ad ad

म्यागेजिन


जब नेपाल र चीनका प्रधानमन्त्री एकसाथ बेइजिङको भारतीय दूतावास गए

जब नेपाल र चीनका प्रधानमन्त्री एकसाथ बेइजिङको भारतीय दूतावास गए

६५ वर्षअघि बेइजिङमा माओसँग तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य (गेट्टी इमेज)


सीताराम बराल
असोज १६, २०७८ शनिबार १०:७, काठमाडौँ

नेपालका कुनै प्रधानमन्त्रीले भारत भ्रमणभन्दा पहिले चीनको भ्रमणमा गर्लान् भन्ने कल्पना अचेल सायदै कसैले गर्ला। अनुमान गर्न पनि कठिन हुने यस्तो साहस ६५ वर्षअघि प्रधानमन्त्री टंकप्रसाद आचार्यले गरेका थिए। 

चीनमा कम्युनिस्ट सत्ता स्थापनापछि १६ असोज २०१३ (१ अक्टोबर १९५६) मा ‘जनवादी गणतन्त्र चीन’को सातौं वार्षिकोत्सव भव्य रूपमा मनाइँदै थियो। तियानमेन स्क्वायरमा आयोजित परेड र समारोहमा सहभागी हुन प्रधानमन्त्री आचार्य अतिथिका रूपमा निम्त्याइएका थिए।  

जसरी शुक्रबार बेइजिङले ‘जनवादी गणतन्त्र चीन’ स्थपनाको ७२ औं वार्षिकोत्सव मनायो, त्यो भन्दापनि भव्य हुन्थ्यो त्यसबेलाको समारोह। ​

काठमाडौंबाट असोज ६ (२०१३) मा प्रस्थान गरेका प्रधानमन्त्री आचार्य ११ गते चीनको राजधानी बेइजिङ पुगेका थिए। त्यहाँ उनले चिनियाँ नेताहरूका साथै चीनका लागि भारतीय राजदूत आरके नेहरूबाट समेत न्यानो सम्मान पाए। आचार्यका लागि राजदूत नेहरूले १५ असोज (२०१३) मा आयोजना गरेको रात्रिभोजमा चिनियाँ प्रधानमन्त्री चाउ–एन–लाइसमेत सहभागी भए। 

भारतीय दूतावासमा आयोजित सम्मान भोजमा नेपाली र चिनियाँ प्रधानमन्त्रीको स्वागत गर्दै राजदूत नेहरूले भनेका थिए, ‘नेपाल र चीनबीच कैयौं शताब्दीदेखि मित्रता र सुुमधुर सम्बन्ध छ। नेपाल र चीनबीचको यो सुमधुर सम्बन्ध भविष्यमा पनि कायमै रहिरहोस्।’ 

प्रधानमन्त्री आचार्य र चाउ–एन–लाइले उस्तै प्रत्युत्तर भाषणमा भनेका थिए, ‘राष्ट्र निर्माण कार्यमा हामी सबै संलग्न छौं। नेपाल, चीन र भारतको समृद्धिका लागि यी मुलुकबीच पारस्परिक सहयोग हुनु आवश्यक छ।’ 

हिजोआज असम्भव लाग्ने यस्तो ‘त्रिदेशीय सहकार्य’को झल्को प्रधानमन्त्री आचार्यको चीन भ्रमणमा देखिएको थियो। तर चीनसँगको सीमा–विवाद र सीमा–युद्ध (१९६२) सँगै यस्तो सहकार्यको सम्भावना टरेर गयो। 

नेपाल–चीन सम्बन्धमा योगदान
आचार्यको त्यो भ्रमण नेपाली प्रधानमन्त्रीले गरेको पहिलो चीन भ्रमण थियो। यसपछि प्रधानमन्त्री आचार्यकै निमन्त्रणामा चीनका  प्रधानमन्त्री चाउ–एन–लाइ नेपाल भ्रमणमा आए।

आचार्यले चीन भ्रमण गर्नुभन्दा एक वर्षअगावै १७ साउन २०१२ मा नेपाल–चीनबीच दौत्य सम्बन्ध स्थापना भइसकेको थियो। तर चीनसँग आचार्यको सुमधुर सम्बन्धका कारण ‘आचार्यकै पालामा नेपाल–चीनबीच दौत्य सम्बन्ध स्थापना भएको हो’ भन्ने ‘न्यारेटिभ’ निर्माण हुन पुग्यो। 

कतिपय त अझ ‘नेपाल–चीनबीच शान्ति तथा मैत्री सन्धि’समेत प्रधानमन्त्री आचार्यकै पालामा भएको ठान्छन्। वास्तवमा यो सन्धि बीपी कोइराला प्रधानमन्त्री छँदा चिनियाँ प्रधानमन्त्री चाउ–एन–लाइले नेपाल भ्रमण गर्दा भएको थियो।

भारतभन्दा पहिले चीन जाने आँट गरेकैले आफ्ना पालामा नभएका यस्ता कतिपय कामको ‘जस’ पनि आचार्यले पाइरहेका हुन्।नेपाल–चीन सम्बन्धमा आचार्यको प्रमुख योगदानचाहिँ तिब्बतसम्बन्धी नीति निर्माण र चीनबाट नेपाललाई सार्वभौमसत्ता सम्पन्न राष्ट्रको दर्जा दिलाउनुमा थियो।​

जंगबहादुरका पालामा भएको युद्धमा नेपालको विजयपछि नेपाल–तिब्बतबीचको थापाथली सन्धि (१८५६) अनुसार तिब्बतले बर्सेनि नेपाललाई १० हजार रुपैयाँ तिर्ने गर्थ्यो। चीनमा कम्युनिस्ट सत्ता स्थापनापछि पनि चीन नेपाललाई यो रकम तिर्न तयारै थियो। 

आचार्य प्रधानमन्त्री रहेका बेला २०१३ साउनमा नेपाल–तिब्बत व्यापारलगायत विषयमा छलफल गर्न चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आएको थियो।

वार्ताका क्रममा चिनियाँ पक्षले नेपाल–तिब्बत युद्धपछि नेपालले तिब्बतबाट लिने गरेको वार्षिक १० हजार रुपैयाँ दिने प्रावधान नयाँ सन्धिमा नराख्न प्रस्ताव गरेको थियो। यसमा प्रधानमन्त्री आचार्य सहमत भए। 

तर राजा महेन्द्र सहमत थिएनन्। प्रधानमन्त्री आचार्यनिकट समाज दैनिकका तत्कालीन सम्पादक मणिराज उपाध्यायले एक संस्मरणमा बताएअनुसार, त्यसपछि आचार्यले राजा महेन्द्रसँग प्रधानमन्त्री पदबाटै राजीनामा दिने कुरा बताए (नेपाल साप्ताहिक ९ भदौ २०७०)। 

आफ्नो जीवनसँग सम्बन्धित पुस्तक ‘ज्यूँदा शहीदहरू’ मा आचार्यले बताएअनुसार, उनको मन्त्रिमण्डलमा राजा महेन्द्रका प्रतिनिधि रहेका पुरेन्द्रविक्रम शाह र गुञ्जमान सिंह त्यो चलन कायम राखिराख्न चाहन्थे। राजा पनि १० हजार रुपैयाँको तिरो छाड्न चाहँदैनथे। चिनियाँहरू भने त्यो प्रावधान नहटाई सन्धिमा हस्ताक्षर गर्ने पक्षमा थिएनन्।

‘एक बजे राति राजाले फोन गरे र सन्धि सम्पन्न गर्ने काम मिलाउन  भने। मैले भोलिपल्ट बिहान ८ बजे मन्त्रिमण्डलको बैठक बोलाएँ’, आचार्यले भनेका छन्, ‘त्यसपछि सन्धिको मस्यौदा अनुमोदन भयो। र, पछि गएर त्यसैमा हस्ताक्षर भयो’ (पेज १६८)।  

नेपालका तर्फबाट परराष्ट्रमन्त्री चुडाप्रसाद शर्माले हस्ताक्षर गरेको सो सन्धिमार्फत चीनले नेपाललाई सार्वभौमिकतासम्पन्न राष्ट्रका रूपमा मान्यता दियो भने नेपालले पनि तिब्बतलाई चीनको अभिन्न अंगका रूपमा स्वीकार गर्यो। 

सन्धिमा हस्ताक्षर भएकाे भोलि (६ असोज) पल्टै प्रधानमन्त्री आचार्य चीन भ्रमणका लागि कलकत्ता प्रस्थान गरे। ​

माओ र सुकार्नाेसँगै टंकप्रसाद
टंकप्रसाद बेइजिङ पुग्दा चीनले ‘ग्रेट हल अफ द पिपुल’ बनाइसकेको थिएन। तर महत्त्वपूर्ण कार्यक्रम भने तियानमेन स्क्वायरमै हुने गरेका थिए। १६ असोज (२०१३) मा मनाइएको सातौं स्थापना दिवसका अवसरमा आयोजित परेड अवलोकन चिनियाँ राष्ट्रपति माओले प्रधानमन्त्री आचार्य र इन्डोनेसियाली राष्ट्रपति सुकार्नाेसँगै गरेका थिए।

सो कार्यक्रमका लागि इन्डोनेसियाली राष्ट्रपति सुकार्नाे, प्रधानमन्त्री आचार्यका साथै सिंगापुरका पूर्वमुख्यमन्त्री डेभिड मार्सल निम्त्याइएका पनि थिए। परेड अवलोकनका क्रममा माओका दायाँतिर राष्ट्रपति सुकार्नाे थिए भने बायाँतिर प्रधानमन्त्री आचार्य। सार्वजनिक सीमित तस्बिरमा माओ, सुकार्नाे र आचार्य हर्षित मुद्रामा देखिन्छन्। 

माओ, टंकप्रसाद आचार्य र सुकार्नो

कार्यक्रममा सहभागी हुन इन्डोनेसियाली राष्ट्रपति सुकार्नाे अघिल्लो दिन (१५ असोज) मात्र बेइजिङ पुगेका थिए। कलकत्ता हुँदै प्रस्थान गरेका आचार्य भने हङकङबाट रेलमा क्यान्टोन (चीन) पुगी जहाजबाट ११ असोज (२०१३) मा बेइजिङ पुगेका थिए। चिनियाँ प्रधानमन्त्री चाउ–एन–लाइले आचार्यलाई विमानस्थलमै स्वागत गरे।  

बेइजिङ ओर्लेकै दिन ११ असोज साँझ प्रधानमन्त्री आचार्यले माओसँग भेटवार्ता गरे। जतिबेला माओ चीनका अध्यक्ष (राष्ट्रपति) थिए। प्रधानमन्त्री आचार्यको सम्मानमा माओले १३ असोजमा रात्रिभोज आयोजना गरे। रात्रिभोजको विशेषता के थियो भने चीनका लागि भारतीय राजदूत आरके नेहरू पनि निम्त्याइएका थिए।  

११–२६ असोज (२०१३) सम्म भएको चीन भ्रमणका क्रममा प्रधानमन्त्री आचार्य चीनका उत्तरपूर्वी तथा उत्तरी क्षेत्रहरूमा पुगे। त्यस क्रममा उनले सेन्जेन, अन्सान, च्याङचुनलगायत सहर भ्रमण गरे। चीन भ्रमण सकिएपछि प्रधानमन्त्री आचार्य बेइजिङबाटै जापान भ्रमणका लागि २६ असोजमा प्रस्थान गरे।  

२०१३ मंसिरमा भारत भ्रमण गर्दा चीनको प्रशंसा गरेका प्रधानमन्त्री आचार्यले चीन भ्रमणका क्रममा पनि भारतको तारिफ गरेका थिए। २२ असोजमा बेइजिङमा भोज आयोजना भएको थियो, जहाँ चिनियाँ प्रधानमन्त्री चाउ–एन–लाइ र भारतीय राजदूत नेहरू सहभागी थिए। 

‘चीन तथा भारतको बीचमा रहेको नेपालमा खुसी छ’, कार्यक्रममा आचार्यले भनेका थिए, ‘सदासर्वदा यी दुई राष्ट्रको इमान्दार छिमेकीका रूपमा नेपाल रहिरहनेछ।’

जवाफमा चिनियाँ प्रधानमन्त्रीले भनेका थिए, ‘नेपाल–भारतबीचको मित्रताका लागि चीनका तर्फबाट शुभेच्छा प्रकट गर्न चाहन्छौं।’

१० हजार गुमाउँदा ६ करोड लाभ  
आचार्यको अडानका कारण नेपाल–तिब्बत व्यापारसम्बन्धी सम्झौता हुँदा नेपालले वार्षिक रूपमा पाइरहेको १० हजार रुपियाँ गुमाउनपर्यो। तर चीन भ्रमणका क्रममा देशका लागि त्यसभन्दा कैयौं गुणा बढी आर्थिक सहयोग जुटाउन आचार्य सफल भए। आफूप्रति आचार्यको सदासयताका कारण चीनले नेपालको आर्थिक विकासका लागि ६ करोड भारतीय रुपैयाँ दिने भयो।  

आचार्यले चीन भ्रमण गरेको एक महिनापछि २० कात्तिक (२०१३) मा दुई मुलुकले संयुक्त विज्ञप्ति जारी गरे। आचार्यले चीन भ्रमण गर्ने क्रममा २२ असोज (२०१३) मा भएको ‘आर्थिक सहायतासम्बन्धी सम्झौता’बारे जानकारी दिन त्यो विज्ञप्ति प्रकाशन गरिएको थियो।  

‘यो सम्झौता लागू गरिएको दिनदेखि तीन वर्षको अवधिमा नेपाल सरकारलाई गणतन्त्र चीन सरकारले पछि फिर्ता नलिनेगरी ६ करोड भारतीय रुपियाँ दिनेछ’, संयुक्त विज्ञप्तिमा भनिएको थियो, ‘यो सहायतामध्ये एकतिहाइ किस्ताबन्दी गरी विदेशी मुद्रामा नगद र बाँकी दुईतिहाइ नेपाल सरकारलाई चाहिएको र चीन सरकारले दिनसक्ने मेसिनरी, कलपुर्जा र अरू सरसामान दिइनेछ।’

चाउ–एन–लाइ र टंकप्रसाद आचार्य

सम्झौतामा उल्लेख गरिएका मेसिनरी र सरसामानको लगत दुई सरकारबीच लेखापढी गरी पछि तय गरिने कुरा पनि विज्ञप्तिमा लेखिएको थियो। पहिलो किस्ताबापत दिने २ करोड भारतीय रुपैयाँमध्ये १ करोड तत्काल र बाँकी १ करोड अर्काे वर्ष उपलब्ध गराउने सहमति चीनले गरेको थियो।  

चीनले दिएको ६ करोड केकेमा खर्च भयो? आचार्यले चीन भ्रमण गरेको ४ वर्षपछि उपल्लो सदन महासभाका कम्युनिस्ट सदस्य शम्भुराम श्रेष्ठले संसदमा प्रश्न उठाए। त्यसपछि प्रधानमन्त्री बीपी कोइरालाले १० असोज २०१६ मा सम्पूर्ण खर्च विवरण सार्वजनिक गरेका थिए।  

प्रधानमन्त्री कोइरालाले महासभामा दिएको विवरणअनुसार चीनबाट अनुदानका रूपमा पहिलो किस्ता स्वरूप प्राप्त २ करोड भारतीय रुपैयाँमध्ये ९८ लाख ७७ हजार तत्काल सटही गरिएको थियो। सटही गर्दा १ करोड १२ लाख ३ हजार प्राप्त भयो। त्यसमध्ये टीकाभैरव सडक बनाउन २ लाख २३ हजार ५ सय, अमलेखगन्ज सडक निर्माणका लागि ४ लाख ५० हजार, लघु सिँचाइ योजनाका लागि ५ लाख खर्च गरिएको थियो।

सो रकमबाट अस्टिन कम्पनीको कारसमेत खरिद गरिएको थियो। ‘कार खरिदका लागि ५२ हजार १ सय ७८ खर्च भएको छ’, बीपीले भनेका थिए, ‘विभिन्न विकास परियोजनाका लागि विकास कोषमा १ करोड ५५ लाख राखिएको र ७३ हजार १ सय ७३ रुपैयाँ बाँकी रहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .