लुम्बिनी


बुटवलमा यसरी मनाइयो जितगढी उत्सव

बुटवलमा यसरी मनाइयो जितगढी उत्सव

सुदीप भण्डारी
बैशाख ७, २०८० बिहिबार २०:१२, बुटवल

२०८ वर्षअघि अंग्रेजसँगको युद्धमा नेपालले विजय हासिल गरेको खुशीयालीमा बिहीबार बुटवलमा जितगढी उत्सव मनाइएको छ। 

१८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो। सो सम्झनामा बुटवल उपमहानगरपालिकाले जितगढी उत्सव मनाएको हो। 

जितगढी उत्सव अन्तर्गत गोरखादेखि पैदलयात्रामा आएको नेपाली सेनाको टोलीलाई स्वागत गरिएको थियो।

बिहीबार बिहान ११ बजे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल लगायत पूर्वजनप्रतिनिधि, संघसंस्था तथा स्थानीयले पैदलयात्रामा सहभागी टोली र नेपाली सेनाका मध्यपश्चिम पृतनापतिसहितको टोलीलाई स्वागत र सम्मान गरेका थिए। 

बुटवल १ को  गणेश मन्दिरनजिकैबाट बाजागाजासहित शुरु भएको पैदलयात्रीसहितको विजय र्याली जितगढी किल्लामा पुगी समारोहमा परिणत भएको थियो।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले जितगढी किल्ला अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न जरुरी रहेको उल्लेख गरे। उनले जितगढी किल्लाले बुटवलको पहिचानलाई उच्च बनाउँदै लगेकोले किल्लाको संरक्षण र पर्यटन प्रवर्द्धनलाई उत्तिकै महत्व दिनुपर्ने बताए। 

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जितगढी किल्लाको ऐतिहासिक र पुरातात्विक महत्वलाई स्थापित गर्दै पर्यटकीय स्थलको रुपमा विकास गर्ने बताए। उनले आगामी वर्षदेखि नियमित रुपमा हरेक वर्ष वैशाख ७ गते जितगढी उत्सव मनाइने र यसलाई बुटवलकै उत्सवका रुपमा स्थापित गर्ने उल्लेख गरे। 

नेपाली सेनाका मध्यपश्चिम पृतनापति यामप्रसाद ढकालले नेपाली सेना र नागरिकबीचको सम्बन्धलाई बलियो बनाउँदै युद्ध पर्यटनको रुपमा जितगढी किल्लाको प्रवर्द्धन गर्नुपर्ने धारणा राखे। 

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, बुटवल उपमहानगरपालिकाका पूर्वप्रमुख शिवराज सुवेदी, अध्येता निर्मल श्रेष्ठ, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उज्ज्वल कसजु, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेललगायतले बोल्दै जितगढी किल्लाको संरक्षण र पर्यटन प्रवर्द्धनमा भएको प्रयासले बुटवलले लाभ लिनसक्ने बताएका थिए। 

यसैबीच गोरखाबाट सुरु भएको नेपाली सेनाको गोरखा–जितगढी पदयात्रा समापन भएको छ। गत चैत्र २८ गते गोरखादेखि राज्य एकीकरण मार्ग हुँदै विजय उत्सव मनाउन हिँडेको टोली वैशाख ७ गते बिहीबार बुटवलको जितगढी आइपुगेको हो।

चैत २८ गते नेपाली सेनाका क्याप्टेन राजकुमार श्रेष्ठको नेतृत्वमा ४८ जनाको टोली गोरखाबाट बुटवलको जितगढीका लागि पैदलयात्रामा निस्केको थियो। 

नेपालको राष्ट्रिय झण्डाको साथमा ५ प्रथम कम्पनी (श्रीनाथ, कालिबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख) र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर बाजा गाजासहित सेनाको टोली पदयात्रामा निस्किएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .