म्यागेजिन


नयाँ प्रधानसेनापतिको नियुक्ति भदौ २५ मै किन?

नयाँ प्रधानसेनापतिको नियुक्ति भदौ २५ मै किन?

प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएका छन् (तस्बिरः नेपाली सेना)


सीताराम बराल
साउन २५, २०७८ सोमबार १५:४१, काठमाडौँ

सेना प्रमुखका रूपमा कार्यकाल सकिनु एक महिनाअघि घरबिदामा बस्ने लामो समयदेखिको चलनै हो। यसैअनुसार प्रधानसेनापति पूर्णचन्द्र थापा २५ साउन (२०७८) देखि बिदामा छन्। 

४१ वर्ष लामो सैनिक ‘करिअर’पछि भदौ २४ मा अवकाश पाउन लागेका प्रधानसेनापति थापाले जंगी अड्डामा आफूपछिका वरिष्ठ सैन्य अधिकारी रथी प्रभुराम शर्मालाई सोमबार (साउन २५) कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिइसकेका छन्। थापाको अवकाशपछि भदौ २५ मा शर्माले प्रधानसेनापति पदमा नियुक्ति पाउनेछन्। थापाले पनि ३ वर्षअघि २५ भदौ (२०७५) मै प्रधानसेनापतिमा नियुक्ति पाएका थिए। 

अमेरिकामा हरेक ४ वर्षपछि जनवरी २० कै दिन नयाँ राष्ट्रपतिले कार्यारम्भ गर्छन्। नेपालमा राष्ट्रपति वा प्रधानमन्त्रीले कार्यारम्भ गर्ने निश्चित मिति छैन। राजनीति अस्थिर हुँदा प्रधानमन्त्री त केही महिनामै फेरिएका उदाहरण धेरै छन्। 

तर नेपालमा पनि करिब २० वर्ष यता प्रत्येक ३ वर्षपछि भदौ २५ नेपाली सेनाले नयाँ प्रधानसेनापति पाउने स्थायी मितिजस्तै बन्न पुगेको छ।  

तत्कालीन प्रधानसेनापति प्रज्वलशमशेर जबराले ०५९ भदौ २४ मा अवकाश पाएयता भदौ २५ का दिन नयाँ प्रधानसेनापति नियुक्ति हुन थालेको हो। राणाको अवकाशपछि जिम्मेवारी सम्हाल्न लागेका शर्मा भदौ २५ यताका आठौं र २००७ सालको परिवर्तनपछिका २१औं प्रधानसेनापति हुनेछन्। ​

प्रज्वलशमशेर जबरापछि प्यारजंग थापा (२५ भदौ ०५९), रुक्माङ्गद कटवाल (२५ भदौ ०६३), छत्रमानसिंह गुरुङ (२५ भदौ ०६६), गौरवशमशेर जबरा (२५ भदौ ०६९), राजेन्द्र क्षेत्री (२५ भदौ ०७२) र पूर्णचन्द्र थापा (२५ भदौ ०७५)  प्रधानसेनापति बनेका थिए। 

मुलुकको प्रमुख सुरक्षा अंग नेपाली सेनामा नयाँ प्रधानसेनापतिको आगमन सधैं उही दिन हुने भए पनि बाँकी दुई सुरक्षा अंग– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा भने यसरी एकै मितिमा महानिरीक्षक नियुक्ति हुने गरेका छैनन्। 

प्रज्वल शमशेरपछिको रेकर्ड
प्रज्वलशमशेरका पालासम्म प्रधानसेनापतिको पदावधि ४ वर्ष थियो। यसअनुसार उनी २०६० जेठसम्म प्रधानसेनापति रहनुपर्ने हो। तर उनले पूरा कार्यकाल बिताउन पाएनन्। ३ वर्ष ४ महिना पदमा रहेर २४ भदौ (०५९) मा अवकाश पाए। त्यसको भोलिपल्ट (२५ भदौ ०५९) प्यारजंग थापा प्रधानसेनापति बने। 

‘प्रज्वल शमशेरको पालासम्म प्रधानसेनापतिको पदावधि ४ वर्ष भए पनि उमेर हदका कारण त्यसअगावै उनले अवकाश प्राप्त गरे,’ सैनिक प्रवक्ता रहिसकेका नेपाली सेनाका पूर्वउपरथी (मेजर जनरल) राजेन्द्र थापा भन्छन्, ‘यदि उमेर हदका कारण २४ भदौमा अवकाश प्राप्त नगरेका भए पहिलेजस्तै उनीपछि पनि २ जेठमै नयाँ प्रधानसेनापति आउने परिस्थिति बन्थ्यो कि?’    

तर त्यसयताका आठै प्रधानसेनापतिको नियुक्ति २५ भदौ जुर्नुको कारण यत्ति मात्रै होइन। लोकतन्त्र पुनःस्थापनापछि २०६३ को सैनिक ऐनले गरेको प्रधानसेनापतिको पदावधि परिवर्तन नै प्रत्येक ३ वर्षपछि भदौ २५ मै नेपाली सेनाले नयाँ प्रधानसेनापति पाउनुको पहिलो कारण हो। 

प्यारजंग थापाका पालासम्म प्रधानसेनापतिको पदावधि ४ वर्षको थियो। तर लोकतन्त्र पुनःस्थापनापछि परिवर्तित सैनिक ऐनले प्रधानसेनापतिको पदावधि घटाएको हो। अर्थात् सैनिक ऐन–२०६३ ले प्रधानसेनापतिको पदावधि ३ वर्षमा झारेको हो। 

त्यसअनुसार उमेर ६१ वर्ष नपुग्दासम्म प्रधानसेनापति ३ वर्षसम्म पदमा रहन पाउने भए। उनीपछिका वरिष्ठ सैनिक अधिकारी रथी (लेफ्टिनेन्ट जनरल) को उमेर अवधि भने ५८ वर्ष कायम रह्यो। रथी र प्रधानसेनापतिको उमेर अवधिको यो ‘ग्याप’ नै भदौ २५ मा नयाँ प्रधानसेनापति आउनुको दोस्रो कारण हो। 

५८ वर्ष पुगेपछि प्रधानसेनापति बन्न पाउने र प्रधानसेनापतिको पदावधि ३ वर्ष भएकाले सबैजसो प्रधानसेनापतिले पूरा अवधि कार्यभार सम्हाल्न पाउने परिस्थिति सिर्जना भएको हो। रथीको उमेर अवधि ५८ को सट्टा ५९ वर्ष मात्र तोकिएको भए पनि यो स्थिति रहने थिएन। यही कारण प्रज्वलशमशेर यताका सबै प्रधानसेनापति भदौ २४ गते अवकाश पाउने र २५ गते नयाँ प्रधानसेनापति बन्ने संयोग जुर्ने गरेको सैनिक अधिकारीहरू बताउँछन्।  

पहिले : कहिले वैशाख, कहिले जेठ 
प्रज्वलशमशेरका पालासम्म नेपाली सेनाले अक्सर जेठ पहिलो हप्ता नयाँ प्रधानसेनापति पाउने गर्थ्याे। जस्तोः उनी २ जेठ (२०५२) मा प्रधानसेनापति बनेका थिए भने उनका पूर्ववर्ती धर्मपालवरसिंह थापा १ जेठ (०५२) मा।

धर्मपालवरअघि गडुलशमशेर राणाले पनि १ जेठ (०४८) मै प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको डा. प्रेमसिंह बस्न्यातद्वारा लिखित ‘नेपाली सेनाका परमाधिपति, अतिरथी तथा प्रधानसेनापतिहरू’ बाट थाहा पाइन्छ।  

प्रधानसेनापतिको पदावधि ४ वर्षको भए पनि सम्भाररथी विभागमा भएको अनियमितता सार्वजनिक भएपछि तत्कालीन प्रधानसेनापति गडुलशमशेरले पदावधि सकिनु २ हप्ताअघि नै २१ वैशाख (०५२) मा राजीनामा दिएका थिए। तर जेठ पहिलो हप्ता नयाँ प्रधानसेनापति नियुक्ति गर्ने प्रचलनलाई निरन्तरता दिँदै धर्मपालवरसिंह थापालाई १ जेठ (०५२) मै प्रधानसेनापतिको जिम्मेवारी दिइएको थियो।

‘वि.सं. २००८ मा केशरशमशेर बाहेक त्यसपछिका सबै प्रधानसेनापति नियमानुसार पूरा कार्यकाल प्रधानसेनापति भए। तर अनियमितताको आरोपका कारण गडुलशमशेरले पदावधि पूरा नगर्दै राजीनामा दिनुप¥यो,’ नेपाली सेनाका पूर्व सहायकरथीसमेत रहेका डा. बस्न्यात भन्छन्, ‘तर पनि उहाँपछि धर्मपालवरसिंह थापा र प्रज्वल शमशेर दुवै जेठ पहिलो हप्ता प्रधानसेनापति बनाइए।’ 

गडुलशमशेरका पूर्ववर्तीहरू सचितशमशेर (०४४), अर्जुननरसिंह राणा (०४०), सिंहप्रताप शाह (०३६) ले पनि १ जेठमै प्रधानसेनापतिको जिम्मेवारी पाएका थिए। सिंहप्रताप शाहअघि भने नेपाली सेनाले वैशाख २७ वा २८ गते नयाँ प्रधानसेनापति पाउने गरेको थियो। 

त्यसअनुसार गुणशमशेर जबरा (०३२), सिंहबहादुर बस्न्यात (०२७) २७ वैशाखमा प्रधानसेनापति बनाइए।

बस्न्यातअघि सुरेन्द्रबहादुर शाह भने १५ वैशाख (०२२) प्रधानसेनापति बनेका थिए। शाहका पालासम्म नेपाली सेनामा प्रधानसेनापतिको पदावधि ५ वर्षको थियो।  

शाहअघिका प्रधानसेनापतिहरू नीरशमशेर (२०१७) र तोरणशमशेर (२०१३) भने ७ वैशाखमा प्रधानसेनापति बनेका थिए। राणा शासन अन्त्यपछि केशरशमशेरलाई ३० वैशाख (२००८) मा प्रधानसेनापति बनाइएको थियो। उनीपछि किरणशमशेर १ मंसिर (२००८) मा प्रधानसेनापति बने।

जानकारहरूका भनाइमा– त्यो बेला एकातिर प्रधानसेनापतिको उमेर हद ६२ थियो भने अर्कातिर अहिलेजस्तो महारथी (प्रधानसेनापति) र उपरथी (मेजर जनरल) का बीचमा रहने रथी (लेफ्टिनेन्ट जनरल) को दरबन्दी थिएन। २०३२ मा लेफ्टिनेन्ट जनरलको दरबन्दी नै खारेज गरिएका कारण सीधै उपरथीबाट प्रधानसेनापति हुन्थे। यस प्रावधानका कारण त्यो बेला जेठको पहिलो हप्ता नयाँ प्रधानसेनापतिको नियुक्ति हुने प्रचलन बसेको थियो। 

प्रधानसेनापतिबाट सीधै रक्षामन्त्री
२००७ को परिवर्तनअघि ‘श्री ३ महाराज तथा प्रधानमन्त्री’ पछिका दोस्रा उच्च राणा अधिकारी नेपाली सेनाको प्रधानसेनापति रहन्थे। राणाकाल रहेकाले प्रधानसेनापति हुन उमेरको बन्देज थिएन। प्रधानसेनापतिको उमेरहद तोक्न थालिएको ०७ को परिवर्तनपछि हो। त्यसपछि प्रधानसेनापतिको उमेर हद सुरुमा ६२ र अहिले ६१ छ।   

राणाकालको अन्तिम समयमा ‘मिनिस्टर’ र प्रधानसेनापति समेत रहेका बबरशमशेर ०७ को परिवर्तनपछि पनि प्रधानसेनापति नै रहे। उनको राजीनामापछि ३१ वैशाख २००८ मा उनकै भाइ केशरशमशेर प्रधानसेनापति बने।

प्रजातन्त्र स्थापनापछि पनि यसरी राणाकालमा जस्तै दाजुपछि भाइ प्रधानसेनापति बन्ने अभ्यासले निरन्तरता पायो।

अर्काे संयोग– बबरशमशेरपछि प्रधानसेनापति बनेका केशरशमशेर ८ महिना प्रधानसेनापति रहेर ३० कात्तिक २००८ मा रक्षामन्त्रीमा बढुवा भए। अर्थात् दाजु बबरशमशेरले रक्षामन्त्री पदबाट राजीनामा दिनासाथ प्रधानसेनापतिको जिम्मेवारी गुमाए भने भाइ केशरशमशेरले प्रधानसेनापति पदबाट राजीनामा दिनेबित्तिकै रक्षामन्त्रीको जिम्मेवारी पाए।

२००७ को परिवर्तनदेखि सिंहबहादुर बस्न्यात (२७ वैशाख २०२७ – २७ वैशाख २०३२) अघिसम्म प्रधानसेनापतिको कार्यकाल ५ वर्षको थियो। अवकाशप्राप्त उपरथी थापाका भनाइमा– बस्न्यातपछिका प्रधानसेनापतिको पदावधि ४ वर्षको मात्र हुने नियम तत्कालीन राजा महेन्द्रले राखेका थिए। २०२८ माघमा राजा महेन्द्रको निधन भए पनि उनले बसालिदिएको नियमले निरन्तरता पायो र गणतन्त्र अघिसम्म कायम रह्यो।

त्यसअनुसार किरणशमशेर, नीरशमशेर र सुरेन्द्रबहादुर शाहले ५ वर्ष पूरा गरी नेपाली सेनाबाट अवकाश पाए। तर किरणशमशेर पछिका प्रधानसेनापति तोरणशमशेर भने ४ वर्ष मात्र नेपाली सेनाको प्रधानसेनापति रहन सके। उमेर बाँकी नै रहे पनि किन उनी ५ वर्ष प्रधानसेनापति हुन सकेनन् भन्ने कुरा भने अज्ञात छ।

बस्न्यातका पालासम्म ५ वर्ष रहेको प्रधानसेनापतिको कार्यकाल गुणशमशेरका पालामा आइपुग्दा घटेर ४ वर्ष मात्र भएन,  प्रधानसेनापतिलाई चिनाउन प्रयोग हुने अंग्रेजी शब्दावलीसमेत परिवर्तन गरियो। त्यसअघि राणाकालदेखि नै प्रधानसेनापतिलाई ‘कम्यान्डर इन चिफ’ (सी–इन–सी) भन्ने गरिएकामा गुणशमशेरका पालादेखि ‘चिफ अफ द आर्मी स्टाफ (सी–ओ–ए–स) भन्ने प्रचलन सुरु गरियो।  

आजदेखि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी पाएका शर्माको उत्तराधिकारी को होलान्, त्यसको अनुमान गर्नु अलिक हतार हुनेछ। तर यो पक्का हो– सामान्य अवस्थामा उनले पनि पूरा ३ वर्ष कार्यकाल बिताएर भदौ २४ (२०८१) मै अवकाश पाउनेछन्। र, नेपाली सेनाले नयाँ प्रधानसेनापति भदौ २५ मै पाउनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .