पश्चिम क्षेत्रको पुरानो क्याम्पसमध्ये एक– बुटवल बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व १४ वर्षदेखि रिक्त छ। २०६२ सालमा भएको चुनावमा नेकपा एमालेनिकट अनेरास्ववियुका बाबुराम पन्थी स्ववियु सभापति चुनिएका थिए। पन्थीपछि बहुमुखी क्याम्पसले अर्को विद्यार्थी नेतृत्व पाउन सकेको छैन। २०६५ सालमा स्ववियु चुनावअन्तर्गत मतदान त भयो तर परिणाम आएन।
उक्त चुनावमा एकातर्फ माओवादीनिकट अनेरास्ववियु (क्रान्तिकारी) र जनमोर्चानिकट अखिल छैटौँ मिलेका थिए। अर्कातर्फ एमालेनिकट अनेरास्ववियु र कांग्रेसनिकट नेविसंघबीच तालमेल थियो। अनेरास्वस्ववियुबाट रमेश पाण्डे र अखिल क्रान्तिकारीबाट विष्णु थापा स्ववियु सभापतिका उम्मेदवार थिए।
चुनावमा मतदान पनि भयो। तर मतगणनाका क्रममा अखिल क्रान्तिकारिका विद्यार्थीले मतपत्र च्याते। मतपत्र च्यातिएपछि चुनाव बिथोलियो र नयाँ नेतृत्व पनि आउन सकेन।
त्यसयता अहिलेसम्म बहुमुखी क्याम्पसको स्ववियु रिक्त छ। २०७३ फागुनमा तोकिएको स्ववियु चुनावमा एकातिर अनेरास्ववियु र अर्कातर्फ नेविसंघ, अखिल क्रान्तिकारी मिलेर मैदानमा आएका थिए। चुनावका लागि मनोनयन दर्ता भयो तर विवादका कारण मतदान हुन सकेन।
तात्दै चुनावी माहोल
बुटवल बहुमुखी क्याम्पसमा यसपटक भने चुनावी माहोल केही तातेको छ। बुधबार बिहान बहुमुखी क्याम्पस प्रांगणमा पुग्दा विद्यार्थी उम्मेदवारहरू एकआपसमा मत मागिरहेका थिए। कोही विद्यालयको मूल गेटमा बसेर आएका विद्यार्थीलाई पर्चा बाँडिरहेका थिए।
स्नातकोत्तर तहमा अध्ययनरत बाग्लुङकी विजया कँडेलले क्याम्पसमा पढेदेखि अहिलेसम्म बल्ल चुनावी माहोल देखेको सुनाइन्।
‘पढाइसँगै राजनीतिमा पनि चासो राख्ने गरिन्छ। तर यसरी क्याम्पसको चुनाव देख्न पाइएको थिएन’, उनले भनिन्, ‘बीचमा चुनाव भएको भए। हामी पनि सहभागी हुन सकिन्थ्यो। अब त पढाइ पनि सकिने बेला भयो। आफ्नो पक्षका साथीहरूलाई जिताउने पहल गरिरहेको छु।’
बर्चस्व कायम राख्ने अनेरास्ववियुको प्रयास, किल्ला तोड्ने नेविसंघको दाउ
बहुमुखी क्याम्पसको स्ववियु सभापति पदका लागि ६ जना प्यानल बनाएर चुनावी मैदानमा छन्। एमालेनिकट अनेरास्ववियुका दुर्गाबहादुर एमसी, नेविसंघका सागर पौडेल, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका शिवबहादुर खवास अध्यक्षका उम्मेदवार छन्।
त्यसैगरी नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीका तर्फबाट पारस राहदी, विप्लवनिकट अखिलका पदम पराजुली, राष्ट्रिय स्वतन्त्र पार्टीनिकट राष्ट्रिय स्वतन्त्र विद्यार्थी (ख) बाट वरन्यमराज गौतम पनि सभापति पदका लागि मैदानमा छन्।
विगतका चुनावी नतिजा हेर्दा एमालेनिकट अनेरास्ववियु र नेविसंघबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
अनेरास्ववियुका तर्फबाट सभापतिका उम्मेदवार दुर्गाबहादुर एमसीले लगातारजसो चुनाव जितेको क्याम्पसमा यसपटक पनि जित्ने दाबी गरे। ‘हामीले पहिलेदेखि जित्दै आएको ठाउँ हो। यो पटक पनि जित्छौँ’, उनले भने, ‘स्ववियुमार्फत विश्वविद्यालय र क्याम्पसका शैक्षिक विकृति हटाउन पहल गर्छौैँ। युवा विद्यार्थी पलायन रोक्न क्याम्पसहरूलाई सुधार आवश्यक छ। त्यसमा लागिपछौैँ।’
नेविसंघबाट स्ववियु सभापतिका उम्मेदवार सागर पौडेलले यो पटक लालकिल्लाको भ्रम तोड्ने दाबी गरे।
‘यो क्याम्पसलाई कुनै एक संगठनको लालकिल्ला भन्ने भ्रम पारिएको छ। त्यो भ्रमचाहिँ यसपटक हामीले तोड्ने छौँ’, उनले भने, ‘१४ वर्षयता स्ववियु चुनाव नहुँदा यो बीचमा नेविसंघ सुदृढ भएको छ। क्याम्पसमा डेलिगेसन गरेर विद्यार्थीका तमाम समस्या समाधान गरेका छौँ। आउँदा दिनमा पनि विद्यार्थीका समस्या, पुस्तकालय शैक्षिक पूर्वाधार लगायतका समस्या हल गर्न लाग्ने छौँ।’
प्रजातन्त्र पुनःस्थापनायता बुटवल बहुमुखी क्याम्पसमा हालसम्म स्ववियु चुनावमा एमालेनिकट अनेरास्ववियु विजयी भइरहेको छ। २०४९ सालमा खिमलाल भट्राई, ०५१ मा राजु गुरुङ, ०५३ मा तेजेन्द्र केसी, ०५५ मा यज्ञ गैरे, ०५७ मा रमेश न्यौपाने, ०६० मा रमेश राना र ०६२ को चुनावमा बाबुराम पन्थी स्वतन्त्र विद्यार्थी युनियनको सभापति चुनिएका थिए।
पूर्वविद्यार्थी नेता भन्छन्– निरन्तर चुनाव नहुँदा शैक्षिक आन्दोलन कमजोर
लामो समय स्ववियु चुनाव नहुँदा नयाँ पुस्तामा राजनीतिक चेतना नहुनुका साथै शैक्षिक मुद्दा पनि ओझेलमा परेको पूर्वविद्यार्थी नेताहरू बताउँछन्। हाल एमाले रुपन्देही सचिवालय सदस्य रहेका बुटवल बहुमुखी क्याम्पसका पूर्व स्ववियू सभापति बाबुराम पन्थीले चुनाव निरन्तर नहुँदा शैक्षिक आन्दोलन ओझेलमा परेको उल्लेख गरे।
‘तत्कालीन समयमा आफ्नै दलको सरकार भए पनि शैक्षिक मुद्दामा विद्यार्थीहरू आन्दोलित हुन्थे। पछिल्लो समय शैक्षिक आन्दोनल मुभ हुन सकेन’, उनले भने, ‘विद्यार्थीमा दलहरूले राजनीतिक वैचारिक प्रशिक्षण चलाउने खालका गतिविधि भएन। विद्यार्थीमा राजनीतिक चेतना पनि कम्जोर हुँदै गयो।’
हाल नेपाली कांग्रेस रुपन्देही २ का क्षेत्रीय सचिव तथा ०६० सालमा नेविसंघबाट बहुमुखी क्याम्पसमा स्ववियु सभापतिका उम्मेदवार प्रजापाल गिरीले क्याम्पसमा चुनाव नहुँदा अहिले पनि पुरानै शैक्षिक मुद्दा कायम रहेको सुनाए।
‘२० वर्षअघि उठाएका मुद्दा र अहिलेको स्ववियु चुनावका मुद्दा उस्तै प्रकारका छन्’, उनले भने, ‘शैक्षिक गुणस्तरमा खबरदारी गर्ने निकाय नहुँदा क्याम्पस प्रशासनमा पनि बेथिति र लापरबाही देखियो।’ चुनाव निरन्तर भएर विद्यार्थीको साझा मञ्च कायम रहेको भए क्याम्पसहरूको अवस्था सुधार हुने चुनावका लागि नयाँ एजेन्डा आउने गिरीको तर्क छ।
प्रतिक्रिया