भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा धनुषामा सशस्त्र प्रहरी र तस्कर समूह बीच झडप भएको छ।
विदेह नगरपालिका–२, दुहवीस्थित आँप बगैचामा बुधबार साँझ करिब सवा ८ बजेको समयमा भारतबाट अवैध रुपले ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा झडप भएको सशस्त्रको दाबी छ।
सशस्त्रका अनुसार प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट डीएसपीको कमान्डमा रहेको सुरक्षा फौजले उक्त तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा तस्कर र स्थानीय बासिन्दा जम्मा भई सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए।
स्थिति नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरी बलले एसएलआरबाट ४ राउन्ड हवाई फायर गरेको छ। झडपका क्रममा स्थानीयले तस्करीको केही सामान लुकाएका छन् भने एउटा मोटरसाइकल र केही किराना सामान नियन्त्रणमा लिइएको छ।
बरामद सामान तथा मोटरसाइकल आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
Shares

प्रतिक्रिया