ad ad

मधेस


मेयरसँगै फेरिएको सासापुर स्वास्थ्यचौकी : गर्भवती लिन घरमै पुग्छ एम्बुलेन्स

ल्याबदेखि एमबीबीएस डाक्टरसम्म
मेयरसँगै फेरिएको सासापुर स्वास्थ्यचौकी : गर्भवती लिन घरमै पुग्छ एम्बुलेन्स

जनार्दन पोखरेल
माघ ६, २०७९ शुक्रबार ९:३९, सर्लाही

सर्लाहीको हरिवनमा रहेको सासापुर स्वास्थ्यचौकीमा गत वर्ष १ सय ६० महिलाले बच्चा जन्माए। यो आर्थिक वर्ष भने सासापुर स्वास्थ्यचौकीमा ६ महिनामै (साउनदेखि पुस मसान्तसम्म) १ सय ७८ जना महिलाले बच्चा जन्माइसकेका छन्। 

हिजोआज दैनिक एक/दुईजना महिला सुत्केरी हुन सासापुर स्वास्थ्यचौकी पुग्छन्। 

प्रायः स्वास्थ्यचौकीमा ल्याब सेवा हुँदैन। स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टरको दरबन्दी पनि हुँदैन। तर, सासापुर स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टर बिरामी जाँचिरहेका भेटिन्छन् भने ल्याब, एक्सरे र भिडिओ एक्सरे सेवा पनि छ। 

कसैलाई सुत्केरी व्यथा लागेको सूचना पाउनेबित्तिकै स्वास्थ्यचौकीको एम्बुलेन्स सम्बन्धित महिला लिन उनकै दैलोमा पुग्छ। 

सुत्केरी महिलाले स्वास्थ्यचौकीमा जाँदा र सुत्केरी भएर घर फर्किंदा एम्बुलेन्सलाई कुनै पनि शुल्क तिर्नुपर्दैन। उल्टै स्वास्थ्यचौकीले सम्बन्धित महिलालाई चार हजार रुपैयाँ सुत्केरी खर्च दिएर घर पठाउँछ।

एक वर्ष अघिसम्म सासापुर स्वास्थ्यचौकीको अवस्था फरक थियो। ल्याब, एम्बुलेन्स, एक्सरेजस्ता कुनै पनि सेवा स्वास्थ्यचौकीमा उपलब्ध थिएन। 

गएको वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा हरिवन नगरपालिकाको मेयरमा रमेश बुढाथोकी (कमल) विजयी भएर आएपछि सासापुर स्वास्थ्यचौकीको अवस्था फेरिएको छ। 

मेयर बुढाथोकी आफैँ बिरामी हुँदा उपचारका लागि निजी अस्पताल नगएर सासापुर स्वास्थ्यचौकीमा जान्छन्। 

‘यसबीच दुई/तीनपटक ज्वरो आउँदा उपचारका लागि म सासापुर स्वास्थ्यचौकीमै गएँ। अरुलाई पनि जान प्रेरित गरिरहेको छु,’ मेयर बुढाथोकीले नेपालखबरसँग भने, ‘स्वास्थ्यचौकीको उपचार सेवाप्रति नगर क्षेत्रका नागरिकमा विश्वास दिलाउनु छ। त्यसका लागि हामीले अझै धेरै मेहनत गर्नुपर्ने छ।’

सामुदायिक अस्पताललाई सबल र सुविधायुक्त बनाए मात्रै न्यून आय भएका नागरिकले उपचार सेवा पाउन सक्ने उनले बताए। स्वास्थ्यचौकीमा सेवा/सुविधा विस्तार भएसँगै सासापुर स्वास्थ्यचौकीमा बिरामीको संख्या ह्वात्तै बढेको कार्यालय प्रमुख मोहन घिसिङले बताए।

‘गत वर्ष साउनदेखि पुस मसान्तसम्म २ हजार १८५ जनाले यहाँ उपचार सेवा लिएका थिए,’ अस्पतालको पुरानो रेकर्ड पल्टाउँदै घिसिङले भने, ‘यो वर्षको पुस मसान्तसम्म ७ हजार ९१५ जनाले उपचार सेवा लिएका छन्। बिरामीको संख्या दैनिक बढिरहेको छ।’

विगतमा उपचारका लागि दैनिक २०/२२ जना मात्र स्वास्थ्यचौकीमा पुग्ने गरेका थिए। हिजोआज दैनिक सयभन्दा धेरै बिरामी उपचारका लागि सासापुर स्वास्थ्यचौकी आउने गरेको घिसिङले बताए। 

‘ल्याब, एक्सरे र एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि स्वास्थ्यचौकीमा बिरामीको संख्या तीन गुणाले बढेको छ,’ घिसिङले भने, ‘पहिला महिनामा बढीमा १०/१२ जना महिला सुत्केरी हुन यहाँ आउँथे। अचेल प्रत्येक महिना ३५/४० जना महिला सुत्केरी हुन यहाँ आउने गरेका छन्।’

गर्भवती महिलालाई स्वास्थ्यचौकीमा गएर सुत्केरी हुन प्रोत्साहन गर्न नगरपालिकाले ‘जिरो होम डेलिभरी’ (घरमा सुत्केरी हुने क्रम शून्यमा झार्ने) अभियान सञ्चालन गरेको छ। 

नगरले तोकेअनुसार नियमित गर्भ जाँच गर्ने र सुत्केरी हुन स्वास्थ्यचौकीमा पुग्ने (दुई सन्तान मात्रै जन्माउने) महिलालाई नगरपालिकाले सरकारले दिने गरेको १८ सय रुपैयाँका अलावा थप ४ हजार रुपैयाँ सुत्केरी खर्चसमेत दिने गरेको छ। यसले पनि सुत्केरी हुन स्वास्थ्यचौकीमा जाने क्रम बढ्दै गएको छ। 

हरिवन नगरपालिकाले सञ्चालन गरेको ‘जिरो होम डेलिभरी’ अभियानअन्तर्गत स्वास्थ्य स्वयम्‌सेविकाले घरघरमै पुगेर गर्भवतीको तथ्यांक संकलन गर्छन्। 

कोही गर्भवती नियमित गर्भ जाँच गर्न नआए उनलाई स्वयंसेविकाले नै फोन गरेर समेत स्वास्थ्यचौकी बोलाउँछन्। उनीहरुलाई आइरन चक्की दिन्छन्। टीटी खोप लगाउन र क्याल्सियम खान आग्रह गर्छन्। 

टीटी खोप र क्याल्सियम चक्की भने सरकारको निःशुल्क कार्यक्रमअन्तर्गत नपर्ने भएकाले बाहिरका औषधि पसलबाट किनेर खानुपर्ने घिसिङले बताए।

सुत्केरी हुन व्यथा लागेको सूचना पाउनेबित्तिकै स्वयंसेविका नै स्वास्थ्यचौकीको एम्बुलेन्स लिएर गर्भवती लिन उनीहरुकै घरमा जाने गरेका छन्। 

विगतमा सासापुर स्वास्थ्यचौकीमा गरिब परिवारका महिलामात्रै सुत्केरी हुन जाने गरेका थिए। 

‘केही समय अघिसम्म क्षेत्री/बाहुन समुदायका महिला यहाँ सुत्केरी हुन कमै आउँथे,’ स्वास्थ्यचौकीका इन्चार्ज घिसिङले भने, ‘तर आजभोलि आर्थिक रुपमा सबल र क्षेत्री/बाहुन समुदायका महिला पनि यहाँ सुत्केरी हुन आउने क्रम बढ्दै गएको छ।’

गर्भवती महिलाको स्वास्थ्य अवस्था जटिल देखिए सुरुमै स्वास्थ्यकर्मीले सुविधायुक्त अस्पतालमा रेफर गर्ने गरेका छन्। 

त्यसरी रेफर हुने बिरामीलाई पनि नगरपालिकाकै एम्बुलेन्सले निःशुल्क सम्बन्धित अस्पतालमा पुर्‍याउने गरेको छ।

प्रायः अपरेसन गर्नुपर्ने खालका केसमा रेफर गर्ने गरेको स्वास्थ्यकर्मी बताउँछन्। 

नगरपालिकाले ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रमअन्तर्गत स्वास्थ्यचौकीमा गर्भवती महिलालाई लक्ष्य गरेर भिडिओ एक्सरे सेवा सुरु गरेको छ। केही दिनमै त्यसको उद्घाटन हुँदै छ। दुई साताअघि मात्रै नगरपालिकाले सात लाख खर्च गरेर भिडिओ एक्सरे मेसिन खरिद गरेर ल्याएको हो।

‘अबको केही दिनमै हामी स्वास्थ्यचौकीमा भिडिओ एक्सरे सेवाको औपाचारिक सुरुवात गर्दै छौँ,’ कार्यालय प्रमुख घिसिङले भने, ‘यसले यहाँ आएर सुत्केही हुने महिलाको संख्या अझ बढ्ने हाम्रो अनुमान छ।’

स्वास्थ्यचौकीले एक्सरे, ल्याब र भिडिओ एक्सरे सेवाको न्यूनतम शुल्क निर्धारण गरेको छ। त्यसैगरी डेंगु परीक्षण गर्दा पनि स्वास्थ्यचौकीलाई आम्दानी हुन्छ। 

‘वीर र टेकु अस्पतालले डेंगु परीक्षण गर्दा पाँच सय रुपैयाँ शुल्क लिन्छन्, हामी ४ सय ५० मै डेंगु परीक्षण गर्ने गरेका छौँं,’ घिसिङले भने, ‘यताका प्राइभेट अस्पतालले एक्सरे गरेको सात सयसम्म लिन्छन्। हामी २५० मै एक्स रे गर्छौं।’ 

एक्सरे सेवा सुरु भएपछि स्वास्थ्यचौकीमा हाडजोर्नी सम्बन्धी बिरामीको संख्या पनि बढेको छ। 

गत भदौदेखि स्वास्थ्यचौकीमा ल्याब र एक्स रे सेवा सञ्चालनमा आएको हो। एम्बुलेन्स सेवाको सुरुवात गएको कात्तिकदेखि भएको हो। यी सेवाबाट स्वास्थ्यचौकीले अहिलेसम्म झण्डै ६ लाख रुपैयाँ आम्दानीसमेत गरिसकेको छ। यसअघि स्वास्थ्यचौकीको आफ्नो आम्दानी थिएन। 

केही दिनअघि मात्रै हरिवन नगरपालिकाले स्वास्थ्यचौकीका लागि ५० लाख रुपैयाँ मूल्य पर्ने ‘जिन एक्सपर्ट मेसिन’ ल्याएको छ। मेयर बुढाथोकीकै पहलमा क्षयरोग केन्द्रले अनुदानमा उक्त मेसिन दिएको हो। जसबाट क्षयरोग (टीबी) परीक्षण गर्न सहज हुने छ। त्यसैगरी कलेजो र मिर्गाैला जाँच गर्ने तयारी पनि स्वास्थ्यचौकीले अघि बढाएको छ। 

‘नगरलाई टीबी मुक्त बनाउने अभियानमा हामी छौँ,’ मेयर बुढाथोकीले भने, ‘जिरो होम डेलिभरी’ अभियान नगरको गौरवको योजना हो। कुनै पनि महिला घरमा सुत्केरी भएर ज्यान जोखिममा नपरोस् भनेर हामीले यो अभियान सुरु गरेका हौँ।’

स्वास्थ्यचौकीले अनलाइन टिकट काट्ने सेवा पनि सुरु गरेको छ। जसबाट बिरामी दर्ताको रेकर्ड राख्न र रिपोर्ट हेर्न सजिलो भएको घिसिङले बताए। ‘हामीले स्वास्थ्यचौकीमा हाते बिलको अन्त्य गरेका छौँ। यो पनि हाम्रो लागि ठूलै उपलब्धि हो,’ उनले भने।

नगरप्रमुख अग्रसर हुँदा स्वास्थ्यचौकीमा सेवा/सुविधा विस्तार र सञ्चालन गर्न सहज भएको इन्चार्ज घिसिङले बताए। मेयर बुढाथोकीले सुधारको पहल गर्दा अहिले स्वास्थ्यचौकीको रुपमा फेरिएको छ। स्थानीयमा यो सरकारी स्वास्थ्य संस्थाप्रति भरोसा पनि बढेको छ।

‘यसअघि स्वस्थ्य चौकीको एम्बुलेन्स थन्क्याएर राखिएको थियो। ल्याब पनि सञ्चानलमा थिएन। मेयर सा’बले ती सेवा सञ्चालनका लागि अग्रसरता लिनुभयो। ल्याबका लागि नयाँ उपकरण ल्याउन पहल गर्नुभयो,’ घिसिङले भने, ‘उहाँकै पहलमा अहिले स्वास्थ्यचौकीमा सेवा/सुविधा विस्तार भइरहेको छ।’ 

स्वास्थ्यचौकीमा सरकारी अनुदानको औषधि सकिए मेयर बुढाथोकी आफैँ गाडी लिएर प्रदेश मन्त्रालय र स्वास्थ्य सेवा विभागसम्म पुग्ने गरेका छन्। धेरैपटक उनले स्वास्थ्यकर्मीलाई साथमै लगेर स्वास्थ्यचौकीका लागि औषधि र उपकरण ल्याइसकेका छन्। 

स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टरको व्यवस्था, एम्बुलेन्समा इन्धन र चालकको व्यवस्था नगरपालिकाले गरिरहेको छ। 

बिरामीको संख्या बढ्दै गए पनि सासापुर स्वास्थ्यचौकीमा भवनको भने अभाव छ। हाल स्वास्थ्यचौकी रहेको ठाउँभन्दा पछाडि स्वास्थ्यचौकी का लागि नयाँ भवन बन्दै छ। १५ शय्या क्षमताको नयाँ भवन बनेपछि स्वास्थ्यचौकीको सेवा अझ स्तरीय हुने आशा घिसिङले व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .