‘हाँडीमा भुट्दा फूल मकै र ठेट्ना मकै सराबरी हुन्थ्यो। मलाई फूलभन्दा ठेट्नै मिठो लाग्थ्यो। फूल उठेको मकै खान त ठिकै हो, पेट भर्नै हम्मे। कुरुम् कुरुम् हुने तर कम स्वादे! ठेट्नाले चाहिँ छिटो पेट भरिने।’
मोहीसित मकै भटमास खानुको मजा सुनाउँदै उनले कुराकानी सुरु गरे। लमजुङको मध्य नेपाल नगरपालिका (जिता)को एक सामान्य परिवारमा जन्मिएका खुसीराम तिवारीलाई मकै भटमासको स्वाद तारे होटलका खान्कीभन्दा गज्जब लाग्छ।
अहिले पनि अमेरिकाबाट कहिलेकाहीँ गाउँ जाँदा भाउजू उनलाई सोध्छिन्, ‘देवर बाबु, खाजा के खाने?’
उनको जवाफ हुन्छ, ‘मकै भटमास।’
अचेल गाउँघरमा समेत खाजाको रुपमा मकै भटमासभन्दा चाउचाउजस्ता पत्रु खाना चलेको देख्दा उनी दुःख मनाउ गर्छन्।
‘आफ्नो बारीमा फलेको मकैभन्दा चाउचाउलाई राम्रो मान्नेहरूको संख्या बढ्दो छ। यस्ता ठाउँमा पोषणका कार्यक्रम चलाउनु पर्छ,’ उनी भन्छन्।
उनलाई यति स्वादिलो लाग्ने मकै घुनले खाइदिन्थ्यो। घुन लाग्न नदिने औषधि केही थिएन। मकैमा मात्र होइन, तरकारीका साना बिरुवामा पनि किरा लाग्थ्यो।
‘किरा मर्छ कि भनेर आमाले घरेलु उपाय गर्नुहुन्थ्यो,’ उनी सम्झिन्छन्, ‘तर खास असर पर्दैनथ्यो।’
त्यो देख्दा उनी मकैलाई किराबाट बचाउने उपाय सोच्ने गर्थे। यही हुटहुटीले उनलाई मकै बाली विशेषज्ञ बन्न सघायो।
कृषि पढ्ने अवसर
खुसीरामको परिवारको मुख्य पेसा कृषि थियो। बुबा आमा र दाइ कृषि गर्थे। कृषिबाट भएको उब्जनीले मात्रै पुग्दैनथ्यो। त्यसैले मजदुरीका लागि बुबा भारत जान्थे।
तिवारीले गाउँकै पञ्चमी चौतारोमा गएर कखरा सिकेका थिए। त्यसपछि गाउँकै निजी विद्यालय जिता सप्तधारा लमजुङमा कक्षा ७ सम्म पढे।
शान्ति माध्यामिक विद्यालयमा कक्षा ८ मा भर्ना भए। त्यहाँ व्यावसायिक वागबानी विषय पढ्न पाए।
स्कुल टाढा थियो। बिहान ७ बजे नै खाना खाएर स्कुल हिँड्नुपर्थ्यो। बेलुका घर आइपुग्दा जाडो मौसममा त रातै पर्थ्यो। दैनिक दुई घण्टाको बाटो हिँडेरै उनले स्कुल धाए।
खुट्टामा सधैँ जुत्ता चप्पल हुँदैनथ्यो। प्रायजसो खाली खुट्टा हिँड्नुपर्थ्यो। चप्पल नलगाई हिँड्दा काँडाले घोचेका दिन आज पनि उनलाई स्मरणीय लाग्छन्।
परिवारमा चार दिदीबहिनी र एक दाजु थिए। सिंगो परिवार कृषि कर्ममा हुनाले खुसीराम खेतबारीमा खेल्दै हुर्किए। अरुले जस्तो डाक्टर, इन्जिनियर बन्ने सपना उनले पालेनन्।
‘मभन्दा अगाडि राम्रा मानिने विद्यार्थीले कृषि पढे। काशीनाथ अधिकारी कृषि नै पढ्न गए। टेकबहादुर पछि कृषिमन्त्री बने। उनीहरुको कारणले मैले पनि कृषि पढ्ने सोच बनाएँ,’ खुसीराम भन्छन्, ‘पैसा धेरै कमाउनुपर्छ भन्ने सोच कहिल्यै आएन, जसरी पनि जुनसुकै काम गरे पनि समाज सेवा गर्नुपर्छ भन्ने चेतना थियो। यसको पनि केही प्रभाव होला। अरु पेसामा रुचि भएन।’
स्कुलमा कृषि ल्याब त थिएन, तर जग्गाजमिन प्रशस्त थियो। आधारभूत सिकाइ त्यहीँ भयो।
विद्यालय जीवनमा निकै मिल्ने साथी थिए, दुर्गा पौडेल। उनीहरु मिलेर कबड्डी खेलेको, गृहकार्य सकेर राति काँक्रा चोर्न गएको याद उनलाई आइरहन्छ।
‘दुर्गा अहिले अमेरिकामै छन्,’ उनी भन्छन्, ‘अहिले उनी उतै युनिभर्सिटीमा पढाउँछन्।’
एसएलसी दिइसकेपछि उनले तीन महिना गाउँको एक प्राविमा पढाए।
०३३ सालमा आएको नतिजामा उनले प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए। त्यसताका एसएलसी दिन एक महिना लाग्थ्यो। महिना दिनलाई पुग्ने चामल बोकेर उनी परीक्षा केन्द्र पुगेका थिए।
क्यानडाबाट पीएचडी
खुसीरामले एसएलसीपछि आईएस्सी गरे। त्यसपछि कृषि तथा पशु विज्ञान प्रतिष्ठान रामपुर, चितवनबाट बीएस्सी एग्रिकल्चर उत्तीर्ण गरे। एक वर्षपछि लोकसेवा उत्तीर्ण गरेर कृषि विभागअन्तर्गतको नेपाल कृषि अनुसन्धान परिषदमा जागिरे भए।
विभिन्न जिल्लामा गरी उनले आठ वर्ष सरकारी सेवा गरे।
सन् १९९२ मा उनले क्यानडामा अध्ययन गर्न अन्तर्राष्ट्रिय विकास अनुसन्धान केन्द्र (आईडीआरसी) को छात्रवृत्ति पाए। जहाँ उनले म्यानिटोबा विश्वविद्यालयबाट १९९४ मा एमएस्सी र १९९८ मा पीएचडी पुरा गरे।
पछिल्लो २० वर्ष तिवारी अमेरिकामा मकैको आनुवंशिक र प्रजनन् अनुसन्धानमा केन्द्रित रहेर काम गरिरहेका छन्।
उनले बालीका उच्च उत्पादन दिने रोग प्रतिरोधी प्रजातिहरू विकास गर्न एसिया, अफ्रिका, युरोप, दक्षिण अमेरिकालगायत विश्वभरका वैज्ञानिकहरूसँग सहकार्य गरिरहेका छन्। यसक्रममा अमेरिकामा उच्च उत्पादन दिने मकैका हाइब्रिड प्रजाति विकास गरे। उनले बाली बिरुवाहरूमा अमेरिकामा ५० भन्दा बढी पेटेन्ट प्राप्त गरेका छन्।
उनी क्रप साइन्स सोसाइटी, अमेरिकन सोसाइटी अफ एग्रोनोमी, नेसनल एसोसिएसन अफ प्लान्ट ब्रिडर्सका सदस्य र एसोसिएसन अफ नेपाली एग्रिकल्चर प्रोफेसनल्स अफ अमेरिकाका आजीवन सदस्य हुन्।
किराले नखाने मकैको बिउ उत्पादनमा जोड
नेपालमा पनि किराले नखाने मकैको बिउ विकास गर्न सकिने उनी बताउँछन्।
‘मकै दुई प्रकारको छ, एउटा प्रशस्तै फल्छ, तर किरा लाग्छ। अर्को किरा लाग्दैन तर कम फल्छ। यी दुई बिउलाई क्रस गराएर किराले नखाने बनाउन सकिन्छ,’ उनी भन्छन्, ‘जसलाई हाइब्रिड भनिन्छ। सिंगल क्रस, डबल क्रस, थ्री वे क्रस, टप क्रस, डबल टप क्रस आदि तरिकाबाट विभिन्न किसिमका हाइब्रिड निकालिन्छ।’
उनले विकास गरेका हाइब्रिड जात युरोपमा राम्रो फलिरहेको उनी बताउँछन्।
‘उदाहरणका लागि डीकेसी ६९–९९ धेरै फल्ने भनेर चिनिन्छ। अमेरिकामै यो बिउ धेरै किसानहरुले लगाएका थिए। यसको यूएस पेटेन्ट मेरै नाममा छ,’ उनी भन्छन्, ‘यो बिउ नेपालमा पनि उत्पादन गर्न सकिन्छ।’
यस्तो बिउ उत्पादनका लागि करिब ७/८ वर्ष लाग्ने उनको भनाइ छ।
नेपालमा वार्षिक १० हजार टन मकैको हाइब्रिड बिउ आवश्यक पर्ने भए पनि नेपालको उत्पादन मात्र चार टन रहेको बाली अनुसन्धान कार्यक्रम रामपुरको तथ्यांकमा उल्लेख छ।
‘गएको १०/१५ वर्षमा पोल्ट्री उद्योग बढेकाले मकैको आयात झन् बढेको छ,’ उनी भन्छन्।
नेपालमा विकास भएका हाइब्रिड मकैको उत्पादन प्रतिहेक्टर सातदेखि नौ टनसम्म रहेको बताइएको छ। नेपालको भौगोलिक हावापानी सुहाउँदो हाइब्रिड जातको मकैको बिउ नेपालमै विकास भइसकेकोले मकैको उत्पादन बढाउन यसैलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
‘हाइब्रिड मकैको विकास, अध्ययन र अनुसन्धानका लागि यहाँका विभिन्न कलेजका विद्यार्थीलाई अनुभव बाँड्न चाहन्छु। निजी संस्थाहरुलाई अनुसन्धानबाट सघाउने गरेको छु,’ उनी भन्छन्, ‘सरकारले लगानी वृद्धि, दक्ष जनशक्तिको व्यवस्थापन, किसानलाई नेपाली हाइब्रिड जातको मकैको बिउ प्रयोग गर्न प्रोत्साहन, आवश्यक अनुदानको व्यवस्था गर्ने कार्यक्रम ल्याउन सके नेपाल मकैमा आत्मनिर्भर हुन सक्छ।’
अमेरिकामा बसिरहेका कृषिमा रुचि राख्ने उनका साथीहरुको समूह छ। उनीहरुले देशबाहिर बसे पनि यहाँको कृषि क्षेत्रमा विभिन्न कार्यक्रममार्फत सघाइरहेको तिवारीले बताए। तर, यतिले उनी सन्तुष्ट छैनन्।
‘मैले यहाँ आएर चार वटा मात्रै बिरुवा रोपेँ भने पनि धेरै हुन्छ,’ उनी भन्छन्, ‘चाँडै नेपाल आएर काम गर्ने योजना छ।’
Shares
प्रतिक्रिया