ad ad

मधेस


भुक्तानीको माग गर्दै निर्माण व्यवसायीले घेरे मधेशको भौतिक मन्त्रालय

भुक्तानीको माग गर्दै निर्माण व्यवसायीले घेरे मधेशको भौतिक मन्त्रालय

जयन्त ठाकुर
माघ २५, २०७९ बुधबार १४:३०, जनकपुरधाम

निर्माण व्यवसायीहरुले भुक्तानीको माग गर्दै मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय घेराउ गरेका छन्।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका विभिन्न योजनाहरुको विकास निर्माणको काम सम्पन्न गरेपनि भुक्तानी अहिलेसम्म नपाएको भन्दै उनीहरुले मन्त्रालय घेराउ गरेका हुन्।

काम गरेको वर्षौं बितिसक्दासमेत भुक्तानी नपाएकाले यथाशीघ्र आफूहरुको भुक्तानी हुनुपर्ने माग गर्दै उनीहरुले नारा जुलुससहित प्रदर्शन गरे।

गत आर्थिक वर्षहरुमा प्रदेश सरकारको दर्जनौं विकास निर्माणको काम गरेका उनीहरुले काम सम्पन्न गरेको साढे दुई वर्ष बितिसक्दा पनि भुक्तानी नपाएकोले बाध्य भएर मन्त्रालय घेराउ गरेको निर्माण व्यवसायी खुशीलाल ठाकुरले जानकारी दिए।

उनले आफूहरुले काम सम्पन्न गरेको वर्षौं बितिसकेको अवस्थामा अब बैंकको ब्याज तिर्नसमेत समस्या भइरहे पनि भुक्तानीका लागि प्रदेश सरकारले चासो नदेखाएको गुनासो सुनाए।

बैंकको ब्याज महिनाको ८० हजार तिर्न परिरहेको उनले सुनाए। उनीहरुले भौतिक पूर्वाधार विकास मन्त्रालयमा तालाबन्दी गर्न खोज्दा प्रहरीले रोकेको थियो।

उनीहरुको विभिन्न ४१ वटा योजनाको करोडौं रकम भुक्तानी गर्न बाँकी रहेको छ। यसमा अन्य मन्त्रालयहरुमा गरेको काम पनि रहेको छ।

यता, भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले उपभोक्ता समिति तथा निर्माण व्यवसायीहरुले भुक्तानी पाउनुपर्ने बताउँदै आवश्यक प्रक्रिया पुर्याएर सबैको भुक्तानी गरिने आश्वासन दिएका छन्।

उनले सबैको भुक्तानीका लागि मुख्यमन्त्री पनि सकारात्मक देखिएकाले भुक्तानी हुने कुरामा ढुक्क रहन आग्रह समेत गरे।

मधेश प्रदेश सरकारका अन्य मन्त्रालयहरुको पनि विभिन्न उपभोक्ता समितिको करिब १ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .