रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा अप्रत्याशित मत हासिल गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा उम्मेदवार सुलभ खरेल विजयी भएका छन्।
लामो समयदेखि रुपन्देहीमा राजनीतिक प्रभाव जमाइरहेका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नमज्जासँग हराउँदै खरेल राष्ट्रिय राजनीतिमा उदाएका हुन्।
रुपन्देहीमा लगातार चार निर्वाचन जितेका पौडेलको यो दोस्रो हार हो।
२०५६ सालदेखि रुपन्देहीबाट चुनाव लडिरहेका पौडेल २०६४, २०७०, २०७४ र २०७९ सालमा लगातार विजयी भएका थिए।
तर यो पालि रास्वपाका युवा उम्मेदवार खरेलले उनलाई ४२ हजार ६२५ मतान्तरले हराइदिए।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार विजयी खरेलले ५४ हजार ९२७ मत पाउँदा एमाले उपाध्यक्ष पौडेलले १२ हजार ३०२ भोट मात्र ल्याए।
मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रता लिएका खरेलको परिचय राजनीतिमा होइन, फरक क्षेत्रमा स्थापित छ।
उनी संवैधानिक कानुनका जानकार अधिवक्ता तथा अन्तर्राष्ट्रिय कानुनका पनि ज्ञाता मानिन्छन्।
अमेरिकाको मिसिगन विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर (एलएलएम) गरेका खरेल संविधान, लोकतान्त्रिक शासन र कानुनी शासन सुदृढीकरणका क्षेत्रमा सक्रिय छन्।
यही योगदानका कारण उनलाई मुलुकले नागरिक पुरस्कारसमेत प्रदान गरेको छ।
उनले सर्वोच्च अदालतमा महत्त्वपूर्ण संवैधानिक मुद्दाहरूमा बहस गरेका छन्।
विशेषगरी प्रतिनिधि सभा विघटनसम्बन्धी ऐतिहासिक मुद्दामा दायर गरिएको रिटमा उनी कानुनी टोलीका सदस्यका रूपमा सहभागी भएका थिए।
खरेलले संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको सुरक्षा ढाँचाअन्तर्गत शरणार्थीहरूको कानुनी प्रतिनिधित्वसमेत गरेका छन्।
यसअघि उनी सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीका न्यायिक क्लर्कका रूपमा कार्यरत थिए।
त्यसपछि संसद सदस्यका विधायी सल्लाहकारका रूपमा समेत काम गर्दै अन्तर्राष्ट्रिय लोकतान्त्रिक मापदण्डअनुसार विभिन्न विधेयकको मस्यौदा र संशोधन प्रक्रियामा योगदान दिएका थिए।
विद्यार्थी राजनीति हुँदै कानुनी क्षेत्रमा
२०५४ भदौमा जन्मिएका खरेल बुटवल उपमहानगरपालिका-१६ का स्थायी बासिन्दा हुन्।
उनले रुपन्देहीमै एसएलसी उत्तीर्णपछि विज्ञान विषय लिएर प्लस टु पढेका थिए।
त्यसपछि काठमाडौँको नेपाल ल क्याम्पसबाट पाँचवर्षे बीए-एलएलबी पूरा गरे।
विद्यार्थी जीवनमा उनी केही समय नेकपा एमालेकै विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध भएका थिए।
नेपाल ल क्याम्पसमा अध्ययनका क्रममा करिब दुई वर्ष संगठनमा सक्रिय रहेका उनी त्यसपछि कानुनी पेसामा केन्द्रित भए।
बीए-एलएलबी पूरा गरेपछि चार वर्ष वकालत गरेका खरेलले उत्कृष्ट अंकसहित प्रवेश परीक्षा उत्तीर्ण गर्दै पूर्ण छात्रवृत्तिमा अमेरिकामा एलएलएम अध्ययन गर्ने अवसर पाएका थिए।
कानुनी बहस र रिटमा सहभागी
कानुनी बहस र संवैधानिक मुद्दाहरूका कारण चर्चामा आएका हुन्।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध दायर गरिएको रिटमा उनी निवेदकका रूपमा सहभागी भएका थिए।
त्यसबेला उनी सबैभन्दा कान्छा रिट निवेदकका रूपमा चर्चित बनेका थिए।
यसैगरी निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका संघीय सांसदहरूलाई जरिवाना तिराउने निर्णय गर्दा त्यसविरुद्ध पनि उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
नेपाल फर्किएपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भए।
रास्वपा सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित मुद्दामा समेत उनले कानुनी परामर्श दिएका थिए।
विवाद र चर्चा
गत वर्ष ‘जेनजी विद्रोह’का बेला खरेल विवादमा पनि परे।
सामाजिक सञ्जालमार्फत न्यायाधीशलाई आक्रमण गर्नुपर्ने र सर्वोच्च अदालत जलाउनुपर्ने भन्ने सन्देश आदानप्रदान गरेको आरोप उनलाई लागेको थियो। तर खरेलले उक्त आरोप असत्य र दुष्प्रचार भएको दाबी गरेका छन्।
त्यस्तै भ्रष्टाचार मुद्दा लागेका व्यक्तिले पनि चुनाव लड्न पाउनुपर्ने माग गर्दै दायर गरिएको रिटमा संवैधानिक इजलासमा बहस गर्न पुगेका खरेललाई प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले प्रश्न उठाएपछि उनी इजलासमै ढलेका थिए।
उक्त घटनाले पनि उनलाई थप चर्चामा ल्याएको थियो।
अन्तिम समयमा टिकट, ठुलो जित
रुपन्देही २ मा सुरुमा रास्वपाका अर्का नेता आशिष सुवेदीलाई टिकट दिइएको थियो। तर उम्मेदवारी दर्ताको अघिल्लो राति पार्टीले निर्णय परिवर्तन गर्दै खरेललाई उम्मेदवार बनायो।
अन्तिम समयमा टिकट पाएका खरेलले चुनावमा एमालेका प्रभावशाली नेता विष्णु पौडेललाई पराजित गर्दै अप्रत्याशित परिणाम हासिल गरेका छन्।
कानुनी अभ्यास, अन्तर्राष्ट्रिय अध्ययन र सार्वजनिक नीति अनुभवको संयोजनले खरेललाई संवैधानिक अखण्डता, मानव अधिकार र जवाफदेही शासनका पक्षधर कानुनी विज्ञका रूपमा चिनाएको छ।
यही पृष्ठभूमिसँगै उनी रुपन्देही २ बाट संसद्मा प्रवेश गर्दै राष्ट्रिय राजनीतिमा नयाँ पुस्ताको प्रतिनिधि नेताका रूपमा उदाएका छन्।
Shares

प्रतिक्रिया