ad ad

म्यागेजिन


पतिको मृत्युपछि पेन्सन पाउन रत्नकुमारीले गरेको ५८ वर्ष लामो प्रतीक्षा

पतिको मृत्युपछि पेन्सन पाउन रत्नकुमारीले गरेको ५८ वर्ष लामो प्रतीक्षा

आफ्ना स्वर्गीय पतिको नामांकित दुई गिलासका साथ रत्नकुमारी थापा


सीताराम बराल
असार ३२, २०७९ शनिबार ९:८, काठमाडौँ

पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापा शनिबार (२५ असार) काभ्रेको पनौती–११ स्थित बल्थली गाउँ पुगे। असारे झरीमा हिलाम्मे बाटो छिचोल्दै उनी बल्थली पुग्नुको कारण थियो– ८४ वर्षीया रत्नकुमारी थापालाई भेट्नु।

पनौती बजारदेखि नै सुरु हुने उबडखाबड र हिलाम्मे बाटो पार गरेर त्यहाँ पुगेका पूर्वप्रधानसेनापति थापाले करिब एक घण्टा रत्नकुमारीसँग भेट गरे।

रत्नकुमारीका छोरा नवराज थापा (५९ वर्ष) को भनाइमा गत साल अवकाश प्राप्त गर्नुअगावै रत्नकुमारीले प्रधानसेनापति थापालाई भेट्न चाहेकी थिइन्।

रत्नकुमारीका पति दुर्गाबहादुर थापाको ५८ वर्षअघि २०२१ मा सैन्य सेवामै रहँदा निधन भएको थियो। तर, जङ्गी अड्डाले उनको पेन्सनको व्यवस्था गरेको थिएन। थापा प्रधानसेनापति भएका बेला गत साल पेन्सनसम्बन्धी प्रक्रिया अघि बढेपछि आभार प्रकट गर्न रत्नकुमारीले निवर्तमान प्रधानसेनापति थापासँग भेट गर्न चाहेकी थिइन्।  

तर, समयचापका कारण प्रधानसेनापति थापाले रत्नकुमारीसँग भेट गर्न सकेका थिएनन्। अवकाश पाएको एक वर्षपछि भने उनी आफैँ रत्नकुमारीसँग भेट गर्न परिवारसहित बल्थली पुगेका थिए। 

नवराजका अनुसार उनका बाबु दुर्गाबहादुरको निधन ‘बझाङी राजाको निजी सेनाको आक्रमणमा परी’ भएको थियो।  सैनिक सेवामै रहेका बेला राज्य विरुद्ध हतियार उठाएको समूहको आक्रमणमा परी निधन भए पनि परिवारसँग आवश्यक कागजात नभएको बताएर उनीहरुलाई पेन्सनबाट बञ्चित गरिएको थियो।  

‘पेन्सनका लागि आमाले जङ्गी अड्डामा पटक–पटक निवेदन दिनुभयो, तर सुनुवाइ पूर्णचन्द्र थापा प्रधानसेनापति हुँदा मात्र हुनसक्यो, आमाले बुबाको नामको पेन्सन प्राप्त गर्नुभयो,’ नवराजले भने, ‘यसप्रति आभार प्रकट गर्न आमा आफैँ काठमाडौँ जान चाहनु भएको थियो। तर, आमाको उमेरावस्था र स्वास्थ्यस्थिति ख्याल गर्दै थापा आफैँ काठमाडौँदेखि हाम्रो गाउँमा आइपुग्नुभयो।’  

पेन्सन–संघर्ष 
दुर्गाबहादुरको निधन कसरी हुन पुग्यो, उनी (दुर्गाबहादुर) नेपाली सेनाको कुन पल्टनमा थिए, त्यसबारे परिवारलाई विस्तृत र यकिन जानकारी छैन। 

दुर्गाबहादुरको निधन हुँदा नेपाली सेनामै रहेका बल्थलीका जमानसिंह गुरुङ (हाल स्वर्गीय) एकै पल्टनमा थिए। स्व. जमानसिंहको हवाला दिँदै नवराजले बताएअनुसार बझाङी राजाको ‘निजी सेना’ ले दुर्गाबहादुरमाथि आक्रमण गरी हत्या गरेको थियो। 

‘भरुवा बन्दुक हानिएकाले होला, बुबाको निधारमाथिको भाग पुरै जलेको थियो रे,’ उनले भने, ‘यातायातको सुविधा नभएकाले परिवारको तर्फबाट जमानसिंहलाई रोहबरमा राखेर बुबाको लास उतै सद्गत गरिएको रहेछ।’  

रत्नकुमारीका साथ पूर्वप्रधानसेनापति थापा 

दुर्गाबहादुरको निधनबारे जानकारी दिन उनी कार्यरत पल्टनले गाउँमा चिठी पनि पठायो। चिठी घरमा पुग्दा रत्नकुमारी चुरा लगाउन गाउँ नजिकैको पसल जाने तर्खरमा थिइन्।  

‘गाउँमा सानो होटल थियो, त्यहाँ चुरा पनि पाइन्थ्यो, म एक वर्षे छोरो (नवराज) बोकेर चुरा लगाउन त्यही पसलमा जाँदै थिएँ,’ रत्नकुमारीले भनिन्, ‘बाटामा भेटिएका गाउँलेले लोग्ने मरिसक्यो, अब के चुरा लगाउँछेस् भनेर पो सुनाए।’
 
रत्नकुमारीका भनाइमा चिठी रातो धागोले बेरिएको थियो। उनलाई जानकारी दिनुअघि आफन्तहरुले चिठी खोलिसकेका थिए। 

‘एक्कासि त्यस्तो खबर सुन्दा मलाई केही होला भन्ने सोचेर होला, त्यो खबर मलाई तत्काल नदिएका रहेछन्,’ उनले सुनाइन्, ‘त्यस्तो खबर सुनेपछि म बेहोस भएछु।’  

पतिको १३ दिने काजक्रिया सकिएपछि उनी दूधेबालक (नवराज) बोकेर काठमाडौँ आइन्। पेन्सनका लागि जङ्गी अड्डामा निवेदन दिइन्। 

जङ्गी अड्डाले आवश्यक कागज माग्यो। जङ्गी अड्डाले माग गरेबमोजिमका कागजात उनले जम्मा गर्न सकिनन्। 

‘आमा अनपढ हुनुहुन्थ्यो, उहाँले कागजात संकलन गर्न सक्नुभएन,  काठमाडौँ धाउन सधैँ गाउँलेहरुले सहयोग गर्न सक्ने स्थिति पनि थिएन,’ नवराजले भने, ‘त्यसपछि आमाले पनि काठमाडौँ धाउन छाड्नुभएछ। त्यसपछि पेन्सनको विषय त्यत्तिकै सेलाएछ।’  

नवराज किशोर उमेरमा पुगेपछि पेन्सनका लागि पहल थाले। आफैँ जंगी अड्डा पुगेर दुईतीन पटक निवेदन दिए। तर, उनको निवेदनको सुनुवाइ भएन।   

‘आवश्यक कागजात जंगी अड्डामा खोजबिन गरी न्याय देओस् भन्ने हाम्रो अपेक्षा थियो,’ उनले भने, ‘तर, जङ्गी अड्डाबाट आवश्यक सहयोग पाउन सकिएन।’  

पटक–पटक निवेदन दिँदा पनि सुनुवाइ नभएपछि आफ्नै दिवंगत सदस्यप्रति समेत सेनाले अन्याय गर्दाे रहेछ भन्ने अनुभूति नवराजलाई हुन थाल्यो।   

‘हाम्रो गाउँका अधिकांश परिवारका सदस्य नेपाली सेनामा जागिरे थिए, एसएलसी उत्तीर्ण गरेपछि मलाई पनि सेनामा भर्ती हुन उनीहरुले जोड गरेका थिए,’ नवराजले भने, ‘तर, दिवंगत बुुबाको पेन्सन नदिइएकाले अन्यायको अनुभूति भइरहेको थियो। यही कारण मलाई सेनामा भर्ती हुन मन लागेन।’ 

जमानसिंह र नेपाली सेनाबाट अवकाश प्राप्त गरेका स्थानीयहरुले नवराजलाई के सुनाएका थिए भने उनका बुबा नेपाली सेनाको ‘हिरा ७’ नामक पल्टनमा भर्ती भएका थिए।   

नेपालको सैनिक इतिहासका विषयमा विद्यावारिधि गरेका पूर्व सहायकरथी डा. प्रेमसिंह बस्न्यातका भनाइमा २००९ मा भारतीय सैनिक मिसन आएपछि नेपाली सेनाको पुनर्गठन कार्यक्रम सुरु भयो। त्यसक्रममा पुराना सैनिक युनिट विघटन गरिए। अर्काे व्यवस्था नहुञ्जेलका लागि बाँकी रहेका पल्टनलाई ‘हिमालय राइफल पल्टन’ नाम दिइयो।  

‘हिमालय राइफललाई छोटकरीमा हि.रा. भनिन्थ्यो। ‘हिमालय राइफल’ अन्तर्गत धेरै पल्टन भएकाले ‘हिरा’ को पछाडि पल्टनको नम्बर (जस्तो– १, २, ६ वा ७) लेख्न चलन थियो,’ डा. बस्न्यातले भने, ‘हिरा ७’ पल्टन ७ नम्बरको हिमालय राइफल पल्टन हो।’ 

बाबु र उनको पल्टनबारे खोजी गर्ने क्रममा नवराजले के पनि पत्ता लगाए भने पुनर्गठनकालमा ‘हिरा ७’ नाम पाएको त्यो पल्टन पुनर्गठनपछि ‘नारायण दल गण’ मा परिणत भएको थियो। सो गण गोरुसिङ्गे (कपिलवस्तु) मा रहेका बेला त्यहीँ पुगेर पिता स्व. दुर्गाबहादुरको रेकर्ड खोजी गरेको थियो। 

तर, गणबाट ‘विसं २०२३ अघिका कुनै रेकर्ड छैनन्’ भन्ने जानकारी उनले पाए।    

स्व. दुर्गाबहादुरको परिवारले निवेदन दिइरहन्थ्यो, जङ्गी अड्डाका अधिकारीहरु ‘आवश्यक प्रमाण खोजेर ल्याऊ, अनि मात्र प्रक्रिया अघि बढ्छ’ भन्ने जवाफ दिन्थे। 

तर, आफ्ना पिता नेपाली सेनामा थिए र ड्युटीका क्रममा मारिएका थिए भन्ने ‘प्रमाण’को रुपमा नवराजसँग आमा रत्नकुमारीको आँसु र आफ्नो टुहुरो जीवनशिवाय केही थिएन।   

तर, यी ‘प्रमाण’ पेन्सनका लागि अपर्याप्त थिए। जङ्गी अड्डामा धुलो टाँसिएका पोका र ढड्ठा खोजबिन गरेर स्व. दुर्गाबहादुरको परिवारलाई न्याय दिलाउने ठूलो छाती जङ्गी अड्डाका कुनै पनि अधिकारीहरुको थिएन।  

पटक–पटकको निवेदनको सुनुवाइ नभएकाले रत्नकुमारी र नवराजले न्याय पाउने आशा नै मारिसकेका थिए। 

यस्तैमा गत साल प्रधानसेनापति पूर्णचन्द्र थापा धुलिखेल पुगेका थिए। नवराजले ‘प्रधानसेनापति थापाले तल्लो तहका सिपाहीको मर्का हेर्छन्’ भन्ने सुनेका थिए। 

प्रधानसेनापति थापा धुलिखेल पुगेको मौका पारेर नवराज पनि धुलिखेल पुगे। उनीसँग भेट गरी आफ्नो परिवार कसरी अन्यायमा परिरहेको छ, त्यसको विवरण प्रधानसेनापति थापालाई सुनाए।  

‘खासमा मलाई पेन्सन पाइन्छ भन्ने आशा नै थिएन, बुबा भर्ती हुँदाको फोटो मात्रै भए पनि पाइन्छ कि भन्ने आशा थियो,’ नवराजले भने, ‘तर, मैले बुबाबारे बताएपछि उहाँले त्यसमा चासो देखाउनु भयो, बुबाबारे खोजी गर्ने आश्वासन पनि दिनुभयो।’ 

प्रधानसेनापतिबाट आश्वासन पाएपछि रत्नकुमारीले फेरि जङ्गी अड्डामा निवेदन दिइन्। 

रत्नकुमारीको निवेदनको प्रतिलिपी

‘उहाँहरुबाट निवेदन प्राप्त भएपछि कार्यरथी विभागलाई खोजबिन सुरु गर्न निर्देशन दिइएको थियो,’ पूर्वप्रधानसेनापति थापाले नेपालखबरसँग भने, ‘खोजबिनका क्रममा स्व. दुर्गाबहादुर नेपाली सेनाको सदस्य रहेको पुष्टि भयो। त्यसपछि उहाँको परिवारलाई पेन्सन दिने निर्णय गरिएको हो।’  

त्यसपछि न्याय 
प्रधानसेनापति थापाको निर्देशनपछि जङ्गी अड्डाले कार्यरथी विभाग अन्तर्गत अभिलेख शाखाका प्रमुखको नेतृत्वमा बोर्ड गठन गरेको थियो। 

‘हाम्रो माग जङ्गी अड्डामा भएका प्रमाण खोजेर हामीलाई न्याय दिइयोस् भन्ने थियो,’ नवराजले भने, ‘तर, बोर्डका अधिकारीहरुले फेरि पुरानै कुरा दोहोर्याउनु भयो, ‘तिमीहरुसँग के प्रमाण छ, देखाऊ’ भनेर हामीलाई निराश बनाउनु खोज्नुभयो।’ 

यस्तो जवाफ प्राप्त भएपछि आफू आक्रोशित भएको र त्यही आक्रोशका कारण न्याय पाउने स्थिति बनेको नवराज बताउँछन्।

‘सैनिक अधिकारीहरुलाई मैले ‘हामी भिख माग्न आएका होइनौँ, ड्युटी गरेका बेला मारिएको परिवारको तर्फबाट न्याय माग्न आएका हौँ’ भन्ने जवाफ दिएँ,’ नवराज आफूले भनेका कुरा सम्झन्छन्, ‘तपाईंहरु नेपाली सेनाको ठूलो ओहोदामा हुनुहुन्छ, ओहोदा अनुसारको बिल्ला लगाउनु भएको छ। तर, के कुरा ख्याल गर्नुस् भने, तपाईंहरुले लगाएको बिल्लामा मेरो  बुबाको रगतको छिटा परेको छ।’ 

‘त्यसरी आक्रोशमा आएर यस्तो कुरा भन्नु हुन्थ्यो–हुँदैनथ्यो, त्यो छुट्टै विषय हो, तर त्यसो भनेपछि माहोल परिवर्तन भयो– बोर्डमा रहेका सैनिक अधिकारीले उहाँले मेरो अनुहारमा गहिरो गरी हेर्नुभयो,’ नवराजले थपे, ‘त्यो हेराइ देख्दा मलाई लाग्यो– ‘के यिनीहरु साँच्चिकै अन्यायमा परेका हुन् त!’ भन्ने प्रश्न उहाँहरुले आफैसँग सोधिरहनु भएको छ।’

नवराजको त्यस्तो जवाफपछि स्व. दुर्गाबहादुरको रेकर्ड खोज्ने काम निर्णायक रुपमा सुरु भएको थियो। खोजीका क्रममा दुर्गाबहादुर नेपाली सेनामा भर्ती भएको कागजातका अलावा २०१८–०१९ सम्म उनले मासिक तलब बुझिरहेको ‘पे–रोल’ समेत भेटियो। 

रत्नकुमारीले दिएको निवेदनमा पति दुर्गाबहादुरका बाबुको नाम ‘कोकटक बहादुर थापा’ र बाजेको नाम ‘पहल सिंह थापा’ उल्लेख थियो। ठेगाना ‘तत्कालीन पूर्व १ नं काभ्रेपलाञ्चोक (पनौती) जिल्ला, बल्थली गाविस वडा नं ७ ख्याकु’ उल्लेख गरेकी थिइन्। 

जङ्गी अड्डामा भेटिएको दुर्गाबहादुरको विवरणमा पनि ठ्याक्कै यिनै विवरण थिए। रत्नकुमारी त्यही विवरण भएका दुर्गाबहादुर थापाकी पत्नी हुन् भन्ने नाता प्रमाणित वडाले गरेपछि जङ्गी अड्डाले उनलाई पेन्सन दिने निर्णय गर्यो।

नवराज र आमा रत्नकुमारी 

जङ्गी अड्डाले रत्नकुमारीलाई पेन्सन दिने निर्णय गर्दा नेपाली सेनाको कार्यरथी विभागका प्रमुख उपरथी सुरेशकुमार कार्की (हाल अवकाश) थिए। सैनिक सम्बन्धी सम्पूर्ण विवरण यही विभाग मातहतका निकायहरुमा हुने गर्छ।

‘दुर्गाबहादुर थापा नेपाली सेनामा कार्यरत रहेको कागजात भेटिएपछि उहाँकी धर्मपत्नी रत्नकुमारीलाई पेन्सन दिने निर्णय गरिएको हो,’ कार्कीले भने, ‘कागजात नभेटिएको भए उहाँले पेन्सन पाउन सम्भव थिएन।’ 

दुर्गाबहादुर नेपाली सेनामा कार्यरत थिए भन्ने पुष्टि हुने कागजात भेटिएपछि रत्नकुमारीको मागदाबी अनुसार प्रधानसेनापति थापाले २०२१ भदौदेखि लागू हुने गरी पेन्सन दिने प्रक्रिया अघि बढाउन तोकआदेश गरेका थिए। त्यसपछि जङ्गी अड्डाको निर्णय बमोजिम रत्नकुमारीले विसं २०२१ भदौदेखि २०७८ भदौसम्मको एकमुष्ट १४ लाख रुपैयाँ प्राप्त गरिन्। त्यसयता उनले मासिक साढे १९ हजार पेन्सन थाप्दै आएकी छन्। 

तर, प्रश्न उठ्छ, मृत्युलगत्तै नेपाली सेनाले स्व. दुर्गाबहादुरकी धर्मपत्नी रत्नकुमारीलाई पेन्सनको व्यवस्था किन गरेन? के परिवारले दावी गरेजस्तै दुर्गाबहादुर राज्यविरुद्ध विद्रोह गरेका तत्कालिन बझाङी राजाका निजी सेनाबाट मारिएका थिए?

पहिले दोस्रो प्रश्नको उत्तर खोजौँ। 

राज्यरजौटा उन्मूलन ऐनमार्फत् आफ्ना अधिकार कटौती भएपछि तत्कालीन बझाङी राजा रामजंग र उनका छोरा ओमजंगबहादुर सिंहले नेपाली कांग्रेससँग मिली २०१९ मा राज्यविरुद्ध हतियार उठाएका थिए। त्यसविरुद्ध परिचालित सेनाले २०१९ असोजमा ओमजंगको हत्या र उनको सेनालाई निमिट्यान्न पारेपछि ‘बझाङ विद्रोह’ समाप्त भएको थियो। 

बझाङ काण्डबारे अध्ययन गरेका पूर्व सहायकरथी डा. बस्न्यातका भनाइमा बझाङ काण्डमा नेपाली सेनातर्फ कुनै हताहती भएको थिएन। नवराजको जन्म २०२० असारमा भएको थियो। 

त्यसैले, दुर्गाबहादुरको मृत्यु २०१९ को ‘बझाङ काण्ड’ मा भएको थियो भन्न सकिने स्थिति छैन।  

अब, मारिएलगत्तै दुर्गाबहादुरको परिवारले किन पेन्सन प्राप्त गर्न सकेन भन्ने प्रश्नतिर लागौँ।

छानबिनमा खटिएका सैनिक अधिकारीहरुको अनुमान र विश्लेषण के छ भने, सायद बझाङ वा दार्चुलामा ड्युटीमा रहेका बेला आन्तरिक दुर्घटनामा परी दुर्गाबहादुरको निधन भएको थियो। 

आन्तरिक रुपमा हुने यस्ता घटनामा कमाण्डर पनि जवाफदेही हुने भएकाले यस्ता घटना अक्सर लुकाइन्थे। तर, मृत्युको घटना कुनै न कुनै हिसाबले परिवारसमक्ष पुगिहाल्थ्यो।

रत्नकुमारी थापा 

‘सम्बन्धित व्यक्तिको मृत्युबारे तार्किक कारण बताउनु पर्थ्यो, त्यसैले बझाङी राजाका निजी सेनाबाट मारिएका हुन् भनियो होला,’ छानबिनमा खटिएका एक सैनिक अधिकारीले भने, ‘मारिएका व्यक्तिका परिवारलाई यस्तो खबर पठाउने, तर जङ्गी अड्डालाई चाहिँ घटनाबारे केही जानकारी नदिइएको देखिन्छ।’   

स्रोतका अनुसार छानबिनका क्रममा जङ्गी अड्डाले नेपाली सेनाबाट अवकाश प्राप्त गरेका बल्थलीका स्थानीयहरुसँग पनि दुर्गाबहादुरबारे जानकारी लिएको थियो। सबैले उनी सैनिक सेवामा रहेको बताउँदै बझाङी राजाका सेनाबाट मारिएको आफूहरुले पनि सुनेको जवाफ दिएका थिए। 

‘५८ वर्षपछि पनि पीडित परिवार न्यायका लागि जङ्गी अड्डाको ढोका ढकढक्याइरहेको थियो। यसै आधारमा प्रधानसेनापति थापाले गम्भीरतापूर्वक छानबिनका लागि निर्देशन दिनुभयो,’ उपरथी (अप्रा) कार्कीले भने, ‘दुर्गाबहादुरको भर्ना र तलब बुझिरहेको कागजात नै भेटिएपछि निर्णय लिन जङ्गी अड्डालाई पनि सहज भयो।’ 

पहिलो र दोस्रो विश्वयुद्धमा मारिएका कैयौँ गोर्खाली सेनाका परिवारले पेन्सन नपाएका घटना अहिले पनि गाउँघरमा सुन्न पाइन्छ। त्यो त बेलायती सरकारले गोर्खालीप्रति गरेको अन्याय हो। बल्थलीका स्व. दुर्गाबहादुर थापाको परिवार नै आफ्नै देशको सेनाबाट ५८ वर्षदेखि अन्यायमा परिरहेको थियो।   

पूर्वप्रधानसेनापति थापा सम्भवतः ‘नेपाली सेनाले यस्तो अन्याय गर्दैन’ भन्ने सन्देश दिन बल्थली पुगेका थिए। त्यसैले, शनिबार (२५ असार) रत्नकुमारीको आँगनमा जम्मा भएका स्थानीयवासीलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘सबैभन्दा ठूलो कुरा व्यक्तिले सैनिक संस्थामा रहेर राष्ट्रप्रति गरेको योगदान हो। त्यो योगदान स्व. दुर्गाबहादुरले पनि गर्नुभएको प्रमाणित भयो। त्यही कारण उहाँको परिवारलाई पेन्सन दिने निर्णय नेपाली सेनाले गरेको हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .