ad ad

म्यागेजिन


बेपत्ता दुई छोराका बाबु भीमबहादुर भन्छन्: ज्यान हिनामिना गरेका हौँ भन्न आए माफी दिन्छु

बेपत्ता दुई छोराका बाबु भीमबहादुर भन्छन्: ज्यान हिनामिना गरेका हौँ भन्न आए माफी दिन्छु

उजिर कार्की
पुस १६, २०७८ शुक्रबार ९:५८, काठमाडौँ

केही दिनयता प्रज्ञा भवन कमलादीमा फरक दृश्य देखिँदै छ। महाधिवेशनमा आएका देशभरका माओवादी कार्यकर्ता पार्टीले विगतमा गरेका गल्तीहरु उधिनिरहेका छन्। पार्टीले आफ्नो इतिहास र आधार भुलेको, उदेश्य र लक्ष्यबाट बरालिएको, नेताहरुको जीवनशैली अस्वाभाविक रुपमा फेरिएको, दलाली र भ्रष्टाचारमा लिप्त भएको तिनको गुनासो छ।

मूहगत छलफलपछि बुधबार र बिहीबार बोल्ने नेताहरुले पनि नेतृत्वप्रति चर्को असन्तुष्टि पोखे। थुप्रै निराश सुनिन्छन्। कतिपय आक्रोशित छन्।

झापाबाट आएका माओवादीका केन्द्रका केन्द्रीय सल्लाहकार भीमबहादुर बस्नेतले पनि पार्टीले बाटो बिराएकै निर्क्यौल गरेका छन्। तर, उनमा न आक्रोश छ, न त उनी निराश नै छन्। उनी त बस माओवादी सुध्रिएको हेर्न चाहन्छन्। माओवादी सुध्रिएर त्यसले गरिब, शोषित सबै जनताको भलो र देशको उन्नति गर्न सके मात्रै आफ्ना दुई छोराको बलिदान सार्थक हुने उनको ठम्याइ छ।  

उनका दुई छोरालाई तत्कालीन शाही नेपाली सेनाले बेपत्ता बनाएको १८ वर्ष पुग्यो। अब त उनले छोराहरु फर्केर आउने आस पनि मारिसकेका छन्।​

पाँच सन्तानका पिता भीमबहादुर झापा, दमकका हुन्। उनका छोराहरु माइला पुष्पराज, काइँला वीरेन्द्र र कान्छा धिरेन्द्र काठमाडौँ आएका थिए। सरकारी स्कुलबाटै विशिष्ट श्रेणीमा एसएलसी पास गरेपछि उनले छोराहरुलाई पढ्न काठमाडौँ पठाएका थिए। 

पुष्पराज पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भर्ना हुन चाहन्थे। प्रवेश परीक्षामा नाम पनि निकाले। तर, उनीभन्दा पछाडि नाम भएका नेविसंघ र अनेरास्ववियुमा आबद्ध विद्यार्थीहरुले भर्ना पाए। कुनै संगठनमा नजोडिएका उनले पाएनन्।

ठिक त्यहीबेला उपत्यकामा माओवादी विद्यार्थी संगठनको प्रभाव बढ्न थालेको थियो। पुष्पराज त्यसैमा आबद्ध भए। दाजुकै प्रभावले कान्छा भाइ धिरेन्द्र पनि अखिल क्रान्तिकारी ललितपुरमा आबद्ध भए।

०५७ सालमा भीमबहादुरलाई खबर आयो– तिम्रा तीनै भाइ छोरालाई पुलिसले पक्रेको छ अरे!

उनी सपत्नी हान्निएर काठमाडौँ आए। आफ्ना छोराहरुलाई छुटाउन सबैतिर हारगुहार गरे। समय बित्दै गयो। देशमा संकटकाल लाग्यो। दिनहुँ मारिने, बेपत्ता हुनेको संख्या बढिरहेको थियो। तर, उनका छोरा छुटेनन्। उनीहरुलाई मुद्दा पनि चलाइएको थिएन। 

अन्ततः भीमबहादुरले बन्दीप्रत्यक्षीकरण रिट हाले। त्यसपछि २०५९ चैत ११ गते अदालतले उनका छोराहरुलाई छाड्ने आदेश दियो। 

छोराहरुलाई डेरा पुर्याइराखेर भीमबहादुर घर फर्के। तर, जेलबाट छुटेका छोराहरुले माओवादी आन्दोलन छाडेनन्। 

केही महिनापछि नै २०६० सालमा सेनाले फरकफरक मितिमा फेरि तीनै भाइलाई पक्राउ गरेर लग्यो। ०६० भदौ १४ गते वीरेन्द्रलाई लग्यो। पुस १९ गते पुष्पराजलाई र २८ गते धिरेन्द्रलाई लगेको थियो। 

छोराहरु हराएपछि उनले मानवअधिकारवादीसँग सेनाका ब्यारेकब्यारेक चहारे। तर, त्यतिबेला माओवादीको मान्छे भनेपछि सेनाले कुरै सुन्थेन, सहयोग गर्ने त परको कुरा।

‘हामीले अन्त खोजेर भेटिने होइन। खोजी गरिदिन्छौँ भन्ने देश, विदेशका मानवअधिकार आयोगमा प्रमाणसहित निवेदन दिएको हो। सत्य निरुपण आयोगमा अझै निवेदन छ, तर के गर्नु भेटिएन,’ भीमबहादुरले भने। 

तीन वर्षपछि एक दिन वीरेन्द्र कालको मुखबाट फर्केर आए। तर, माइला पुष्पराज र कान्छा धिरेन्द्र कहिल्यै फर्केर आएनन्। १८ वर्ष बित्दा पनि आएनन्। 

‘तपाईंका छोराहरुलाई कहाँ लगियो होला?’

‘सिध्यायो होला!’ भीमबहादुरको अन्तर्मनले भन्छ।

‘त्यतिबेलाको सरकार, सेना, पुलिस माओवादी मारेरै सक्नुपर्छ भनेर लागेका थिए, मेरा छोराहरु पनि मारे होलान्। तर मारेकै भए पनि नदेखेसम्म चित्त त नबुझ्दो रहेछ।’

कहिलेकाहीँ उनलाई लाग्छ– छोराहरुले आत्मसमर्पण गरिदिएको भए उनीहरु बाँच्थे कि!

तर, अर्को मनले भन्छ– छोराहरुले आत्मसमर्पण नगरेर ठिकै गरे।

‘आखिर ढिलोछिटो मर्ने नै हो। सधैँ नमर्ने भए पो आत्मसमर्पण गर्नु,’ उनी चित्त बुझाउँछन्, ‘हामी यो आन्दोलन छाडेर हिँड्यौँ भने त जिउँदै मर्छौँ भनेर छाडेनन्।’

भीमबहादुर आफ्ना दुई छोरासहित माओवादी महाधिवेशनमा आएका हुन्। साइँला सुरेन्द्र र काइँला वीरेन्द्र पनि प्रतिनिधि छन्।

महाधिवेशनमा माओवादीमै लागेर सन्तान नै सखाप भएकाहरुलाई पनि भीमबहादुरले भेटे। दुःखसुख साटे। तिनैलाई हेरेर उनी दुई सन्तान गुमाउँदाको चोट सहने प्रयास गर्छन्। चित्त बुझाउने कोसिस गर्छन्।

‘मेरा त पाँच भाइमा तीन भाइ छन्। कतिपयका त एउटा सन्तान पनि बाँकी छैनन्,’ भीमबहादुरले पीडा लुकाउने प्रयास गर्दै भने, ‘नभएका छोराको चिन्ता गरेर के गर्नु?’

उनी त आफ्ना छोराका हत्याराहरुलाई माफी दिन पनि तयार छन्। तर, त्यसका लागि उनको एउटा सर्त छ।

‘मारेका छोरा जिउँदै ल्याइदे भन्दैनौँ। मात्रै जे भएको हो, त्यो भनिदिए हुन्छ,’ भीमबहादुर भन्छन्, ‘तपाईंका छोराहरुको ज्यान हिनामिना हामीले गर्यौँ भनेर माफी माग्न आए भने म माफी दिन्थेँ।’

‘तर, त्यो माफी परिवारले दिने हो। सरकार र संघसंस्थाले दिएर हुँदैन,’ उनी थप्छन्।

त्यतिबेलाका सेना र प्रहरीका मुखियालाई ल्याएर बयान गराउने हो भने बेपत्ताबारे सबै यथार्थ जानकारी पाइने उनको आशा छ। त्यसका लागि पार्टीले पहल गर्नुपर्ने उनले बताए।

अचेल भीमबहादुर छोराहरुको भन्दा धेरै पार्टीको चिन्ता गर्छन्। सायद उनी बेपत्ता छोराहरुको मुटु चिर्ने स्मृतिमा फर्किन चाहँदैनन्। 

बरु, उनको सपना छ– नेपाल चीनजत्तिकै विकसित भैदिओस्।

‘मलाई त प्रचण्ड माओत्सेतुङजस्तै र नेपाल चीनजस्तै भएको हेर्ने धोको छ,’ उनले सुनाए, ‘चीनमा माओत्सेतुङले जुन नीति, सिद्धान्त ल्याएर मुलुकलाई बाटो देखाए, प्रचण्डले त्यसै गरुन्। सी चिनफिङहरु जन्मिऊन र देशले उन्नति गरोस्।’

पार्टी झन्झन् कमजोर बन्दै गएको छ। नेताहरु छिन्नभिन्न हुने क्रम रोकिएको छैन। तर, माओवादी यसै सकिएला भन्ने लाग्दैन भीमबहादुरलाई। फेरि उठ्छ भन्नेमा उनी विश्वस्त छन्। त्यसका लागि नेताहरु सुध्रिन आवश्यक देख्छन्। 

उमेरले भीमबहादुर ७० काटिसके। हातगोडा चलुञ्जेल माओवादीमै खट्ने उनको अठोट छ। माओवादीले देखाएका सपना आफ्नो पालामा पुरा नभए पनि छोरानातिको पालामा त कसो नहोला भन्ने उनलाई लाग्छ। 

पार्टी छाडेका नेताहरुप्रति भने भीमबहादुरको गुनासो छ। 

‘बादल, बाबुरामहरुले सिद्धान्त बेचे। कहाँको कम्युनिस्ट आन्दोलन, कहाँ मधेस आन्दोलन! बादल पनि ओलीको पछाडि लागे,’ भीमबहादुरले आश्चर्य प्रकट गरे, ‘यिनीहरुले बाटो बिराएका हुन्, फेरि ल्याउनु पर्छ।’प्रचण्डले कार्यकर्तालाई अनुशासनमा राख्न नसक्दा नेताहरु छिन्नभिन्न भएको उनको ठम्याइ छ।

२०२८/०२९ सालतिर भीमबहादुरको झुकाव झापा विद्रोहीहरुको पक्षमा थियो। २०३५ पछि उनी मालेमा आबद्ध भए। र, पछि छोराहरुकै कारण माओवादी भए।

अहिले भीमबहादुरको परिवारमा जति छन्, सबै माओवादीको सक्रिय राजनीतिमा छन्। 

भीमबहादुरकी पत्नी चन्द्रकुमारीलाई माओवादीले २०७० सालको निर्वाचनमा समानुपातिक उम्मेदवारको सूचीमा राखेको थियो। तर, उनलाई सभासद् बनाइएन।

‘२०६४ सालमा भोट पुगेको थियो, हाम्रो पालो आएन। त्यतिबेला बन्दुकेहरुले आफ्नो मात्रै पालो राखे। २०७० सालमा पालो त आयो तर भोट पुगेन,’ भीमबहादुरले भने, ‘हाम्रो त फेरि विद्रोह गरेर भाग्ने ठाउँ पनि कतै छैन। रगत, पसिना सबै यहीँ छ।’

‘अब पार्टीले जे जिम्मा दियो, त्यसैमा चित्त बुझाउँछौँ,’ उनी थप्छन्।

उनका साइँला छोरा विशेष प्रदेश कमिटीको सचिव हुन् भने काइँला १ नम्बर प्रदेशको प्रदेश सदस्य। 

‘सबैजना किन पार्टीमा लाग्नुभयो त?’ भन्ने प्रश्नमा भीमबहादुर भन्छन्, ‘बिलो बाँडेर, ठगी गरेर खानलाई हो र एउटा एमाले, अर्को कांग्रेस, अर्को राजावादी हुनलाई? विचारमा प्रतिबद्ध भएर लागेको हो।’

परिवारको भविष्यबारे पनि उनी निश्चिन्त देखिए। भने, ‘हामी जिजुबाजेकै पालादेखि एक मानाको बन्दोबस्त भएका मान्छे हौँ। हामीलाई अर्बौँ पैसा कमाएर स्वर्ग पुगौँ भन्ने छैन। त्यस्तोमा विश्वास गर्ने पार्टीको मान्छे परिएन।’

भीमबहादुरका जेठा छोरा शंकर अहिले माओवादी केन्द्रको दमक नगर कमिटी सचिव छन्। बेपत्ता भाइहरुको नाममा खोलेको कलेज उनैले हेर्छन्।

१० वर्षे जनयुद्धका क्रममा बेपत्ता भएकाको परिवारलाई सरकारले १० लाख रुपैयाँका दरले क्षतिपूर्ति दिएको थियो। भीमबहादुरले दुई छोराको २० लाख रुपैयाँ पाए। त्यसमा आफूले रकम थपेर उनले दमकमा साइन्स कलेज सञ्चालन गरेका छन्। 

‘यही अपराध पचाउन राज्यको ढुकुटीबाट दसदस लाख पैसा दियो। कसैले बेपत्ताकै खोजीमा खर्च गरिसके। हामीले पैसा थपेर प्रतिष्ठान बनाएका छौँ,’ भीमबहादुर भन्छन्, ‘मेरा छोरा साइन्स पढ्न चाहन्थे। तिनको इच्छा पुरा भएन। त्यसैले साइन्स कलेज चलाएका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .