ad ad

मधेस


एमालेका विद्रोही योगेन्द्र मण्डल मोरङ–५ मा विजयी

एमालेका विद्रोही योगेन्द्र मण्डल मोरङ–५ मा विजयी

ध्रुव भट्टराई
मंसिर ८, २०७९ बिहिबार १८:५७, विराटनगर

एमालेबाट विद्रोही बनेर मोरङको क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्र मण्डल विजयी भएका छन्।

(जोगी सर) का रुपमा परिचित मण्डलले सत्ता गठबन्धनको उम्मेदवारलाई पछि पादै संघीय सांसदको यात्रा सुरक्षित गरेका हुन्।

जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार रहेको राजकुमार यादवलाई हराउँदै जोगी विजयी बनेका हुन्। जोगीले २१ हजार ८२० मत ल्याउँदा जसपाका तर्फबाट उम्मेदवार रहेको यादवले मत १७ हजार ४८६ प्राप्त गरेका छन्।

एमालेको साथ पाएका जसपाका उम्मेदवार राजकुमार यादवले १७ हजार ३९० मत ल्याएर तेस्रो भए। 

मण्डलले मोरङको क्षेत्र नम्बर ५ मा एमालेको तर्फबाट उम्मेदवाको चहान राखेको थिए। तर केन्द्रमा एमालेसँगको चुनावी तालमेलपछि सो क्षेत्र जनता समाजवादी पार्टीको भागमा परेको थियो।

त्यसपछि जोगीले एमालेमा विद्रोह गरी स्वतन्त्र उम्मेदवारको रुपमा वागी दिएका थिए। जोगी तत्कालिन समयमा एमालेको प्रदेश कमिटि सदस्य रहेका थिए।

समाजसेवी ‘जोगी सर’ 
मोरङमा उनी आफ्नो औपचारिक नाम योगेन्द्रले नभई जोगी सरका नामले सर्वत्र परिचित छन्।

बिएस्सी सकेर घर फर्किएपछि उनले गाउँसमाजका विपन्न बालबालिकालाई निःशुल्क ट्युसन पढाएर आफ्नो करिअर सुरु गरे। यसपछि उनी जोगी सरकै नामले चिनिए। अहिले त्यही नाम सबैतिर फैलिएको छ। 

निःशुल्क ट्युसनबाट सुरु भएको उनको सामाजिक अभियानको यात्राले अहिले जीवन विकास समाज नामको गैर सरकारी संस्थामा आएर गतिशील छ। जीवन विकास समाजले लघुवित्त, अस्पताल, डेरी, पिउने पानी, बालविकास केन्द्र, कृषि आयोजना लगायतका प्रोजेक्ट चलाइरहेको छ। समाजले गैरनाफामूलक सीटीईभीटीको कार्यक्रम पनि सञ्चालन गरिरहेको छ।

मोरङको तत्कालीन अमाही बरियाती गाविसमा जोगी सरले २७ वर्षअघि अर्थात् २०५२ सालमा २ बालकलाई निःशुल्क पढाएर आफ्नो अभियानको थालनी गरेका थिए।

उनको संस्थामा ३ लाखभन्दा बढी मानिस समेटिएका छन्। जोगीका अनुसार मोरङको धनपाल थान गाउँपालिकामा १९ बिघा क्षेत्रफलभित्र विद्यालय चलाइरहेका छन्। यसमा १ हजार ५ सय विद्यार्थी छन्। 

‘मोरङका विभिन्न ४ पालिकाका ६ स्थानमा बालविकास केन्द्र चलाइरहेका छौँ, उनले भने, यहाँ ५ सय विद्यार्थी लाभान्वित भइरहेका छन्।’

जोगी सरका अनुसार कटहरी गाउँपालिकामा जीवन विकास समाजले ३ सय शय्याको अस्पताल निर्माण गरिरहेको छ। अस्पताल परिसरभित्रै अस्पतालका कर्मचारी र आसपासका विद्यार्थीका लागि छुट्टै विद्यालयको स्थापना पनि गरिँदैछ।

कृषितर्फ जीवन विकासले कृषि फर्म, फलफूल खेती, नर्सरी, तरबुजा खेती लगायतका आयोजना चलाएको छ। यसबाहेक आँगनमा ओछ्याइने ब्लकको कारखाना पनि सञ्चालन गरिरहेको छ। लघुवित्तले १ हजारलाई रोजगारी दिएको छ।

समाजले २५ वर्षमा ३ लाख भन्दा बढी मानिसलाई समेटेको उनको कथन छ। 

जोगीका अनुसार २७ वर्षअघि सुरु गरिएको ट्युसनको विकसित रुप नै हालको १९ बिघा जमिनमा ठूलाठूला भवनमा रहेको जीवन विकास पब्लिक स्कूल हो। यहाँ १ हजार ५ सय बढी विद्यार्थी अध्ययनरत छन्।

विद्यालयले मासिक २ हजारमा मात्र विद्यार्थीलाई अङ्ग्रेजी माध्यममा अध्यापन गराइरहेको छ। जब कि वरपरका निजी विद्यालयले प्रति विद्यार्थी मासिक ३ हजार ५ सय लिइरहेका छन्। विद्यालयमा २२ किलोमिटर टाढादेखि विद्यार्थी आउने गर्छन्।

सो विद्यालयमा कक्षा ६ का विद्यार्थीलाई ऊनको टोपी बनाउन तालिम दिने गरिएको छ।

यसरी टोपी बनाउन जानेका धेरैजसो विद्यार्थी आफैँले बुनेको टोपी लगाउने गर्छन्। मण्डलले विद्यालयले बालबालिका र किशोरकिशोरीको शिक्षाका लागि छुट्टाछुट्टै कक्षा सञ्चालन गरिरहेको अध्ययनरत बालबालिकाले पौष्टिक आहार पनि पाइरहेका छन्।

जीवन विकास समाजले समाजमा गुणस्तरीय शिक्षा प्रदान गरेका कारण सन् २०१८ मा ३ लाख अमेरिकी डलरको अन्तर्राष्ट्रिय स्तरको पुरस्कार पनि पाइसकेको छ।

यो पुरस्कार द अरब गल्फ प्रोग्राम फर डेभलपमेन्टले ‘क्वालिटी एजुकेसन फर अल’ पुरस्कारका नामले जीवन विकासलाई प्रदान गरिएको थियो।

सन् २०१८ मा जीवन विकास समाजका अध्यक्ष मण्डललाई स्पेनकी महारानी सोफिया र साउदी अरबका राजकुमार तलाल विन अब्दुल अजिजले संयुक्त रूपमा प्रदान गरेका थिए।

अध्यक्ष मण्डलले आफूले उक्त पुरस्कारको राशिमा त्यति नै रकम थपेर विद्यालयका लागि कोष बनाएको जानकारी दिए। 

उनले आफनो जीतलाई जनताको अभिमतले अनुमोद गरेको बताए। अब आफू सांसदको भूमिकामा जनताको पक्षमा काम गर्ने बताए।

स्वतन्त्र उम्मेदवारको रुपमा जनताले मत दिएेर अनुमोदन गरेकाले कुनै पार्टीमा आबद्ध नरहने बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .