म्यागेजिन


जब ज्ञानेन्द्र शाह र कमल थापाको मन फाट्दा सिइदिने–टालिदिने तीन पात्र नै रहेनन्

जब ज्ञानेन्द्र शाह र कमल थापाको मन फाट्दा सिइदिने–टालिदिने तीन पात्र नै रहेनन्

आम निर्वाचनमा उमेर पुगेका सारा जनता नै मतदाता हुन्छन्। त्यसैले, चुनावको  सन्दर्भमा आयोजित आमसभाका सहभागीसँग कुनै उम्मेदवारको पक्षमा कसैले मत माग्नु स्वभाविक हो।   

पार्टीको सम्मेलन–अधिवेशनको उद्घाटनमा सहभागीसँग मत माग्नुको भने खासै अर्थ हुँदैन। किनभने, यस्ता कार्यक्रमका सबै सहभागीहरु भाषण सुन्नमात्र आउँछन्। यस्ता सभामा आउनेजति सबै महाधिवेशनका प्रतिनिधि अर्थात् मतदाता नहुन सक्छन्। 

तर, १५ मंसिरमा राप्रपाको ‘एकता महाधिवेशन’ को उद्घाटन सभा चलिरहँदा अध्यक्ष कमल थापाकी पत्नी प्रलिता थापा अध्यक्षमा पुनः आफ्ना पति कमल थापालाई विजयी गराइदिन सभामा आएका सर्वसाधारणसँग मत मागिरहेकी थिइन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष समेत रहेका गणेश थापा पनि आफ्ना माइला दाजु कमल थापाका लागि मत मागिरहेका थिए। 

थापा परिवारले उद्घाटन कार्यक्रममा सहभागी सर्वसाधारणसँग समेत मत माग्नुको कारण पराजयको भय रहेछ भन्ने कुरा शनिबार (१८ मंसिर) भएको निर्वाचनको मत परिणामले बताइसकेको छ। थापाले प्राप्त गरेको १६१७ भन्दा २ सय बढी (प्राप्त मत १८१७) मतान्तरले राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्।  

राप्रपाजस्तो पुरातनपन्थी पार्टीको अध्यक्षमा काठमाडौँको कुलीन थापा परिवारका थापालाई पाँचथरबाट झापा बसाईं सरेको सर्वसाधारण लिम्बु परिवारका लिङ्देनले पराजित गर्नु आफैँमा रोचक घटना हो। 

आफैँले महामन्त्री मनोनित गरेका लिङ्देनसँग थापाको पराजयका अनेक कारण होलान्। तर, थापाले भने आफ्नो पराजयमा दरबार (निर्मल निवास) को चलखेललाई मुख्य कारण मानेका छन्। लिङ्देनको विजयप्रति पूर्व युवराज्ञी हिमानीले ट्वीटरमार्फत् प्रकट गरेको उल्लास हेर्दा थापाको आरोप असत्य छ भन्ने लाग्दैन। 

पराजयबाट आहत थापाले पनि अरुणा लामाको स्वर तथा राजेन्द्र थापाको रचनाको गीतमार्फत् निर्मल निवासलाई जवाफ फर्काएका छन् :
पोहोर साल खुसी फाट्दा 
जतन गरी मनले टालेँ
त्यही साल मायाँ फाट्यो 
त्यसलाई पनि मनले टालेँ
यसपालि त मनै फाट्यो 
के ले सिउने के ले टाल्ने हो 

जनयुद्धमार्फत् गणतन्त्र स्थापनामा निर्णायक भूमिका खेलेको माओवादीको २०६३ पछि जगजगी सुरु भएका बेला राजतन्त्र पुनस्थापनाको आवाज उठाउने राजनीतिक व्यक्ति थिए, कमल थापा। २०६२–०६३ को आन्दोलनताका शाही शासनको पक्षमा सबैभन्दा बढी भरथेग गरिदिने शक्ति पनि थापा नेतृत्वको राप्रपा (नेपाल) नै थियो। तर, तिनै थापाले आफ्नो पराजयमा पूर्वराजा शाह र निर्मल निवासको भूमिका रहेको दोषारोपण गरेका छन्। 

थापा आफैँले दावी गरेजस्तै उनको यो आरोप पक्कैपनि पराजयको उपजमात्र होइन। केही न केही सत्यता नभइकन उनले निर्मल निवास (पूर्वराजा शाह र पूर्व युवराज्ञी हिमानी) प्रति धावा बोलेका होइनन्। 

लिङ्देनको विजयसँगै हिमानीको ट्वीट हेर्ने हो भनेपनि थापाको पराजयमा निर्मल निवासको चलखेलको संकेत पाउन सकिन्छ। हिमानीले लिङ्देनको विजयलाई ‘अवसरवाद, नातावाद, कृपावादको अन्त्य’ को रुपमा परिभाषित गरेकी छिन्। लिङ्देनको जीतसँगै मुलुकले ‘सच्चा राष्ट्रवादी नेता पाएको’ बताएकी छन्। 

राजतन्त्र पुनस्थापनाको एकोहोरो रटान लगाइरहेका थापाले अन्तिममा जे नियति भोग्नुपर्यो, खासमा त्यो गुनको बदला बैगुन हो। यस्तो नियति यसअघि संसदवादी राजनीतिक दलहरुले भोगेकै हुन्। र, राजतन्त्र अन्त्यको कारणपनि खासमा यस्तै–यस्तै बैगुनहरुको चाङ्ग हो। 

थापाले अहिले जुन नियति भोगे, संविधान सभाबाट २०७२ असोजमा संविधान जारी भएदेखि नै यसको सुरुवात भएको थियो। 

संविधानसभाबाट संविधान जारी हुँदा बेखुसी हुने दुई मुख्य शक्ति थिए। एउटा आन्तरिक शक्ति थियो भने अर्को बाह्य शक्ति। बाह्य शक्ति भारत थियो, आन्तरिक शक्ति दरबार (अर्थात् निर्मल निवास) थियो। 

दक्षिण छिमेकी भारत तीन ठूला शक्तिहरु–नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रसँग बेखुस र निर्मल निवास तत्कालिन ‘राप्रपा नेपाल’ का अध्यक्ष कमल थापासँग आक्रोसित थियो।

दरबार मामिला मेरो रिपोर्टिङको विषय भएकाले त्यसबेला मैले निर्मल निवासमा आवतजावतमा रहेका केही महत्वपूर्ण व्यक्तिहरुसँग भेटघाट–कुराकानी गरेको थिएँ। उनीहरुको दृष्टिमा दोस्रो संविधान सभाबाट २ असोज (०७२) मा ‘गणतान्त्रिक संविधान’ जारी हुनुमा तत्कालिन शक्ति सन्तुलनको स्थिति थिएन। अर्थात् संविधान सभामा दुई तिहाई स्थान ओगेटको कांग्रेस–एमाले–माओवादीबीच संविधान जारी गर्न भएको सहमति हो भन्ने स्वीकार गर्न उनीहरु सकिरहेका थिएनन्।  

संविधान सभाको पहिलो बैठक (१५ जेठ २०६५) ले गरेको गणतन्त्रको घोषणालाई लालमोहर लगाउँदै दोस्रो संविधान सभाबाट गणतान्त्रिक संविधान जारी हुनुमा उनीहरु कमल थापाको ‘धोका’ लाई कारण मानिरहेका थिए।  

पहिलो संविधान सभामा समानुपातिकतर्फ सिर्फ ४ सिटमा विजयी थापा नेतृत्वको राप्रपा नेपाल दोस्रो संविधान सभामा समानुपातिकतर्फ २५ सिटमा विजयी भएको थियो। मनोनित कोटाबाट थप एक गरी संविधान सभामा राप्रपा नेपालको २६ सिट थियो।

सबैभन्दा सचेत मानिने राजधानीमा समानुपातिक मत परिणामका दृष्टिले राप्रपा नेपाल पहिलो दल बन्न सफल भएको थियो। 

निर्मल निवास निकटस्थहरुको विश्लेषण थियो, ‘राप्रपाले प्राप्त गरेको यो सफलता राजतन्त्रप्रतिको आकर्षणका कारणले हो। त्यसैले, राप्रपाले कुनैपनि हालतमा गणतान्त्रिक संविधान जारी हुन दिनु हुँदैन, यस्तो संविधान जारी गर्न संसदबाटै उसले अवरोध गर्नुपर्छ। अवरोध असफल भयो भने संविधान जारी हुने संविधान सभाको बैठक बहिस्कार गर्नुपर्छ।’

निश्चय नै, पहिलो संविधानसभा निर्वाचनमा जस्तै थापा नेतृत्वको राप्रपा नेपालले दोस्रो संविधान सभामा पनि ‘हिन्दू राष्ट्र’ र ‘राजतन्त्र पुनस्थापना’ को नारा दिएको थियो। तर, राजतन्त्र पुनस्थापनाको नारा त्यति लोकप्रिय नहुने बुझेका थापाले हिन्दू राष्ट्र पुनस्थापनाको नारालाई बढी महत्व दिएका थिए। 

त्यसैले, निर्मल निवास निकटस्थहरुको दावीप्रति थापा सहमत थिएनन्।

निर्वाचन परिणामको कारणको फरक–फरक विश्लेषणबाटै अध्यक्ष थापा र निर्मल निवासबीच अदृष्य कटुता सिर्जना भइसकेको थियो। संविधान जारी हुँदा थापाले ‘नोट अफ डिसेन्ट’ लेखेपनि निर्मल निवास निकटस्थहरु थापाको यो कदमप्रति सहमत थिएनन्। 

उनीहरुको भनाईमा, हुलदङ्गा सिर्जना गरेर भएपनि राप्रपाले संविधानसभाबाट गणतान्त्रिक संविधान जारी हुनै दिनुहुन्नथ्यो। 

थापा भने फरक मान्यता राख्दथे। कांग्रेस, एमाले र माओवादी केन्द्र मिल्दा संविधान सभामा दुई तिहाई पुग्छ र संविधान जारी गर्न सक्ने भएकाले ‘नोट अफ डिसेन्ट’ लेखेर संविधानप्रतिको आफ्नो असहमति जाहेर गर्नु राजनीतिक रुपले सही हुने ठान्थे।  

उनले यही काम गरे, संविधानप्रति ‘नोट अफ डिसेन्ट’ लेखे। संविधान जारी गर्न अवरोध सिर्जना गर्ने प्रयास गरेनन्। 

थापाको यो कदमलाई निर्मल निवास निकटस्थहरुले ‘सत्तामा पुग्ने भर्याङ्ग’, ‘अवसरवादी चरित्रको निरन्तरता’ को रुपमा अर्थ्र्याए। 

तर, थापाप्रतिको निर्मल निवास निटकस्थहरुको यो आरोप थापा आफैँले समयक्रममा सही सावित गरिदिए।  

जस्तोः संविधान जारी भएपछि ०७४ को आम निर्वाचनअघि तीन सरकार बने। अध्यक्ष थापा केपी शर्मा ओली, पुष्पकमल दाहाल (प्रचण्ड) र शेरबहादुर देउवा नेतृत्वका तीनवटै सरकारमा उपप्रधानमन्त्री बने। परराष्ट्र, आवास तथा भौतिक योजना जस्ता रोज्जा–रोज्जा मन्त्रालय लिए। 

त्यसैले, राप्रपा महामन्त्रीकी प्रत्यासी एवं नायिका रेखा थापाको ‘तपाईं (कमल थापा) राजतन्त्रप्रति निष्ठावान हो भने किन गणतान्त्रिक सरकारमा पटक–पटक उपप्रधानमन्त्री बनेर जानु भयो’ भन्ने प्रश्नले अध्यक्ष थापालाई महाधिवेशनका क्रममा चिहिलविहिल नै पारिदियो, भलै नायिका थापा आफैँपनि पराजित भइन्। 

संविधानसभाबाट जारी संविधानले गणतन्त्रलाई औपचारिक रुपमा संस्थागत गरेपछिको व्यवस्थामा तीन–तीन पटक उपप्रधानमन्त्री बनेर अध्यक्ष थापामात्र लाभान्वित भएनन्, नेपाली सेनाको रथी (लेफ्टिनेन्ट जनरल) बाट अवकास पाएका उनका दाजु नेत्रबहादुर थापापनि पटक–पटक लाभान्वित भए। 

गणतन्त्रको प्रतिक र सर्वोच्च संस्थापनि हो, राष्ट्रपति संस्था। थापाका दाजु पूर्वरथी थापा हाल राष्ट्रपति विद्या भण्डारीका सुरक्षा सल्लाहकार छन्। राष्ट्रपति भण्डारीले पहिलो कार्यकालका अधिकांश सल्लाहकारलाई राष्ट्रपति कार्यालयबाट विदा गरेपनि थापाका दाजु नेत्र भने दोस्रो कार्यकालमा पनि उही भूमिकामा दोहोरिए। 

निर्मल निवास निकटस्थहरु पूर्वरथी थापाले पाएको यो अवसरलाई कमल थापाको केपी ओलीसँगको सम्बन्धको उपजको रुपमा मान्छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट सम्बन्ध रहेका थापाका दाजुले राष्ट्रपति कार्यालयमा किन पटक–पटक महत्वपूर्ण जिम्मेवारी पाइरहेका छन् भन्ने प्रश्नले अन्यलाई जस्तै निर्मल निवासको मथिङ्गल रिङ्ग्याइरहेको होला।  

जे होस्, संविधान सभाबाट संविधान जारी हुँदा थापाले खेलेको भूमिकाप्रति निर्मल निवास निकटस्थहरु आक्रोसित बने। उनीहरुले लगाएको आरोप थापाको पटक–पटकको सत्तारोहणले पुष्टि गरिदियो। 

निकटस्थहरुले भन्दै आएको ‘कमल थापा अवसरवादी र धोकेबाज हुन्, यिनले दिएको राजतन्त्र पुनस्थापनाको नारा सत्तामा जान भोटका लागि मात्र हो’ भन्ने व्याख्याले पूर्वराजा शाह र पूर्व युवराज्ञी हिमानीलाई पनि प्रभावित नगर्ने कुरा भएन। 

संविधान जारी हुँदा थापाको भूमिकाप्रति निर्मल निवास असन्तुष्ट भएपनि त्यसपछि पनि पूर्वराजा शाह र थापाबीच भेटघाट र कुराकानी नहुने गरेका होइनन्। तर, थापासँग पूर्वराजा शाह पहिलेजस्तो धेरै खुल्न छाडेका थिए। 

यो कुरा नागार्जुन दरबार छाडिसकेको कुरा पूर्वराजाले थापासँग सेयर नगरेबाट पनि बुझ्न सकिन्छ। 

पूर्वराजाले २०७२ को भूकम्पपछि नै नागार्जुन दरबार छाडेका थिए। यो कुरा २९ जेठ (२०७८) मा नेपालखबरबाट सार्वजनिक भयो। त्यसपछि थापाले लेखेका थिए, ‘राजा ज्ञानेन्द्रको स्थायी बसोबासका लागि सरकारले उपलब्ध गराएको नागार्जुन दरबार २०७२ को भूकम्पपछि ध्वस्त भएको छ। उक्त राष्ट्रिय सम्पत्तिको तत्काल पुनर्निर्माण गरियोस्।’ 

पूर्वराजा शाहले नागार्जुन दरबारको अवस्थाबारे समयमै सेयर नगरेकै कारण थापाले भूकम्प गएको सात वर्षपछि मात्र निर्मल निवास ध्वस्त भएको भनेर ट्वीट गर्न पुगेका थिए। 

अध्यक्षमा पराजित भएपछि त थापाले ट्वीटमार्फत् राजतन्त्रप्रतिको आफ्नो मान्यतामाथि प्रश्नचिन्ह खडा भएको उल्लेख गरेका छन्। र, आफ्नो फाटेको मन सिउने र टाल्ने चिज नभएको गीतमार्फत् उल्लेख गरेका छन्। 

यसको अर्थ ‘यसअघि राजतन्त्र पुनस्थापनाको एजेण्डा बोकी हिँडेर गल्ती त गरिएन’ भन्ने आफ्ना विगतको कर्मको पुनर्मूल्याङ्कन नै हो। 

बेलाबखत आफ्ना राजनीतिक एजेण्डालाई भन्दा सत्तालाई प्राथमिकता दिने गरेपनि अध्यक्षमा पराजय अघिसम्म राजतन्त्रप्रतिको थापाको निष्ठामा प्रश्न उठाउने ठाउँ थिएन। तर, पूर्वराजाको ‘कुरा खाने’ सचिवहरु भने थापालाई इमान्दार राजतन्त्रवादी मान्दैनथे। उनीहरु थापालाई अवसरवादी नेताको रुपमा प्रस्तुत गर्दै पूर्वराजाको कान भर्ने गर्थे। 

भोट र सत्ताका लागि मात्र थापाले राजतन्त्र र हिन्दूराष्ट्र पुनस्थापनाको एजेण्डा बोकेकोले उनीबाट फेरिपनि धोका हुने विश्लेषण उनीहरु पूर्वराजालाई सुनाउँथे। र, यस्तो विश्लेषणबाट पूर्वराजा शाहपनि प्रभावित हुन्थे। 

जानकारहरुका भनाईमा, निर्मल निवास थापासँग असन्तुष्ट हुनुको मुख्य कारण सचिवहरुले थापाविरुद्ध गर्ने रिपोर्टिङ नै थियो। 

त्यसैले, पराजयलगत्तै आफू निकटस्थहरुसँगको बैठकमा थापाले पूर्वराजाका सचिवहरु महाधिवेशनमा आफूविरुद्ध खुला रुपमा प्रस्तुत भएको सूचना सेयर गरे। 

थापा निकटस्थहरुको दावी अनुसार, थापाविरुद्ध सचिवहरुले पूर्वराजाको कान भर्नुको मुख्य कारण पूर्वराजाको सम्पत्ति बेचबिखन र उनीहरुले प्राप्त गर्ने आर्थिक लाभसँग सम्बन्धित छ। 

उनीहरुका भनाईमा, खासै नाफा नभएकाले गणतन्त्रपछि नै पूर्वराजा शाह दमक (झापा) स्थित आफ्नो स्वामित्वको ‘हिमालयन टि स्टेट गार्डेन’ बिक्री गर्ने योजनामा थिए। यसको जिम्मेवारी उनले आफ्ना सचिवहरुलाई दिएका थिए। तर, कानुनी झमेलाका कारण प्रक्रिया अघि बढ्न सकिरहेको थिएन। 

‘राजतन्त्र पुनस्थापना’ को एजेण्डा बोकेका थापा जब २०७२ पछि उपप्रधानमन्त्री बने, यस सम्बन्धमा सहयोगका लागि पूर्वराजाका सचिवहरु थापासमक्ष पुगे। 

तर, पूर्वराजाको सो सम्पत्ति बिक्रीका लागि कानुनी रित पुग्ने स्थिति थिएन। आर्थिक लाभ हुने देखेर सचिवहरु कानुन विपरित सो सम्पत्ति बिक्रीका लागि दौडधुपमा लागेको थापाको विश्लेषण रह्यो। 

त्यसैले, यस प्रकरणमा सहयोग गर्न नसक्ने जवाफ उपप्रधानमन्त्री थापाले दिए। 

ठूलो आर्थिक लाभबाट बञ्चित हुनु परेकाले निर्मल निवासका सचिवहरु त्यसलगत्तै आफूविरुद्ध लाग्न थालेको थापाले निकटस्थहरुलाई बताउने गरेका छन्। 

त्यसबाहेक शक्तिको राइँदाइँ गर्न पाइने भएकाले निर्मल निवासका सचिवहरुले आफूले उठाएको ‘सम्बैधानिक राजतन्त्र’ ‘आलंकारिक राजतन्त्र’ को साटो ‘सक्रिय राजतन्त्र’ का लागि पूर्वराजालाई उक्साउने र आफूविरुद्ध षडयन्त्र गर्ने गरेको थापाले निकटस्थहरुलाई बताउने गरेका छन्।  

जानकारहरुका भनाईमा, २०६२–०६३ अघि र त्यसपछि पनि पूर्वराजा र थापाबीच बेला–बेला सचिवहरुका कारण असमझदारी सिर्जना हुने गर्थ्यो। र, सम्बन्ध चिसिँदा तीन प्रभावशाली व्यक्तिहरुले सहजीकरणको भूमिका निर्वाह गरिदिन्थे। ज्ञानेन्द्रले अक्सर आफ्ना सचिवहरुको कुरामा विश्वास गरेपनि ती तीन व्यक्तिहरु उनका लागि सचिवहरु भन्दा शक्तिशाली थिए। 

गलतफहमी सिर्जना हुँदा उनीहरुले नै कमल थापाले सही काम नै गरिरहेका छन् भनेर पूर्वराजा शाहलाई ‘कन्भिन्स’ गरिदिन्थे। अर्थात् कसैको मन फाट्यो भने सिलाइदिने–टालिदिने काम उनीहरुले नै गरिदिन्थे। 

ती तीन प्रभावशाली व्यक्ति थिए– शरदचन्द्र शाह, डा. तुलसी गिरि र प्रभाकर शमशेर राणा। 

तर, गणतन्त्र स्थापना भएको ५ वर्ष नबित्दै पूर्वराजाका नातेदार शरदचन्द्र शाहको ४ असार २०६९ मा निधन भयो भने राजा महेन्द्रकै पालादेखि दरबारले अत्यन्त विश्वास गरेका पूर्व प्रधानमन्त्री गिरिले पनि ३ पुष २०७५ मा देहत्याग गरे। 

गिरिको निधनको अर्को वर्ष १६ जेठ (२०७६) मा उद्योगपति एवं पूर्वराजाका नातेदार राणा पनि परलोक भए।  

शाह, डा. गिरि र राणाको निधनपछि पूर्वराजा शाहले थापालाई आफ्ना सचिवहरुको आँखाबाट मात्र हेर्ने स्थिति सिर्जना भयो। असमझदारी सिर्जना हुँदा पूर्वराजाले विश्वास गर्ने र मध्यस्थकर्ताको भूमिका निर्वाह गरिदिने कुनै विश्वसनीय पात्र अगाडि आएनन्। 

धवल शमशेरसँग गठबन्धन बनाएर जब लिङ्देनले अध्यक्ष पदमा कात्तिक तेस्रो सातादेखि नै प्रतिस्पर्धाको तयारी गरे, उतिबेलै निर्मल निवास थापाको ‘दाहिने’ नरहेको र लिङ्देनले दरबारका सचिवहरुबाट धाप पाएको चर्चा चल्न थालेको हो।   

थापा आफैँपनि यो वास्तविकताबाट अनविज्ञ थिएनन्। तर, शाह, डा. गिरि र राणा थिएनन्। थापा आफैँले गर्न सक्ने केही थिएन।

मंसिर २०, २०७८, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .