ad ad

म्यागेजिन


जसले प्रधानमन्त्री बन भन्ने राजा महेन्द्रलाई जवाफ दिए : म बिक्रीमा छैन

जसले प्रधानमन्त्री बन भन्ने राजा महेन्द्रलाई जवाफ दिए : म बिक्रीमा छैन

सीताराम बराल
जेठ १५, २०७९ आइतबार ७:१५, काठमाडौँ

लोकतन्त्र पुनर्स्थापनापछि बरु राजतन्त्रवादी बन्न गाह्रो थियो, गणतन्त्रवादी बन्न कठिन थिएन। पञ्चायतकालमा दरबारको वरिपरि बसेर खाइखेलेका सूर्यबहादुर थापा, पशुपति शमशेर, डा. प्रकाशचन्द्र लोहनीजस्ता प्रकाण्ड पञ्चहरु समेत त्यही सजिलो मौका पारेर ‘गणतन्त्रवादी’ बनिसकेका थिए।   

राजा महेन्द्रको शासनकालको कुरा अलग थियो।

राजालाई भगवान विष्णुको अवतार मान्ने जमाना थियो। राजाको पाइला परेको धुलोको टीका लगाउन पाउँदा पनि जनता आफूलाई भाग्यमानी सम्झन्थे। त्यसबेला बीपी कोइरालाको कल्पनामा समेत सायद गणतन्त्र थिएन। 

त्यस्तो जमानामा गणतन्त्रबारे सोच्नु पनि सामान्य कुरा थिएन। राजा महेन्द्र शक्तिको चरमोत्कर्षमा रहेका त्यो बेला गणतन्त्रको नारा नै लगाउनु त सानो आँटले सम्भव थिएन।

रामराजाप्रसाद सिंह यस्तै आँटिला पात्र थिए, जसले गणतन्त्रकै लागि आफ्नो जीवन समर्पण गरे।    

संसद् (राष्ट्रिय पञ्चायत) बाटै पक्राउ गरेर राजा महेन्द्रले झुकाउन खोजे, रामराजा झुकेनन्। मध्यरातमा जेलबाट निकालेर दरबार लगी तर्साउन खोजे, रामराजा तर्सेनन्। प्रधानमन्त्रीको पद ‘अफर’ गरेर ‘राजतन्त्रवादी’ बनाउन खोजे, रामराजाले आफ्नो सिद्धान्त र अडानलाई प्रधानमन्त्री पदमा बिक्री गरेनन्। 

रामराजा चाहन्थे, ‘आफ्नै जीवनकालमा नेपालमा गणतन्त्र स्थापना भएको देख्न पाइयोस्। श्रीपेचलाई संग्रहालयमा प्रदर्शनीमा राखेको देख्न पाइयोस्।’

रामराजाप्रसाद सिंहको यो सपना उनकै जीवनकालमा पुरा भयो। १५ जेठ ०६५ मा नेपालमा विधिवत गणतन्त्र घोषणा भयो। 

राणा–अत्याचारले जन्माएको गणतन्त्रवादी
अंग्रेज शासनविरुद्ध भारतीय स्वतन्त्रता संग्रामीहरुले राणाकालमा नेपालमा गरेको सशस्त्र गतिविधिका क्रममा भएको एउटा घटनाले रामराजाप्रसाद सिंहलाई बाल्यकालमै जेलमा पुर्याएको थियो। जेल बसाइले उनको दिमागमा गणतन्त्रको बिउ रोप्यो। 

भारतीय समाजवादी नेताहरु राममनोहर लोहिया र जयप्रकाश नारायण अंग्रेजविरुद्धको स्वतन्त्रता संग्रामका क्रममा सप्तरीको बर्साइन र कोइलाडी गाउँमा शरणागत थिए। अंग्रेज शासन झन्–झन् जब्बर बन्दै गएकाले उनीहरु सशस्त्र संघर्षको तयारी गर्दै थिए।

सप्तरीको कोइलाडी–बर्साइनमा उनीहरुले स्थानीय जमिन्दारहरु जयमंगलप्रसाद सिंह र रामेश्वर सिंहको घरमा ‘सेल्टर’ लिएका थिए। सशस्त्र संघर्षको तयारीको क्रममा कोशीटप्पुमा तालिम चल्दै थियो। 

कोशी टप्पुभित्रको जंगलमा भारतीय स्वतन्त्रता संग्रामीहरुको गतिविधि चलिरहेको जानकारी राणा प्रशासनले पायो। त्यहाँ सैन्य कारबाही भयो– लोहिया, नारायणलगायत दर्जन भारतीय स्वतन्त्रता संग्रामी पक्राउ परे। उनीहरुलाई हनुमाननगर थानामा थुनियो। उनीहरुलाई अंग्रेज सरकारसमक्ष सुपुर्द गर्न लेखापढी सुरु भयो।

उनीहरुलाई सुपुर्द गरिँदा ज्यानै जाने खतरा थियो। त्यसैले,  जयमंगलप्रसाद सिंह र रामेश्वप्रसाद सिंहहरुले सुरुमा छुटाउने प्रयास गरे। तर, त्यो सम्भव नभएपछि हनुमाननगर जेलमा आक्रमण गरी उनीहरुलाई मुक्त गरियो। आक्रमणमा एकजना सिपाही मारिए। 

भारतीय स्वतन्त्रता संग्रामको इतिहासमा यो घटना ‘हनुमाननगर काण्ड’ नामले चिनिन्छ।

हनुमाननगर जेलमा आक्रमण गरेको अभियोगमा जयमंगलप्रसाद सिंह, रामेश्वरप्रसाद सिंहलगायत सप्तरीका क्रान्तिकारीहरुलाई पक्राउ गरियो र काठमाडौँस्थित सदर जेलमा ल्याई थुनियो। 

विसं १९९९ ताका त्यो घटना हुँदा रामराजाप्रसाद सिंह ९ वर्षका थिए। सहयोगीहरुका साथ रामराजा र उनका ७ वर्षका भाइ लक्ष्मणप्रसाद सिंह बुबा जयमंगलप्रसाद सिंहलाई भेट्न काठमाडौँ आए। तर, बुबा भेट्न आएका राम–लक्ष्मणलाई समेत राणा प्रशासनले जयमंगलप्रसाद सिंहसँगै १८ महिना जेलमा थुनिदियो।

‘बिनाकारण जेल बस्नु परेपछि रामराजाप्रसाद सिंह सानैदेखि निरंकुश र पारिवारिक शासनको विरोधी बन्नुभयो,’ हनुमाननगर काण्डमा जेल परेका रामेश्वरप्रसाद सिंहका सुपुत्र वरिष्ठ अधिवक्ता हिम्मत सिंह भन्छन्, ‘राणा शासनविरुद्ध संघर्ष गरेका धेरै क्रान्तिकारीहरु पछि निरंकुश राजतन्त्रको समर्थक बने। तर, रामराजा भने राणा शासन मात्र होइन, राजतन्त्रकै विरोधी बन्न पुग्नुभयो।’ 

सप्तरीको कोइलाडीमा आफन्तजनका साथ हिम्मत सिंह (दायाँबाट तेस्रो) र रामराजाप्रसाद सिंह (पाँचौँ)

दोस्रो विश्वयुद्धमा बेलायत विजयी भएपछि हनुमाननगर काण्डमा थुनिएका सप्तरीका क्रान्तिकारीहरु पनि रिहा भए। जेलबाट छुटेपछि रामराजा भारत (झण्झारपुर, बिहार) स्थित मावलीघरमा बसेर शिक्षा आर्जनमा लागे। 

गणतन्त्रप्रति उनमा कति जब्बर भावना रहेछ भने किशोर उमेरमा पुगेपछि उनी राजतन्त्रविरोधी अभियानमा लागिहाले। 

राजतन्त्रविरोधी अभियान
बनारस विश्वविद्यालयमा उच्च शिक्षाका लागि भर्ना हुँदा नेपालमा राजा त्रिभुवनको मृत्यु भइसकेको थियो। उनका जेठा छोरा महेन्द्र राजा बनिसकेका थिए। २०१३ मा राजा महेन्द्रको राज्याभिषेक हुँदै थियो। 

त्यही बेला राजतन्त्रविरोधी लेख लेखेर ‘टाइम्स अफ इन्डिया’मा पठाएका रामराजाले आफ्नो आत्मकथा ‘गणतन्त्रका लागि संघर्ष’ मा उल्लेख गरेका छन्।

‘नेपाली जनतालाई राजतन्त्रले गुलाम बनायो, नेपाली जनतालाई गुलाम बनाउन फेरि यतिबेला काठमाडौँलाई सजावट गर्ने काम भइरहेको होला। तर, के आफूलाई गुलाम बनाउनेको राज्याभिषेक उत्सव मनाउन नेपाली जनता तयार छन्?’ आफ्नो लेखको सारांश उल्लेख गर्दै सिंहले भनेका छन्, ‘हामीलाई गुलाम बनाउन आउने व्यक्तिको राज्याभिषेकका हामीले गीत गाउँदा, नाच्दा हाम्रो नैतिकता र स्वाभिमान रहला? शाहवंश स्थापित हुन उसले जति नेपालीको खुन बगाएको थियो, के त्यो नेपाली जनताले बिर्सिसके?’ 

राज्याभिषेकमा राजा महेन्द्र 

दिल्ली दरबार र नारायणहिटी दरबारबीच सुमधुर सम्बन्ध थियो। ‘टाइम्स अफ इन्डिया’ले उनको लेख प्रकाशित गरेन। 

‘लेखमा दुई स्वर थिए– साहित्यिक र राजतन्त्रविरोधी। राजतन्त्रको विरुद्ध मैले जति प्रहार गरेँ, त्यो लेख मेरो पहिलो प्रहार हो,’ सिंहले भनेका छन्, ‘त्यसबेला कतैपनि राजतन्त्रविरोधी स्वर थिएन। युनिभर्सिटीका साथीहरुले त्यसैबेलादेखि मलाई राजतन्त्रविरोधी व्यक्तिको रुपमा चिन्न थाले।’ 

राजा महेन्द्रको १ पुस २०१७ को ‘कू’ का बेला पनि उनी बनारसमै अध्ययतरत थिए। त्यो काण्डपछि उनी राजतन्त्रको खिलाफमा अझ मुखर रुपमा लागे।

यसपटक लेख लेखेर पत्रिकामा छपाउने प्रयासको साटो पर्चा छपाएर बाँड्ने निधो गरे। अंग्रेजी र हिन्दी भाषामा पर्चा छपाए। पर्चामा नेपालको राजतन्त्रलाई समर्थन नगर्न भारतीयहरुलाई अपिल गरिएको थियो। त्यो पर्चा उनले विश्वविद्यालयमा विदेशी विद्यार्थीहरुलाई बाँडे।   

शीर्ष भारतीय नेताहरु बनारस, पटना वा दरभङ्गातिर आए भने उनी पर्चा थमाउन पुगिहाल्थे। राजतन्त्रको चरित्र उल्लेख गरी आफूले लेखेको पर्चा उनीहरुलाई दिन्थे।

‘राजतन्त्रमा जनता फस्टाउन सक्दैनन्, किनभने त्यहाँ सनकले मात्र काम गर्छ, राजाको एउटा इच्छाले जनताको भाग्य फैसला गर्न खोज्छ,’ पर्चामा सिंहले लेखेका छन्, ‘राजतन्त्र शैतानको अवतार हो, राजतन्त्र पापात्माको वंशज हो, जसले सृष्टिको प्रभातमा मानवताकी आमामाथि छल गरेर पृथ्वीमाथि मृत्यु, पाप, रोग, युद्ध, व्यभिचार, विनास, आदि अनेकानेक पीडाहरु सृष्टि गरेको छ।’

राजतन्त्र विरुद्ध जेहादः युवा रामराजाको पर्चा 

६ पृष्ठ लामो सो पर्चामा उनी थप लेख्छन्, ‘अहिलेसम्मको इतिहास शोषकका विरुद्ध शोषितहरुको, राजतन्त्रका विरुद्ध जनतन्त्रवादीहरुले गरेको युद्धको एवं मानवताका विरुद्ध अमानवीय अतिक्रमणको इतिहास हो। (तर) हाम्रा इतिहासका पुस्तकमा गलत कुरा लेखिएका छन्। इतिहासकारहरुले शोषकहरुको कीर्तिगान गाएका छन्।’ 

राजा महेन्द्रको ‘कू’ पछि राजतन्त्र अन्त्यका लागि उनले के–के पो गरेनन्! 

राजतन्त्र अन्त्य गर्न सशस्त्र संघर्षका लागि सहयोग माग्दै उनी विश्वविख्यात क्रान्तिकारी चे ग्वेभाराको समीप पुगे। सशस्त्र संघर्षको तयारीका क्रममा रहेका कांग्रेस नेता सुवर्ण शमशेरलाई चेको सहयोग लिन सुझाए। तर, सुवर्ण यसका लागि तयार भएनन्। 

त्यसपछि युवा रामराजा गणतन्त्रका लागि आफ्नै संगठन निर्माण गर्नुपर्ने निचोडमा पुगे। वकालतमार्फत् नेपालमा आफ्नो परिचयको दायरा बढाउन उनी कानुनको अध्ययन गरी नेपाल आए।  

सिंह यति प्रखर थिए, एकाध वर्षको वकालत अभ्यासबाटै उनी कानुनी जगतमा चर्चित बने। २०१९ को पञ्चायती संविधानमा स्नातक मतदाताबाट चार जना राष्ट्रिय पञ्चायत सदस्य (रापंस) चुनिने प्रावधान थियो। उनी दोस्रो रापंसको निर्वाचन (२०२४) मा स्नातक तर्फको उम्मेदवार बने। 

उनी राष्ट्रिय पञ्चायतबाटै राजतन्त्र र पञ्चायतको विरोध गर्न चाहन्थे। पञ्चायतभित्रै पसेर राजतन्त्र र पञ्चायतको विरोधकार्यको प्रारम्भकर्ता खासमा सिंह नै थिए।  

तर, राजा महेन्द्रको १ पुस २०१७ को कदमको विरोध गर्दै पर्चा निकालेका कारण उनको उम्मेदवारी नै खारेज गरियो।  

२०२४ को निर्वाचनमा प्रतिस्पर्धाबाट वञ्चित भए पनि २०२८ को तेस्रो स्नातक निर्वाचनमा उनले विजय हासिल गरे। उनलाई रोक्न दरबारले अनेक प्रपञ्च गर्यो। तर, दरबारको केही सीप लागेन, उनले जितेरै छाडे। 

बरु, उनलाई हराउन नसकेपछि प्रधानमन्त्री कीर्तिनिधि विष्टले प्रधानमन्त्री पदबाटै राजीनामा दिए। 

‘प्रलोभन’बाट नझुकेका गणतन्त्रवादी 
राष्ट्रिय पञ्चायतमा विजयी भए पनि उनलाई शपथ ग्रहण गर्न दिइएन। बरु राष्ट्रिय पञ्चायत भवनबाटै गिरफ्तार गरियो। राजाविरुद्ध घृणा र द्वेष फैलाएको आरोप लगाउँदै मुद्दा चलाइयो, जेल हालियो। तैपनि उनी गलेनन्। 

फकाएर–धम्क्याएर उनलाई गलाउन राजा महेन्द्र आफैँ सक्रिय भए। 

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक डीबी लामा (स्वर्गीय) २०२९ साउनताका बागमती अञ्चलको एसपी पदमा कार्यरत थिए। केन्द्रीय कारागारमा थुनिएका सिंहलाई मध्यरातमा केन्द्रीय कारागारबाट उठाएर नारायणहिटी लैजाने आदेश लामालाई दिइयो।

‘आदेश बमोजिम रातको एघार बजे म केन्द्रीय कारागारमा पुगी रामराजाप्रसाद सिंहलाई उठाई राजा महेन्द्रसँग भेट गराउन बा.अ. २२२२ नं को रसियन जीपमा दरबारको मंगल सदनमा पुर्याएको थिएँ,’ आफ्नो आत्मकथा ‘संघर्षको यात्रामा मेरो जीवनका उकाली–ओरालीहरु’ मा स्व. लामाले लेखेका छन्, ‘त्यसबेला राजा महेन्द्र र रामराजाप्रसाद सिंहबीच डेढ घण्टाजति कुराकानी भएको थियो।’ 

२०६२ असोजताका पटना (बिहार, भारत) पुगेर सिंहसँग मैले राजा महेन्द्रसँग भएको त्यो कुराकानीबारे जिज्ञासा राखेको थिएँ।

सिंहका अनुसार स्नातक निर्वाचनमा जारी गरेको ‘स्वर्णयुगतिर’ भन्ने घोषणापत्रमा सिंहले १ पुस २०१७ को कदमलाई उनले ‘संवैधानिक कू’ भनेका थिए। मध्यरातमा भएको भेटमा राजा महेन्द्रले त्यो ‘कू’ नभई संविधानले दिएको अधिकार र तत्कालीन आवश्यकता अनुरुप चालिएको कदम भनेर प्रष्टीकरण दिन खोजे। 

‘युद्ध, आन्तरिक कलह वा बाह्य आक्रमणका बेला मात्र राष्ट्राध्यक्षलाई संविधानले यस्तो कदम चाल्ने अधिकार दिएको छ, तर २०१७ मा त्यस्तो कुनै अवस्था थिएन,’ भन्दै सिंहले राजा महेन्द्रको स्पष्टीकरणको खण्डन गरे। 

राजा महेन्द्र चाहन्थे, रामराजाले आफूसँग माफी मागून्। तर, झण्डै डेढ घण्टा लामो कुराकानीमा सिंहले माफी माग्ने संकेत देखाएनन्। त्यसपछि विशेष अदालतमा सिंहमाथि चलिरहेको मुद्दाको टुङ्गो लागेपछि फेरि बोलाउँछु भन्दै राजाले सिंहलाई बिदा गरे।

रामराजाविरुद्धको मुद्दा हेर्न तत्कालीन बागमती अञ्चलका मुख्य अञ्चलाधीश विष्णुमणि आचार्यको अध्यक्षतामा विशेष इजलास गठन गरिएको थियो। माफी नमागेपछि आचार्यले सिंहलाई ६ महिना कैदको सजाय सुनाए।  

‘राजकाज सजाय र अपराध ऐन अन्तर्गत कसुर गरेको अभियोगमा रामराजाप्रसाद सिंहलाई २ वर्ष ६ महिना कैद र रु. २६००।– जरिमाना गर्ने बागमती मुख्य अञ्चलाधीशको इजलासले आज २७ साउन २०२८) निर्णय गर्यो,’ उनीमाथिको मुद्दाबारे २८ साउन २०२८ को गोर्खापत्रले समाचार लेखेको छ, ‘श्री सिंहका विरुद्ध राजकाज सजाय र अपराध ऐन– २०१९ को दफा ६ को उपदफा १ अन्तर्गत बागमती अञ्चलाधीश कार्यालयमा मुद्दा दायर गरिएको थियो।’ 

यति सजाय सुनाएपछि रामराजाले माफी माग्लान् भन्ने सम्भवतः राजा महेन्द्रको अपेक्षा थियो। त्यसैले, उनलाई दोस्रो पटक फेरि कारागारबाट नारायणहिटी पुर्याइयो।   

रामराजा दरबार पुग्दा राजा महेन्द्र ‘विजयी मुड’ मा थिए। ‘अब तिमी के गर्छाै?’ उनले सिंहका भावी योजनाबारे जिज्ञासा राखे। 

सिंहले फैसलाविरुद्ध सर्वाेच्चको ढोका ढकढक्याउने निर्णय सुनाए। र, त्यो फैसला कानुनसम्मत नरहेकाले सर्वाेच्चबाट न्याय पाउने दृढता व्यक्त गरे।

सिंहले सर्वाेच्चबाट आफूले न्याय पाउने बताएपछि राजा महेन्द्रले ‘हो र?’ भन्दै आश्चर्य प्रकट गरे। र, ‘किन त्यसो गर्ने!’ भन्दै सिधै राष्ट्रिय पञ्चायतको बैठकमा जान सुझाव दिए। 

‘उनको भनाइको मतलब आफैँ माफी गरिदिउँला, यसको लागि बिन्तीपत्र हाले भइहाल्छ भन्ने थियो,’ सिंहले भनेका थिए, ‘तर, मैले भनेँः यस्तो कार्यले मेरो राजनीतिक जीवनमा उलटपुलट ल्याउँछ। मबाट यस्तो काम हुन सक्दैन, म माफी माग्न सक्दिनँ।’ 

जेल जीवनबाट नगल्ने संकेत देखिएपछि राजा महेन्द्रले ‘इमोसनल ब्ल्याकमेलिङ’ सुरु गरे। उनले भने, ‘नेपाल ठकुरी र राजपुतहरुको देश हो, तपाईं पनि राजपुत हो। ठकुरी र राजपुत मिलेर यो देश चलाउनु पर्छ।’ 

रामराजाले जवाफ दिए, ‘जेलमा मेरा लागि सबै सुविधा छन्। त्यहाँ रहन मलाई कुनै समस्या छैन।’

सिंहका भनाइमा त्यसपछि राजा महेन्द्रले सिधै सत्ताको प्रस्ताव गरे, ‘मैले मधेशी–राजपुतलाई सबै पद दिएको छु। प्रधानन्यायाधीश, राजदूत र मन्त्री सबै बनाइसकेको छु। एउटा मधेशीलाई प्रधानमन्त्री बनाउने मेरो धोको बाँकी छ। त्यसका लागि तपाईं योग्य हुनुहुन्छ। तपाईंले मलाई साथ दिनुपर्यो।’  

‘प्रधानमन्त्री बन्ने कल्पना मैले गरेको छैन,’ राजालाई सिंहको जवाफ थियो।

राजा महेन्द्रले भने, ‘जीवनमा यस्तो मौका कहिल्यै पाउनुहुन्न।’

‘पाइएला–नपाइएला, मेरो लागि त्यसको कुनै अर्थ छैन,’ सिंहको जवाफ थियो, ‘यो मेरो जीवनको निर्णायक घडी हो, यस्तो निर्णायक घडीमा म गलत निर्णय गर्दिनँ।’

सिंहका भनाइमा राजा महेन्द्र प्रलोभन दिइरहेका थिए, उनी अस्वीकार गरिरहेका थिए। राजाको प्रलोभन उनलाई असह्य भइरहेको थियो। 

‘त्यसपछि मैले पनि कडाइपूर्वक भन्नै पर्यो,’ सिंहले भनेका थिए, ‘यहाँ विशुद्धरुपले मानिसको किनबेच गर्न खोजिँदैछ तर म बिक्रीमा छैन भनेर राजा महेन्द्रलाई भनेँ।’

‘यहाँ कसैले कसैलाई किनिरहेको छैन। यदि तिमी आफ्नो जीवनको सबै समय जेलमै बिताउन चाहन्छौ भने मेरो भन्नु केही छैन,’ रिसाएका राजाले सिंहसँग प्रश्न गरे, ‘म अरु धेरै कुरा जान्दिनँ। यत्ति भन, माफी माग्न तयार छौ कि छैनौ?’ 

राजाको ठाडो अपेक्षाको जवाफ सिंहले ठाडै पारामा दिए, ‘म माफी माग्न तयार छैन। यो मुद्दा सर्वाेच्च अदालतबाट जित्छु नै भने आफैँलाई धोका दिएर तपाईंसँग मैले किन माफी माग्ने?’ 

सिंहले माफी नमाग्ने अडान लिएपछि राजा आफैँले गणतन्त्रको प्रसङ्ग निकाले। ‘तिमी गणतन्त्रवादी हौ, यो कुरा मैले बुझिसकेको छु,’ उनले सोधे, ‘नेपालमा गणतन्त्र भएन भने के हुन्छ?’  

सिंहले दिएको रोचक जवाफ उनको आत्मकथा ‘गणतन्त्रका लागि संघर्ष’ मा पनि उल्लेख छ।

‘नेपालमा राजतन्त्र राखेर जनताले के पाए? शाह वंशको इतिहासमा राजाहरुले देशलाई कुन स्थितिमा पुर्याए?’ राजा महेन्द्रसँग सिंहको प्रश्न थियो, ‘राजतन्त्र आफैँ देशको समस्या हो भने यसले कसरी देशको हितमा काम गर्न सक्छ?’ 

सिंहले राजतन्त्रको उपादेयतामाथि प्रश्नको वर्षा गरेपछि प्रतिरक्षात्मक बनेका राजा महेन्द्र फेरि उनलाई फकाउन थाले। यसक्रममा अंग्रेज साहित्यकार शेक्सपियरको एउटा भनाइ उल्लेख गरे, ‘देयर आर टाइड्स इन द अफेयर्स अफ मेन, वन ह्याज टु क्याच इट (समुद्रमा जस्तै मानिसको जीवनमा पनि छालहरु आइरहन्छन्। आफ्नो हितका लागि मानिसले ती छालहरु पक्रिन सक्नुपर्छ)’ 

‘म तिमीलाई प्रधानमन्त्री बन्ने अवसर दिँदैछु, त्यो अवसर नगुमाऊ’  राजा महेन्द्रको भनाइको अर्थ यही थियो। 

राजाले प्रलोभनका लागि सुनाएको शेक्सपियरको उक्त उक्तिको जवाफ सिंहले एक हिन्दी कवितांशबाट दिएः

नोट हरा हो या नीला 
चेकबुक लाल हो या पीला
कह दो उसे जो खरिदने आए 
हर इन्सान बिकाउ नहीँ होता

(हरियो वा निलो नोट या रातो वा पहेँलो चेकबुक लिएर कोही मान्छे खरिद गर्न आयो भयो त्यसलाई भनिदेऊ– सबै मानिस आफूलाई बेच्न तयार हुँदैनन्।)

सिंहको जवाफ अप्रत्यासित थियो। राजा महेन्द्र अरु रिसाए। 

‘म तिमीलाई बर्बाद गर्न चाहन्नथेँ, तिमी आफै बर्बाद हुन चाहन्छौ भने म केही गर्न सक्दिनँ,’ राजाले सिंहलाई भने, ‘तिमी पुरै जीवन जेलमा बिताउन चाहन्छौ भने मलाई पनि तिम्रो मतलब छैन। ल, भैगो, तिमी जाऊ।’ 

रामराजा दरबारबाट निस्के। उनलाई फेरि केन्द्रीय कारागार पुर्याइयो। 

‘त्यो मेरो जीवनको सबैभन्दा ठूलो परीक्षा थियो,’ राजा महेन्द्रसँगको भेट र आफूले लिएको अडानबारे सिंहको स्व–मूल्याङ्कन थियो, ‘मेरो जीवनकै ठूलो परीक्षा वा अप्ठ्यारो त्यसदिन मैले पार गरेँ। यदि त्यसदिन चुकेको भए प्रधानमन्त्री वा मन्त्री त हुन्थेँ होला। तर, मेरो स्वाभिमान बाँकी रहने थिएन।’ 

झुक्न नदिएको झण्डा 
रामराजाप्रसाद सिंह राजा महेन्द्रले जीवनमा भेटेका यस्ता विरल पात्र थिए, जसलाई प्रधानमन्त्री बनाउने अफर गर्दासमेत स्वीकार गरेनन्। उनको यो स्वाभिमानको सम्मान राजा महेन्द्रले पनि गरे। पुरा कैद भुक्तान नभई माफीसमेत नमागी सिंहलाई जेलबाट रिहा गरियो। 

त्यसपछि काठमाडौँ छाडेर सिंह गृहजिल्ला सप्तरी गए, त्यहीँबाट राजनीतिक गतिविधि सुरु गर्न लागे। 

२०३६ मा जनमत संग्रहको घोषणा भयो। सिंह ‘बहुदलीय जनवादी मोर्चा’ स्थापना गरी बहुदलको पक्षमा देशव्यापी प्रचारमा हिँडे। तर, जनमत संग्रहअगाडि नै नेपालगञ्जमा उनलाई पक्राउ गरियो।

खुलामञ्चमा बहुदलको पक्षमा भाषण गर्दै रामराजाप्रसाद सिंह 

जनमत संग्रहमा पक्राउ र बहुदलको पराजयपछि उनले राजतन्त्रविरुद्ध सशस्त्र संघर्षको आवश्यकता देखे। ६ असार २०४२ मा राजदरबारको दक्षिण ढोका, राष्ट्रिय पञ्चायत भवन लगायत देशव्यापी रुपमा भएको बम विस्फोटनमार्फत् उनले राजतन्त्रविरुद्ध सशस्त्र संघर्षको घोषणा गरे।

तर, उनको सशस्त्र संघर्ष लामो समय टिकेन। जनवादी मोर्चाका दर्जनौँ नेता–कार्यकर्ता पक्राउ परे। केही मारिए, केही बेपत्ता पारिए। त्यो विस्फोटपछि उनलाई मृत्युदण्डको सजाय सुनाइयो। उनको सम्पूर्ण सम्पत्ति रोक्का भयो। 

त्यसैबेला उनकी धर्मपत्नी ‘ब्रेन ह्यामरेज’ को सिकार भइन्। उनी लामो समय ‘कोमा’ मा रहिन्। एकातिर नेपालमा सम्पूर्ण सम्पत्ति रोक्का, अर्काेतिर श्रीम्ती कोमामा। त्यसमाथि मृत्युदण्डको फैसला– त्यसपछि सिंहका गतिविधि शिथिल हुँदै गए। 

राजतन्त्रविरुद्ध संघर्षका लागि उनले जे–जति सशस्त्र तयारी गरे, आफ्नो जमिन्दारीको जग्गा बेचेर गरेका थिए। सम्पत्ति नै रोक्का भएपछि कार्यकर्ताहरुलाई भरणपोषण गर्न सक्ने स्थिति नै रहेन। 

श्रीमतीको बेहाल स्थिति र अन्तरिम सरकारले समेत मृत्युदण्डको सजाय फिर्ता नगरेकाले उनी भारतमै रोकिएका थिए। गिरिजाप्रसाद कोइरालाको पालामा त्यो सजायमा माफी पाएपछि उनी २०५१ मा मात्र नेपाल फर्के।  

तर, नेपाल फर्कन ढिला भइसकेको थियो। मृत्युदण्डको सजायका कारण उनको जुन ‘क्रेज’ थियो, लामो भारत प्रवासका कारण त्यो घटिसकेको थियो। 

भारत प्रवासबाट फर्कंदा त्रिभुवन विमानस्थलमा सिंहको स्वागत

चे ग्वेभारालाई आफ्नो आदर्श मान्ने गणतन्त्रवादी नेता सिंह चेजस्तै ‘रोमान्टिक रिभोल्युसनरी’ थिए, व्यावहारिक होइन। 

जसरी चे निरन्तर क्रान्तिको सपना देख्थे, रामराजाप्रसाद सिंह पनि निरन्तर गणतन्त्रको सपना देखिरहन्थे। त्यसैले कमजोर भए पनि आफूले उठाएको गणतन्त्रको झण्डा उनले कहिल्यै झुक्न दिएनन्, दरबारमा लगेर समर्पण गरेनन्। 

२०५२ मा सुरु भएको माओवादी जनयुद्धले अभिष्ट गणतन्त्र स्थापना बनाएपछि गणतन्त्रको त्यो झण्डा सिंहले माओवादीलाई सुम्पिए। माओवादी जनयुद्ध र २०६२–०६३ को जनआन्दोलनपछि १५ जेठ २०६५ को मध्यरात ‘संघीय गणतन्त्र नेपाल’ को घोषणा भयो।

भोलि (१६ जेठ ०६५) पल्ट बिहानै भीमसेनगोला–प्रयागमार्गस्थित सिंहको डेरामा म पुगेको थिएँ।

त्यसदिन सिंह जति खुसी थिए, त्यति खुसी मैले अघि कहिल्यै देखेको थिइनँ।  

मलाई देखेपछि छोटो प्रतिक्रिया दिएका थिए, ‘नेपालमा गणतन्त्र स्थापना भएको देखेर मर्ने मेरो सपना पुरा भयो।’

गणतन्त्र स्थापना भएको साढे ४ वर्षपछि २७ भदौ २०६९ मा उनको निधन भयो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .