यसैले हामीले छिटो कामकाज दाङ सार्नका लागि पहल गरिरहेका छौँ।’ अहिले तिनै भवनलाई मर्मत गरेर मन्त्रालय चलाउने गरी तयारी थालिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad