लुम्बिनी


अघिल्लो अभिमत लत्याएर ‘अपग्रेड’ हुन चाहन्थे, प्रदेश सांसद पद पनि गुम्यो

अघिल्लो अभिमत लत्याएर ‘अपग्रेड’ हुन चाहन्थे, प्रदेश सांसद पद पनि गुम्यो

प्रदीप आचार्य
फागुन २५, २०८२ सोमबार २१:४३, बुटवल

लोभले लाभ, लाभले बिलाप भने झैँ लुम्बिनी प्रदेशका तीनजना प्रदेशसभा सदस्यले राजीनामा दिएर अपग्रेड हुने योजना बनाए।

जेनजी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भएर निर्वाचन हुनुलाई अवसरको रुपमा देखेर लुम्बिनी प्रदेशसभाका ४ जना सदस्यहरूले राजीनामा बुझाएर प्रतिनिधिसभा निर्वाचनमा होमिए। तर एक जना बाहेक तीन जनाले जित निकाल्न सकेनन्। 

प्रदेशसभाको कार्यकाल अझै डेढ वर्ष सेरोफेरोमा हुँदै गर्दा राजीनामा दिनेहरू हुन्, धनबहादुर मास्क, धर्मबहादुर चौधरी, कृष्णा केसी र कन्हैया बनियाँ। 

मास्कीले दाङबाट प्रदेश सभा सदस्य जितेका थिए भने चौधरीले बर्दियाबाट प्रदेश सदस्य जितेका थिए। यस्तै, कन्हैया रुपन्देही ४ को १ बाट लोसपाबाट प्रदेशसभा सदस्य बनेका थिए। बाँकेकी कृष्णा केसी प्रदेश सभामा चुनाव जित्ने एक्ली महिला थिइन्।

मास्की दाङ ३ मा नेकपाबाट नै उम्मेदवार बनेका थिए भने चौधरी बर्दिया २ बाट उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बने। लोकतान्त्रिक समाजवादी पार्टीका सांसद रहेका बानियाँ रुपन्देही ४ मा पार्टी परिवर्तन गर्दै रास्वपाबाट उम्मेदवार बनेका थिए। यता, बाँकेको क्षेत्र नं १ मा नेकपाकी कृष्णा केसी पार्टी परिवर्तन गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनिन्। 

यी मध्ये कन्हैया मात्रै विजयी भए। कन्हैया बाहेक तीनै जना लुम्बिनी प्रदेशका पूर्व प्रदेशमन्त्रीहरू हुन्। उनीहरू तीन जनाकै प्रदेश सांसद पद पनि गुम्न पुग्यो। केसीको त जमानत नै जफत भयो। 

तत्कालीन माओवादीबाट प्रदेश सांसद बाँकेकी कृष्णा केसीले लुम्बिनी प्रदेशसभामा राजीनामा बुझाइन्। पार्टी परिवर्तन गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिइन्। लुम्बिनी प्रदेशसभामा प्रत्यक्षमा जित्ने एक्ली महिला सांसदको रुपमा आफ्नो राम्रो प्रोफाइल बनाएकी उनी प्रदेशको मन्त्री समेत भएकी थिइन्। 

तर, उनले आफ्नो जमानत जोगाउन सकिनन्। केसीले १ हजार २४० मत पाउँदै छैटौँ नम्बरमा परिन्। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश कुमार चौधरी विजयी भए। उनले ३२ हजार ७९२ मत पाएका थिए। 

अर्का पूर्वमन्त्री एवं तत्कालीन नेकपा माओवादीबाट दाङ २ को २ बाट निर्वाचित धनबहादुर मास्की नेकपाबाट संघीय सांसदको उम्मेदवार बने। सांसद र मन्त्रीको स्वाद चाखेका उनी संघीय सरकारमा जान प्रदेशसभाबाट राजीनामा दिएर चुनावमा होमिए। तर उनी पराजित हुन पुगे। उनले ९ हजार ३ सय २८ मत पाएपनि उनी चौथो स्थानमा खुम्चिएर बस्न बाध्य भए। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले ४४ हजार २४८ मत पाउँदै विजयी भए।

अर्का प्रदेशका पूर्वमन्त्री चौधरीले पनि पार्टी पनि परिवर्तन गरे तर जित निकाल्न सकेनन्। नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा हुँदै मन्त्री बनेका उनी छाडेर उज्यालो नेपाल पार्टीबाट बर्दिया–२ मा उम्मेदवार बने। उनले ४ हजार ४७२ मत ल्याए। तर उनी पाँचौ स्थानमा खुम्चिए। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका श्रीधर पोखरेल विजयी भए। उनले २९ हजार ६७८ मत पाए। 

कन्हैया मात्रै सफल
रुपन्देहीको दक्षिणी क्षेत्र रुपन्देही ४ को १ बाट लोसपाबाट प्रदेशसभा सदस्य बनेका कन्हैया बानियाँ रास्वपा प्रवेश गर्दै प्रदेशसभाबाट राजीनामा दिएर उम्मेदवार बने। मतगणनामा शुरुवाती अवस्थादेखि नै पछि परेपनि अन्तिममा निकटतम प्रतिद्वन्दी नेकपा एमालेका प्रमोद यादवलाई पराजित गर्दै प्रतिनिधि सभामा पुग्न सफल भए। बनियाँले २८ हजार ६६ मत प्राप्त गर्दा एमालेका प्रमोद कुमार यादवले २० हजार २ सय ६२ मत पाएका थिए। 

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले १५ हजार ६ सय १३ मत, जनता समाजवादी पार्टी (जसपा), नेपालका सर्वेन्द्रनाथ शुक्लाले ३ हजार ४ सय १० र जनमत पार्टीका उम्मेदवार भोपेन्द्र प्रसाद यादवले २ हजार ७७ मत प्राप्त गरेका थिए। 

हिलेको भूमिका फेर्नुपर्ने बेला भएकाले प्रदेशको जिम्मेवारी छाडेर संघतर्फ अग्रसर भएकामा सफल भएको उनले दाबी गरे। जेन्जीको भावना र बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउन रूपन्देहीको मर्चवारको पनि योगदान देखियोस् भनेर पद छाडेको र जनताले साथ दिएको उनको भनाइ छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad