म्यागेजिन


चार जनालाई मृत्युदण्ड दिने ती नर शमशेर: जसलाई त्रिभुवनले आईजीपी, महेन्द्रले अंगरक्षक बनाए

चार जनालाई मृत्युदण्ड दिने ती नर शमशेर: जसलाई त्रिभुवनले आईजीपी, महेन्द्रले अंगरक्षक बनाए

दाङमा राजा महेन्द्रको अंगरक्षकका रुपमा पछाडि सबैभन्दा दायाँ उभिएका नर शमशेर, विसं २०२५ (संकलनः सीताराम बराल)


सीताराम बराल
माघ २२, २०७८ शनिबार १७:५२, काठमाडौँ

विसं २०२० को दशकमा दशरथ रङ्गशाला निर्माण भएपछि हाल सैनिक मञ्च रहेको टुँडिखेलको नाम नै फेरियो। नजिकै दक्षिणी पाटोको होचो मैदानमा रङ्गशाला निर्माण हुनुअघि हाल सैनिक मञ्च रहेको फराकिलो मैदानलाई ‘ठूलो टुँडिखेल’ भनिन्थ्यो। 

रङ्गशाला निर्माण भएको सानो मैदानको नाम ‘सानो टुँडिखेल’ रहेकाले ठूलो मैदानले ‘ठूलो टुँडिखेल’ नाम पाएको थियो। ‘सानो टुँडिखेल’ मासिएर एउटा मात्र रहेपछि ‘ठूलो’ र ‘सानो’ टुँडिखेल भन्नुपर्ने जरुरतै रहेन। 

हामी यहाँ त्यही ‘सानो टुँडिखेल’ मा १९९७ मा दिइएको अर्को एउटा मृत्युदण्डको चर्चा गर्दैछौँ। त्यो ‘भैरु पल्टन’ का सुवेदार मेघबहादुर (कुलध्वज) बस्नेतलाई मृत्युदण्ड दिइएको घटना थियो। 

दोस्रो विश्वयुद्धका क्रममा भैरु पल्टनलाई ग्यारिजन भूमिकामा भारतमा खटाइएको थियो। सुवेदार बस्नेत त्यसै पल्टनमा कार्यरत थिए।

भारतमा रहेका बेला कमसल खानाको विरुद्ध पल्टनका सिपाहीहरुले अधिकृतविरुद्ध विद्रोह गरे। विद्रोहको अगुवाइ र सैनिक अनुशासन उल्लंघन गरेको आरोपमा श्री ३ जुद्धले कुलध्वजलाई मृत्युदण्डको सजाय सुनाएका थिए। 

‘कुलध्वजलाई सानो टुँडिखेलको डिलमा मचान बनाई झुण्ड्याउने व्यवस्था मिलायौँ,’ विसं २०५८ मा प्रकाशित आत्मकथामा श्री ३ जुद्धका नाति जर्नेल नर शमशेरले कुलध्वज निर्दोष रहेको, तर हजुरबुबा जुद्धको आदेशका कारण मृत्युदण्ड दिनुपरेको उल्लेख गर्दै भनेका छन्, ‘राजकाजमा कहिलेकाहीँ यस्तो पनि हुन्छ। के गर्नु ...!’

नर शमशेरको यो भनाइबाट देखिन्छ, जुद्ध शमशेर श्री ३ छँदा दिइएका पाँच वटै मृत्युदण्डका सजायको कार्यान्वयन उनले नै गरेका रहेछन्। 

राणाकालमा पुलिसको काम पनि नेपाली सेनाले नै गर्थ्यो। आफू श्री ३ बनेको केही समयपछि जुद्ध शमशेरले नाति नर शमशेरलाई पुलिस विभागको जर्नेल (प्रमुख) को जिम्मेवारी दिएका थिए। यही हैसियतमा चार सहिदलगायत श्री ३ जुद्धकालका सबै मृत्युदण्डको कार्यान्वयन तिनै नर शमशेरको अगुवाइमा भयो।  

श्री ३ जुद्धले पुल्पुल्याएका नाति 
श्री ३ चन्द्रको ३१ वर्षे शासनका कारण उनको निधनपछि पनि राज्ययन्त्रमा उनकै छोराहरुको हालिमुहाली थियो। यही कारण श्री ३ चन्द्रपछिका राणा शासकहरु श्री ३ चन्द्रका परिवारहरुको चियोचर्चाे र इष्र्या गर्थे।

चन्द्र शमशेरपछिका श्री ३ भीम शमशेरको निधनपछि १९ भदौ १९८९ मा जुद्ध शमशेर ‘श्री ३’ र प्रधानमन्त्री भए। श्री ३ बनेपछि उनले २० वर्षे नाति नर शमशेरलाई सुरुमा नेपाली सेनाको ‘मेजर जनरल’ मा पदोन्नति गरे। केही समयपछि शक्तिशाली पुलिस विभागको प्रमुखको जिम्मेवारी सुम्पिए। 

पुलिस विभागको प्रमुख भएकाले नर शमशेर दैनिक गतिविधि जाहेरीका लागि प्रत्येक दिन साँझ श्री ३ जुद्धलाई भेट्थे। विदेशी पत्रिकामा आएका समाचारबारे जानकारी र व्याख्याको जिम्मेवारी विश्वमणि आचार्यलाई थियो। भिन्दाभिन्दै विषय भए पनि जाहेरीका क्रममा यी दुवै सँगै रहन्थे। 

श्री ३ जुद्ध झुलभित्र रहेको पलङमा सुसारेहरुबाट तेल लगाइमाग्दै नर शमशेर र विश्वमणि आचार्यको रिपोर्ट र व्याख्यान सुन्थे। 

एकदिन त्यसैगरी श्री ३ जुद्ध तेल लगाउँदै नर शमशेरले वाचन गरेको रिपोर्ट सुनिरहेका थिए। त्यसैदिन दिउँसो चन्द्र शमशेरका कुनै सन्तानले टुँडिखेलको बाँसघारीभित्र केटीहरू लगेको सूचना श्री ३ जुद्धले पाइसकेका रहेछन्।

राणाकालीन प्रहरी प्रमुखका रुपमा जनरल नर शमशेर (नर शमशेरको आत्मकथा)

नर शमशेरले आफ्नो रिपोर्ट वाचन गरिसिध्याएका थिएनन्। त्यो घटना नर शमशेरको रिपोर्टमा नपर्ने संकेत देखिएपछि श्री ३ जुद्ध शमशेर कड्के, ‘ए नर! आज टुँडिखेलको बाँसघारीमा थापाथलीका राणाजीहरुले केटीहरू लगेको तिमीले थाहा पाएनौ कि क्या हो?’ 

नर शमशेरका भनाइमा हजुरबुबा श्री ३ जुद्धको यस्तो प्रश्नले उनी एकछिन अकमकिए। तर, तत्कालै सम्हालिएर जवाफ दिए, ‘किन थाहा नपाउनु यस्तो कुरा? मैले त हजुरलाई राजकाजको कुरा पो सुनाउने हो त! यस्तो जाबो कुरा पनि सुनाउने हो?’ 

नर शमशेर यत्तिमै रोकिएनन्, ‘हाम्रै सामु आफू (श्री ३ जुद्ध) झुलभित्र बसेर तेल मालिस गर्न हुने, उनीहरु बाँसघारीभित्र गई जे गरुन्, हजुर–हामीलाई के वास्ता?’ भन्ने जवाफ पनि दिए। 

‘(त्यसपछि) बुढा (श्री ३ जुद्ध) चुप लागिबक्स्यो’, नर शमशेरले भनेका छन्, ‘पछि मुमाहजुर (श्री ३ जुद्धकी बडामहारानी) लाई ‘यो नरले त क्या जवाफ दिँदो रहेछ, मलाई बोल्ने ठाउँ नै दिएन’ भन्ने मर्जी पो भएछ।’

अरुले यस्तो जवाफ दिएको भए उसको जिब्रो काढिँदो हो, तर नर शमशेर थिए– श्री ३ जुद्धको सबैभन्दा मन परेको जेठो नाति। यस्तो व्यक्तिले जे भने पनि उनले केही गर्ने कुरा थिएन। 

नर शमशेर जुद्धका जेठा छोरा (बहादुर शमशेर)बाट जन्मेका जेठा नाति थिए। यही कारण बाल्यकालदेखि नै उनी हजुरबुबा जुद्ध शमशेरबाट पुल्पुल्याइए।   

नर शमशेरकी आमा राज्यलक्ष्मी राणालाई क्यान्सर रोगले च्यापेपछि श्री ३ जुद्धले बहादुर शमशेरलाई बेलायतका लागि पहिलो नेपाली राजदूत बनाएर पठाएका थिए, ताकि बुहारीको उपचार सहज रुपमा हुनसकोस्। बेलायत जानुअघि बहादुर शमशेर श्री ३ जुद्धका हजुरिया जर्नेल (सैनिक सचिव सरह) थिए। 

बहादुर शमशेर हजुरिया जर्नेल हुँदा पुलिस विभाग उनै मातहत थियो। राजदूतका रुपमा उनी बेलायत प्रस्थान गरेपछि पुलिस विभागको जिम्मेवारी श्री ३ जुद्धले नाति नर शमशेरलाई सुम्पे, नयाँ हजुरिया जर्नेल सिंह शमशेर (श्री ३ चन्द्रपुत्र) लाई यो विभाग दिएनन्। 

खासमा नर शमशेर पनि आमाको उपचारका बाबु बहादुर शमशेरसँगै बेलायत जाने सुरसारमा थिए। तर, जुद्धको आग्रह टार्न नसकेर यतै रोकिए। 

‘जिजुबुबा (श्री ३ जुद्ध) ले म नातिलाई छोरा बनाई आफैँले पुल्पुल्याई स्याहारिबक्सेका कारण उहाँलाई सम्बोधन गर्दा ‘जिजुबुबा’, ‘बाजे’ वा हजुरबुबाको साटो बुबा हजुर भन्ने गर्दथेँ,’ आत्मकथामा नर शमशेरले भनेका छन्, ‘मेरो बुबा बहादुर शमशेर बेलायत जाने भएपछि उहाँले गम्भीर मुद्रामा ‘तिम्रो बुबा नभएको बेला तिमी मसँग रहे ठूलो आड हुनेछ’ भनिबक्सेपछि मुमालाई बम्बैबाट बिदा गरी म काठमाडौँमा नै फर्किएँ।’

बेलायत जान रोकेर यति महत्वपूर्ण जिम्मेवारी दिइएका जर्नेल नर शमशेर मातहतको पुलिस विभागले राणाकालमा गुप्तचरसम्बन्धी कार्य पनि हेथ्र्याे। श्री ३ चन्द्रपुत्र सिंह शमशेरलाई हजुरिया जनरलका अलावा पुलिस विभागको पनि जिम्मेवारी दिँदा राजकाज र पारिवारिक षडयन्त्रसम्बन्धी आवश्यक सूचना नपाइने भएकाले होला, २१ वर्षे नाति नर शमशेरले यति महत्वपूर्ण विभागको जिम्मेवारी पाएका थिए।  

पुलिस विभागको प्रमुख भएकाले मृत्युदण्डस्थलदेखि जल्लाद (फाँसी दिने व्यक्ति) व्यवस्था गर्नेसम्मको जिम्मेवारी नर शमशेरलाई नै थियो। 

मर्ने बेलासम्म पनि झुट 
१ सय ३ वर्षे राणा शासनका एक क्रुर पात्र नर शमशेरको निधन लोकतन्त्र पुनस्र्थापना भएकै दिन ११ वैशाख २०६३ मा ९५ वर्षको उमेरमा भएको थियो। आफूले चार जना– शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्डको सजाय दिएको कुरा उनले कहिल्यै लुकाएनन्। सुबेदार बस्नेतलाई मृत्युदण्ड दिएको कुरा पनि उनले त्यही आत्मकथामार्फत् खुलासा गरेका हुन्। 

उनले खुलासा नगरेको भए कुलध्वजलाई कसले मृत्युदण्ड दिएको हो, राणाशासनकालीन सीमित उच्चपदस्थ बाहेक अरुलाई जानकारी हुने थिएन।

यस्तो महत्वपूर्ण खुलासा आफैँ गरे पनि चार जनालाई मृत्युदण्ड दिइँदाका कतिपय घटना र त्यसक्रममा भएका ज्यादतीलाई भने उनले सधैँ झुटमार्फत् लुकाउन खोजिरहे। मृत्युदण्डका बेला उनीसँगै रहेका प्रत्यक्षदर्शीहरुले खुलासा गरेका तथ्यहरुलाई समेत उनले कहिल्यै स्वीकार गरेनन्।

१३ माघ (१९९७) मा सिफलमा मृत्युदण्डको सजाय दिइएका धर्मभक्त माथेमालाई झुण्ड्याउने दुई प्रयास असफल भएपछि तेस्रो प्रयासका बेला नर शमशेर र धर्मभक्त​ माथेमाबीच आक्रमण–प्रत्याक्रमण भएको थियो। चक्कुले आफ्नो गाला चिरेको रिसमा माथेमाले नर शमशेरलाई जोडले लात्ती हानेका थिए।​​

नर शमशेरले मृत्युदण्ड दिएका चार सहिद– शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठ

धर्मभक्तको लात्ती यति बेजोडको थियो, त्यही कारण ढुन्मुनिँदै नर शमशेर ५–६ हात पर पुगेको उनीसँगै रहेका लप्टन कृष्णबहादुर थापाले ‘नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा नेपाल प्रजा परिषद्’ का लेखक इतिहासका प्राध्यापक डा. राजेश गौतमसँगको कुराकानीमा खुलासा गरेका थिए।

पशुपति जाँदा सिफलमा झुण्डिरहेको धर्मभक्तको शव देखेका साहित्यकार भीमनिधि तिवारीले पनि एउटा लेखमा धर्मभक्तको चिउँडोदेखि गालासम्म जमिसकेको रगतको धर्काे देखिएको उल्लेख गरेका थिए। खासमा त्यो रगतको धर्काे नर शमशेरले चलाएको चक्कुकै कारण बनेको थियो। 

२००७ को क्रान्तिका एक योद्धासमेत रहेका पूर्वमन्त्री एवं इतिहासकार भुवनलाल प्रधानले २०४१ मा नर शमशेरसँग भेट हुँदा यसबारे जिज्ञासा राखेका थिए। प्रधानका भनाइमा फाँसीमा झुण्ड्याइएका धर्मभक्तको लासको नाक–मुखमा भोलिपल्ट बिहान सबेरै रगतको दाग देखिएको र लुगा (कमिज र पाइजामा जस्तो ह्वार्लाङ्गे सुरुवाल) भिजेकाले त्यसबारेमा उनले सोधेका थिए। 

यसबाहेक माथेमाले पहिलोपल्ट हालेको पासो फुकाई त्यही रुखको हाँगा समाई भुइँमा टेक्न पुगेका र केहीबेरको संघर्षपछि यिनलाई फाँसी दिन खटिएका जर्नेल (नर शमशेर) को टोली यिनलाई अँठ्याउन सफल भएको भन्ने चर्चा पनि चलेको थियो। र, प्रधानले यो कुरा पनि नर शमशेरसँग सोधेका थिए। 

यी जिज्ञासाका सम्बन्धमा नर शमशेरले दिएको जवाफ प्रधानले आफ्नो पुस्तक ‘नेपालको जनक्रान्ति: २००७’ मा उल्लेख गरेका छन्। प्रधानका अनुसार नर शमशेरको जवाफ थियो, ‘धर्मभक्तको घाँटीमा हालिएको पासाको गाँठो अचुक थियो। फाँसीमा लट्केर मर्ने जुनसुकै मान्छे सरह उनको प्राण जानुअगाडि मुत तुर्केको आदि दाग लुगामा देखिन्थ्यो। लुगा भिजेको चाहिँ बिहानीपखको शीतले होला। त्यसैले, धर्मभक्तको मृत्युदण्डका बेलाबारेका हल्ला निराधार हुन्।’

इतिहासकार प्रधानलाई यस्तो जवाफ दिए पनि उनले आफ्नो आत्मकथामा भने धर्मभक्तलाई फाँसी दिने दुई प्रयास असफल र तेस्रो प्रयास सफल भएको उल्लेख गरेका छन्।  

त्यसअघि शुक्रराज शास्त्रीलाई झुण्ड्याएर दिएको फाँसीबारे उनको बयान विवादमा परेको छैन। फाँसीकै बेलाका प्रत्यक्षदर्शीको बयान सार्वजनिक नभएको र उनै (नर शमशेर) ले दिएको विवरण आफैँमा मार्मिक भएकाले पनि उनको बयान विवादमा नपरेको हो। 

सबैभन्दा ठूलो विवादमा परेको नर शमशेरको दाबी (बयान) चाहिँ दशरथ चन्द र गंगालाल श्रेष्ठलाई दिइएको मृत्युदण्डका सन्दर्भमा हो। गंगालाललाई माफी मगाउन कसरी विस्तारै–विस्तारै दशरथ चन्दको घुँडादेखि कोखासम्म गोली हान्दै लगिएको थियो, नर शमशेरसँगै रहेका प्रत्यक्षदर्शी लप्टन बेदबहादुर सिलवालले प्राध्यापक डा. गौतमसँगको कुराकानीमा उल्लेख गरेका छन्। 

गंगालाल भर्खरका युवक थिए। श्रीमतीले दुई दिनअघि मात्र छोरा जन्माएकी थिइन्। त्यसैले, माफी मागेमा गंगालाललाई दिइएको मृत्युदण्डको सजाय फिर्ता लिने पक्षमा श्री ३ जुद्ध पनि थिए। नर शमशेरलाई पनि यस्तै आदेश थियो। 

नर शमशेरको सोचाइ चन्दमाथि गोली हान्दा तर्सेर गंगालालले माफी माग्लान् भन्ने थियो। तर, आफूलाई तर्साउने नियतका साथ चन्दको घुँडादेखि (क्रमशः माथि) माथि विस्तार–विस्तार गोली चलाउन थालेपछि गंगालाल आक्रोशित बने। गंगालालले नर शमशेरलाई गाली गर्न र एकै गोली छातीमा हानेर सिध्याउन चुनौती दिए। 

दशरथ चन्दलाई जस्तै गंगालाललाई पनि घुँडादेखि गोली हान्दै लगियो। अर्थात् घाइते गंगालालको मृत्यु पनि दशरथ चन्द जसरी नै एक गोलीको साटो पटक–पटक गरेर हानिएका ४–५ गोलीका कारण तड्पी–तड्पी भयो। 

दशरथ चन्दमाथि गोली हान्ने पोडे अनुभवी र गंगालालमाथि गोली चलाउन तयार पारिएको पोडे अनुभवी नभएको नर शमशेरको भनाइ छ। त्यसैले चन्दमाथि गोली हान्ने पोडेलाई नै गंगालालमाथि पनि गोली हान्न लगाउनु परेको थियो। तर, उनले पनि गोली चलाउन मानेनन्।

‘थप बक्सिस दिन्छु भन्दा पनि उसले गंगालालमाथि गोली हान्न मान्दै मानेन, त्यसलाई अर्काे बोत्तल रक्सी पिलाई, अँगालो हाल्दै कराइरहेको गंगालालतर्फ आफैँले लगी उसको छातीमा बन्दुक तेस्र्याई ‘ट्रिगर तान्दे’ भन्ने आदेश दिएँ,’ नर शमशेर भन्छन्, ‘मैले आग्रह गरेपछि निजले हात कमाई–कमाई बल्ल–बल्ल ट्रिगर दबाइदियो र गंगालाल धरासायी भयो। त्यसले ट्रिगर नतानिदिएको भए म आफैँ ट्रिगर तान्नुपर्ने अवस्थामा पुगेको थिएँ।’ 

‘रक्सी पिलाएर गोली हान्न तयार पारिएको’, ‘आफैँले आड दिएर गोली हान्न लगाइएको’ र ‘पोडेले नहानेको भए आफैँले गोली हान्नुपर्ने अवस्था रहेको’ जस्ता नर शमशेरका भनाइ पढ्दा जो–कोहीलाई लाग्नसक्छ– नर शमशेरको कस्तो इमान्दार खुलासा!  

यस्तो लागे पनि नर शमशेरका सबै दाबी सत्य छैनन्। 

प्रत्यक्षदर्शी लप्टन सिलवालका भनाइमा, गंगालालको शरीरमा पाँच गोली दागिएका थिए। ती सबै गोली पोडेले होइन, नर शमशेर आफैँले चलाएका थिए।

९० वर्षको उमेरमा नर शमशेर आफ्नो निवासको बगैँचामा (नर शमशेरको आत्मकथा)​​

गंगालालमाथि दागिएको अन्तिम गोली पनि डराइरहेको पोडेलाई आफैँले आड दिएर चलाउन लगाएको भन्ने नर शमशेरको दाबी सफेद झुठ रहेको ठोकुवा सिलवालले गरेका छन्। 

सिलवाल भन्छन्, ‘उक्त पोडेलाई हिम्मत बढाउने निहुँमा अँगालोमा हाली पिस्तोल समाउन मद्दत गरेको निहुँमा नर शमशेरले नै पिस्तोलको ट्रिगर दबाएर गोली चलाए। गोली ठीक ठाउँमा लाग्न गयो र पोडेको नाममा नर शमशेरले गोली हानी गंगालाललाई सहिद बनाए।’

उनको आत्मकथा प्रकाशित हुँदा राणा शासनको अन्त्य भएको ५१ वर्ष बितिसकेको थियो, बहुदल पुनस्र्थापना भएको पनि ११ वर्ष भइसकेको थियो। त्यो स्थितिमा आफैँले गोली हानेको भन्दा उनले पुरस्कार पाउने स्थिति थिएन, बरु थप घृणाको पात्र बन्ने थिए।

सायद त्यसैले मृत्युदण्डको कार्यान्वयन आफूले गरेको भन्ने ‘ओपन सेक्रेट’ उनले त्यसमा उल्लेख गरे, तीन सहिदमाथि मृत्युदण्डका क्रममा गरिएको अत्याचारबारे भने कि मौन रहे, कि झुट बोलेर आफूलाई चोख्याउन चाहे। 

प्रजातन्त्रपछि आईजीपी, राजाका अंगरक्षक  
विसं १९९७ को पर्वमा विभिन्न सजाय पाएका प्रजा परिषदका नेता–कार्यकर्ता र इतिहासकारहरुका भनाइमा चार जनालाई मृत्युदण्ड दिने सजायमा लालमोहर लगाउन राजा त्रिभुवनले अस्वीकार गरेका थिए। सजाय सुनाउने भारदारी सभामा उपस्थित गराइएका राजा त्रिभुवनलाई लालमोहरको लागि आग्रह गरिए पनि उनी अस्वीकार गरी नारायणहिटी फर्के। 

राणाहरुसँग क्रुद्ध राजा त्रिभुवन तीनै छोरासहित नारायणहिटी फर्केपछि श्री ३ जुद्ध पनि नागार्जुन दरबार फर्के। अपरान्ह अर्काे भारदारी सभा बोलाएर उनीहरुलाई मृत्युदण्डको सजाय कार्यान्वयन गर्ने घोषणा गरियो। सोही बमोजिम नर शमशेरले चारैजनालाई सुनाइएको मृत्युदण्डको सजाय कार्यान्वयन गरे। 

जुद्ध शमशेरकालीन ‘प्रहरी प्रमुख’ का हैसियतमा उनले सो निर्णय कार्यान्वयन गरेका थिए। तर, समय कति क्रुर हुँदो रहेछ! २००७ को परिवर्तनलगत्तै तिनै नर शमशेरलाई प्रजातान्त्रिक नेपालको पनि आईजीपी (प्रहरी महानिरीक्षक) बनाइयो। 

गद्दीमा चढेपछि राजा महेन्द्रले उनैलाई आफ्नो पार्श्ववर्ती (अंगरक्षक) बनाए। राजा महेन्द्रको जीवनपर्यन्त नर शमशेर अंगरक्षक रहे।

राजा महेन्द्रको अंगरक्षकका रुपमा नर शमशेर (पछाडि)   

राणा शासनको अन्त्यलगत्तै नर शमशेरलाई प्रहरीको आईजीपी बनाउने भूमिका राजा त्रिभुवनको थियो। नर शमशेरले भने गणेशमान सिंहको ‘सिफारिस’ मा राजा त्रिभुवनले आफूलाई प्रजातान्त्रिक नेपालको प्रहरी महानिरीक्षक बनाएको दाबी गरेका छन्। 

यो कुराको चर्चा गर्नुअघि २००७ मा राणा शासनविरुद्धको संघर्ष चलिरहेका बेला नर शमशेरको भूमिका कस्तो थियो भन्ने कुराको संक्षिप्त चर्चा सान्दर्भिक हुनेछ। 

त्यो शासनको पतनको एउटा कारण राणा परिवारभित्रको अन्तर्द्वन्द्व थियो। पिता श्री ३ चन्द्र शमशेरको निधनपछि उनका पुत्रहरु छिटो शासनमा पुग्ने ध्याउन्नमा थिए। उनीहरुकै दबाबका कारण श्री ३ जुद्ध र श्री ३ पद्म शमशेर राजीनामा दिएर हिँड्नु परेको थियो। झडङ्गी स्वभावका अलावा श्री ३ चन्द्रपुत्रहरुको दबाबका कारण पनि श्री ३ जुद्ध चार जनालाई मृत्युदण्ड दिने निर्णयमा पुगेका हुन्। 

श्री ३ पद्मको राजीनामापछि मोहन शमशेर प्रधानमन्त्री बने। त्यो बेलासम्म राजा त्रिभुवनका तीनै छोराहरुको बिहे जुद्ध शमशेरका नातिनी–पनातिनीहरुसँग भइसकेको थियो। 

त्यसमध्ये युवराज महेन्द्रको विवाह जुद्धपुत्र हरि शमशेरकी छोरी इन्द्रराज्यलक्ष्मीसँग भएको थियो। अधिराजकुमार हिमालय र बसुन्धराले नातिनी अर्थात् नर शमशेरका छोरीहरु क्रमशः प्रिन्सेप राणा र हेलेन राणासँग बिहे गरेका थिए।

राजा महेन्द्र (अगाडि) अंगरक्षकका रुपमा नर शमशेर, उनका ज्वाइँ अधिराजकुमार हिमालय, छोरी प्रिन्सेप र रानी रत्न (दायाँबाट क्रमशः)

२००७ को क्रान्तिमा जुद्ध खलकका धेरैजसो राणाहरु मोहन शमशेरको खिलाफमा थिए। नर शमशेरका भनाइमा भारत प्रवासबाट श्री ५ त्रिभुवनले ‘भारदारहरुले आफू (त्रिभुवन) लाई नै राजाको रुपमा देख्न चाहन्छन्’ भन्ने हस्ताक्षरसहितको पत्र चाहेका थिए, ताकि नयाँदिल्लीमा छँदा आफ्नो ‘पोजिसन’ बलियो बनाउन सकियोस्। 

जोखिम मोलेरै आफूले भारदारहरुको हस्ताक्षर गराई सोही बेहोराको पत्र श्री ५ त्रिभुवनका लागि नयाँदिल्ली पठाइदिएको दाबी नर शमशेरको छ। त्यसपछि त्रिभुवनले उनलाई नयाँदिल्ली बोलाएनन् मात्र, स्वदेश फर्किंदा आफ्नो सुरक्षाको व्यवस्था मिलाउने जिम्मेवारी समेत दिएर पठाए। 

राणा शासनविरुद्ध विद्रोह गरेका कर्णेल तोरण शमशेर प्रजातन्त्रपछि नेपाल प्रहरीको पहिलो आईजीपी बने। तर, तीन दिनका लागि मात्र। २८, २९ र ३० चैत्र (२००७) प्रहरी प्रमुख रहेका तोरण हटाइए। त्यसपछि आईजीपीको जिम्मेवारी नर शमशेरले पाए। 

नर शमशेरले आत्मकथामा गरेको दाबीअनुसार भारदारहरुको हस्ताक्षरसहितको पत्र पठाएपछि राजा त्रिभुवनले बोलाएबमोजिम नयाँदिल्लीस्थित हैदराबाद हाउसमा पुग्दा त्यहाँ राजा त्रिभुवनका साथ मातृकाप्रसाद कोइराला, बीपी कोइराला, भद्रकाली मिश्र, सूर्यप्रसाद उपाध्याय र गणेशमान सिंह थिए। 

उनले भनेका छन्, ‘म त्यहाँ पुग्दा धुरुधुरु रुन थालेछु, सरकार (त्रिभुवन) को पनि नजर रसायो र हुकुम भयोः अब नरोऊ नर! तिमीले त्यत्रो ज्यानको बाजी लगाएर मैले कल्पना पनि नगरेको त्यत्रो बिघ्न भाइभारदारहरुको दस्तखतवाला कागज पठाइदिएर ममाथि ठूलो गुन लगायौ। यस कागजले गर्दा मलाई नेपालमा इज्जतसाथ फर्कने बाटो खुल्न गयो। तिमीले त्यति नगरेको भए हामी सबैलाई श्री ३ मोहनले बेवास्ता गरेको गर्यै गर्ने थिए।’

‘सरकारबाट त्यस्तो उद्गार व्यक्त हुनासाथ उपस्थित सबैले खुसी हुँदै मेरो समयोचित कामको धेरै प्रशंसा गर्न थाले,’ उनी थप भन्छन्, ‘त्यही मौकामा गणेशमानजीले सरकारतर्फ फर्केर ‘सरकार! नर शमशेरलाई त्यत्रो ठूलो काम गरेबापत के बक्सिन्छ? मेरो विचारमा नेपाल फर्केपछि उसैलाई आईजीपी बनाउनुपर्छ भनी अप्रत्यासित रुपमा सिफारिस गरिदिनु भयो। म झसङ्गै भएँ।’ 

गणेशमानले त्यसो भन्दा आफू झसङ्ग हुनुको कारण पनि उनले उल्लेख गरेका छन्।

‘किनभने, त्यहाँ उपस्थित नेतामध्ये १९९७ को पर्वका बेला उही गणेशमानलाई सबैभन्दा धेरै शारीरिक यातना दिलाउने म नै थिएँ,’ उनी भन्छन्, ‘उहाँको मप्रतिको विद्वेषपूर्ण बदलाको सट्टा त्यो उदार उद्गार सुनेर म अत्यन्तै प्रभावित हुन पुगेँ।’ 

तर, नर शमशेरले यहाँ पनि झुट बोले। प्रजातन्त्र स्थापनापछि नेपाल प्रहरीको आईजीपी बन्न नयाँदिल्लीमा मातृका–बीपीका सामुन्ने गणेशमानले गरेको सिफारिसको भूमिका रहेको नर शमशेरको दाबीलाई ऐतिहासिक घटनाक्रमले पुष्टि गर्दैनन्।   

नर शमशेरले दाबी गरेजस्तो त्यसबेला गणेशमान सिंह नयाँदिल्लीमा थिएनन्। डा. राजेश गौतमसँगको अन्तर्वार्ता (नेपालको प्रजातान्त्रिक आन्दोलन र गणेशमान सिंह, पेज १३२) मा सिंहले उल्लेख गरेअनुसार २३ कात्तिक (२००७ मा) ठोरीबाट पक्राउ परेका उनी प्रजातन्त्र घोषणा हुनुभन्दा ५ दिनअघि २ फागुन (२००७) मा केन्द्रीय कारागारबाट रिहा भएका थिए। ४ फागुनमा राजा त्रिभुवन, मातृका–बीपी सहितका नेताहरु काठमाडौँ आएपछि मात्र सिंहको उनीहरुसँग भेट भएको थियो।​

गृहमन्त्री बीपीका साथ आईजीपी नर शमशेर

यसरी जेलमा रहेका गणेशमानले नयाँदिल्लीमा कांग्रेसका अन्य नेताहरुका अगाडि राजा त्रिभुवनसँग नर शमशेरलाई आईजीपी बनाउनुपर्छ भनेर सिफारिस गर्ने कुरै भएन।

खासमा राणा शासनको अन्त्यपछि राजा त्रिभुवन शासनमा आफ्नो पकड बलियो बनाउन चाहन्थे। त्यसका लागि सेना–प्रहरीमा आफ्नो पकड बलियो बनाउनु जरुरी थियो। नर शमशेर उनका विश्वासी बनिसकेका थिए। नर शमशेरले राजा त्रिभुवनबाट प्रहरी महानिरीक्षकको जिम्मेवारी पाउनुको कारण यही थियो।  

मृत्युदण्ड दिँदा डर, अर्ध–पश्चाताप  
चार जनालाई मृत्युदण्ड दिँदा नर शमशेर २९ वर्ष पुगिसकेका थिए। त्यसपछि पनि उनी थप ६१ वर्ष बाँचे। बाँकी अवधिमा पनि त्यो मृत्युदण्डप्रति उनमा खासै पश्चाताप थिएन।

हो, बहुदलकालीन नेताहरुलाई गाली गर्नेक्रममा चाहिँ चारजनालाई प्राणदण्ड दिनु परेकोमा आफूलाई पश्चाताप भएको बताउने गर्थे उनी।

‘चारजना वीर सहिदहरुलाई भारदारी सभाको निर्णय र बुबाहजुरको हुकुमबमोजिम मृत्युदण्डको सजाय दिनुपर्दा मलाई आर्कै किसिमको पछुतो लागेको छ,’ निधनभन्दा पाँच वर्षअघि २०५८ मा प्रकाशित आत्मकथामा उनले भनेका छन्, ‘त्यसबखत पुलिस जर्नेलको हैसियतले सो कार्यको तामेली गरेकोमा भने खासै पछुतो छैन।’

आत्मकथा प्रकाशित भएको केही समयपछि २०४९ को मदन पुरस्कार विजेता इतिहासका प्राध्यापक डा. भवेश्वर पंगेनीले नर शमशेरलाई भेटेका थिए।   

‘जीवनको उत्तराद्र्धमा थिए नर शमशेर, त्यसैले धेरै कुरा गर्नसक्ने स्थितिमा थिएनन्। तर १९९७ को घटनाबारे पुस्तक (आत्मकथा) मा जे कुरा उल्लेख छ, त्यो भन्दा फरक कुरा त्यो बेलापनि गरेनन्,’ डा. पंगेनीले भने, ‘पुलिसको प्रमुख भएकाले जिम्मेवारी अनुसारको भूमिका निर्वाह गरेको हुँ भन्ने भनाइमा दृढता थियो।’​

जीवनको उत्तरार्द्धमा नर शमशेर (नर शमशेरको आत्मकथा)

राणा शासनको पतनको पाँच वर्षपछि १९९७ को पर्वमा सर्वश्व र आजन्म जन्मकैदको सजाय पाएका प्रजा परिषदका नेता टंकप्रसाद आचार्य प्रधानमन्त्री (२०१३) बने, गणेशमान सिंह (नेपाली कांग्रेस), रामहरि शर्मा, चुडाप्रसाद उपाध्याय लगायतका नेताहरु मन्त्री बने। 

मृत्युदण्डको सजाय नपाएको भए चार सहिदले पनि राणा शासनको अन्त्यपछि मन्त्री–प्रधानमन्त्री बन्ने अवसर पाउँथे कि!   

जीवनको उत्तरार्द्धमा नर शमशेरको विश्लेषणपनि यस्तै थियो। 

‘आखिर दस वर्षभित्र उनीहरु छुटिहाल्ने थिए। अहिले पछि फर्केर हेर्दा उनीहरुलाई मृत्युदण्डको सट्टा आजीवन कारावासमात्रको सजाय सुनाइएको भए हुने रहेछ भन्ने लाग्छ,’ उनले भनेका छन्, ‘त्यतिबेला यो बुद्धि नपलाएको र बुबाहजुर (श्री ३ जुद्ध) लाई सम्झाई–बुझाई मृत्युदण्डको सट्टा आजीवन कारावास वा माफी दिलाउन नसकेकामा मलाई पछुतो लाग्ने गर्दछ।’

‘उनीहरुजस्ता निस्वार्थी नेताहरुको हातमा राष्ट्रको भविष्य थामिन पुगेको भए यो देश स्वर्ग नै हुन्थ्यो भन्ने लाग्छ,’ उनले यो पनि भनेका छन्, ‘बरु, उनीहरु चार जनाको सट्टा हाल देशलाई यो दुर्दशामा पुर्याउने अहिलेका यी नेता (२०५८) भनाउँदाहरुलाई छानी–छानी त्यस्तो मृत्युदण्ड तामेली गर्न पाए हुन्थ्यो भन्ने लाग्छ। त्यसका लागि अहिलेको यो बुढेसकाल (९० वर्ष) मा समेत आफैँ अघि सरुँ जस्तो रिस उठ्छ।’

उनका उपरोक्त भनाइबाट बुझ्न सकिन्छ, बहुदलकालीन नेताहरुप्रति आक्रोश व्यक्त गर्न मात्र उनमा मृत्युदण्डको सजाय तामेली गरेकोमा ‘पश्चाताप’ थियो। अर्थात् कुनै सर्तबिना ‘पश्चाताप’ उनलाई थिएन। 

मृत्युदण्डका बेला सहिदहरुप्रति गरेको क्रुरताप्रति पनि उनमा पश्चाताप थिएन। बरु, त्यो क्रुरता लुकाउने प्रयास उनी अन्तिम अवस्थासम्म पनि गरिरहेका थिए।

नर शमशेरको साथमा रहेका प्रत्यक्षदर्शीहरुले धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई निकै क्रुरतापूर्वक मृत्युदण्ड दिइएको उल्लेख गरेका छन्। दशरथ र गंगालाललाई एकैपटक छातीमा गोली नहानी केही मिनेटको अन्तरालमा घुँडाबाट क्रमशः माथितिर गोली हान्दै जानु क्रुरताको पराकाष्टा थियो। 

झुण्ड्याउने दुई पटकको प्रयास असफल भएपछि नर शमशेर आफैँले धर्मभक्तको चिउँडो–घाँटी चक्कुले चिरेको घटना मध्ययुगीन क्रुरताको अर्काे उदाहरण थियो। 

यस्ता क्रुर र उद्दण्ड भए पनि मृत्युदण्डका बेला कसैले देख्लान् र आफूलाई बित्यास पर्ला भन्ने डर भने उनमा थियो। नर शमशेरका आफ्नै भनाइ र इतिहासकारहरुले दिएका तथ्यहरुले मृत्युदण्डको सजाय कार्यान्वयनका बेला उनी निकै डराएका थिए भन्ने दृष्टान्त पेस गर्छन्।   

जस्तो कि, नर शमशेरकै भनाइमा– गंगालालमाथि पोडेले अन्तिम गोली नचलाएको भए उनी आफैँ ट्रिगर तानेर काम फत्ते गर्ने मनस्थितिमा पुगिसकेका थिए। 

कारण थियो– स्थानीय सर्वसाधारणले मृत्युदण्ड दिँदै गरेको देख्लान् भन्ने डर।

‘पोडेहरुलाई फकाउँदा–फुलाउँदा धेरै समय बितिसकेको थियो, मिर्मिरे उज्यालो हुन थालिसकेको थियो,’ उनले भनेका छन्, ‘त्यसैले, शोभाभगवतीको पूजा गर्न आउने श्रद्धालुहरुको भीड लाग्ने डर भइसकेको थियो।’

राणाकालीन पुलिसको जिम्मेवारी सम्हालेका जनरल, शक्तिशाली श्री ३ महाराज जुद्धका नातिलाई समेत सर्वसाधारणहरुको यति धेरै डर रहेछ!​

राजपाट छाडेर रिडी प्रस्थान गर्दै श्री ३ जुद्ध (पुरुषोत्तम शमशेर जबरा)

‘नेपालको प्रजातान्त्रिक इतिहासमा प्रजा परिषदको भूमिका (भाग १)’ मा इतिहासका प्राध्यापक डा. गौतमले उल्लेख गरेअनुसार, शुक्रराज शास्त्रीलाई टेकु–पचलीको रुखमा झुण्ड्याइन लागेका बेला केही मानिसहरु घटनास्थतर्फ आउँदै गरेको नर शमशेरहरुले देखे। मानिसहरुको हुल मृत्युदण्डस्थलतर्फ आउँदै गरेको देखेपछि नर शमशेर सहयोगीका साथ भागे। 

‘उन (शास्त्री) ले रुखको आग्नेय कोणपट्टिको हाँगामा झुण्ड्याइएको डोरी समाते,’ डा. गौतम लेख्छन्, ‘तर त्यही समय अलि टाढा पेट्रोम्याक्स बालेर २०–२४ जना व्यक्तिहरु आइरहेको देखेर नर शमशेर, हरि शमशेर (श्री ३ जुद्धपुत्र, श्री ५ महेन्द्रका ससुरा), रंगविक्रम, जेलका जेलर खड्कबहादुर सुनुवारका साथै अरु सिपाहीहरु समेत भागे।’

डा. गौतमले उल्लेख गरेअनुसार, नर शमशेर लगायतले पेट्रोम्याक्स बालेर आएका ती व्यक्तिहरुलाई विद्रोही ठानेका थिए। तर, पछि उनीहरु विद्रोही थिएनन्, भोज सकेर फर्केका स्थानीय थिए।  

‘यो कुरा थाहा पाएपछि उनीहरु फेरि फाँसीको डोरी घाँटीमा लगाउन ठीक्क परेर बसेका शास्त्री नजिक आए,’ डा. गौतम लेख्छन्, ‘सबै फर्केपछि शुक्रराज शास्त्रीले फाँसी आफैँ लगाई ढुङ्गाको भर्याङ्ग खुट्टाले लडाए। र, सहादत प्राप्त गरे।’ 

कस्तो अचम्म! निशस्त्र शुक्रराज शास्त्री शस्त्रले सज्जित तिनै शासकका छोरा–नाति अगाडि कत्ति नडराई फाँसीमा चढ्ने तयारीमा थिए, मृत्युदण्डको सजाय दिने जिम्मेवारी पाएका सैनिक सुरक्षा सहितका नर शमशेर भने वरिपरि सर्वसाधारण देखेपछि जिम्मेवारी तामेल नगरी भाग्ने तरखरमा।

सहिदको कथा :
१. तेस्रो पटक झुण्ड्याइनुअघि धर्मभक्तले नर शमशेरलाई लात हानेका थिए
२. माघ ११ : त्यो दिनभर शुक्रराजको शव खरीको रुखमा झुण्डिइरह्यो
३. एकै ठाउँ, एकै समय गोली खाएर मर्ने प्रण गरेका दशरथ–गंगालालको त्यो असीम प्रेम 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .