मधेस


मधेश प्रदेश : संघमा विवादित बनेपछि जनमतका सांसदले टिपाएनन् शपथको भाषा

प्रदेशसभा सदस्यहरूले ८ भाषामा शपथ लिने
मधेश प्रदेश : संघमा विवादित बनेपछि जनमतका सांसदले टिपाएनन् शपथको भाषा

जयन्त ठाकुर
पुस १३, २०७९ बुधबार २१:५५, जनकपुरधाम

मधेश प्रदेशको प्रदेशसभा सचिवालयले नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण कार्यक्रम पुस १५ गतेका लागि तय गरेको छ।

मधेश प्रदेशसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य गोविन्द बहादुर न्यौपानेले प्रदेशसभा सदस्यहरुलाई शपथ गराउने छन्। 

न्यौपानेलाई बिहीबार मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराउने छन्। प्रदेश प्रमुखबाट शपथ ग्रहण लिएर न्यौपानेले नै बाँकी प्रदेशसभा सदस्यहरुलाई पुस १५ गते शपथ ग्रहण गराउने छन्। 

मधेश प्रदेशको प्रदेशसभा सचिवालयले नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई शपथ ग्रहण गर्न चाहने भाषाको नाम सचिवालयमा टिपाउन सूचना निकालेको थियो। सोही सूचनाको आधारमा प्रदेशसभा सदस्यहरुले शपथ ग्रहणको भाषा टिपाएका हुन्। प्रदेशसभा सचिवालका अनुसार प्रदेशसभा सदस्यहरुले ८ वटा भाषा टिपाएका छन्।  

सचिवालयका अनुसार मधेश प्रदेशमा सबैभन्दा बढी नेपाली भाषा टिपाइएको छ। ५६ जना प्रदेशसभा सदस्यहरुले नेपाली भाषामा शपथ लिने भएका छन्। 

त्यस्तै बज्जिका भाषामा १३ जना प्रदेशसभा सदस्यहरुले शपथ लिने भएका हुन्। बज्जिका भाषामा शपथ लिन चाहने प्रदेशसभा सदस्यहरुमा अभिराम शर्मा, उपेन्द्र महतो, कृष्णप्रसाद यादव, कौशलकिशोर राय, जंगिलाल राय, नागेन्द्र साह, रमिता प्रधान, रानी शर्मा तिवारी, रुपा कुमारी यादव, वीरेन्द्रप्रसाद सिंह, सकुन्ती देवी र शोभा देवी रहेका छन्। 

मैथिली भाषामा शपथ लिन चाहने १० जना प्रदेशसभा सदस्यहरु रहेका छन्। किरण कुमारी, कुमरकान्त झा, जिवछीकुमारी यादव, मनिषकुमार सुमन, ममतादेवी मण्डल, राजकुमार गुप्ता, रामअशिष यादव, रामचन्द्र मण्डल, रामसरोज यादव, शेषनारायण यादव र संजयकुमार यादवले मैथिली भाषामा शपथ लिने प्रदेशसभा सचिवालयले जनाएको छ। 

७ जना प्रदेशसभा सदस्यहरुले शपथको भाषा भोजपुरी टिपाएको प्रदेशसभा सचिवालयले जनाएको छ। जैनब खातुन, बच्चाराउत अहिर, रमेशप्रसाद कुर्मी, शारदादास पहाडी, शेख अबु कलाम आजाद, सरोज कुमार यादव र सिंगासन सा कलवारले भोजपुरी भाषामा शपथ लिने छन्।

थारु भाषामा ३ जना प्रदेशसभा सदस्यहरुले शपथ लिने छन्। राजकुमार लेखी, राजेन्द्रप्रसाद चौधरीले थारु भाषामा शपथ लिनेछन्। 

मगही र हिन्दी भाषामा २/२ जना प्रदेशसभा सदस्यहरुले शपथ लिने प्रदेशसभा सचिवालयले जनाएको छ।  भरतप्रसाद साह तथा सरोजकुमार सिंह मगहीमा र जितेन्द्र सोनल तथा सुरिता साहले हिन्दी भाषामा शपथ लिनेछन्। 

उर्दु भाषामा एक मात्र प्रदेशसभा सदस्य विमला अन्सारी तरन्नुमले शपथ लिने छिन्।  

जनमतले टिपाएन शपथको भाषा
जनमत पार्टीका अध्यक्ष डा‍ सिके राउतले प्रतिनिधिसभामा पद तथा गोपनीयताको शपथ मधेश भाषामा लिए। भाषा आयोगमा सूचिकृत नै नरहेको भाषामा राउतले शपथ लिएको भन्दै विरोधका स्वरहरु सुनिएपछि विवादमा तानिए। यहाँसम्म कि उनको शपथ बदर गर्नसम्मको माग उठिसकेको छ। 

राउतसहित जनमत पार्टीका केही प्रतिनिधिसभा सदस्यहरुले मधेशी भाषामा शपथ लिएको भन्दै मधेशमा विरोधको स्वर सुनियो। मधेश प्रदेशमा यी विरोधको सामना गर्न नपरोस् भनेर नै प्रदेशसभा सचिवालयले शपथ ग्रहण पहिले नै शपथको भाषा टिपाउन सूचना जारी गर्यो। तर जनमत पार्टीका कुनै पनि प्रदेशसभा सदस्यहरुले आफ्नो शपथको भाषा नटिपाएको प्रदेशसभा सचिवालयका सचिव रंजितकुमार यादवले जानकारी दिए। 

सूचीकृत बाहेकका भाषामा शपथ नराउन माग  
भाषा, साहित्य, कला, संस्कृतिको क्षेत्रमा कार्यरत ९ संस्थाहरुले भाषा आयोगमा सूचिकृत बाहेकको भाषामा शपथ नगराउन माग गरेको छ। 

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, मिथिला नाट्यकला परिषद्का अध्यक्ष प्रमेश झा, रमानन्द युवा क्लवका अध्यक्ष मनमोहन साह, मैथिली साहित्यकार सभाका अध्यक्ष प्रेम विदेह ललन, रंगवाटिका नेपालका अध्यक्ष उपेन्द्रभगत नागवंशी र रंगदर्पणका अध्यक्ष रितेशकुमार साह लगायतका अभियन्ताहरूले मधेस प्रदेश प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवलाई यस सम्बन्धमा लिखित ध्यानाकर्षण पत्र समेत बुझाएका छन्।

संयुक्त ध्यानाकर्षणपत्रमा नेपाल सरकारको आधिकारिक दस्तावेजहरुले चिन्दै नचिनेको मधेसी भाषामा शपथग्रहण गर्न दिएर संघीय संसद् सचिवालयले मुलुकमा भाषा विवाद श्रृजना गरेको बताइएको छ।

‘संघीय संसद् सचिवालयको यस क्रियाकलापले मुलुकमा बोलिने भाषाभाषीहरुको पहिचानमाथि कुठाराघात भएको हाम्रो मान्यता छ,’ ध्यानाकर्षणपत्रमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .