लुम्बिनी


‘मानवीयता देखाइएन, सामान निकाल्नै पाएनौँ’

‘मानवीयता देखाइएन, सामान निकाल्नै पाएनौँ’

प्रदीप आचार्य
बैशाख १३, २०८३ आइतबार १८:२, बुटवल

उच्च अदालत तुलसीपुर बुटवल इजलास अगाडि रहेका अव्यवस्थित ९ घरटहरा आज डोजर लगाएर हटाइयो। 

बुटवल उपमहानगरपालिकाले अदालतको अनुरोधमा बुटवल–४ जेसिज चोक उत्तरतर्फको अतिक्रमित जग्गा खाली गराउन डोजर चलाएको हो।

त्यस स्थानमा बसोबास गर्दै आएका परिवारले आफूहरूलाई पर्याप्त समय नदिइएको गुनासो गरेका छन्।

शनिबार साँझ करिब ७ बजे घर खाली गर्न माईकिङ गरिएको थियो भने बिहानैदेखि सामग्री स्थानान्तरणमा लागेका थिए। 

रातिको समयमा परिवारसहित बस्नुपर्ने बाध्यता रहेकाले तत्कालै सबै सामान सार्न सम्भव नभएको उनीहरूको भनाइ छ। बिहान सबेरै सामान निकाल्ने प्रयास भइरहेका बेला नगर प्रहरीले थप समय नदिई डोजर चलाएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन्।

घरटहरा भत्काइएपछि लत्ताकपडा, भाँडाकुँडा, काठका सामान र दैनिक प्रयोगका सामग्री सडकछेउमा छरिएका देखिन्थे। कतिपय परिवार आफ्ना साना बालबालिकासहित खुला आकाशमुनि उभिएका थिए भने कतिपयले बचेका सामान समेट्न व्यस्त देखिन्थे।

विस्थापित परिवारले वैकल्पिक बसोबासको व्यवस्था नगरी हटाइएको भन्दै असन्तुष्टि जनाएका छन्। काठमाडौँमा सुकुम्बासीका लागि विकल्प खोजिएको चर्चा सुने पनि बुटवलमा भने आफूहरूलाई कुनै जानकारी वा सहजीकरण नभएको उनीहरूको भनाइ छ।

प्रभावितमध्ये सबैभन्दा पहिला भक्तबहादुर बस्नेतको घरमा डोजर चल्यो। सामग्री सार्न ब्यस्त रहेका उनी १ घन्टा मात्रै थप समय मागेका थिए। पाकेको खानेकुरा र भाडाकुडा बाँकी थियो। तर उनलाई त्यो निकाल्न नदिइएको उनको गुनासो छ। 

उनले गुल्मीमा भएको गोलीकान्ड पश्चात् दिइएको जग्गामा बसेपनि अमानवीय व्यवहार भोग्नुपरेको गुनासो गरे। 

सामग्री सार्न समय लाग्ने भएपनि समय नदिइएको भन्दै उनले भने, ‘बेलुका खाली गर भनियो, बिहान सामान निकाल्दै थियौँ। केही समय दिएको भए सजिलै सार्थ्यौं, तर डोजर आयो र धेरै सामान फुट्यो।’

सोही स्थानमै ४० वर्षदेखि बस्दै आएका तुलसीराम रिजालले आफूहरू यति लामो समयदेखि बस्दै आएपनि सर्ने बेलामा १/२ दिन समय नदिएको भन्दै गुनासो गरे। उनले आफू अहिले बसेको जग्गा पनि तत्कालिन अदालतकै कर्मचारीबाट १२ हजारमा किनेको भन्दै आफूहरूको व्यवस्थापन हुनुपर्ने समेत बताए। 

उनले भने, ‘हामी भागेर कहाँ जाने? बस्ने ठाउँ छैन। कम्तीमा केही दिनको समय दिएको भए आफैं हट्थ्यौँ।’

६५/६८ वर्षकी बेलकुमारी कुँवरले भित्र भएका सामग्री निकाल्न नदिइएको भन्दै गुनासो सुनाइन्। यति लामो समय बस्दै आएको घर एकैछिनमा धुलो बनाइदिएको भन्दै भावुक भइन्। 

अर्का स्थानीय लोकबहादुर कुँवरले स्थानान्तरण गर्नको लागि केही दिन मात्रै दिएको भए धेरै राहत हुने भएपनि त्यस्तो नभएको बताए।

उनले घर छाएका जस्ता, गेट, सटरहरू सहि तरिकाले निकाल्न पाएको भए अर्को स्थानमा गएर केही गर्न सकिने भएपनि बुटवल उपमहानगरपालिकाले डोजर नचाएर त्रसित पार्दा ति सामग्री फुटेको र निकाल्न नपाएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad