बाल्यकालमा उनलाई प्रिय लाग्थ्यो– बाटोमा एकअर्काको हात समातेर हिँडिरहेको जोडी। त्यस्तो देख्दा उनलाई छिट्टै हुर्किन मन लाग्थ्यो। उनीहरुले जस्तै आफ्नो प्रेमको हात समातेर सँगै बाँच्ने, सँगै मर्ने कसम खान मन लाग्थ्यो, आफू सानो भएको पटक्कै मन पर्दैनथ्यो।
तर, भवानी राणाको बाल्यकालको अधिकांश समय होस्टलमा बित्यो। होस्टलका कडा नियम, एकोहोरो दैनिकी, होस्टलकै खेल, उनको मन पटक्कै रमाउँदैनथ्यो। उनको मन त त्यतिबेला फुरुङ्ग हुन्थ्यो, जतिबेला बिदामा घर जान पाउँथिन्। साथीहरुसँग लुकामारी खेल्थिन्। झुम्राको पुतली बनाएर विवाह गराइ खेल्थिन्। आफैँ बेहुली बनेको कल्पनामा हराउँथिन्। त्यसबेला उनलाई कहाँ थाहा थियो र बेहुली बनेपछि छाडेर जानु पर्छ आफैँ जन्मिएको घर। जन्मदिने आमा–बुबा, खेलीहुर्केको आँगन।
उमेर बढ्दै जाँदा भने प्रेम र विवाहले मनमा लाज पैदा गर्न थाल्यो, किशोरावस्था टेक्न थालेपछि फेरि केटाकेटी बन्न मन लाग्न थाल्यो। उमेरको एउटा खुड्किलो पार गरेपछि बढ्दै गए तनावका दायरा। समस्याका अंकगणित। भवानीलाई त्यतिबेला थाहा भयो, हर छुटेका कुरा प्रिय हुने रहेछन् जीवनमा। सानोमा हरेक चीज भएको भन्दा धेरै देखाउने बानी थियो। उमेर बढ्दै गएपछि लुकाउन मन लाग्ने रहेछ आफ्नै उमेर पनि।
लुकाएर लुकेन हुर्कने उमेर। मनको भाव र यौवनका संवेगहरु। सपना बुन्दाबुन्दै जीवनले दुई दशकको यात्रा तय गर्यो। यही यात्रामा ठोक्किन आइपुगे असित शमशेर राणा। असित र भवानी सानैदेखिका साथी। यो उमेरसम्म आइपुग्दा उनका धेरै साथी छोरीबाट बुहारी भइसकेका थिए।
असित र भवानी प्रेममा थिए। संगत बढ्दै जाँदा आफूले एउटा श्रीमानमा कल्पना गरेका हरेक गुण असितमा भेटिन्थ्यो। त्यसैले हुनुपर्छ, उनीहरुले जिन्दगीकै सहयात्री बन्ने निर्णय गरे।
अन्मिने बेलाको क्षण
झुम्राकी पुतलीको विवाह गराउँदै हुर्किएकी भवानी आफ्नै विहेको तयारीमा थिइन्। चिनेजानेको परिवार। मन पराएर माया लाएको केटा। माइती नजिकै थियो अन्मिएर भित्रने घर। मन खुसी हुनु पर्ने हो। तर विवाहको कुरा छिनेपछि उनको मन भारी थियो।
अब मेरो गोत्रनै परिवर्तन हुँदैछ भन्ने कुराले दुखाउँथ्यो भवानीको मन। विवाहको दिन जग्गेमा जुनबेला उनका बुबाआमाले ‘आजबाट मेरी छोरी तपाईंको जिम्मा, मारे पाप पाले पुण्य’ भने त्यसबेला अँध्यारो लागेथ्यो उनलाई आफ्नै दुलही पहिरन।
‘अन्मिने बेलाको क्षण निक्कै पीडादायी हुने रहेछ। म अब अर्कै दुनियाँमा जाँदै छु। फरक साइनो, सम्बन्ध र भूमिका निर्वाह गर्न जाँदैछु भन्ने कुराले निक्कै दुखाउँदो रहेछ,’ भवानी विगत सम्झँदै भावुक बनिन्।
डाक्टरले भने– आमा हुन गाह्रो छ
पढाइ पुरा गरेर सुरु गरेको जागिर। आमा भइसकेका साथी। करिअर विकासमा साथ दिने श्रीमान् र परिवार। भवानीलाई चिन्ताको कुनै कारण थिएन। बच्चासँगै करिअर हुर्किन्छ, उमेर पनि भयो भन्ने सोचेर उनी जचाउन गइन्। उनको पाठेघरमा ‘मल्टिपल सिस्ट’ देखियो। डाक्टरले भने, ‘बच्चा बस्न गाह्रो हुन्छ।’
भवानीको मुटु शरीरबाहिरै निस्केलाझैँ गरेर दुखेको थियो। फेरि उनले आफूलाई सम्झाइन्, ‘डाक्टरले असम्भव भनेका होइनन्। गाह्रो छ मात्रै भनेका हुन्।’
उनले यो समय डाक्टरको सल्लाहमा केही औषधि पनि सेवन गरिन्। डाक्टरको डरले भन्दा भवानीको आत्मविश्वासले जित्यो। विवाह गरेको एक वर्षपछि उनी आमा बन्ने भइन्।
त्यतिबेला उनका श्रीमान् कामको सिलसिलामा नेपालगञ्ज पुगेका थिए। काठमाडौंमा आमा बन्दै गरेको पोजिटिभ रिपोर्ट भवानीको हातमा थियो। उनका हात एकैछिन थरथराए।
‘खुसीमा पनि डरलाग्दो कम्पन हुँदो रहेछ,’ भवानीले पहिलोपट थाहा पाइन्।
फोन गरेर श्रीमानलाई बुबा बन्न लागेको खबर सुनाइन्। आमालाई फोन गरिन् र आफू आमा बन्न लागेको खुसी बाँडिन्।
खिचडी र गोलभेडाको अचारको सहारा
गर्भावस्था सुरु भएपछि भवानीलाई हिजोसम्म जिब्रो पड्काउँदै मिठो मानेर खाएका खानेकुरा रुचेनन्। उनको भान्सामा हरेक दिन मासु पाक्थ्यो। हिजोसम्म मगमग बास्ना आउने मासुको परिकार उनलाई गन्हाउन थाल्यो। ५ महिनासम्म भवानीले खिचडी र गोलभेडाको अचार मात्रै खाइन्। ५ महिनापछि बिस्तारै अन्य खाना पनि खान थालिन्। गर्भावस्थाको समयमा अन्य किसिमको समस्याहरु त्यति देखिएन।
गर्भावस्थासँग जोडिएका अनेक मिथक छन्। उनीसँगै गर्भवती भएका साथीहरुले खानादेखि हेर्ने र पढ्ने हर कुरामा आफन्तका यो र त्यो कुरा सुन्नु पथ्र्यो। भावानीलाई भने मन लागेको खान खोज्दा कसैले यो नखाऊ भनेनन्। उनको पेट हेरेर छोराछोरीको लख काट्ने पनि कोही भएन। के दैख्यौ सपना भनेर सोध्ने कोही भएन।
बरु उनकी सासू सम्झाइरहन्थिन्, ‘स्वस्थ खाना खानु पर्छ। बेलाबेला वाक् गर्दै गर।’
गर्भावस्थाको बेलामा भवानी देशका थुप्रै जिल्लामा गाडी हाँकेर पुगिन्। महिला हिंसा विरुद्धका काम गर्ने साथी संस्थामार्फत् महिलाका विभिन्न मुद्दा बोकेर निस्कने उनलाई आफन्तहरुले बेलाबेला आफ्नो पनि ख्याल गर्न भन्थे। सासू र श्रीमानको पनि गुनासो त्यही थियो।
गर्भावस्थामा टाढाटाढा पुगेकी भवानीलाई कार्यक्रमका सहभागीले भन्थे, ‘यस्तो बेला यति लामो बाटो हिँड्न नहुने।’
तर उनीहरु आफैले चाहिँ गर्भावस्थाका बेलामा खानु पर्ने पौष्टिक आहार समेत पाएका हुँदैनथे। उनलाई सम्झाउने मध्येका कतिपय महिला आफैँ आमा बन्ने तयारीमा हुन्थे। गर्भावस्थामा नियमित जाँच समेत गराउन नपाएका महिलाहरुले उनको स्वास्थ्यलाई लिएर गरेको चिन्ताले हुरुक्क हुन्थ्यो भवानीको मन।
‘गर्भावस्थामा परिवारको अतिरिक्त माया चाहिन्छ’
अन्य समयमा भन्दा गर्भावस्थाको समयमा महिलाहरु भावनात्मक रुपमा कमजोर हुने रहेछन्। भवानीलाई परिवारमा समस्या थिएन। सम्पन्न र शिक्षित परिवार। गर्भावस्थाको समयमा पाउनु पर्ने हरेक ख्याल र माया पाइन्। तर, त्यही समय कतिपय महिलाले सामान्य हेरचाह पनि पाएका थिएनन्।
गर्भावस्थाकै बेलामा उनले त्यस्ता महिला पनि भेटिन्, जसलाई आफ्नो ख्याल कसरी गर्नुपर्छ भन्ने समेत थाहा थिएन।
उनीहरुका आफन्तलाई गर्भावस्थाको समयमा महिलामा हर्मोनल चेन्ज आउँछ, उनीहरुको मुड बिग्रिरहन्छ भन्ने थाहा थिएन। त्यसैले कयौँ महिलाले दुःख पाइरहेका थिए। अरुबेला सामान्य लाग्ने यी घटना आफैँ गर्भवती भएपछि भने गम्भीर लाग्न थाले भवानीलाई।
उनले महसुस गरिन्– गर्भवती महिलालाई अन्य समयभन्दा परिवारको माया र साथ अतिरिक्त चाहिन्छ।
बच्चा चल्दा रमाइलो
पेट बढ्दै जाँदा लाज बढ्दै जान्थ्यो। अहिलेजस्तो ‘बेबी बम्प’देखाएर उत्सव मनाउने प्रचलन सुरु भएको थिएन। गर्भावस्थाको समय लम्बिएसँगै खुसीको दायरा पनि फराकिलो बन्दै जाने रहेछ। पेटभित्रको बच्चा चलमलाउँदा भवानीलाई अर्कै लोकमा पुगेको महसुस हुन्थ्यो। भित्रबाट ममता जागृत भएर आउँथ्यो। रमाइलो लाग्थ्यो।
बच्चा चलमलाएसँगै आफ्नै पेट छाम्थिन् र साउती मार्थिन् भवानी। गर्भावस्थाको पाँच महिनामा अल्ट्रासाउन्ड गर्दा उनलाई डाक्टरले भनेका थिए, ‘तपाईको पेटमा छोरा छ।’
उनी गर्भावस्थामै छोराको कल्पनामा हराउँथिन्। छोराको नाम राख्थिन्। र प्रार्थना गर्थिन्, ‘मेरो छोरा स्वस्थ जन्मियोस्।’
त्यतिबेला इन्टरनेट थिएन। गर्भावस्थाको विषयलाई लिएर छलफल र बहस गर्ने प्रचलन थिएन। नेपालमा गर्भावस्थाको समयलाई लिएर लेखिएका किताबहरु थिएनन्। भवानीका श्रीमानले भारतबाट ‘गर्भावस्थामा कसरी आफ्नो ख्याल गर्ने’ भन्ने जानकारी लेखिएको एउटा किताब उपहार ल्याइदिएका थिए। उनलाई जिन्दगीको सबैभन्दा सुन्दर क्षणको सबैभन्दा सुन्दर उपहार त्यही लाग्यो, जसलाई उनले आजसम्म जतनले राखेकी छन्।
पीडामा आमाको सम्झना
भवानीलाई डाक्टरले नर्मल डेलिभरी हुन गाह्रो छ भनेका थिए। सुत्केरी हुन अस्पताल भर्ना भएसँगै उनको परिवारले आवश्यक पर्न सक्ने रगतलगायतका सामग्री प्रबन्ध गर्यो। उनलाई प्राकृतिक रुपमा बच्चा जन्माउन मन थियो। उनलाई एक दिन, एक रात व्यथा लाग्ने र छोड्ने भइरह्यो। पीडाको उपल्लो बिन्दुमा पुगेको बेला उनी आफ्नी आमा सम्झिन्थिन्।
उनको मनमा आउँथ्यो, ‘मलाई मेरी आमाले यही पीडा काटेर जन्माउनु भएको हो।’
भवानीलाई उनकी आमाले भनेको नमान्दा एकदिन भनेकी थिइन्, ‘आफैँ आमा भएपछि थाहा पाउँछेस्।’
त्यतिबेला उनलाई आमाले के भनेकी होलिन् भन्ने लाग्थ्यो।
‘प्रसव पीडापछि बल्ल आमाको माया गहिरोसँग महसुस हुँदो रहेछ,’ भवानीले भनिन्।
लामो प्रसव पीडापछि भवानीले प्राकृतिक रुपमै छोरो जन्माइन्। पहिलो पटक उनलाई उनकी आमाले छोरो देखाएकी थिइन। भवानीका लागि जिन्दगीको सबैभन्दा सुन्दर क्षण थियो त्यो। सुत्केरी भएको भोलिपल्ट भवानी घर फर्किइन्।
बच्चा नुहाउन डराउने आमा
भवानीका छोरा लामो समयसम्म राति निदाउँदैनथे। दिनभरि सुत्ने, रातभर जाग्राम। सुरुसुरुमा भवानीको मन आत्तिन्थ्यो। बिस्तारै अधिकांश बच्चाको स्वभाव त्यस्तै हुने जानकारी पाइन्। लामो समय भवानीलाई आफ्नै छोरो बोक्न डर लाग्थ्यो। नुहाइदिन डर लाग्थ्यो। घरका अन्य सदस्यले बच्चा नुहाउने, तेल लगाउने गर्थे।
बच्चा निदाएको बेला हेरिरहन निक्कै रमाइलो लाग्थ्यो। दूध चुस्दै गर्दाको छोराको मुहारको खुसीले अर्कै आनन्द मिल्थ्यो। घरमा हेर्ने मान्छे थिए। तर छोरा हुर्किंदै गर्दाको हरेक क्षण उनी नियाल्न चाहन्थिन्।
‘बच्चा हुर्काइको हरेक स्टेप निक्कै सुन्दर हुने रहेछ। सन्तान हुर्काइको हरेक स्टेपमा फरक खालको अनुभूति हुने रहेछ,’ उनी भन्छिन्, ‘ठूलो भएपछि त सन्तानको पनि आफ्नै सर्कल हुन्छ। आफ्नै जिन्दगी हुन्छ। आमासँग थोरै समय बिताउलान्। हो त्यो बेला आमाहरुलाई बाँच्न सहज बनाउने सम्झना उसको हुर्काइको समयको हो। यो अनुभव सबै आमाहरुले छुटाउनु हुँदैन।’
भवानीले छोराका हुर्काइका हरेक क्षण भिडिओ र तस्बिरमा कैद गरेर राखेकी छन्। हिजोआज समय मिल्दा उनी ती खुसीका एल्बम पल्टाइरहन्छिन्।
छाड्नु पर्दाको पीडा
उनको दस–पाँचको जागिर थिएन। आफ्नै व्यापार, मन लागेको बेला जाँदा हुन्थ्यो। बाहिर निस्किए पनि हरेक दुई घण्टामा छोरालाई दुध ख्वाउन भवानी घर आउँथिन्। उनका छोरा एक वर्षका हुँदै थिए। भवानीलाई एक दिने कार्यक्रमका लागि नगरकोट जानु पर्ने भयो। दिनभरि कार्यक्रम चल्यो। दूध गानिँदा बच्चा सम्झिन्थिन्। त्यो रातभरि उनी निदाउन सकिनन्। त्यसपछि भने भवानीले रात नै बस्नु पर्ने खालका काममा छोरालाई सँगै लिएर जान थालिन्।
भवानीका छोरा सानामा निक्कै चञ्चले स्वभावका थिए। उमेरभन्दा अग्ला थिए। खाना खान मान्दैनथे। आफन्तले गाली गरेर ख्वाउन भन्थे। उनले डाक्टरसँग सल्लाह लिइन्। डाक्टरले जर्बजस्ती नगर भन्थे। सानामा छोरा बिरामी भइरहन्थे। भवानी निक्कै आत्तिन्थिन्। छोरालाई थोरै पीडा हुँदा पनि भवानी एक्लै रुन्थिन्। बानी पर्न निकै समय लाग्यो।
अब त भवानीका छोरा देवांश राणा तन्नेरी भइसके। उमेर अनुसार देवांशका सपना फेरिँदै गए। बच्चा छँदा उनी सैनिक बन्ने सपना बुन्थे। भवानीलाई कुनै आपत्ति थिएन। अहिले उनका छोराको सपना छ– असल राजनीतिज्ञ बन्ने। यसमा पनि भवानीको कुनै आपत्ति छैन। छोरो जुन क्षेत्रमा भए पनि सफल भएको हेर्न चाहन्छिन् उनी।
देवांश राणा र भवानी राणा अहिले आमा–छोरा कम मिल्ने साथी धेरै भएका छन्। जीवनका हरेक घटनाक्रम एकअर्कासँग सेयर गर्छन्। छोरालाई लिएर भवानीका ठूला सपना केही छैनन्।
उनको कामना यति मात्रै छ– ‘छोराले घर र सम्बन्ध अझै बलियो बनाउने खालको बुहारी रोजोस्।’
Shares
प्रतिक्रिया