ad ad

लुम्बिनी


बुटवल उपमहानगरपालिकाले खुलायो जग्गाको कित्ताकाट

बुटवल उपमहानगरपालिकाले खुलायो जग्गाको कित्ताकाट

नेपालखबर
मंसिर १९, २०७९ सोमबार १८:२०, बुटवल

बुटवल उपमहानगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ। उपमहानगरको कार्यपालिका बैठकले जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गरेसँगै कित्ताकाट गर्ने खुलेको हो।

जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने स्थानीय भू–उपयोग परिषद्को निर्णयलाई सोमबार बसेको कार्यपालिका बैठकले अनुमोदन गरेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले जानकारी दिए।  

बैठकले शहरीकरणतर्फ उन्मुख रहेका र वडाहरुबाट गैरकृषि क्षेत्र कायम राख्न सिफारिश भएअनुसार वडा नं १ देखि १३ र वडा नं १९ का जग्गाहरुलाई गैरकृषि क्षेत्र कायम गर्ने निर्णय गरेको छ।

कृषि क्षेत्र कायम राख्न इच्छुक स्थानीयलाई पुनर्विचारका लागि निवेदन पेश गर्न आह्वान गर्दा कुनै पनि निवेदन नपरेपछि वडा नं १९ लाई पनि गैरकृषि क्षेत्र कायम गर्ने निर्णय गरेको रानाले बताए।

यस्तै, वडा नं १४ देखि १७ भित्रका ५४ जना जग्गाधनीले कृषि क्षेत्र कायम राख्न दिएको निवेदनअनुसार कृषि क्षेत्र कायम राख्ने निर्णय कार्यपालिकाले गरेको छ।

यस्तै गरी वडा नं १४, १६ र १८ का ९५ वटा सडकहरुका दायाँबायाँ १ सय मिटरमा पर्ने जग्गाहरु गैरकृषि क्षेत्र कायम भएका छन्।

जग्गा वर्गीकरणका लागि वडामार्फत सूचना गर्दा कृषि क्षेत्र कायम राख्नका लागि भन्दा गैरकृषि क्षेत्र कायम राख्न बढी निवेदन आएको उपमहानगरको भू उपयोग तथा भूमि व्यवस्थापन शाखाका प्रमुख विजयदेव भुर्तेलले बताए। 
‘वडा नं १४ देखि १७ सम्मका ५४ जनाले मात्रै आफ्ना जग्गा कृषि क्षेत्र कायम राख्न निवेदन दिनुभएको थियो’ उनले भने, ‘सोही अनुसार हामीले भू उपयोग परिषदमार्फत निर्णय गरेर कार्यपालिकामा सिफारिश गरिएको थियो।’

२०७९ साउन १८ मा सरोकारवाला र नगरवासीको राय, प्रतिक्रिया र सुझाव लिन सार्वजनिक सूचना प्रकाशन गरी जिल्लास्थित नापी र मालपोत कार्यालयलाई प्रतिवेदनमाथि राय, प्रतिक्रिया लिएर भूउपयोग परिषदबाट निर्णय गरी कार्यपालिकामार्फत निर्णय गरिएको उपममहाननगरले जनाएको छ।

हाल स्वीकृत प्रतिवेदन र कार्यपालिकाको निर्णयसहितको सम्पूर्ण विवरण नापी विभाग, प्रदेश भू–उपयोग परिषद् र संघीय भू–उपयोग परिषद् पठाइने उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले बताए।

स्थानीय तहले भू–उपयोग परिषद् खडा गरी त्यसकै निर्णयका आधारमा जग्गाको विशेषताअनुसार १० वर्गमा बाँड्न सकिने भूउपयोग नियमावली २०७९ मा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .