प्रतिस्पर्धा कम थिएन। विश्वभरका लाखौँ विद्यार्थीहरु सहभागी थिए।
मेहनत र संघर्ष गरे असम्भव के रहेछ र? अहिले यस्तै लाग्छ, काठमाडौँको थापाथलीस्थित ब्रिटिस कलेजकी १९ वर्षीया रिया मानन्धरलाई।
एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट (एसीसीए) को कार्यक्रम विश्वकै सबैभन्दा ठूलो र छिटो बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो। डिसेम्बर २०२१ मा भएको कर प्रणालीको परीक्षामा संसारभरका १३ हजार विद्यार्थीलाई उछिनेर उनी उत्कृष्ट भएकी छन्।
रियाले सबैभन्दा बढी ९८ प्रतिशत अंक ल्याइन्। परीक्षामा सहभागी ६ हजार चार सय विद्यार्थी उत्तीर्ण भएका थिए। विश्वका १ सय ७९ देशमा छ यो कार्यक्रम।
‘देश–विदेशमा राम्रो रोजगारीको अवसर छ,’ रियाले नेपालखबरसँग भनिन्, ‘एसीसीएले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउँछ भन्ने थाहा पाएर रोजेकी हुँ।’
रियाको सफलताले उनको परिवारमा त खुसी छाएको छ नै, यसबाट ब्रिटिस कलेज र शिक्षकहरु पनि गौरवान्वित भएका छन्।
खुसी नहुन पनि किन, आफूले पढाएको विद्यार्थी विश्व टप हुँदा।
‘हामीलाई रिया माथि गर्व छ,’ ब्रिटिस कलेज एसीसीए कार्यक्रमका म्यानेजर दीपेन्द्र के श्रेष्ठले भने, ‘उनी हाम्रो कलेजको दोस्रो वर्ल्ड टपर हुन्।’
पढाइका लागि होस् या रोजगारीका लागि विदेश जाने युवायुवतीको संख्या बढिरहेको छ। रिया पनि विदेश जाने योजनामा थिइन्। तर, कोरोना महामारीका कारण प्रक्रिया रोकियो। त्यसैले उनी यो कोर्स गर्नतिर लागिन्।
‘यसअघि पनि लेखामा नेपाल टप भएकी थिएँ,’ उनले भनिन्, ‘त्यसैले साथीहरुले पनि तिमी एसीसीएमा राम्रो गर्न सक्छौ भनेर सुझाव दिए।’
त्यसपछि एसीसीए कोर्स अध्ययनका लागि ब्रिटिस कलेजमा भर्ना भइन्। विशेषगरी अर्थ, व्यवस्थापन वा लेखा क्षेत्रमा काम गर्न चाहनेहरूका लागि एसीसीएले व्यावहारिक दक्षता प्रदान गर्छ।
विद्यालय तहको पढाइमा रिया खास उत्कृष्ट नतिजा ल्याउँदिनथिन्।
‘पढाइमा उस्तो ट्यालेन्ट होइन, तर कमजोर पनि थिइनँ,’ रियाले भनिन्, टप टेनमा पर्थेँ। एभरेज थिएँ।’
तर, त्यसपछि उनले आफूलाई अब्बल साबित गर्दै लगिन्।
‘आफू र आफ्नो क्षमतालाई चिन्न सक्नुपर्ने रहेछ सफल हुनको लागि,’ रियाले आफ्नो सफलताको रहस्य खोल्दै रियाले भनिन्, ‘म म्यानेजमेन्टमा राम्रो गर्न सक्ने रहेछु। यही पत्ता लगाउन पनि लामो समय लाग्यो, जब आफूलाई मन लाग्ने काम गर्न थालिन्छ, त्यसपछि दुःख महसुस हुँदैन, सहजै सफलता हात पर्छ।’
उसो त विश्वमै उत्कृष्ट नतिजा ल्याउँछुजस्तो उनलाई लागेको थिएन। तर, तयारी भने राम्रो गरेकी थिइन।
‘यसरी विश्व टप हुन्छु भनेर त पढेकी थिइनँ, तर मेरो तर्फबाट राम्रो मेहनत भने गरेकी थिएँ,’ उनले भनिन्, ‘राम्रो अंक ल्याउने उदेश्यले पढेकी थिएँ, मेहनतको फल पाउँछु भन्नेमा ढुक्क थिएँ।’
‘वास्तवमा, मैले मूल रूपमा ट्याक्सेसन पेपर लिने योजना बनाएकी थिइनँ,’ उनले थपिन्, ‘मलाई यस विषयमा पूर्ण आत्मवश्विास पनि थिएन। यद्यपि यो संकायले मलाई साइन अप गर्न प्रोत्साहन गर्यो।’
पढ्ने कुनै अलग तरिका र रुटिन छैन रियाको।
‘कलेजबाट फर्कँदाफर्कँदै ११ बज्थ्यो, तर सबै कुराको ब्यालेन्स थियो, दिनभर रटेर कहिल्यै पढिनँ, बुझेर पढेँ, नबुझेको कुरा भयो भने नोटमा टिपिहाल्ने बानी थियो,’ उनले भनिन्, ‘वेबसाइट र युट्युबमा कोर्सकै कुरा हेर्थेँ, एक घण्टा पढेपछि आधा घण्टा विश्राम लिने गर्थेँ, नआएको विषय दोहोर्याएर गर्थेँ, पटकपटक गल्ती नहोस् भनेर नोट बनाएर पढेकी हुन्थेँ।’
रियालाई यो कोर्स गर्न खासै उत्साह थिएन सुरुमा। किन पढ्ने भनेर बुझेकै थिइनन्। बिस्तारै उनलाई लाग्न थाल्यो– मेरै लागि उचित कोर्स रहेछ। त्यसैले त अभिभावक र साथीहरुले प्रोत्साहन गरेका रहेछन्।
अहिले उनलाई यो सफलतामा मेहनत आफ्नो भए पनि हात परिवार, साथी र शिक्षकको थियो भन्ने लाग्छ। जसले उनको क्षमतालाई बुझेका थिए र सुझाव दिएका थिए।
एकातिर लेखा परीक्षणमा करिअर बनाउने उद्देश्य, अर्कातिर व्यवस्थापन विषयमा राम्रो गर्न सक्छु भन्ने अठोट। उनलाई अबको दुई वर्ष कोर्स पुरा गर्न लाग्नेछ।
‘सामान्यतया एसीसीए कोर्स पुरा गर्न चारदेखि पाँच वर्ष लाग्छ। नलेज, स्किल्स र प्रोफेसनल गरी एसीसीएका तीन तह हुन्छन्। नलेज तहमा भर्ना हुन प्लस टु पास गरेको हुनुपर्छ,’ उनले भनिन्, ‘स्किल्सका लागि स्नातकको योग्यता चाहिन्छ। प्रोफेसनल तहमा भने एकाउन्टेन्सी पास गरिसकेकाले सोझै प्रवेश पाउँछन्। कक्षा दस उत्तीर्ण विद्यार्थीले पनि फाउन्डेसन इन एकाउन्टेन्सी कोर्स पुरा गरेपछि यो कोर्स पढ्न पाउने व्यवस्था गरिएको छ।’
विश्वभरको परीक्षा प्रणाली एकै छ, एसीसीएको कोर्स पनि फरक छैन। रियाका अनुसार एसीसीए बढी व्यवहारिक र व्यावसायिक छ।
एसीसीएका नेपाल प्रमुख रविन कटवालले रियाको यो उपलब्धि अरु विद्यार्थीका लागि प्रेरणा हुने बताए। नेपालमा एसीसीएमा आबद्ध झण्डै तीन हजार विद्यार्थीले एमसीए कोर्स अध्ययन गरिरहेका छन्।
पढाइ सकिएपछि खाली बस्नु नपर्ने, पढाइसँगसँगै काम गर्न सकिने, आकर्षक तलब र अन्तर्राष्ट्रिय बजारमा समेत बढ्दो मागका कारण एसीसीए आकर्षक भएको रियाको बुझाइ छ।
‘हामो देशमा त औपचारिक रुपमा एसीसीए पढाइ सुरु भएको भर्खर ११ वर्ष भयो तर एसीसीएप्रति म सँगै मेरा साथीहरु र धेरै अभिभावकको पनि लोभलाग्दो आकर्षण छ,’ उनले भनिन्।
रियाका अनुसार यसअघिको ब्याचका विद्यार्थीले सहज रूपले सबै क्षेत्रमा काम पाइरहेका छन्। धेरैले पढाइसँगै काम पनि गरिरहेका छन्।
‘कमाइसँगै इज्जत पनि हुन्छ, विश्वको जुन देशमा गए पनि जागिर पाउन सकिन्छ,’ उनले भनिन् ‘एसीसीए पढेका र सफल भएका दिदीदाइहरुलाई देख्दा गर्व लाग्छ।’
कस्तो कोर्स हो एसीसीए?
एसीसीएका नेपाल प्रमुख रविन कटवालका अनुसार एसीसीएको जुन २०१७ को पी–थ्री परीक्षामा पनि एक नेपाली विद्यार्थीले वर्ल्ड टप गरेकी थिइन्। त्यसबेला रेजिना महर्जनले उत्कृष्ट नतिजा ल्याएकी थिइन्।
उनले पढाइसँगै अडिट एसिस्टेन्टको कामलाई समेत निरन्तरता दिएकी थिइन्।
अहिले राजधानीमा ब्रिटिस कलेजसँगै, नेसनल कलेज अफ एकाउन्टेन्सी, सीसीए स्कुल अफ एकाउन्टेन्सीलगायतका संस्थाहरूले यो कोर्स पढाइरहेका छन्।
नेपालमा सन् १९९० को दशकदेखि व्यक्तिगत रूपमा एसीसीए अध्ययन थालिए पनि संस्थागत रूपमा भने सन् २००६ देखि मात्र सुरू भएको थियो।
नेपालमा अहिले ब्रिटिस काउन्सिलले कोर्स सञ्चालनको सहजीकरण गरिरहेको छ।
एसीसीए विश्वभरको अनुगमन र सहजीकरण बेलायतस्थित एसीसीएको मुख्य कार्यालयले गर्दै आएको छ। एसीसीए ग्लोबलडटकमका अनुसार एसीसीए सदस्य हुन १४ वटा पेपर पास गरेको हुनुपर्छ। एकाउन्टिङ, फाइनान्सिङ, अडिटिङलगायतका क्षेत्रमा तीन वर्षको अनुभव पुरा गरेको हुनुपर्दछ। यी मापदण्ड विश्वभरका लागि एउटै हुन्छ।
एसीसीए ग्लोबलका अनुसार विश्वबजारमा हाल एसीसीएका एक लाख ८८ हजार सदस्य छन् भने चार लाख ८८ हजारले यो कोर्स पढिरहेका छन्। जसमध्ये नेपालका करिब दुई हजार ५ सय विद्यार्थी अध्ययनरत छन्। ३ सय ८० जनाले एसीसीएको सदस्यता पाइसकेका छन्।
पेपर छनोट गरी परीक्षा दिन पाइने र सैद्धान्तिकभन्दा व्यवहारिक पाटो बढी भएकोले एसीसीए पढ्न गाह्रो नभएको रिया बताउँछिन्।
‘अनुत्तीर्ण विषयको मात्रै पुनः परीक्षा दिनुपर्ने र समय व्यवस्थापनको अनुकूलताले पनि सहज भइरहेको छ एसीसीए पढ्न,’ रियाले भनिन्, ‘साथै कोर्स पुरा गर्न विद्यार्थीले अनिवार्य कलेज जानुपर्ने बाध्यता छैन, धेरै कुरा घरबाट नै थाहा पाउन सकिन्छ। एसीसीएकै वेबसाइटले पढ्न सहज भएको छ।’
निजी कम्पनीहरुको व्यवस्थापकीय नेतृत्व, बैंक, बीमा, होटल, कर्पोरेट हाउस, सरकारी निकाय र विज्ञका रूपमा एसीसीए कोर्स उत्तीर्ण गर्नेहरू नै प्राथमिकतामा पर्ने गरेका छन्।
‘विश्वव्यापी मान्यताको कोर्स भएका कारण कार्यक्षेत्र पनि फराकिलो छ। योग्य भएपछि विश्वको जुनसुकै देशमा पुगे पनि आकर्षक तलब पाउन गाह्रो पर्दैन। यसरी दक्ष जनशक्ति उत्पादनमा एसीसीएको ठूलो हात छ,’ रियाले भनिन्, ‘पछिल्लो समय विदेशमा मात्र हैन स्वदेशकै ‘क’ श्रेणीका बैंक, बहुराष्ट्रिय कम्पनी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले एसीसीए योग्यता खोज्ने गरेको पाइन्छ। अबको एकदुई वर्षभित्रमा नेपालमा राम्रो अवसर पाइनेछ भन्ने लागेको छ।’
Shares
प्रतिक्रिया