ad ad

मधेस


१३ हजार भोल्टको विद्युत् पोल बीचमै छाडेर सडक ढलान!

१३ हजार भोल्टको विद्युत् पोल बीचमै छाडेर सडक ढलान!

बिजुलीको पोललाई बीचमै छाडेर महोत्तरीको बर्दिबास नगरपालिका – १ गालटार टोलमा गरिएको सडक ढलान।


नेपालखबर
माघ १७, २०७९ मंगलबार ९:३०, सर्लाही

महोत्तरीको बर्दिबास नगरपालिका - १ गालटार टोलमा दुई साताअघि सडक ढलान भयो। वडा कार्यालयले गाउँको बाटो चौडा गरेर ढलान गर्दा स्थानीय खुसी नै छन्। 

तर, सवारीसाधन र मानिसको बाक्लो आवतजावत हुने सडक ढलान गर्दा १३ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको बिजुलीको पोललाई भने बीचमै छाडिएको छ।

बिजुलीको पोल नहटाई सडक ढलान गर्दा दुर्घटनाको जोखिम बढेको स्थानीय ज्ञानबहादुर गोलेले बताए।

‘सडक ढलान गर्नुअघि बिजुलीको पोल सार्नुपर्ने थियो,’ गोलेले भने, ‘तर, वडा कार्यालयले बिजुलीको पोललाई बीचमै छाडेर सडक ढलान गरेको छ। यसले दुर्घटनाको जोखिम बढेर गएको छ।’

गालटार टोलको सडक हुँदै बर्दिबास ३ र ४ का भब्सी, रातमाटेलगायत गाउँका मानिस आवतजावत गर्छन्। बीचमा पोल भएको सडक हुँदा साना सवारीसाधन गुडाउन मिले पनि ठूला गाडीलाई पार हुन समस्या हुनेगरेको गोलेले बताए।

बर्दिबास १ का वडाध्यक्ष भोला खड्काले भने सडकको बीचमा रहेको पोल सार्न पहल भइरहेको बताए। 

‘हाम्रो वडामा सडक विस्तार गर्दा बिजुलीका पाँचवटा पोल सडकको बीचमा परेका छन्,’ वडाध्यक्ष खड्काले भने, ‘ती पोल सार्न हामीले प्राधिकरणमा ५ लाख रुपैयाँ डिपोजिट पनि गरिसकेका छौँ। प्राधिकरणले केही दिनपछि ती पोल सार्छ होला।’

उनले पोल भएका ठाउँम दायाँबाया तीन चारमिटर छाडेर मात्रै ढलान गर्न खोज्दा स्थानीयले नमानेको बताए।

‘हामीले पोल भएको ठाउँमा पछि सडक ढलान गर्छौं भन्दा स्थानीयले मान्नुभएन,’ उनले भने, ‘उहाँहरुले नै पोल सार्न मिलिहाल्छ। अहिले पोललाई बीचमै पारेर भए पनि सडक ढलान गरौँ। पछि फेरि ढलान होला कि नहोला भनेपछि ठेकेदारले पोललाई बीचमै छाडेर सडक ढलान गरेछन्।’

१३ हजार भोल्टको लाइन प्राधिकरणको माथिल्लो निकायबाटै काट्नुपर्ने भएकाले पोल सार्ने प्रक्रिया लम्बिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .