म्यागेजिन


राजाले पतिको टाउको काट्न लगाएपछि ‘रातो क्रान्ति’ माग्दै दरखाने दिन ‘सती’ गएकी रश्मि

राजाले पतिको टाउको काट्न लगाएपछि ‘रातो क्रान्ति’ माग्दै दरखाने दिन ‘सती’ गएकी रश्मि

कार्यालय जान पति जगतप्रकाशजङ्गको मोटरसाइकलमा रश्मि  (सौजन्य प्रा. नवीनप्रकाशजङ्ग शाह)


सीताराम बराल
भदौ १२ , काठमाडौँ

पार्वतीले शिवजी मन पराइन्। पतिका रुपमा शिवजीलाई वरण गर्ने चाहना उनलाई जाग्यो। 

अहिलेजस्तो फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ गरेर साथी बनाउने र सामाजिक सञ्जालबाट मनका कुरा अभिव्यक्त गर्ने जमाना थिएन। मन परेको पुरुषसम्मुख भेट भए पनि महिलाहरु प्रेम वा विवाहको प्रस्ताव राख्न सक्दैनथे। 

शिवजीलाई वरका रुपमा पाउन के गर्ने?

पार्वती निराहार व्रत बसिन्। यो व्रतको उदेश्य ‘शिवजीलाई स्वामीको रुपमा पाऊँ’ भन्ने थियो।

शिवजीले पार्वतीको मनको पुकारा सुने। पार्वतीको व्रत सफल भयो।  

निराहार व्रतको प्रभावस्वरुप शिवजीजस्तो असल स्वामी पाएको भन्ने विश्वासका आधारमा अहिले पनि भाद्र शुक्ल पक्षका दिन महिलाहरु निराहार बस्दै आएका छन्। 

अविवाहित युवतीहरु सुयोग्य वर (पति) पाइयोस् भन्ने कामनाका साथ र विवाहित महिलाहरु पतिको लामो आयु र सुस्वास्थ्यको कामना गर्दै निराहार व्रत बस्ने गरेका छन्। 

दिनभरि भोकै बस्नुपर्ने भएकाले स्वास्थ्यमा असर नपरोस् भनेर अघिल्लै दिन दर खाने चलन छ। 

तर, सहरलाई आजकल तीज निकै छिटो लाग्छ। भाद्र शुक्ल पक्षको अघिल्लो दिन खाइने दर एक महिना अगावै खान सुरु भइसक्छ।   

तीजको दरखाने दिनका लागि एउटा स्टोरीको ‘असाइन्मेन्ट’ मैले लिएको छु।  

त्यो पुरा गर्ने सिलसिलामा ७ भदौका दिन म थाइल्यान्डका लागि पूर्व नेपाली राजदूत (२०६४–०६८) समेत रहेका त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति प्रा. नवीनप्रकाशजङ्ग शाहसँग कुराकानी गर्न भक्तपुरको जगाती, गणेशवस्तीतर्फ लागेँ। 

एक हप्ता मात्र बाँकी रहेको तीजको चहलपहल नेपालखबरको कार्यालय वरिपरि पनि सुरु भइसकेको थियो। दर खान महिलाहरु रंगीचंगी पोसाक र गहना लगाएर पार्टी प्यालेसमा झुम्मिन सुरु गरिसकेका थिए। 

तीजको ‘स्टोरी’ का लागि मैले प्रा. शाहबाट त्यस्ती महिलाबारे जानकारी लिनुछ, जसले सधैँ आफ्ना पतिलाई लोकतन्त्रका लागि लडिरहन उत्प्रेरित गरिन्। निरंकुशतन्त्रको विरुद्ध लड्न आफ्ना पतिको कम्बरमा खुकुरी बाँधिदिइन् र पटुकाभित्र खुकुरी पनि घुसारिदिइन्। 

खुकुरी गोर्खालीहरुको वीरताको निसानी हो, जसले उनीहरुलाई कायर बन्नबाट रोक्छ, बहादुरी प्रदर्शन गर्दै सहादतका लागि उत्प्रेरित पनि गर्छ। 

पूर्वउपकूलपति प्रा. शाहमार्फत् मैले कथा सुन्न चाहेको ती महिला सम्भ्रान्त राणा परिवारकी सदस्य थिइन्। उनको बिहे राजपरिवारका नातेदारसँग भएको थियो। राजाको जेठो छोरा राजगद्दीको उत्तराधिकारी हुने प्रचलन रणबहादुर शाहको पालामा नतोडिएको भए सम्भवतः नेपालको राजगद्दीमा उनकै पति बस्ने थिए।  

तर, उनका पति राजाको निरंकुश कदमविरुद्ध उत्रे। राजा महेन्द्रले १ पुस (२०१७) मा गरेको ‘कू’ विरुद्ध सुवर्ण शमशेरको नेतृत्वमा भएको सशस्त्र संघर्ष (२०१८–२०१९) मा सहभागी भए। सहभागी मात्र भएनन्, सहादत समेत प्राप्त गरे। 

पटुकीभित्र खुकुरी भिराएर पतिलाई युद्धमोर्चामा पठाएकी ती महिला पतिको सहादतपछिको तीज (विसं २०१९) मा पनि निराहार व्रत बसिन्। र, पतिप्रतिको सम्झना र श्रद्धास्वरुप तीजको दरखाने दिन ‘सती’ गइन्। 

उनी थिइन्– रश्मि राज्यलक्ष्मी शाह। ‘नेपाली शेक्सपियर’ बालकृष्ण समकी छोरी। 

राणा परिवारकी उनी जगतप्रकाशजङ्ग शाहसँग बिहे गरेपछि राणाबाट शाहमा रुपान्तरित भइन्। रश्मि त्रिविका पूर्वउपकूलपति एवं राजदूत नवीनप्रकाशजङ्ग शाहकी आमा थिइन्। 

राजा महेन्द्रको कदमले बदलियो जगतप्रकाशजङ्ग–रश्मिको लय 
जगतप्रकाशजङ्ग शाह वसन्तुपरका ‘चौतरिया’ परिवारका सदस्य थिए। राजा रणबहादुर शाहले तिरहुते ब्राम्हणी कान्तिवतीबाट जन्मेका गिर्वाणयुद्धविक्रमको साटो सुवर्णप्रभाबाट जन्मेका जेठा छोरा रणोद्योत शाहलाई राजा बनाएको भए राजा बन्ने पालो त्रिभुवनका छोरा महेन्द्रको होइन, जगतप्रकाशजङ्ग शाहको आउने थियो।

जगतप्रकाशजङ्ग शाह र महेन्द्रवीरविक्रम शाह दुवैजना पृथ्वीनारायण शाहपछिका नवौँ पुस्ताका जेठा सन्तान थिए। 

जगतप्रकाश वसन्तपुरमा जन्मे। नजिकै ओमबहालमा धर्मभक्त माथेमाको घर थियो। माथेमा राजा त्रिभुवनलाई पहलमानी सिकाउँथे, राजनीति पनि। 

जगतप्रकाशजङ्गले पनि सहिद धर्मभक्त माथेमाबाट पहलमानी मात्र सिकेनन्, राजनीति पनि सिके। 

प्रा. शाहका भनाइमा सानैमा आमा गुमाएका जगतप्रकाशको पिता छत्रप्रकाशजङ्ग शाहसँग राम्रो सम्बन्ध रहेन। उनी साइँला काका डोरदण्डजङ्ग शाहसँग बस्थे। काका–भतिजको उमेर अन्तर त्यति धेरै थिएन।

उमेर चढिसकेका भएपनि डोरदण्डजङ्ग अविवाहित थिए। काका–भतिजको खुबै मिल्ती थियो।

नाटककार बालकृष्ण सम छोरी रश्मिको बिहेको कुरा चौतरिया डोरदण्डजङ्गसँग चलाउँदै थिए। रश्मिको फोटो डोरदण्डजङ्गकहाँ पुगिसकेको थियो। 

समले पठाएको रश्मिको फोटो काका डोरदण्डजङ्गले भतिज जगतप्रकाशजङ्गलाई देखाए। 

‘तर, डोरदण्डजङ्गले मेरो बिहे हुन लागेकी केटी कस्ती छ भनेर सोध्नु भएनछ, यो केटी कस्ती छ भनेर मात्र सोध्नु भएछ,’ प्रा. शाहले भने, ‘काका डोरदण्डजङ्गले फोटो देखाएकी केटी बुबाले मन पराउनु भयो। यो कुरा बालकृष्ण समकहाँ पुग्यो। यसरी जगतप्रकाशजङ्ग शाह र रश्मि राज्यलक्ष्मी राणाबीच बिहे भयो।’ 

जगतप्रकाशजङ्ग शाह र रश्मि राज्यलक्ष्मी राणाबीचको बिहे 
बिसं २००१ मा बिहेका बेला जगतप्रकाश साढे २२ वर्षका थिए, रश्मि साढे २० वर्षकी थिइन्। 

सहिद धर्मभक्तबाट दीक्षित जगतप्रकाशको राजनीतिक अभिष्ट ‘सम’ परिवारमा बिहे भएपछि पुरा भयो। शक्तिशाली राणा परिवारका भए पनि बालकृष्ण शमशेर जबराले २००७ को क्रान्तिपछि आफ्नो नाम ‘बालकृष्ण सम’ मात्र बनाए।

आफूलाई सर्वसाधारणका रुपमा प्रस्तुत गर्न उनले नाम छोट्ट्याएका थिए। 

आफूलाई छोराजस्तै स्नेह गर्ने ससुराले परिचय बदलेर सर्वसाधारण जनता समान देखिने गरी ‘सम’ भएपछि जगतप्रकाशलाई राजनीतिमा निर्बाध रुपमा लाग्न सहज हुने भइहाल्यो। 

नेपाली कांग्रेसको स्थापना भएलगत्तै उनी गुप्तरुपमा त्यसमा लागिसकेका थिए।  

प्रजातन्त्र स्थापनाका लागि स्थापना गरिएको ‘नेपाल प्रजातन्त्र रेडियो’ २००७ को क्रान्तिपछि विराटनगरबाट काठमाडौँमा स्थानान्तरण गरियो। यसका संस्थापक तारिणीप्रसाद कोइराला पनि रेडियो सँगसँगै काठमाडौँ आए।

तारिणी ‘रेडियो नेपाल’ का डाइरेक्टर बने, रश्मिले डेपुटी डाइरेक्टर (उपनिर्देशक) को जिम्मेवारी पाइन्।

रश्मिको प्रजातन्त्रप्रतिको प्रतिबद्धताको प्रमाण थियो, प्रजातन्त्र स्थापनालगत्तै उनले पाएको यो महत्वपूर्ण जिम्मेवारी। 

रश्मि रेडियो नेपालमा जागिरे थिइन्, जगतप्रकाशजङ्ग शाह कांग्रेसको राजनीतिमा सक्रिय थिए। प्रजातन्त्र स्थापना भएलगत्तै उनले धादिङ–नुवाकोट–रसुवा क्षेत्रमा कांग्रेसको संगठन सुरु गरे। २०१५ को निर्वाचनताका उनी त्यहाँको सभापति समेत थिए। 

यिनै तीन जिल्ला समेटिएको निर्वाचन क्षेत्र नं १०७ (धादिङ उत्तर) बाट उनी प्रतिनिधि सभामा उम्मेदवार पनि बने। तर, गोर्खा परिषदका भरत शमशेरसँग पराजित भए।

रश्मि रेडियो नेपालमा महिला सचेतता र अधिकारका विषयमा महिला कार्यक्रम सञ्चालन गर्थिन्। उनी यति सुन्दरी थिइन्, उनलाई मन नपराउने कोही थिएन। आधुनिक विचारधाराको थिइन्। प्यान्ट लगाएर घर–अफिस आउजाउ गर्थिन्। रेडियो नेपालमा अधिकांश कर्मचारी पुरुष नै थिए। ती सबैसँग हाँस्थिन्, बोल्थिन्। 

यसरी सबैसँग बोलेको, प्यान्ट लगाएर सार्वजनिक रुपमा हिँडेको त्यो बेलाको पुरातनपन्थी समाजले पचाउँदैनथ्यो। उनीबारे अनेक कुरा काटिन्थ्यो। 

‘रश्मिमाथिका यस्ता शंकाको खण्डन जगतप्रकाशजङ्ग शाह व्यवहारबाटै गर्थे,’ उतिबेलैदेखि जगतप्रकाशजङ्ग–रश्मिलाई चिनेका अन्तरिम सरकार (२०४७–०४८) का गृहमन्त्री योगप्रसाद उपाध्यायले आफ्नो आत्मकथा ‘माइ लाइफ एन्ड टाइम’ मा लेखेका छन्, ‘रश्मि कार्यालय जाँदा–आउँदा जगतप्रकाशजङ्ग शाह आफ्नो मोटरसाइकलमा राखेर ल्याउने–लैजाने गर्थे। यसले गर्दा रश्मिमाथि शंका गर्नेहरु पनि चुप लाग्न बाध्य थिए।’ 

‘बुबा र मुमाबीच निकै गहिरो प्रेम थियो, उहाँहरुको जोडी त्यो बेला आदर्श जोडीका रुपमा चिनिन्थ्यो,’ छोरा प्रा. शाहले भने, ‘जीवनपर्यन्त दिलोज्यान दिएर दुवैले एक–अर्काेलाई सहयोग गरिबक्स्यो।’

यो परिवारको राजनीति, जागिर र जीवन सुमधुर लयमा चलिरहेको थियो। गोर्खा परिषद्सँग जुध्दै धादिङ–नुवाकोट–रसुवा जस्तो सामन्तवादको प्रभाव रहेको क्षेत्रमा जगतप्रकाशजङ्गले आफ्नो राजनीतिक प्रभाव बढाइरहेका थिए। 

रश्मिले घरको आर्थिक स्थिति धानेकी थिइन्। तीन छोराछोरीको जिम्मेवारी सम परिवारले लिइदिएकाले जगतप्रकाशजङ्ग–रश्मिलाई झन् सजिलो भयो।  

तर, राजा महेन्द्रको १ पुस २०१७ को कदमले मुलुकको राजनीतिक लयमात्रै होइन, सम परिवार र जगतप्रकाशजङ्ग–रश्मिको जीवनको लय पनि बदलिदियो। 

संघर्षमा साथ 
जगतप्रकाश आफू सभापति रहेको कार्यक्षेत्र नुवाकोटमा सक्रिय थिए। ‘कू’ को पर्सिपल्ट ३ पुस (२०१७) मा उनी नुवाकोटको देवीघाटस्थित आफ्नो निवासबाट पक्राउ परे। 

‘कू’ पछि रश्मिलाई पनि रेडियो नेपालको ‘डेपुटी डाइरेक्टर’ को जिम्मेवारीबाट बर्खास्त गरियो।

देवीघाटमा पक्राउ परेका जगतप्रकाशलाई नुवाकोट दरबारमा थुनिएको थियो। उनी थुनिएको त्यही दरबार थियो, जुन दरबार नुवाकोट कब्जा गरेपछि त्यहीँबाट राजकाज सञ्चालन गर्न पृथ्वीनारायण शाहले निर्माण गरेका थिए।

काठमाडौँमा रहेकी रश्मि कडा पहरासहित नुवाकोटमा थुनिएका जगतप्रकाशको स्थिति बुझ्नतिर लागिन्। 

उनले के जानकारी पाइन् भने हातमुख धुन र दिसापिसाबका लागि सिपाहीहरुको पहरामा जगतप्रकाशलाई बिहानै दरबारभन्दा अलिक परको खोल्सीमा पुर्याइन्छ। फर्कंदा बाटोमा पर्ने चौतारीमा उनलाई भेट्न सकिन्छ। 

‘यस्तो जानकारी पाएपछि उहाँले बुबालाई चिठी लेख्न थालिबक्स्यो, ती चिठी मेरो सुरुवालको इजारमा रातारात गरेर राखिबक्सेको थियो’ प्रा. शाहले सम्झे, ‘इजारभित्र चिठी लुकाइएको त्यही सुरुवाल लगाएर बुबालाई भेट्न नुवाकोट जान्थेँ, मुमाले लेखेका चिठी उहाँलाई दिन्थेँ।’

केही महिनापछि जगतप्रकाश नुवाकोटबाट डिल्लीबजार सदरखोरमा सारिए। डिल्लीबजार सदरखोर सरुवा भएपछि परिवारसँग भेटघाट गर्न सजिलो हुने भयो। 

तर, जगतप्रकाशलाई काठमाडौँ स्थानान्तरण गरिँदा रश्मि पनि पक्राउ परिसकेकी थिइन्।

राजाको ‘कू’ को विरुद्धमा ७ फागुन २०१७ मा नोना कोइराला, शैलजा आचार्य लगायतका अग्रणी महिलाहरुले काठमाडौँमा कालोझण्डा प्रदर्शन गरेका थिए। प्रदर्शन गर्दागर्दै उनीहरु पक्राउ परे।

यो पक्राउविरुद्ध अर्काे प्रदर्शनको योजना बन्यो। प्रदर्शनका लागि महिला जुटाउने जिम्मा रश्मिले आफ्नो काँधमा लिइन्। उनले जगतप्रकाशको कार्यक्षेत्र धादिङ–नुवाकोटबाट महिलाहरुलाई काठमाडौँ ल्याउने योजना बनाइन्। 

‘मुमाले फेरि मलाई गोप्यरुपमा नुवाकोट पठाइबक्स्यो, त्यहाँ प्रेमकुमारी तामाङ भन्ने एक महिला नेतृ हुनुहुन्थ्यो, मैले उहाँलाई मुमाको चिठी दिएँ,’ प्रा. नवीनले भने, ‘उहाँले नै नुवाकोट–धादिङ क्षेत्रबाट सय, डेढ सय जना महिलाहरुलाई प्रदर्शनका लागि काठमाडौँ ल्याउनुभयो।’ 

तिनै महिलाहरुले ७ फागुनमा भएको पक्राउविरुद्ध नारायणहिटीको पश्चिमगेटदेखि न्युरोडसम्म प्रदर्शन गरे। पञ्चायतविरुद्ध ‘मुर्दावाद’ को नारा लगाए। जुलुसका अगुवा महिलाहरु पक्राउ परे।

यो प्रदर्शनको योजनाकार रश्मि रहेको पक्राउ परेकाहरुबाट खुल्यो। नातामा काका पर्ने नहकुल शमशेर पक्राउका लागि खटिए।

रश्मि भूमिगत भइसकेकी थिइन्। राजा महेन्द्रसँग बालकृष्ण समको निकट सम्बन्ध भएकाले उनको घरमा छापा मारेर रश्मि त्यहाँ छन्–छैनन् पत्ता लगाउनसक्ने स्थितिमा नहकुल शमशेर थिएनन्। 

रश्मिबारे पत्ता लगाउन नहकुल शमशेरले नयाँ उपाय लगाए। 

फागुपूर्णिमाका दिन ज्ञानेश्वरस्थित सम निवास बाहिरको चउरमा होली खेल्नेहरुको भीड थियो। भीड भएकाले रश्मि पनि होलीको रमाइलो हेर्न भेष बदलेर निस्केकी थिइन्।  

एउटा जोगी ‘अलख’ गर्दै सम निवास अगाडि पुग्यो। खासमा त्यो प्रहरीको सुराकी थियो। रश्मि सम निवासमै छन् भन्ने सुराकीले थाहा पाइहाल्यो।

साँझपख सम निवास पुगेका नहकुल शमशेरले ‘माथिको आदेश’ भन्दै दाजु बालकृष्ण समसँग रश्मिलाई पक्राउको अनुमति मागे। रश्मि पक्राउ परिन्। 

उनलाई केन्द्रीय कारागारभित्र रहेको महिला कारागार पुर्याइयो। 

मन्त्रिपरिषदका उपाध्यक्ष डा. तुलसी गिरिसँग समको निकट सम्बन्ध थियो। छोरी–ज्वाइँ नै पक्राउ परेपछि उनले डा. गिरिसँग कुराकानी गरे। छोरी–ज्वाइँको जिम्मा आफैँ लिने बताउँदै रिहा गरिदिन आग्रह गरे। आफैँले कागज गरी जगतप्रकाश र रश्मिलाई कैदमुक्त गराए।

त्यो बेला प्रख्यात भारतीय कवि शिवमंगल सिंह ‘सुमन’ र हरिवंश राय बच्चन काठमाडौँस्थित भारतीय राजदूतावासमा सांस्कृतिक सहचारी थिए। दुवै जना ज्ञानेश्वरस्थित सम निवासनजिकै कमलपोखरीमा बस्थे।

साहित्यिक व्यक्तित्व भएकाले सुमन, बच्चन र समको परिवारबीच निकट सम्बन्ध थियो। सुमन र बच्चन सम निवासमा गइरहन्थे। सुमन र बच्चनले आयोजना गर्ने जमघटमा सम पनि परिवारसहित गइरहन्थे। 

रिहा भएपछि रश्मिले नेपाल–भारत सांस्कृतिक केन्द्र अन्तर्गतको भारतीय पुस्तकालयमा काम गर्न थालिन्। पुस्तकालय प्रमुख साहित्यकार शंकर लामिछाने थिए। रश्मि उपप्रमुख भइन्। 

रश्मि मेधावी त थिइन् नै। राज्यको तारो बनेका बेला उनले पाएको यो जिम्मेवारीमा सुमन र बच्चनसँग सम परिवारको निकट सम्बन्धको भूमिका थियो। 

बिहेको केही वर्षपछि नै जगतप्रकाशले वसन्तपुर छाडेर ज्ञानेश्वरमा बसोबास थालेका थिए। मोटरसाइकलको पछिल्लो सिटमा राखेर उनी रश्मिलाई प्रत्येक दिन वसन्तपुर पुर्याउँथे। 

जगतप्रकाशले हाँकेको मोटरसाइकलमा छाता ओढी रश्मि घर–अफिस आउजाउ गर्थिन्। घामपानी नभए पनि घरबाहिर निस्कँदा छाता ओढ्नै पर्ने उनको अचम्मको बानी थियो। 

भारतीय पुस्तकालय दिउँसो २ बजेदेखि साँझ ८ बजेसम्म खुल्थ्यो। पुस्तकालयको ठीक अगाडि जगतप्रकाशका बाल्यसखा सिद्धिनारायण श्रेष्ठको रेडियो पसल थियो। जगतप्रकाश साँझ ८ बजेसम्म रश्मिलाई कुरेर त्यहीँ बसिरहन्थे। 

बुबा–मुमाको तस्बिरका साथ प्रा. नवीनप्रकाशजङ्ग शाह (तस्बिर : सीताराम बराल)
जगतप्रकाश धादिङ–नुवाकोटका राजनीतिक कार्यकर्ताहरुलाई त्यही रेडियो पसलमा भेट्थे। भारतीय पुस्तकालय बन्द भएपछि राति ८ बजे उनी रश्मिलाई लिएर ज्ञानेश्वर फर्कन्थे।

रश्मिलाई मोटरसाइकलमा राखेर ज्ञानेश्वर–बसन्तपुर आउजाउ गर्ने जगतप्रकाश २०१९ को असार–साउनपछि एकाएक बेपत्ता भए। जगतप्रकाश बेपत्ता भएपछि रश्मि साइकल चढेर कार्यालय धाउन थालिन्।

खासमा उनी राजाको १ पुसको कदमविरुद्ध सुवर्ण शमशेरको नेतृत्वमा सुरु हुन लागेको सशस्त्र संघर्षमा भाग लिन धादिङ–नुवाकोटका अगुवा कांग्रेस नेता–कार्यकर्तालाई लिएर गोप्य रुपमा कलकत्ता पुगिसकेका थिए।  

संघर्षमा भाग लिन जगतप्रकाशलाई उत्प्रेरित गर्नेमा रश्मि नै थिइन्। नत्र पत्नी र तीन लालाबाला छाडेर ‘जीवन वा मृत्यु’ रोज्नुपर्ने सशस्त्र संघर्षमा उनी सहभागी हुन सक्ने थिएनन्। 

‘बुबालाई गोप्यरुपमा कलकत्ता जान सब तारतम्य मिलाइदिने मुमा नै हो,’ प्रा. शाहले थपे, ‘जब बुबा कलकत्ता पुगेर सेटल होइबक्स्यो, त्यसपछि मुमा पनि सुटुक्क कलकत्ता प्रस्थान गरिबक्स्यो।’  

पतिलाई भेट्न जहाजबाट पटना–कलकत्ता जान सहज थिएन। प्रशासनको आँखा छल्न रश्मिले नयाँ उपाय निकालिन्।

पढ्न भारत पठाउने भन्दै उनले छोरी मधुका लागि जहाजको टिकट काटिन्। मधु ज्ञानेश्वरस्थित निवासबाट माला लगाएर निस्किन्। रश्मि मधुका साथ विमानस्थल पुगिन्।

त्यो बेला अहिलेजस्तो जहाजभित्र पुग्न अनेक सुरक्षा जाँचका प्रक्रिया पुरा गर्नु पर्दैनथ्यो। आफन्तजनहरुले जहाज नजिकै पुगेर यात्रीलाई विदाई गर्न सक्थे।

‘मुमा कति चलाख भने, बहिनीले लगाइराखेको माला जहाज नजिकै पुगेपछि मुमाले सुटुक्क आफूले लगाइबक्स्यो र जहाज चढेर बसिबक्स्यो,’ प्रा. शाहले भने, ‘जहाज चढेपछि चढेको चढ्यै भयो, बहिनीको साटो मुमाले जहाज चढेको कसैले चालै पाएन।’ 

रश्मिलाई जगतप्रकाशले पटना विमानस्थलमा स्वागत गरे। पटनाबाट दुवै जना कलकत्ता प्रस्थान गरे। केही समयपछि जगतप्रकाश सशस्त्र संघर्षका लागि चितवन–ठोरीको सीमावर्ती भारतीय बजार नरकटियागञ्ज पुगे। 

दुर्भाग्य! भरतपुर (चितवन) कब्जाको क्रममा सरकारी सेनाको कब्जामा परी जगतप्रकाशको क्रुरतापूर्वक हत्या भयो। पतिको सहादतपछि रश्मिले तीजको ‘दरखाने दिन’ मा आत्महत्याको बाटो रोजिन्।  

काटिएको शिर दरबारमा 
सशस्त्र संघर्ष सञ्चालनका लागि जगतप्रकाश फिल्डमा खटिए पनि चाहेको भए रश्मि कलकत्तामै सुवर्णको परिवारसँग बस्न सक्थिन्। किनकि, बालकृष्ण सम नातामा सुवर्ण शमशेरका दाजु भएकाले रश्मि पनि सुवर्णकी छोरी पर्थिन्।

तर, रश्मिले सुखसयलको बाटो रोजिनन्। उनी पतिसँगै युद्धमोर्चामा जान चाहिन्। जगतप्रकाश नरकटियागञ्ज आउँदा रश्मि पनि साथमै गइन्।

नरकटियागञ्ज क्याम्पका अगुवा नेताहरुले सीमावर्ती चितवनको भरतपुर कब्जा गरी पहाडी जिल्लातर्फ अघि बढ्ने योजना बनाए। चितवन कब्जापछि धादिङ, नुवाकोट, तनहुँ, कास्की लगायतका जिल्ला कब्जा गर्ने सशस्त्र टोली निर्माण गरिए। 

इतिहासकार डा. राजेश गौतमले ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस (भाग ३)’ मा उल्लेख गरे अनुसार, जगतप्रकाश कास्की कब्जा गर्ने चौथो टोलीका नेता थिए। उनी मेघौली विमानस्थल कब्जा गर्दै भरतपुर आइपुगेका थिए।

‘नरकटियागञ्ज क्याम्पबाट भरतपुर प्रस्थान गर्नेबेला मुमाले बुबाको कम्मरमा पटुकी बाँधेर त्यहाँभित्र आफैँले खुकुरी राखी बिदा गरिबक्सेको रहेछ,’ प्रा. शाहले भने, ‘बुबाको सहादतपछि जब म उहाँको काजक्रिया गर्न कलकत्ता गएँ, त्यो बेला बुबालाई आफूले कसरी विदाई गरेको थिएँ भन्ने कुरा सुनाइबक्सेको थियो।’

चितवन राजा महेन्द्रका लागि महत्वपूर्ण जिल्ला थियो। उनी प्रत्येक वर्ष सिकारका लागि चितवन पुग्थे। ‘कू’ लगत्तै नेपाल भ्रमणमा आएकी बेलायती महारानी एलिजाबेथलाई उनले त्यस्तो प्रतिकूल राजनीतिक स्थितिमा समेत सिकारका लागि मेघौली पुर्याएका थिए।

त्यसैले, कांग्रेसको कब्जामा परेको चितवन फिर्ता गर्न रातारात जहाजबाट भरतपुरमा ठूलो फौज उत्रियो। र, भरतपुर कब्जापछि कांग्रेसले मुख्यालय बनाएको गेस्टहाउसलाई नियन्त्रणमा लिइयो।

अन्य जिल्ला जान भरतपुर आउँदै गरेका कांग्रेसका अन्य टोलीले गेस्टहाउसलाई सरकारी सेनाले नियन्त्रणमा लिएको भेउ नै पाउन सकेनन्। पाऊन् पनि कसरी! सरकारी सेनाले गेस्टहाउसभित्र रहेका कांग्रेस कार्यकर्ताहरुको हत्या गरिसकेको थियो।

भरतपुर कब्जापछि गेस्टहाउसको माथिल्लो भागमा बीपी कोइरालाको तस्बिर टाँगिएको थियो, कांग्रेसको झण्डा पनि फहराइएको थियो। 

सरकारी सेनाले के चलाखी पनि गरेको थियो भने, बीपीको फोटो त्यहीँ रहिरहन दियो, झण्डा पनि त्यहीँ फर्फराइरह्यो। सैनिकहरु चाहिँ गेस्टहाउसको तल्लो तलामा लुकेर बसे। 

जगतप्रकाशजङ्गको टोली एउटा गाडीमा चढेर गेस्टहाउस पुग्यो। गेस्टहाउसमाथि सरकारी सेनाले कब्जा जमाइसकेको पत्तो उनीहरुले पाएका थिएनन्। 

उनीहरु नाराबाजी गर्दै बीपीको फोटो झुण्डिरहेको र चारतारे झण्डा फहराइरहेको गेस्टहाउसमा पुगे। नजिकै पुगेपछि लुकेर बसेको सेनाले सबैलाई पक्राउ गर्यो। जगतप्रकाश पक्राउ परे। मुख्य कमान्डर लालध्वज गुरुङ पनि उम्किन सकेनन्।  

पक्राउ परेका लालध्वज गुरुङ लगायत चार योद्धालाई पोखरा लैजाने क्रममा भागेको आरोपमा तनहुँ–कास्कीको सीमास्थल कोत्रे खोलामा लगी गोली हानेर सेनाले हत्या गर्यो। 

जगतप्रकाशको हत्या भने चितवनमै भयो, तर निकै बीभत्स रुपमा।

राजखलकका सदस्य भएकाले सैनिक कमान्डरले जगतप्रकाशको पक्राउबारे दरबारमा जानकारी गराए। 

हृषिकेश शाह ‘विशेष राजदूत’ को जिम्मेवारीमा थिए। इतिहासकार डा. गौतमले २१ फागुन २०५१ मा तिनै शाहसँग शाही कूपछिको राजनीति र जगतप्रकाशको हत्याबारे कुराकानी गरेका थिए। 

शाहले डा. गौतमलाई बताए अनुसार, राजदरबारबाट ‘मार्नु र टाउको प्रस्तुत गर्नु’ भन्ने आदेश गएको थियो। 

आदेशअनुसार जगतप्रकाशको हत्यापछि सैनिक कमान्डर भक्तनरसिंहले टाउको छुट्ट्याई राजदरबारमा पठाए। हृषिकेश शाहलाई उद्धृत गर्दै डा. गौतमले लेखेका छन्, ‘जहाँ (दरबारमा) राजा महेन्द्रले हृषिकेश शाहलाई समेत राखी आफ्नो अगाडि किस्तीमा रातो कपडाले छोपेर ल्याएको टाउकोको कपडा नजिकै रहेको सैनिकको तरबारले हटाउन लगाई ‘तैँले मेरो राज्य खान खोजेको होइन?’ भन्दै आक्रोश व्यक्त गरेका थिए।’ 

(डा. गौतमसँग जगतप्रकाशको टाउको दरबार ल्याइएको बताएका हृषिकेश शाहले आफ्नो आत्मकथा ‘प्रारब्ध र पुरुषार्थ’ मा भने चितवनबाट समातेर काठमाडौँ ल्याइएको उल्लेख गरेका छन्।)

हुनसक्छ, राजा महेन्द्र जगतप्रकाशलाई आत्मसमर्पण गराउन चाहन्थे। तर, रश्मिले बाँधिदिएको पटुकीमा खुकुरी भिरेर युद्धमोर्चामा आएका जगतप्रकाशले कायर बनेर राजा महेन्द्रका अगाडि आत्मसमर्पण गर्न चाहेनन्। 

सम्भवतः त्यसपछि उनलाई चितवन फर्काइएको थियो र उनको हत्या भइसकेको प्रमाणस्वरुप टाउको काठमाडौँ पठाइयो।

त्रिवि सेवामा प्रवेश गरेपछि जागिरको सिलसिलामा नवीनप्रकाशजङ्ग शाहले ‘कृष्ण’ नाम गरेका एक यस्ता वृद्ध व्यक्ति भेटे, जो जगतप्रकाशका अंगरक्षक थिए। कृष्णले चितवनमा पिता जगतप्रकाशको हत्या कसरी भएको थियो, त्यो छोरा नवीनप्रकाशलाई सुनाएका थिए। 

‘बुबाको हत्याअघि हात काटिएको रहेछ, काटिएको हातबाट रगत बग्न थालेपछि आफ्नो एक–एक थोपा रगतबाट हजारौँ क्रान्तिकारी जन्मन्छन् भनेर जंगिनुभएको रहेछ,’ प्रा. शाहले भने, ‘त्यसपछि उहाँलाई जिउँदै गाडिएको कुरा उनले मलाई सुनाए।’ 

जगतप्रकाशको सहादतका बेला रश्मि नरकटियागञ्जमा थिइन्। जगतप्रकाशको हत्याको समाचार सुनेपछि सुवर्णले रश्मिलाई कलकत्ता बोलाए। जगतप्रकाशको हत्याको जानकारी तत्काल उनलाई दिइएन। 

तर, त्यो कुरा कति दिन लुकाउन सकिन्थ्यो र!

जगतप्रकाशको हत्या भएको यकिन भएपछि सुवर्णले टेलिग्राममार्फत् बालकृष्ण समसँग नवीनप्रकाशलाई कलकत्ता पठाइदिन अनुरोध गरे। १६ वर्षे नवीनप्रकाश एसएलसी दिँदै दिए। दुई विषय दिन बाँकी थियो।

पिताको हत्या भएपछि परीक्षा बीचैमा छाडेर उनी काजक्रियाका लागि कलकत्ता प्रस्थान गरे। 

२०१९ को तीज सुरु हुनुभन्दा तीन दिनअघि मात्र उनी नेपाल फर्के। एसएलसी दिन छुटेका दुई विषयको परीक्षा दिन रश्मिले नेपाल जान जोड गरेपछि उनी नेपाल फर्केका थिए।

क्रान्ति माग्दै आत्महत्या 
विधवा महिलाले रातो रङ आफ्नो शरीरमा प्रयोग गर्न हुँदैन भन्ने सामाजिक मान्यता थियो। पतिको मृत्युपछि राता कपडा, चुरापोते फाल्ने चलन थियो। विधवा महिलाको सिउँदोको रातो सिन्दुर पनि पुछिन्थ्यो। 

तर, जगतप्रकाशको हत्यापछि रश्मिले कहिल्यै रातो कपडा छाडिनन्। सिउँदोमा सधैँ रातो सिन्दुर पनि लगाइरहिन्। आफ्ना दुवै नाडी राता चुराले भर्न थालिन्। रातो पोते पनि छुटाइनन्।

छोरा प्रा. नवीनप्रकाशजङ्ग शाहका भनाइमा जगतप्रकाशको सहादतपछि पनि रश्मि आफूलाई विधवा मान्न तयार थिइनन्। उनी जगतप्रकाश आफ्नो साथैमा छन् भन्ने ठान्थिन्। 

पतिको सहादतपछि पनि उनले किन रातो वस्त्र र वस्तु प्रयोग गरिरहिन्, आफ्नो जीवनको अन्त्यावस्था (तीजको दर खाने दिन, २०१९) मा उनले लेखेको यी कवितात्मक पंक्तिले प्रष्ट पार्छन् :

हामीले हाम्रो जीवनलाई 
रातो पोतेको डोरीले 
एउटै बन्धनमा बाध्यौँ
यसरी हामी एक भयौँ
त्यसपछि म रातोलाई प्रेम गर्न लागेँ
रातो! रातो! रातो मेरो सौभाग्य भयो 

क्रान्तिको रङ रातो हुन्छ। सहिद धर्मभक्तबाट दीक्षित जगतप्रकाश रश्मिसँग बिहे गर्नुअघि नै रातो (अर्थात् क्रान्तिकारी) भइसकेका थिए। क्रान्तिकारी जगतप्रकाशसँगको विहेपछि रश्मिले पनि आफू रातो (क्रान्तिकारी) बनेको महसुस गरेकी थिइन्।  

रश्मिको ‘सुसाइड नोट’ बुबाको काजक्रियाका लागि २०१८ फागुनमा कलकत्ता पुगेका नवीनप्रकाश २०१९ को साउनसम्म कलकत्तामै आमा रश्मिसँग रहे। रश्मिले छोरा नवीनसामु कहिल्यै शोक प्रस्तुत गरिनन्, आफ्ना वेदना अरुलाई सुनाइनन्। 

कलकत्तामा निर्वासित जीवन बिताइरहेका कांग्रेसका नेता–कार्यकर्ताहरुको खानपान र बसोबासको बन्दोवस्त सुवर्ण शमशेरले गरिदिएका थिए। शीर्ष नेताहरुका लागि बालागञ्जमा घर लिइएको थियो। 

त्यो घरमा अच्युतराज रेग्मी, परशुनारायण चौधरी, योगप्रसाद उपाध्याय लगायतका नेताहरु बस्थे।

त्यो घरको एउटा फ्ल्याट उपाध्याय परिवार र रश्मिका लागि छुट्ट्याइएको थियो। रश्मिलाई एक्लोपन महसुस नहोस् भनेर उपाध्यायले भाञ्जी गीतालाई असमबाट बोलाएका थिए। 

रश्मिलाई सघाउन उमेर ढल्किसकेकी एक महिला कामदारको समेत व्यवस्था गरिएको थियो। 

रश्मि कहिले छोरा नवीनलाई कलकत्ताका पार्कहरुमा घुमाउन लैजान्थिन्, कहिले फिल्म हेर्न जान भन्थिन्। छोराले नरमाइलो महसुस नगरुन् भन्नेमा उनी सचेत थिइन्। 

साँझपख नवीनलाई घरपरिवारको इतिहास सुनाउँथिन्। नेपालको इतिहास पनि पढाउँथिन्। जगतप्रकाशसँग उनको बिहे कसरी भएको थियो र जगतप्रकाश चितवनतर्फ प्रस्थान गर्दा कसरी विदाई गरेकी थिइन्, त्यसबारे पनि उनले नवीनलाई सुनाएकी थिइन्।  

उनले नवीनलाई प्रजातन्त्रको पक्षमा अविचलित रुपमा लागिरहन आग्रह पनि गर्थिन्। 

एउटै फ्ल्याटमा बस्ने उपाध्यायले आफ्नो आत्मकथा ‘माइ लाइफ एन्ड टाइम’ मा उल्लेख गरेअनुसार उनी बिहान ७ बजे नै कलकत्तास्थित पार्टी कार्यालय पुगिसक्थे। 

रश्मि राति ढिलो सुत्थिन्। बिहान १० बजे मात्र उठ्ने उनको बानी थियो। 

नवीनप्रकाशका भनाइमा रश्मि १२–१ बजेसम्म जागा रहन्थिन्। सुत्नुअघि केही न केही लेखेर मात्र सुत्ने उनको आदत थियो।  

दिनहरु बित्दै थिए। रश्मिले आफूलाई राति अबेरसम्म निद्रा लाग्न छाडेको जानकारी गराइन्। रश्मिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सुवर्ण शमशेरले निजी डाक्टर अमृतदास गुप्तालाई खटाए।

डा. गुप्ताले दिनको दुई चक्की खानेगरी निद्रा लाग्ने औषधि सिफारिस गरे। साथमा रहने उपाध्यायकी भाञ्जी गीताले रश्मिलाई ती औषधि दिन्थिन्। 

यस्तैमा २०१९ को तीज नजिक आइपुग्यो। एसएलसीमा अनुत्तीर्ण विद्यार्थीको ‘कम्पार्टमेन्ट’ परीक्षा पनि नजिकै आइपुगेको थियो।

सुवर्ण शमशेरले नवीनलाई कलकत्तामै बसेर थप पढाइ अघि बढाउन आग्रह नगरेका होइनन्। रश्मिले काठमाडौँ फर्केर बाँकी रहेको एसएलसी परीक्षा दिन आग्रह गरिन्। 

आमाको आग्रह अनुसार नवीन काठमाडौँ प्रस्थान गरे। 

उनको परीक्षा सकिएलगत्तै बालकृष्ण समलाई कलकत्ताबाट सुवर्ण शमशेरको टेलिग्राम आयो, ‘दाजु, सरी अगेन। रश्मि गन! (दाजु, फेरि माफ चाहन्छु, रश्मि पनि गइन्।) 

गीताले दुई–दुई चक्कीका दरले निद्रा लगाउने औषधि दिन्थिन्। तर, रश्मि ती चक्की खान्नथिन्। यो कुरा उनले त्यही औषधिको ‘ओभरडोज’ बाट आत्महत्या गरेपछि मात्रै खुल्यो। 

रश्मिका लागि अभिभावक सरह हुने गरी सहयोगीका रुपमा राखिएकी ती महिलाले पछिल्लो समय सुवर्ण शमशेर र उपाध्याय परिवारलाई के जानकारी दिएकी थिइन् भने, ‘रश्मिले प्रशस्त पानी पिएर तत्काल उल्टी गर्ने क्रममा पानीमा रगतको रेखा देखिन थालेका छन्।’  

आत्महत्या अघिको लेखोटमा रश्मिले त्यसरी देखिने रगतलाई पति जगतप्रकाशसँगको विछोडमा ओकलिएको रगतको रुपमा व्याख्या गरेकी छन्:

अहिले तिम्रो र मेरो बिछोडमा पनि 
मैले रातै रगत ओकलेँ, 
त्यो रातो रगतको सौन्दर्य समेत 
मलाई सबैभन्दा राम्रो लाग्यो
त्यो रगत तिमीले पठाएको साइपाटाको 
मेरो अमर सौभाग्य सिन्दुर हो जस्तो लाग्यो
त्यसैले मैले त्यस्को सञ्चय गरेँ
स्वागतसहित पालना गरेँ 

खासमा यो रश्मिले आत्महत्या गर्नुअघि लेखेको दुईमध्ये पहिलो ‘सुसाइड नोट’ थियो। कवितात्मक शैलीमा लेखिएको त्यो पहिलो सुसाइड नोटको माथिल्लो भागमा उनले जगतप्रकाशजङ्ग शाहसँगको तस्बिर टाँसेकी थिइन्। आफूहरुबीच कति गहिरो प्रेम थियो, त्यसमा प्रकट गरेकी थिइन्। 

‘सुसाइड नोट’ मा उनले ‘नेपालमा क्रान्ति होओस्’ भन्ने अपेक्षा पनि गरेकी छन्। नोटको अन्तिममा रश्मिले लेखेकी छन्:

अब रातै सपनामा सदैं (धैँ) को लागि 
यो पट्टल बन्द हुने बेला भयो  
यो संसारसित अन्तिम श्वासले 
म रातो क्रान्ति माग्छु 

‘मुमा धेरै चलाख स्वास्नी मान्छे। हेर्नुस् त! निद्रा लागेन भनेर उहाँले हामी सबलाई झुक्याइबक्सेको रहेछ,’ प्रा. शाहले भने, ‘तीजको दर खाने दिन त्यस्तो कठोर कदम चाल्ने निर्णय उहाँको रहेछ, एसएलसीको बहानामा मलाई काठमाडौँ फर्कन जोड गरिबक्सेको रहेछ।’   

मुटुभित्र राष्ट्रप्रेम
रश्मि बिहान १० बजेसम्म उठिसक्थिन्। तर, २०१९ को हरितालिका तीजका दिन साढे ११ बजेसम्म उठिनन्।

त्यसदिन सुवर्ण शमशेर लगायत नेता–कार्यकर्ताहरु पहिलेजस्तै कलकत्तास्थित पार्टी कार्यालयमा छलफलमा व्यस्त थिए। 

रश्मि अबेरसम्म नउठेको र हलचल नगरी उनी बिछ्यौनामा पल्टिरहेको खबर पार्टी कार्यालय पुग्यो। सुवर्णले तत्काल आफ्ना चिकित्सक डा. दासलाई रश्मिको कोठामा जान र उनको स्वास्थ्यस्थिति बुझ्न अह्राए। आफैँ पनि हतार–हतार त्यहाँ पुगे।

डा. दासले रश्मिको नाडी छामे, श्वास–प्रश्वासको गति जाँच गरे। त्यसपछि डा. दासले धेरैअघि उनको मृत्यु भइसकेको घोषणा गरे। 

मृत्यु घोषणापछि रश्मिको पोस्टमार्टम गरियो। त्यसैदिन कलकत्ताको कालीघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि समेत भयो। 

‘त्यो विद्युतीय शवदाह गृह भर्खर निर्माण भएको रहेछ र मुमाअघि त्यसमा पश्चिम बंगालका पूर्वमुख्यमन्त्री विधानचन्द्र रोयको शव दाह गरिएको रहेछ,’ प्रा. शाहले थपे, ‘संयोगवस पूर्वमुख्यमन्त्रीपछि त्यहाँ शवदाह गरिने दोस्रो व्यक्ति मुमा होइबक्स्यो।’ 

रश्मिले भने मृत्युपछि आफ्नो अन्त्येष्टि अलिक फरक ढंगले होस् भन्ने चाहेकी थिइन्। उनको दोस्रो ‘सुसाइड नोट’ मा यसबारे उल्लेख थियो।  

त्यसमा उनले भनेकी थिइन्– ‘मेरो मृत शरीरलाई नारायणी नदीमा ‘जलसमाधि’ दिइयोस्।’  

अर्थात् आफ्नो शवलाई जलाइनुको साटो नारायणी नदीमा बगाइयोस् भन्ने उनको चाहना थियो। 

त्यही नारायणी नदी, जसको नजिकै भरतपुरमा उनका प्रिय पति जगतप्रकाशको सहादत भएको थियो।  

उनको अर्काे इच्छा ‘जलसमाधि’ अघि आफ्नो छातीमा नेपालको माटो राखियोस् भन्ने थियो। 

रश्मिका पिता बालकृष्ण समले ‘इच्छा’ कवितामा यस्तै राष्ट्रभक्ति प्रदर्शन गर्दै ‘त्यही (मृत्युका) बेला मुखमा बुटीहरु परुन् नेपालकै केबल’ भनेका थिए। 

पिताको पथ पछ्याउँदै रश्मिले आफ्नो छातीमा नेपालको माटो राखेर जलसमाधि दिइदिन अनुरोध गरेकी थिइन्। 

रश्मिको पार्थिव शरीर 
नेपाली सीमाबाट साढे ७ सय किमी टाढा रहेको कलकत्तामा तत्काल नेपालको माटो पाउन सम्भव थिएन।

रश्मिको इच्छा कसरी पुरा गरिदिने? सुवर्ण शमशेरलाई अप्ठेरो पर्यो।

उपाध्यायले उल्लेख गरे अनुसार, रश्मिको पहिलो इच्छा पुरा गर्न कर्णेल शशी शमशेरले गजबको उपाय निकाले। उनी सुवर्णको नेतृत्वमा सञ्चालित सशस्त्र संघर्ष (२०१८–०१९) को प्रमुख सैनिक कमान्डर थिए। 

चुरोट–तमाखु खानका लागि सुवर्ण शमशेर हुक्का प्रयोग गर्थे। हुक्काका लागि उनले नेपालबाट माटाका चिलिम लगेका थिए। काठमाडौँबाट लगिएकाले चिलिममा नेपाली माटो प्रयोग गरिएको थियो।

कर्णेल शशी शमशेरले तिनै चिलिम फुटाएपछि निस्कने माटो जलसमाधिका बेला छातीमा राखिदिने उपाय सुझाए। उनको सुझाव पारित भयो।

अब बाँकी रह्यो, नारायणी नदीमा जलसमाधि दिने इच्छा। 

उनको यो इच्छा पुरा गर्न सकिने स्थिति थिएन। राजाविरुद्ध सशस्त्र संघर्ष जारी रहेकाले रश्मिको शव नेपाल ल्याउनु सम्भव थिएन। 

त्यसैले, कलकत्ता किनारमा रहेको हुगली नदीको बीचमा जलसमाधि दिने योजना बनाइयो। यसका लागि कलकत्ता बन्दरगाहका कमिस्नर कार्यालयसँग अनुमति मागियो। 

‘यसो गर्नु स्थानीय कानुनविपरीत हुँदो रहेछ, त्यसैले उनीहरुले जलसमाधिका लागि अनुमति दिएनन्,’ उपाध्यायले लेखेका छन्, ‘त्यसपछि रश्मिको शवलाई स्थानीय कालीघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरियो।’ 

आमा रश्मिको दाहसंस्कार गरिँदा पुत्र नवीन काठमाडौँमै थिए। उनले आमाको अन्तिम अवस्थाको मुहार तस्बिरमा मात्र देख्न पाए। 

आमाको इच्छा र भावना उनले सिरानीमुनि छाडेका ‘सुसाइड नोट’ मार्फत् बुझ्न पाए।

प्रा. शाहका भनाइमा दोस्रो ‘सुसाइड नोट’ मा रश्मिले आफू सती गएको उल्लेख गर्दै आगामी दिनमा कुनै पनि नेपाली नारीले सती जानुपर्ने स्थिति नआओस् भन्ने कामना पनि गरेकी छन्। 

‘भविष्यमा नेपालको भलो होस्, नेपालमा प्रजातन्त्र स्थापना होस् र नेपाल शान्ति–समृद्धिको बाटोमा जाओस्’ दोस्रो ‘सुसाइड नोट’ उनले यस्तै भावना पोखेकी छन्।   

राजा प्रताप मल्लको पालामा नेपालको हित हुने सन्धि गरेर तिब्बतबाट फर्के पनि काजी भीम मल्ल दरबारिया षड्यन्त्रमा परी काटिएका थिए। काजी भीम मल्लको हत्यापछि उनकी पत्नी ‘षडयन्त्रकारीहरुको बिगबिगी रहेको देशको कहिल्यै उन्नति नहोस्’ भन्दै श्राप दिएर सती गएकी थिइन्।

त्यसको झण्डै दुई सय वर्षपछि मुख्तियार भीमसेन थापाको पनि दरबारिया षडयन्त्रमा परी उस्तै हविगत भएको थियो। 

यसैलाई आधार बनाएर नेपाल अवनतिको बाटोमा ओह्रालो लाग्दा ‘सतिले सरापेको देश’ भन्ने चलन अद्यापी छँदैछ। 

‘मुमा आफ्नो मुलुकको परिचय ‘सतीले आशिक दिएको देश’ को रुपमा बनोस्’ भन्ने चाहिबक्सँदो रहेछ,’ प्रा. शाहले भने, ‘त्यसैले, आफ्नो अन्त्यअघि नेपालको उन्नति र समृद्धि होस् भन्ने कामना गरिबक्स्यो।’ 

प्रा. शाह निकै सम्हालिएर बुबा जगतप्रकाशजङ्ग र आमा रश्मिको योगदान र अन्तिम अवस्थाको कथा सुनाइरहेका थिए। 

त्यो भावुक कथाले मलाई भने सम्हालिन गाह्रो पारिरहेको थियो। ६० वर्षअघिको त्यो कथा सुन्दासुन्दै तीन घण्टा बितिसकेको थियो, झमक्क साँझ परिसकेको थियो। 

ऐठन पर्दै गरेको हृदयलाई सम्हाल्दै म प्रा. शाहबाट विदा भएर निस्केँ। 

भदौ १२, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad