ad ad

मधेस


छठले डोम समुदायलाई दियो रोजगारी, पूजाका सामग्री बनाउन भ्याईनभ्याई

छठले डोम समुदायलाई दियो रोजगारी, पूजाका सामग्री बनाउन भ्याईनभ्याई

अजयकुमार साह/रासस
मंसिर १, २०८० शुक्रबार ११:२१, धनुषा

डोम समुदायलाई सधैँ खान, लाउन धौधौ हुन्छ। अहिले भने यो जातिको मुहारमा हाँसो र मनमा उल्लास छाएको छ। गरिबी र विपन्नताको जाँतोमा पिल्सिएको डोम समुदायलाई अहिले छठपर्वले बाँस र बेतका चोयाबाट डालो, नाङ्लो र टपरी बनाउन भ्याईनभ्याई भएको छ। 

दीपावलीलगत्तै सुरु हुने छठपर्वलाई लक्ष्य गरी धनुषाका डोम समुदाय बाँसजन्य पूजा सामग्री बनाउँदै बेच्दै गरेको छ। उनीहरू पुर्ख्याैली पेसाबाट राम्रो आम्दानी भइरहेको बताउँछन्। बाँसबाट बनाइने नाङ्लो (सुप्पा), ढकिया र कोनियाँ छठपर्वमा अनिवार्य प्रयोग गर्ने भएकाले दुई महिनाअघिदेखि बनाएर भण्डारण गरेका सामग्री बेचेर नपुग्ने भएपछि बनाउँदै बेच्दै फुर्सद नरहेको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–६ नयाँ टोलका हरिमलिक डोमले बताए। 

उनले भने, ‘वर्षभरि अन्य महिनामा नाङ्लोको व्यापार कम भए पनि छठमा नाङ्लोको व्यापार गरेर वर्षैभरिलाई गुजारा गर्न पुग्छ। यतिबेला बनाउँदै बेच्दै फुर्सद छैन। नाङ्लोको माग यहाँको बजारमा मात्र होइन, वरिपरिका गाउँमा समेत भइरहेकाले वर्षभरिलाई गुजारा गर्न र बचत गर्न छठपर्व हाम्रा लागि निकै महत्त्वपूर्ण छ।’

अहिले प्रतिनाङ्लो बाँसको चोयाअनुसार रु सात सय, रु छ सय, रु पाँच सय र रु चार सयमा बिक्री भइरहेको उनले बताए। डोम समुदायले प्रत्येक छठ व्रतालुलाई बाँस र बेतका भाँडाकुँडा बेचेर राम्रो आम्दानी गर्न सफल भएको क्षीरेश्वरनाथ नगरपालिका–६ सखुवाबजार नयाँटोलका डोम झल्कु मल्लिकले बताए। 

मिथिला नगरपालिका–२ की सुकमरिया र फूलोदेवी मलिक भन्छन्, ‘हामी बाँसको कोनियाँ बनाएर प्रतिकोनियाँ रु ५० का दरले बिक्री गरिरहेका छौँ। छठपर्वमा बिक्री गर्ने कोनियाँको कमाइले केही महिना गुजारा गर्न ठूलै राहत मिल्छ।’

डोम समुदाय यतिबेला बाँसका छठपर्वमा प्रयोग हुने सामग्री बनाउँदै बेच्दै व्यस्त छ। गाँस, बास र कपासकै जोरजाममा पिढीँदर पिँढीलाई हम्मेहम्मे पर्ने गरेको डोमहरूले छठपर्व आउनासाथ कात्तिक महिनाभरि आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठो–मसिनो खाने र राम्रो लगाउने शौभाग्य प्राप्त गर्ने गरेका जनकपुरधाम उपमहानगरपालिका–१ स्थित धर्मवान टोलकै रीता मल्लिक डोमिनले बताइन्। 

डालो बुन्दै गरेका वटेश्वर गाउँपालिका–५ शान्तिपुरका इन्दल मल्लिक डोमले कात्तिक लाग्नेबित्तिकै घरका बच्चादेखि बूढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र टालु टपरी बनाउनमा तल्लिन हुन्छौँ भने बजारमा बेच्दा राम्रो आम्दानी हुने भएकाले आफूहरू निकै खुसी भएको बताए।

छठपर्व मनाउने प्रत्येक तराइवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतबाटै बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अर्घ्य दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच–सातवटा बाँसका भाँडाकुँडा किन्नुपर्छ। भङ्गाहा नगरपालिकाका सुखारी डोमले घरका बालकदेखि बूढासम्मले डालो नाङ्लो बेचेर प्रतिव्यक्ति रु १० देखि २० हजार र प्रत्येक परिवारले सरदर रु दुई लाखसम्म आम्दानी गर्ने गरेको बताए। अहिले जिल्लाका गाउँगाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएको छ भने परिवारका सबैजना बाँस र बेतका सामग्री बनाउन व्यस्त देखिन्छन्। 

छठपर्व मनाउनेको सङ्ख्यामा वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पुर्‍याउन डोम जातिलाई सकस भएको छ भने डोम परिवारलाई ती सामग्री बनाउन अहिलेदेखि भ्याईनभ्याई भएको उनीहरू बताउँछन्। गाँस, बास र कपासकै जोरजाममा हम्मेहम्मे पर्ने गरेको डोमले छठपर्व आउनासाथ कात्तिक महिनाभरि आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठोमसिनो खाने र राम्रो लगाउने सौभाग्य प्राप्त भएको मिथिला नगरपालिका–७ का ५५ वर्षीय राजवीर डोमले बताए।

गाउँ, सहरमा हुने भोजभतेरबाट जुठोसमेत ल्याएर सपरिवार खाने गरेको डोमले कात्तिकमा मीठामीठा परिकार पकाएर खाने गरेको सोही ठाउँकी ६० वर्षीया रुमिनी डोमिनले बताइन्। डोम बस्तीमा अहिले बाँस खोजेर ल्याउने, फट्याउने, कप्टेरा र चोया काढ्ने र मागअनुसारका सामान बुन्ने काममा परिवारका सबै सदस्य व्यस्त देखिन्छन्। 

मिथिला नगरपालिका–७ हरिहरपुरका रामविनय मलिकका अनुसार छठपर्व आउनुभन्दा दुई महिना अगाडिदेखि बुनेका ढकिया सखुवा बजार, ढल्केवर र बटेश्वर बजार पुर्याएर एकजना डोम परिवारले यस समयमा रु एक लाखभन्दा बढीको व्यापार गर्न भ्याउँछन्। छठ सकेपछि खासै काम हुँदैन। यही बेलाको कमाइले वर्षैभरि गुजारा र बालबालिकालाई पढाउने गर्छन्। क्षीरेश्वरनाथ नगरपालिकाको डोम समुदायले बाँसजन्य पुर्ख्याैली पेसाबाट र कुम्हार समुदायले माटोको वर्तन मूर्ति बनाएर आर्थिक उपार्जन गर्ने गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .