ad ad

मधेस


मधेश प्रदेश : दलहरु संसदीय दलको नेता चयनमै अलमलिए, कस्तो बन्ला सरकार?

मधेश प्रदेश : दलहरु संसदीय दलको नेता चयनमै अलमलिए, कस्तो बन्ला सरकार?

जनार्दन पोखरेल
पुस १९, २०७९ मंगलबार १५:५, सर्लाही

केन्द्रमा सत्ताको नेतृत्व गरेका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा (एमाले) र माओवादी केन्द्रले मधेश प्रदेशसभामा अझै दलको नेता चयन गर्न सकेका छैनन्।

आकांक्षी धेरै हुँदा एमाले र माओवादी केन्द्रले प्रदेश संसदीय दलको नेता चयन गर्न नसकेका हुन्। त्यसैगरी जसपा, लोसपा, नेकपा एकीकृत समाजवादी लगायतका दलले पनि अझै संसदीय दलको नेता चयन गर्न सकेका छैनन्।

एमाले संसदीय दलको नेतामा चार जनाको दाबी छ। माओवादी केन्द्रबाट दुई नेताले संसदीय दलको नेतामा दाबी प्रस्तुत गरेका छन्। 

मधेश प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेबाट सरोज यादव, राजकुमार लेखी, रामचन्द्र मण्डल र शारदा थापाले संसदीय दलको नेतामा दाबी गर्दै आएका छन्। संसदीय दलको नेता चयनका लागि आज जनकपुरमा एमाले संसदीय दलको बैठक बस्दै छ। 

दिउँसो ४ बजे एमाले मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठको उपस्थितिमा बस्ने बैठकले दलको नेतामा सहमति जुटाउने एमाले प्रदेशसभा सदस्य शारदा थापाले जानकारी दिइन्।

‘एमाले संसदीय दलको नेतामा मेरो पनि दाबी छ,’ महोत्तरी १ (क)बाट निर्वाचित थापाले नेपालखबरसँग भनिन्, ‘हाम्रो नेता सहमतिबाटै टुंगिन्छ, निर्वाचन हुँदैन।’

माओवादी केन्द्रबाट भरत साह र युवराज भट्टराईले संसदीय दलको नेतामा दाबी गर्दै आएका छन्। 

कांग्रेसले निर्वाचनबाटै कृष्ण यादव (रौतहट) लाई संसदीय दलको नेतामा चयन गरिसकेको छ। उनी राम सरोज यादव (धनुषा) लाई पराजित गरेर दलको नेता बनेका हुन्।

त्यसैगरी सिके राउत नेतृत्वको जनमत पार्टीले महेश यादव (सप्तरी)लाई दलको नेता चयन गरेको छ। अध्यक्ष राउत आफैँले यादवलाई दलको नेता चयन गरेका हुन्। 

जसपाबाट संसदीय दलको नेतामा हालका मुख्ययमन्त्री लालबाबु राउतको दाबी छ भने लोसपाबाट संसदीय दलको नेता जितेन्द्र सोनलले नै दाबी गर्दै आएका छन्। उनी मधेश प्रदेशसभामा लोसपाबाट निवर्तमान संसदीय दलका नेता पनि हुन्।

मधेश प्रदेश सभा १०७ सदस्यीय छ। जसमा सबैभन्दा धेरै एमालेका २३ जना सांसद छन्। त्यसैगरी कांग्रेसका २२, जसपाका १६ र जनमतका १३ जना सांसदले प्रदेशसभामा प्रतिनिधित्व गरेका छन्। 

त्यसैगरी लोसपा र माओवादी केन्द्रका समान ९–९, नेकपा एकीकृत समाजवादीका ७, राप्रपा, नेसपा तथा नागरिक उन्मुक्ति पार्टीबाट समान १÷ १ जना सांसद छन्। मधेश प्रदेशसभामा स्वतन्त्र सांसद ५ जना छन्। 

प्रदेशसभामा स्वतन्त्रबाट ६ जना सांसद निर्वाचित भएका थिए। त्यसमध्ये सर्लाही ३ (क)बाट निर्वाचित स्वतन्त्र सांसद जबाहरलाल कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरिसकेका छन्। कुशवाहाको प्रवेशले मधेश प्रदेशसभामा माओवादी केन्द्र र लोसपाको हैसियत समान (९–९ सदस्यीय) बनेको छ। 

प्रदेशसभामा सरकार गठनको लागि ५४ जना सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभाको अंकगणित हेर्दा यहाँ एक या दुई दलले मात्रै सरकार बनाउने सम्भावना छैन।

केन्द्रमा एमाले ( माओवादीसहितको गठबन्धन सरकार बनेकाले मधेश प्रदेशसभामा पनि सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले नै सरकार बनाउने सम्भावना बलियो छ।  

०७४ को निर्वाचनमा मधेश प्रदेशमा मधेशवादी दलले स्पष्ट बहुमत ल्याएर सरकार गठन गरेका थिए। तर, यसपटक आफ्नो प्रभाव क्षेत्रमै मधेशवादी दल कमजोर बनेका छन्।

यसपटक मधेशमा एमाले, जसपा, जनमत, माओवादी केन्द्रसहितका दल मिलेर सरकार बनाउने सम्भावना बलियो छ। 

यी चार दल मिल्दा मधेश प्रदेशसभामा सांसद संख्या ६१ पुग्छ। शीर्ष नेताहरुबीच केन्द्रमा मधेश प्रदेश सरकारको नेतृत्व जसपा र जनमतबीच आधा आधा कार्यकाल गर्ने सहमतिको खोजी भइरहेको चर्चा राजनीतिक वृतमा चलेको छ। 

केन्द्रमा शीर्ष नेताहरुबीच सहमति नबनी मधेश प्रदेशमा सरकार गठनको सम्भावना नरहेको माओवादी केन्द्रका प्रदेशसभा सदस्यसमेत रहेका सामाजिक विकासमन्त्री भरत साहले बताए। 

‘मधेशमा सरकारको नेतृत्वमा चार दलको दाबी छ,’ साहले भने, ‘नेतृत्व कसको रहने भन्ने विषय माथि (शीर्ष नेता) बाटै टुंगिन्छ। केन्द्रमा हुने सहमति अनुसार नै यहाँ सरकार गठन हुन्छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .