मधेस


मधेसका विभिन्न स्थानमा सरकारविरुद्ध प्रदर्शन

मधेसका विभिन्न स्थानमा सरकारविरुद्ध प्रदर्शन

नेपालखबर
बैशाख २७, २०८३ आइतबार २०:१३, काठमाडौँ

मधेस प्रदेशका विभिन्न स्थानमा प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध भूमिहीन सुकुम्बासीहरूले विरोध प्रदर्शन गरेका छन्। 

भूमि तथा आवासको अधिकार सुनिश्चित गर्न माग गर्दै धनुषाको ढल्केबरमा सुकुमवासी समुदायले प्रदर्शन गरेका छन्।

राष्ट्रिय भूमि अधिकार मञ्चद्वारा धनुषाको ढल्केवर, महोत्तरीको बर्दिबास र रौतहटको चन्द्रपुरमा सरकारविरुद्ध नाराबाजी गर्दै सुकुमवासी बस्तीमा ‘डोजर चलाउन पाइँदैन आवासको अधिकार सुनिश्चित गर’ भन्ने नारासहित सुकुम्बासीहरुले प्रदर्शन गरेका हुन्। 

ढल्केवरमा आयोजित प्रदर्शनमा सहभागीहरूले ‘उठिबास बन्द गर’, ‘भूमि र आवासको अधिकार सुनिश्चित गर’ तथा ‘जीवन र जीविकाको अधिकार कायम गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर ढल्केबर बजार भरि प्रदर्शन गरेका थिए। 

प्रदर्शन पश्चात आयोजित कोणसभालाई सम्बोधन गर्दै भूमि अधिकार मञ्चका केन्द्रीय सदस्य इच्छाराम परियारले सुकुमवासी बस्ती हटाउनुभन्दा पहिले राज्यले वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग गरे।

यस्तै, महोत्तरीको बर्दिबासमा आयोजित प्रदर्शनमा प्रदर्शनकारीहरूले सुकुमवासीलाई विस्थापित नगरी सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने माग गर्दै विभिन्न नारासहित सरकारको ध्यानाकर्षण गराएका छन्। 

‘भूमि हाम्रो अधिकार हो’, ‘डोजर आतङ्क बन्द गर’, ‘सुकुमवासीलाई आवास सुनिश्चित गर’ जस्ता नाराहरू प्रदर्शनमा लागेका थिए। 
भप्सी खोलाबाट सुरु भएको जुलुस बर्दिबासको मुख्यबजार क्षेत्र परिक्रमा गर्दै सिन्धुली रोड चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै भूमि अधिकार मञ्चका केन्द्रीय महासचिव फौदसिंह स्याङ्गवाले भूमिहीन परिवारलाई उचित व्यवस्थापन नगरेसम्म सुकुमवासी बस्तीमा डोजर प्रयोग नगर्न माग गरेका थिए। 

मञ्च महोत्तरीका अध्यक्ष नेत्रबहादुर कार्की (बलराम)ले भूमि अधिकार नदिएसम्म उठिबास गराउन खोजियो भने सरकार विरुद्ध चरणबद्ध कडा आन्दोलन गर्ने चेतावनी दिए। 

उता रौतहटको चन्द्रनिगाहपुरमा समेत भूमि र आवासको अधिकार सुनिश्चित गर्न माग गर्दै भूमिहीन तथा सुकुमवासी परिवारले प्रदर्शन गरेका छन्। डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरबाट सुरु भएको र्‍याली  बजारका विभिन्न भाग परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो। 

रौतहटमा पनि प्रदर्शनका क्रममा सहभागीले ‘भूमि हाम्रो अधिकार हो’, ‘डोजर आतंक बन्द गर’, ‘सुकुमवासीलाई आवास सुनिश्चित गर’ लगायतका नारासहित सरकारको ध्यानाकर्षण गराएका थिए।

कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय भूमि अधिकार मञ्च रौतहटका जिल्ला अध्यक्ष अनुप माझीले सरकारको डोजर अभियानका कारण भूमिहीन तथा सुकुमवासी परिवार त्रसित बनेको बताए।

उनले वास्तविक भूमिहीन र सुकुमवासीको पहिचान गरी सुरक्षित बसोवास तथा लालपुर्जा वितरणको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad