म्यागेजिन


अदितिको जन्मकथा : पुष्पलताले छोरी र नायिका दुवै जन्माइन्

बाबरी फिल्म निर्मात्री पुष्पलता बुढाथोकीको मातृत्व अनुभव
अदितिको जन्मकथा : पुष्पलताले छोरी र नायिका दुवै जन्माइन्

राधिका अधिकारी
भदौ २५ , काठमाडौँ

नायिका अदिती बुढाथोकी उदीयमान कलाकार हुुन् । अदितीकी आमा पुष्पलता बुढाथोकीले निर्माण गरेको ‘बाबरी’ चलचित्र अहिले प्रदर्शनको तयारीमा छ। आमा पुष्पलता छोरी अदितीको फिल्मको प्रमोसनमा व्यस्त छिन्। आमाछोरी साथी जस्तै लाग्छन् ।

प्रसव पीडाको यो स्तम्भमा ‘हट’ नायिका अदितीका बारेमा भन्दा पनि आमा पुष्पलताको मातृत्व अनुभवबारे बढी चर्चा गरिएको छ । पुष्पलताको मातृत्व अनुभव, अर्थात् नायिका अदितीको जन्मकथा । 

 खेती किसानी गर्ने बा–आमा, मौसम अनुसारको बाली लगाउन र भित्र्याउन सधैँ व्यस्त रहन्थे। जति व्यस्त भए पनि उनीहरुको जीवन अहिलेजस्तो अस्तव्यस्त थिएन। पुष्पलताको बिहान बेलुकाको समय बुबाआमासँगै बित्थ्यो। स्कुल बिदाको दिन खेतमा पुग्थिन्, हिलोमा खेल्थिन्, बन्सो, सिरु र काँसका फूलहरुसँग रमाउँथिन्। 

बाबु–आमासँग छोरीका लागि खासै सपना हुन्थेनन्। छोरीलाई साक्षर बनाउनु पर्छ भन्ने चेतना भर्खर फैलिँदै थियो। पुष्पलताकी आमाको भने सपना थियो, ‘मेरी छोरी छोराहरुजत्तिकै सक्षम बनोस्।’ अन्याथा त्यो समय एसएलसी पास गरेपछि छोरी बिकाउन सजिलो हुन्छ भनेर स्कुल पठाउने प्रचलन थियो। छोरीहरु आफैँ पनि सक्षम हुने सपना देख्दैनथे। त्यही प्रभावले होला, राम्रो पढाइ भएकी पुष्पलताले पनि जीवनप्रति उम्दा सपना देखिनन्। 

आईए सकेर बिहे
पुष्पलता आईए पढ्दै थिइन्। उनको भेट इलामका गणेश बुढाथोकीसँग भयो। प्रेम बस्यो। आईए पास गरेर पुष्पलताले यो प्रेमलाई विवाहमा परिणत गरिन्। गणेशले बुबाआमासँग मागेरै पुष्पलतालाई जीवनसंगीनी बनाए। 

विवाहपछि घरमा आफ्ना पुरानो बानी त्याग गर्नुपर्ने अवस्था आइपर्यो। माइती छँदा उनलाई कसौँडीबाट पस्किएको पहिलो पन्युको भात चाहिन्थ्यो। बुहारी भएपछि सबैलाई पस्किदिएर आफूले खानु पथ्र्यो। छोरी र बुहारीमा विभेद थिएन, तर सम्बोधनले नै मेरो भूमिका फरक हो भन्ने भान हुन्थ्यो। माइती छँदा हरेक साना कुरा आमालाई भन्ने उनले घरमा ठूला कुरा पनि भन्न सकिनन्। उनलाई लाग्यो, ‘जिम्मेवारी र सम्बन्धले मान्छेलाई लाटो बनाउने रहेछ।’ 

आमाको सम्झना आउँथ्यो। बाटो धेरै लामो होइन, तर मन लाग्नेबित्तिकै निस्किएर हिँड्न मनले नै दिँदैनथ्यो। अहिले सम्झिँदा त्यो निकै सामान्य कुरा रहेछ। तर तत्काल जिन्दगीको सबैभन्दा अग्लो पहाड नै यही सम्झनाको होला भन्ने लाग्यो। उनले आमा–बाको यादमा कयौँ पटक एकान्तमा आँसु पनि बगाइन्। घरका जिम्मेवारी सम्हाल्दै जाँदा उनलाई लाग्थ्यो, ‘म सबै काम गर्न त सक्ने रहेछु, आमाले किन केही लगाउनु भएन मलाई?’ आमाले काम नलगाउनुको अर्थ बुझ्न पुष्पलताले आफैँ आमा बन्नु पर्यो। हिजोआज सबैले हुर्किसकी भनेकी उनकी छोरीलाई सानै देख्छन् उनका आँखाले। 

विवाह भएको ९ महिनापछि पुष्पलता दुई जिउकी भइन्। आमा बन्दै छु भन्ने खुसी पनि काउकुती सहित आउँथ्यो। अनुहारमा लाज पोतिन्थ्यो। पुष्पलताको अनुहारमा पनि लाज पोखियो। तर, अहिले जस्तो गर्भवती भएकै कारण विशेष स्याहार पाउने समय थिएन। नियमित काम धन्दा गरेरै उनको गर्भावस्था गुज्रियोे। 

त्यो समय इलाममा त्यति राम्रो अस्पताल थिएन। उनी नियमित चेकअपका लागि धरान आउँथिन्। व्यापारिक पृष्ठभूमिका उनका श्रीमान् कामको सिलसिलामा बाहिर गइरहन्थे। उनी पुष्पलतालाई नियमित जचाउँन आफैँ लिएर जान्थे। गर्भावस्थाको सुरुवातदेखि नै पुष्पलताको स्वास्थ्यमा विभिन्न उतार–चढाव आए। हेमोग्लोबिनको मात्रा घट्ने बढ्ने भइरह्यो। शारीरिक समस्या डाक्टरको रिपोर्टले देखाउँथ्यो। मनको उतार–चढाव मनमै रह्यो। 

मन परिवर्तन भइरहँदा पुष्पलता डराउँथिन्। पहिलो पटक आमा बन्ने तयारीमा रहेकी उनलाई यो समयका मानसिक परिवर्तनका बारेमा जानकारी नै थिएन। आमा भइसकेकाहरुलाई सोध्न अहिले जस्तो गर्भावस्थाका बारेमा खुलेर कुरा गर्ने प्रचलन थिएन। हिजोआज पुष्पलतालाई लाग्छ, ‘गर्भावस्थाको समयमा शारीरिकभन्दा धेरै मानसिक परिवर्तन हुँदा रहेछन् भनेर बल्ल बुझ्दै छु।’ पाइने र मन लागेको कुरा खान नपाउने भन्ने थिएन। खानपानमा रोकतोक पनि थिएन। तर उनी आफूलाई मन लागेको कुरा भन्न सक्दिनथिन्। यही बानीले थुप्रै मन लागेका कुरा छुटे। अहिले आफ्ना नजिकका छोरीबुहारी गर्भावस्थामा छन् भने उनी आफैँ सोध्छिन्, ‘तिमीलाई के खान मन लागेको छ?’

जब उनलाई लाग्यो– आमा बन्नभन्दा मर्न सजिलो रहेछ 
गर्भावस्थाको सुरुवाती दिनबाटै समस्या देखिएको थियो। डाक्टरले तपाईंहरुको केस अलि जटिल छ, बेलैमा अस्पताल भर्ना हुनु भनिरहेका हुन्थे। पुष्पलता डाक्टरले दिएको डेलिभरी डेटभन्दा एक साताअघि नै अस्पताल भर्ना भइन्। 

धरानको घोपा क्याम्प अस्पतालमा पुष्पलता पहिलो पटक आमा बन्ने तयारीमा थिइन्। उनीसँगैको बेडमा थिइन् तेस्रो सन्तान जन्माउँदै गरेकी धरानकै एक महिला। पुष्पलतासँगै उनी राम्रैसँग कुरा गरिरहेकी थिइन्। प्रसव व्यथाले छट्पटाइरहेकी पुष्पलतालाई उनी भन्थिन्, ‘नानी केही हुँदैन। एकछिन गाह्रो हो।’ सम्झाउँदा सम्झाउँदै उनैलाई गाह्रो भयो। डाक्टरले लेवर रुममा लगेको १० देखि १५ मिनेटको अन्तरमा उनको मृत्यु भयो। 

पर्दा खुलेको सिसाबाट पुष्पलताले ती महिलाको मृत्यु हेरिन्। अनुहारको हाउभाउ बिगारेर दाँत किटेको एकैछिनमा शान्त भएकी उनले पुनः आँखा खोलिनन्। डाक्टरले बाहिर निस्किएर उनका परिवारलाई भने, ‘सरी बचाउन सकिएन।’ उनको बच्चा सकुशल जन्मियो। उनका आफन्तले अस्पताल घेरे। अर्कोतिर पुष्पलताको मन अशान्त भयो। उनलाई लाग्यो, ‘आमा बन्नभन्दा त मर्न सजिलो हुने रहेछ।’

त्यसपछि पुष्पलता निकै आत्तिइन्। उनलाई लाग्यो, ‘मेरो पनि बच्चा जन्मिएर म मरेँ भने उसले कति दुःख पाउला!’ जन्मँदै नजन्मिएको बच्चाको माया आफ्नै जिन्दगीको भन्दा धेरै लागेर आयो। उनी रोइन्। मनमनै जिन्दगीभरि साथ दिन नसकेकोमा श्रीमानसँग माफी मागिन्। आमाको गर्भबाट बाहिर निस्कने कसरतमा रहेकी छोरीलाई भनिन्, ‘बाबा मलाई माफ गर, मैले तिमीलाई प्यारले हुर्काउन नपाउने भएँ।’ उनले आफ्नो जीवनको माया मारिन्। डाक्टर उनको अप्रेसनको तयारी गर्दैथिए। पुष्पलताले छोरी जन्माइन्। भन्छिन्, ‘डरले धेरै बल परेछ सायद।’ 

पाँच दिनको अस्पताल बसाइपछि पुष्पलता छोरी लिएर घर फर्किन्। घर फर्किदै गर्दा पुष्पलताले आमालाई सम्झिन्। सासूलाई सम्झिन। दुवैजना अस्पताल जान सकेनन्। उनलाई लाग्यो, ‘आमाका लागि मैले थुप्रै गर्नु पर्ने रहेछ।’ सुरुसुरुमा छोरीलाई दूध चुसाउन जानिनन्। उसलाई कसरी बोक्ने भन्ने पनि थाहा थिएन। छुँदा दुख्छ कि जस्तो लाग्थ्यो। तर छातीमा टाँसेर उसको न्यानोपन महसुस गरिरहन मन लाग्थ्यो। त्यो खालको स्नेह, प्यार र छटपटी उनले कहिले भोगेकै थिइनन्। 

उनकी छोरी सानैबाट चिसो सहन्नथिन्। बिरामी भइरहन्थिन्। अस्पताल दौडाइरहनु पथ्र्यो। छोरीको घाँटी घ्यारघ्यार हुँदा असामान्य हुन्थ्यो उनको मुटुको धड्कन। उनकी छोरी ८ वर्षकी थिइन्। छोरीका आँखाका नानी राता भए, रगत जमेको जस्तो देखियो। पुष्पलताको मन अत्तालियो। उनले छोरीलाई उपचारका लागि सिलिगुडी लिएर गइन्। डाक्टरले प्रारम्भिक उपचारका क्रममा उनको मस्तिष्कमा असर रहेको शंका गरे।। छोरीको सिटी स्क्यान गरिएको थियो। रिपोर्ट लिन पुष्पलताका श्रीमान श्रीमती दुवै  जान सकेनन्। रिपोर्ट नाम लिन अस्पतालमा उनीहरुको नाम बोलाइन्थ्यो। उनीहरु मौन बसिरहन्थे। भन्छिन्, ‘छोरीको रिपोर्ट नराम्रो होला भनेर हामीले उसको रिपोर्ट लिन जान सकेनौँ।’ तर रिपोर्ट सामान्य थियो। राम्रो रिपोर्ट आएपछि पुष्पलता दम्पतीले छोरी लिएर सिलिगुडी बजार निस्किए। छोरीले भनेका सबै सामान किनिदिए। छोरी लिएर फर्किए।

गणेश कालिम्पोङमा पढेका थिए। उनले छोरीलाई पनि त्यहीँ पढाउने मनसाय बनाए। पुष्पलता र गणेश छोरी लिएर कालिम्पोङ होस्टलमा छोड्न गए। त्यहाँ केटाकेटी खेलिरहेका थिए। पौडिरहेका थिए। शिक्षकहरु आफ्ना विद्यार्थीलाई पौडीका लागि पोखरीमा फालिदिन्थे। बच्चाहरु पौडिँदै बाहिर निस्कन्थे। पुष्पलताले आफ्नी छोरीलाई चिसो लाग्छ भन्ने डरले छोड्न सकिनन्। फिर्ता लिएर आइन्। 

छोरी हुर्काउने क्रममा पुष्पलताले आफ्ना थुप्रै रहरहरु छाडिन्। त्यही समय व्यापारिक पृष्ठभूमिका थुप्रै महिलाले आफ्नो नाममा व्यावसायिक संस्था खोले। चर्चामा आए। पुष्पलतालाई पनि उनका श्रीमान् व्यवसायीका रुपमा अगाडि आउन भनिरहन्थे। तर छोरी छोडेर उनलाई कतै निस्कन मन लागेन। आफ्नो सम्पूर्ण रहर, समय छोरीमा खर्च गरिन्।

पुरा भएन दोस्रो बच्चाको रहर
अदिति जन्मिएको २०/२२ दिनमै पुष्पलताको पाठेघरमा समस्या आयो। पाठेघरमा ट्युमर भयो। शल्यक्रिया गरेर फाल्नु पर्यो। त्यसपछि पाठेघरमा संक्रमण भइरह्यो। प्लेटलेट्स, हेमोग्लोबिन घट्ने भइरह्यो। पुष्पलता बिरामी भइरहिन्। उनको पाठेघर नै निकालेर फाल्नु पर्यो।

छोरी जन्मिएपछि उनलाई दोस्रो बच्चाको रहर थियो। छोराको रहर थियो। तर दोस्रो बच्चा जन्मनुअघि नै पाठेघरको अप्रेसन गर्नु पर्यो। 

उपचारका क्रममा पुष्पलतालाई लाग्थ्यो, ‘यो छोरीलाई सक्षम बनाउने समयसम्म म बाँच्दिनँ होला।’ उनको मनमा नकारात्मक भावना आउँथ्यो। त्यो समय उनलाई छोरीको स्वभावसँग पीर लाग्यो। अदिति राम्रो, नराम्रो छुट्याउन सक्दिनथिन्। मनिसहरुसँग झै झगडा गर्दिनथिन्। नराम्रो गर्दा पनि प्रतिक्रिया जनाउँदिनथिन्। पुष्पालाई त्यतिबेला लाग्थ्यो, ‘मेरी छोरीका सबै रहर अहिले नै पुरा गर्न पाए पनि हुन्थ्यो।’ तर पुष्पलता अहिले स्वस्थ छिन्। छोरीका सपनाका सारथी भएर हिँडिरहेकी छिन्। 

छोरीअदितीको फिल्मी यात्रा
पढाइमा अब्बल उनकी छोरीले सुरुमा डाक्टर बन्ने सपना देखिन्। साइन्स पढिन्। पढ्दै गर्दा डाक्टर आफन्तसँग भेट भइरह्यो। उनीहरुले आफ्नो जीवन बाँच्न नपाएको देखिन्। डाक्टरमा मन मारिन् र आईटी पढ्न सुरु गरिन। आइटी पढ्दाताका नै हो काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी भएको थियो। कलेजको प्रतिनिधित्व गरेरकी अदितिलाई विज्ञापनमा मोडलिङ गर्ने अपर आयो। परिवार र शिक्षकको सल्लाहमा उनले विज्ञापनमा काम गरिन्। थुप्रै पत्रिकामा उनको नाम र फोटो छापियो। 

त्यसपछि अदितिलाई मुम्बईबाट ‘मायालु नुडल्स’मा मोडलिङ गर्ने अफर आयो। पुष्पलताले छोरीलाई एक्लै मुम्बई पठाउन सकिनन्। छोरी लिएर उनी आफैँ गइन्। अदितीले मोडलिङ गरिन्। राम्रो पनि भयो। त्यसलगत्तै एक एजेन्सीले एग्रिमेन्टका लागि बोलायो। अदितिका आमाछोरीले मुम्बईमै रहेका आफन्तलाई एजेन्सीका बारेमा सोधे। राम्रो भन्ने भएपछि एग्रिमेन्ट गरे। पुष्पलता छोरीसँगै मुम्बई बसिन्। त्यही क्रममा अदितीले ‘कृ’ फिल्ममा अभिनय गरिन्। छोरीले फिल्ममै सपना देख्न थालिन्। त्यसपछि पुष्पलताले आफैँ प्रोडक्सन हाउस खोलिन् र ‘बाबरी’ निर्माण गरिन्। 

अदितिभन्दा पहिला पुष्पलताको परिवारका कोही पनि फिल्म लाइनमा आएका थिएनन्। यो क्षेत्रका बारेमा उनलाई ज्ञान थिएन। छोरीले फिल्ममै करिअर बनाउने सपना देखेपछि पुष्पलताले यो क्षेत्रका बारेमा बुझिन्। उनलाई लाग्यो, ‘छोरी सधैँ हिरोइन भइरहन सक्दिन। बेलैमा प्रोडक्सन हाउस खोलेर स्थापित गराइदिन सक्यो भने यही क्षेत्रमा काम गरिरहन सक्छिन्।’

घरभित्रै हराइरहेकी पुष्पलता बाहिर निस्किन्। बाबरी फिल्म्स स्थापना गरिन्। ‘बाबरी’ फिल्म निर्माण गरिन्। अहिले पुष्पलताले निर्माण गरेको ‘बाबरी’ प्रदर्शनको तयारीमा छ। पुष्पलता छोरीको फिल्मको प्रमोसनमा व्यस्त छिन्। 

मान्छेहरु भन्छन्, अदिति हुर्किन्, अब बिहे गरिदिनु पर्छ। पुष्पलताको मन कहिलेकाहीँ आत्तिन्छ पनि। छोरीलाई भन्छिन्, ‘छोरी अब उमेर भयो बिहे गर्ने हो कि?’ अदिति मुस्कुराउँछिन् र भन्छिन् मेरो बेला भएको छैन। पुष्पलतालाई छोरीको बिहे गरिदिने हतारो छैन। तर उनको आमा मनले छोरीको भावना बुझ्ने ज्वाइँको कल्पना गरिरहन्छ। 
 

भदौ २५, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad