ad ad

म्यागेजिन


न्युयोर्क टाइम्सको त्यो सनसनी खबर– चिनियाँ सेनाले एक नेपाली सेनाको हत्या गरे

सुबेदार बमप्रसाद, जसको सहादतले नेपाललाई दिलायो मुस्ताङको छोटन मार्पो
न्युयोर्क टाइम्सको त्यो सनसनी खबर– चिनियाँ सेनाले एक नेपाली सेनाको हत्या गरे

६३ वर्षअघि चिनियाँ सेनाबाट मारिएका नेपाली सेनाका सुबेदार बमप्रसाद बास्कोटा, पृष्ठभूमिमा घटनास्थल मुस्ताङ


सीताराम बराल
असार १८, २०८० सोमबार १७:१०, काठमाडौँ

मुस्ताङको कोरला नाकाभन्दा केही पर नेपाल–चीनबीचको परम्परागत सीमा नाकामा चिनियाँ र नेपाली सेनासहित दुवैतर्फका सरकारी अधिकारीहरुको ठूलो जमघट थियो। जमघटमा मुस्ताङका अन्तिम राजा जिग्मी परबल विष्ट (तत्कालीन युवराज) पनि सहभागी थिए। 

चीन (तिब्बत) ससुराली भएका मुस्ताङी युवराजसहित नेपाल–चीन दुवै मुलुकका अधिकारीहरुको त्यो जमघटमा उल्लासको वातावरण भने थिएन। चिनियाँ जनमुक्ति सेनाका अधिकारीहरु एक मृत नेपाली सैनिक अधिकारीको शव हस्तान्तरणको लागि त्यहाँ आइपुगेका थिए। 

त्यसैले वातावरण शोकमय थियो, सबै स्तब्ध थिए। 

चिनियाँ जनमुक्ति सेनाले हस्तान्तरणका लागि ल्याएकामा एक जना घाइतेका साथ नौ जना नेपाली थिए। घोडा लगायत नेपाली टोलीले खाना र बासका लागि प्रयोग गरेको लत्ताकपडा र भाँडाकुँडा, दुरबिन लगायतका सामग्री पनि चिनियाँ सैनिकहरुले बोकेर ल्याएका थिए।  

छोटो समारोहमा चिनियाँ सेनाले आफ्नो नियन्त्रणमा रहेका नेपाली सेनाका जवानहरू, सरकारी कर्मचारी र स्थानीयहरुलाई हस्तान्तरण गर्यो। उनीहरुको साथमा रहेका सामग्री पनि हस्तान्तरण गरियो। 

अन्त्यमा चिनियाँहरुले त्यो शव नेपाली पक्षलाई हस्तान्तरण गरे। हस्तान्तरणअघि उनीहरुले ती व्यक्तिलाई सलामी दिए। 

६३ वर्षअघि, विसं २०१७ असार २१ अपरान्ह ३ बजेको घटना हो यो। 

नियन्त्रणमा रहेका जीवित–मृत नेपालीहरुको हस्तान्तरणबारे प्रधानमन्त्री बीपी कोइरालालाई चिनियाँ प्रधानमन्त्री चाउ एनलाइले अघिल्लो दिन नै पत्र पठाएर जानकारी गराएका थिए। चिनियाँ प्रधानमन्त्रीको पत्रमा २१ असार (४ जुलाई १९६०) मा चिनियाँ सेनाको नियन्त्रणमा रहेका १० नेपाली, एक नेपालीको मृत शरीर, घोडाहरु र सम्पूर्ण सामग्री हस्तान्तरण गरिने उल्लेख थियो। 

‘यी सबै कुराहरु पेकिङ (बेइजिङ) टाइम अनुसार दिउँसो १२ बजे कोरभन्ज्याङबाट २ सय ५० मिटर दक्षिणपूर्व निटई भन्ने ठाउँमा पुर्याइदिने आदेश हामीले हाम्रो पक्षलाई दिइसकेका छौँ,’ प्रधानमन्त्री चाउ एनलाइले बीपी कोइरालालाई लेखेको पत्रमा लेखिएको थियो, ‘हाम्रो अनुरोध छ– उक्त समय नेपाल पक्षका उत्तरदायी व्यक्ति पठाएर जिम्मा लिने व्यवस्था गरियोस्।’ 

चिनियाँ सेनाले सलामी दिएका ती व्यक्ति नेपाली सेनाका सुबेदार बमप्रसाद बास्कोटा थिए। उनको मृत्यु ६ दिनअघि चिनियाँ सेनाकै गोलीबाट भएको थियो। 

चीनविरोधी खम्पा लडाकु ठानेर १५ असार (२०१७) को अपरान्ह नेपाल–चीन सीमाक्षेत्रस्थित ‘छोटन मार्पाे’ भन्ने स्थानमा चिनियाँ सेनाले गोली चलाउँदा सुबेदार बास्कोटा मारिएका थिए। 

सुबेदार बमप्रसाद मारिएको यो घटना इतिहासमा ‘मुस्ताङ काण्ड’ को नामले चर्चित छ। तर, नेपाल–चीन सम्बन्धको इतिहासमा सर्वाधिक महत्वपूर्ण घटनामध्येको यो घटनाका प्रमुख पात्र बमप्रसादबारे विस्तृत विवरण अझै प्राप्त छैन। यति चर्चित घटनाका प्रमुख पात्रको सहादतको परिणामबारे पनि कसैले चर्चा गरेका छैनन्। 

उनको परिवार पनि गुमनाम अवस्थामा छ। 

सिमानामा अस्ताएका प्रतिभा 
घटना हुनुभन्दा १५ दिन अघिसम्म २१ वर्षीया लीलादेवी उपाध्याय (बास्कोटा) पति बमप्रसादका साथ पोखरामा थिइन्, सेती नदीको पूर्वी किनारास्थित फूलबारी ब्यारेकमा। उनको पेटमा २ महिनाको गर्भ थियो। ओखलढुङ्गाका बमप्रसादको निधन भएको ८ महिनापछि जन्मेकी छोरी गीता रेग्मीका साथ लीलादेवी आजकल सुनसरीको इनरुवा नगरपालिका–३ मालपोत चोकमा बसोबास गर्छिन्।  

मुस्ताङमा सो घटना हुनु भन्दाअघि तीन–चार वर्ष पोखरामा रहँदा पति बमप्रसादका साथ बिताएका सुमधुर क्षणको स्मरण लीलादेवी अहिले पनि गरिरहन्छिन्।

छोरी गीताका साथ लीलादेवी (फोटोः सीताराम बराल)

पोखरा राजा महेन्द्रलाई औधी मनपर्ने ठाउँ थियो। पोखरा पुग्दा उनी फूलबारी ब्यारेक गइरहन्थे। राजा महेन्द्र र रानी रत्नको स्वागत–सम्मानमा फूलबारी ब्यारेकले सांस्कृतिक कार्यक्रम आयोजना गथ्र्याे। राजा–रानीलाई देखाउन नाटक पनि खेलाइन्थ्यो। नाटकमा बमप्रसाद पनि कलाकार बनेर भाग लिन्थे।  

नाटकमा बमप्रसादको भूमिका हेरेर र संवाद सुनेर राजा–रानी मरिमरी हाँसेको लीलादेवीलाई अस्ति मात्रै होजस्तो लाग्छ। 

बमप्रसाद एउटी केटीलाई मन पराउँथे। केटी राम्री थिई। केटीले भेटघाटका लागि बमप्रसादलाई पोखराको रामघाट बोलाई। पोखरामा तीन वटा रामघाट छन्। बमप्रसाद त्यसमध्येको एउटा रामघाट पुगे। तर केटी त्यहाँ थिइन। बमप्रसादले धोका अनुभव गरे। 

‘उसले धोका दिएको मलाई थाहा भएन,’ नाटकको एक पात्रका रुपमा अभिनय गर्दै बमप्रसादले भनेका थिए, ‘त्यो मोरीलाई खोज्दाखोज्दै म अर्काे रामघाटमा पो पुगेछु।’

‘नाटक हेर्न त्यसदिन म पनि गएको थिएँ। नाटकमा उहाँले भनेको कुरा सुनेर राजा–रानी दुवैजना खुबै हाँसे,’ लीलादेवीले सम्झिन्, ‘त्यो दिन राजा–रानी मुटु मिचिमिची हाँसेको म कहिले पनि बिर्सन्नँ।’ 

ब्यारेकभित्र सामूहिक जीवन हुने भएकाले मनोरञ्जन र प्रतिभा प्रस्फुटनका लागि यस्ता कार्यक्रम भैरहन्थे, आजकल पनि हुन्छन्। तर, बमप्रसाद सामान्य सैनिक मात्र थिएनन्। उनी साहित्यकार र कलाकार समेत थिए। उनले राम्रा–राम्रा कविता र गीत रचना गरेका थिए। लीलादेवीका स्मरणमा रहेका गीत–कविताहरु सुन्ने हो भने उनी सिद्धहस्त कवि र गीतकार थिए भन्ने प्रष्ट हुन्छ। 

विसं २०१४–१५ मा पोखरा प्रस्थान गर्नुअघि बमप्रसाद छाउनी ब्यारेकमा थिए। विजयश्वरीस्थित सैनिक आवासमा बस्थे। विजयश्वरीअघि उनको मुकाम सिंहदरबारस्थित पल्टनमा थियो। 

सिंहदरबारमा ‘काले’ नामको एक थिए। बेसहारा उसलाई पल्टन आफैँले पालेको थियो। उमेर नपुगेकाले उनी पल्टनलाई आइपरेका गैरसैनिक काममा सघाउँथे।

बमप्रसाद उनलाई नाचगान सिकाउँथे। बमप्रसादले लेखेको नेपाली टोपी सम्बन्धी गीत ती किशोर आफ्नो शिरमा लगाएको टोपी देखाउँदै भाका हालीहाली सुमधुर स्वरमा गाउँथे।

आफ्ना पतिले लेखेको त्यो गीत उनले गाउँदा लीलादेवी मक्ख परेर सुन्थिन् :

छड्के पारिपारिकन नाइलनको बानले 
घायल गराइदियो मन टोपीको सानले 

फूलबारी ब्यारेकको गणपति प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) गुण शमशेर राणा (पछि प्रधानसेनापति) थिए। बमप्रसादलाई मनमोहक पोखराले सुन्दर कविता सिर्जना गर्ने वातावरण प्रदान गर्यो। कविता लेख्न उनी ब्यारेकबाट सेती नदीको खोँच पुग्थे। 

पोखराले उनलाई मोहित र अचम्मित दुवै पारेको थियो। त्यसैले पोखराबारे उनले ‘मलाई अचम्म लाग्यो’ शीर्षकको कविता नै लेखे :  

मलाई अचम्म लाग्यो–
हरियो जंगल सेतीको शिरमा बादलको लाइन 
खोजेर हिडेँ पोखरा जस्तो कहीँ पनि पाइनँ 
मलाई अचम्म लाग्यो–
पाइन्छ यहाँ फलफूल धेरै, सुन्तला रसिलो 
ठाउँ–ठाउँका रंगीन हिमालले गर्दा पोखरा हँसिलो 
मलाई अचम्म लाग्यो– 
हिमचुलीबाट जोसिलो झरना कराउँदै झरेको 
बीच–बीचमा रंगीन अल्पायु रेखा इन्द्रेनी परेको 
मलाई अचम्म लाग्यो–
झन् शोभा दिने मनोहर कान्ति रुपा र फेवाताल
जडी र बुटी कस्तुरी आदि संसारलाई फालाफाल

सुबेदार बमप्रसाद र श्रीमती लीलादेवी (तस्बिर स्रोत : डा. प्रेमसिंह बस्न्यात)

‘पोखराको सुन्दर वातावरणमा राम्रा गीत–कविता लेख्न सकिन्छ भनेर उहाँ पोखरा जानु भएको थियो,’ लीलादेवीले सम्झिन्– ‘पोखरा बसाइमा उहाँले थुप्रै गीत र कविता लेख्नु भयो। कापीमा छापाजस्ता राम्रा अक्षरमा कविता लेख्नु भएको थियो। त्यो कापी मैले जोगाउन सकिनँ।’

‘मलाई अचम्म लाग्यो’ कविताबारे अर्को रोचक प्रसङ्ग छ। यही कविताका कारण फूलबारी ब्यारेकको हराएको एउटा बाख्रो भेटिएको थियो। 

‘ब्यारेकमा पालिएका बाख्रा सेतीको खोँच–किनारमा चर्न जान्थे,’ लीलादेवीले भनिन्, ‘ब्याउने बेलाको एउटा बाख्राले सेतीको खोँचमा हरियो घाँस देखेछ। घाँस खान खोँचमा पसेको, निस्कँदै निस्केन। त्यत्तिकै हरायो।’

कविता लेख्न एकान्त खोजी गर्दै बमप्रसाद एकदिन सेतीको खोँचमा पुगे। गल्छीभित्र छङछङ गर्दै बगिरहेको सेतीको आवाज सुन्दै, पोखराका के–के कुराले उनलाई अचम्मित पारेको हो, त्यसको वर्णन गर्दै ‘मलाई अचम्म लाग्यो’ कविता लेखे। 

‘कविता लेख्दै गर्दा उहाँले खोँचभित्र नजिकै बाख्रा–पाठा कराएको सुन्नु भएछ। आवाज सुनेपछि उहाँ खोँचतिर हेर्न जानु भएछ।’ उनले भनिन्, ‘त्यहाँ त हराएको त्यही बाख्रो पो रहेछ। ब्याएर दुईवटा पाठापाठी जन्माइसकेको रहेछ।’ 

खोँचमा फसेको बाख्रो र पाठापाठी सिपाहीहरुले निकाले। 

‘उनीहरु डोरी लगाएर खोँचमा पसे, बाख्रो र पाठापाठीलाई काखमा राखेर ल्याए,’ लीलादेवीले भनिन्, ‘मान्छेसँग पहिल्यै घुलमिल भएकाले बाख्रो हामी वरिपरि आउँथ्यो। घुलमिल नभएकाले पाठापाठीचाहिँ हाम्रो वरिपरि आउन पछिसम्म डराउँथे। उहाँ कविता लेख्न सेतीको खोँचमा गएकैले हराएको बाख्रो भेटियो।’ 

पोखराजस्तो सुन्दर स्थानमा पतिका साथ बस्न पाउँदा लीलादेवी खुसी थिइन्। बमप्रसादलाई पनि पोखराले असाध्यै लोभ्याएको थियो। 

त्यहीकारण हाल पोखरा बसपार्क रहेको स्थानमा चार रोपनी जग्गा किन्ने निधो पनि बमप्रसादले गरिसकेका थिए। 

‘उहाँ मुस्ताङ दुई कारणले जानुभयो। हिउँमा बसेर हिमाल हेर्दै कविता लेख्ने उहाँको धोको थियो। मुस्ताङ दुर्गम क्षेत्रमा पर्ने भएकाले तलब–भत्ता पनि बढी आउँथ्यो,’ लीलादेवीले भनिन्, ‘मुस्ताङको ड्युटीबाट प्राप्त हुने तलब भत्ताले जग्गा–जमिनको ऋण तिर्न सकिन्छ भनेर उहाँ मुस्ताङ जानुभएको थियो।’ 

बमप्रसाद मुस्ताङ पुगे। तर, फर्कन पाएनन्। त्यहाँ १५ दिनमै नेपाल–चीन सिमानामा चिनियाँ सेनाको गोलीबाट उनको निधन भयो। 

खम्पा–सिर्जित समस्याको परिणाम
बमप्रसाद काठमाडौँबाट पोखरा पुग्दा नेपाल र चीन दुवै राजनीतिक उथलपुथलबाट गुज्रिरहेका थिए। उनी पोखरामै रहेका बेला नेपालमा पहिलो आम निर्वाचन सम्पन्न भयो। दुई तिहाइ स्थानमा विजयी नेपाली कांग्रेसका नेता बीपी कोइराला प्रधानमन्त्री (२०१६ असार) बने। 

चीनले त्यसैताका तिब्बतमाथि नियन्त्रण कसिलो पार्न थाल्यो। चिनियाँ नियन्त्रण कसिलो हुँदै जाँदा त्यहाँका धार्मिक शासक दलाई लामाले तिब्बत छाडे, शरणका लागि भारत गए। उनको भारत पलायनसँगै हजारौँ तिब्बतीहरु शरणका लागि भारत प्रवेश गरे, कैयौँ नेपालतिर पनि आए। 

सुरुमा परराष्ट्र मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री बीपीले नै सम्हालेका थिए। उनी नेतृत्वको परराष्ट्र मन्त्रालयको ९ असोज (२०१६) को विज्ञप्ति अनुसार त्यतिन्जेलसम्म नेपाल प्रवेश गर्ने तिब्बती शरणार्थीहरुको संख्या १ हजार ४५ थियो। दुई महिनापछि मंसिर दोस्रो हप्तासम्म यो संख्या बढेर १ हजार ९ सय ८५ पुगिसकेको थियो। 

शरणका लागि आएका मध्ये कतिपय तिब्बती (खम्पा) हरु हातहतियारसहित नेपाल प्रवेश गरेका थिए। उनीहरुले चीनसँग सीमा जोडिएको नेपाली भूभागमा बसोबास थाले। अनुकूल मौका छोपेर यी सशस्त्र व्यक्तिहरु चीन (तिब्बत) प्रवेश गरी आक्रमण गर्थे। आक्रमण गरेर नेपालतर्फ आउने भएकाले चिनियाँ सेनाले उनीहरुलाई केही गर्न सक्दैनथ्यो। 

यस्तैमा प्रधानमन्त्री निर्वाचित भएको वर्षदिन नपुग्दै बीपी कोइरालाले फागुन–चैत (२०१६) मा चीनको भ्रमण गरे। लगत्तै चिनियाँ प्रधानमन्त्री चाउ एनलाइको पनि नेपाल भ्रमण (दोस्रो) भयो। कोइरालाको चीन भ्रमणका क्रममा दुवै मुलुकबीच वैज्ञानिक ढंगले सीमाङ्कन गर्ने सम्झौता ८ चैत २०१६ मा भयो। 

दुई मुलुकबीच सीमा विवाद भएकाले होइन, ‘परम्परागत सीमारेखा’ लाई वैज्ञानिक पद्धति अनुरुप रेखाङ्कन गर्न दुई मुलुकबीच त्यो सम्झौता भएको थियो। 

चीनको राजधानी पेकिङमा सीमा सन्धिमा हस्ताक्षर गर्दै प्रम बीपी कोइराला र चिनियाँ प्रम चाउ एनलाइ 

सम्झौताले परम्परागत सीमारेखाको दुवै मुलुकतर्फ २०–२० किलोमिटर क्षेत्र हतियार र सेनाबिनाको क्षेत्र (नो मिलिट्री ल्यान्ड) हुने व्यवस्था गरेको थियो। 

सम्झौताको धारा ४ मा भनिएको थियो, ‘सम्झौता गर्ने दुवै पक्ष निर्णय गर्दछन् कि सिमाना मित्रता तथा शान्तिपूर्ण स्थिरता निश्चित राख्न कुनै पक्षले पनि सिमानाको आफ्नो तर्फको २० किलोमिटर भित्रसम्मको इलाकामा प्रशासकीय कर्मचारीहरु र पुलिसहरुबाहेक हतियारबन्द व्यक्तिहरुलाई आइन्दा गस्तीमा पठाउने छैनन्।’ 

यो प्रावधान अनुसार परम्परागत सीमारेखाबाट २० किलोमिटर नेपालतर्फ नेपाली सेना रहन नपाउने भयो। चीनतर्फ पनि २० किलोमिटर चिनियाँ सैनिक नरहने भए। 

हतियारधारी सेनाको गतिविधिले सीमाङ्कन कार्यलाई असर गर्नसक्ने विश्लेषणका साथ सीमा सम्झौतामा यो प्रावधान राखिएको थियो। 

तर, चीनविरोधी सशस्त्र खम्पाहरुका लागि सम्झौताको यो प्रावधान ‘वरदान’ भयो। सशस्त्र खम्पाहरुले यो प्रावधानको दुरुपयोग गर्न थाले। दुवैतर्फको ‘नो मिलिट्री ल्यान्ड’ इलाकाको उपयोग गर्दै उनीहरुले चीनविरोधी गतिविधि गर्न थाले। 

उनीहरु सीमा नाघेर चिनियाँ क्षेत्रभित्र प्रवेश गर्थे, चिनियाँ सेनामाथि आक्रमण गर्थे र नेपाली सिमानाभित्र फर्कन्थे। नेपालतर्फको ‘नो मिलिट्री ल्यान्ड’ मा सेना नहुने भएकाले यो क्षेत्र उनीहरुका लागि ‘सेफ हेभन’ बन्यो। 

पटक–पटक यस्ता गतिविधि दोहोरिन थालेपछि २०१७ असारको दोस्रो साता चिनियाँ सेना नेपाल–चीन सीमानजिक आइपुग्यो। यसबारे चिनियाँ पक्षले नेपाली पक्षलाई १३ असारमा जानकारी दिएको थियो। १५ असार (२०१७) मा विज्ञप्ति जारी गरेर नेपालको परराष्ट्र मन्त्रालयले यसबारे जानकारी दिएको थियो। 

‘नेपाल–चीन सिमानाको चिनियाँ क्षेत्रमा केही तिब्बती विद्रोहीहरुले गोलमाल मच्चाएकोले तिनीहरुलाई दबाउन चीन सरकारले ती चिनियाँ क्षेत्रमा सशस्त्र चिनियाँ फौज पठाएको छ भनी श्री ५ को सरकारलाई खबर पठाएको छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको थियो, ‘चीन सरकारले श्री ५ को सरकारलाई यो आश्वासन दिएको छ कि उक्त विद्रोहीहरुलाई दबाउने कामको सिलसिलामा यस्ता विद्रोहीहरु भागी नेपालको सरहदभित्र पसे भने कुनै हालतमा पनि चिनियाँ फौजहरुले उक्त विद्रोहीहरुको पिछा गर्दै नेपाल–चीनको सिमाना नाघ्ने छैनन् र तिनीहरुलाई दबाउने काम सकिनासाथ सम्झौता अनुसार चिनियाँ फौजहरु नेपाल–चीन सिमानाको २० किलोमिटर बाहिर नै राखिनेछन्।’ 

मातृकाप्रसाद कोइराला प्रधानमन्त्री छँदा नेपालको उत्तरी सिमानामा भारतीय सैनिक चेकपोस्ट राख्ने अनुमति प्रदान गरिएको थियो। चीनको निगरानी गर्न स्थापना गरिएका यस्ता चेकपोस्टहरुको संख्या नेपालको पूर्वदेखि पश्चिमसम्म १८ वटा थिए। 

त्यसमध्ये एउटा चेकपोस्ट मुस्ताङमा पनि थियो। चिनियाँ सेना सीमाक्षेत्रमा छ्याप्छ्याप्ती भएको सूचना भारतीय चेकपोस्टले नेपाली पक्षलाई दियो। सरकारको दाबी अनुसार चाहिँ यसबारे मुस्ताङी राजाले नेपाल सरकारलाई जानकारी गराएका थिए। 

चिनियाँ सेना सिमानामा आएको जानकारी प्राप्त गरेपछि नेपाली सेनाले पनि सीमाक्षेत्रमा सैनिक दल पठाउने भयो। मुस्ताङमा पर्याप्त फौज थिएन। मुस्ताङ इलाका त्यो बेला पोखराको फूलबारीमा रहेको गणले हेथ्र्याे। सो गणका थप सैनिकहरु नेपाल–चीन सीमा क्षेत्रमा जाने भए। 

नेपाली सेनाका पूर्व सहायक रथी एवं सैनिक इतिहासकार डा. प्रेमसिंह बस्न्यातका अनुसार त्यो बेला बमप्रसाद महिन्द्र दल गणमा थिए। र, सो गणका गणपति गुण शमशेर राणाले उनलाई हिमाली राइफल कम्पनी सरह जिम्मेवारी सम्हाल्ने गरी १ नम्बर प्लाटुनका साथ मुस्ताङ पठाएका थिए। 

खासमा बमप्रसाद इन्फेन्ट्री (पैदल फौज) तर्फका सैनिक थिएनन्। उनी स्वास्थ्य क्षेत्र हेर्ने प्राविधिक फाँटका सैनिक थिए। पोखरास्थित पल्टनमै बमप्रसादको धेरै आवश्यकता भएकाले गणपति गुण शमशेर राणा बमप्रसादको साटो अर्कै व्यक्तिलाई मुस्ताङ पठाउन चाहन्थे। 

लीलादेवी बास्कोटा (फोटो : सीताराम बराल) 

तर, बमप्रसाद आफैँ मुस्ताङ जान चाहे। 

यहाँ गएर युद्ध लड्नुपर्ने थिएन। गर्मीयाम भएकाले चिसोले पिरोल्ने डर पनि थिएन। दुर्गम स्थान भएकाले तलब–भत्ता पनि बढी आउँथ्यो। 

त्यहीकारण मुस्ताङ जान रुचि राख्नेहरु धेरै भए। लीलादेवीका भनाइमा सोहीकारण मुस्ताङ जानेहरुको टोलीको छनोट चिठ्ठामार्फत् भएको थियो। 

‘चिठ्ठा हाल्दा पनि उहाँ (बमप्रसाद) छानिनुभयो, बोर्ड बैठकले पनि उहाँलाई नै पठाउने निर्णय गर्यो। मुस्ताङ जान पाउँदा उहाँ निकै खुसी हुनुहुन्थ्यो,’ त्यो बेला पोखरामै रहेकी लीलादेवीले सम्झिइन्, ‘६ महिनाभित्रै फर्किहाल्छु, नआत्तिनू भन्दै हाँसीखुसीका साथ उहाँ मुस्ताङतर्फ लाग्नुभयो।’  

बमप्रसाद जोमसोम पुगे। त्यहाँबाट बमप्रसादको नेतृत्वमा एउटा सानो टुकडी सीमाक्षेत्रतर्फ लाग्यो। 

बमप्रसादको टोली सीमाक्षेत्र पुग्दैगर्दा चीनले पठाएको पत्रको आधारमा परराष्ट्र मन्त्रालयले १५ असारको उपरोक्त विज्ञप्ति जारी गरेको थियो। सिमानामा चिनियाँ सेनाको आगमन र सो पत्रबारे ‘श्री ५ को सरकारले लेखापढी गर्दैछ’ भन्ने कुरा पनि परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा थियो।  

१५ असार दिउँसो काठमाडौँमा यस्तो विज्ञप्ति जारी भयो। तर, केही घण्टापछि नै अपरान्ह ५ बजे मुस्ताङको नेपाल–चीन सीमाक्षेत्रस्थित ‘छोटन मार्पाे’ मा उपरोक्त घटना हुनपुग्यो। 

अर्थात् चिनियाँ सेनाको गोली लागी सुबेदार बमप्रसाद मारिए। 

घोडामा सवार, मुटुमा गोली 
चिनियाँ सेनाबाट नेपाली सेनाका सुबेदार मारिएको विषयमा १८ असारमा तत्कालीन ‘महासभा’ मा गृहमन्त्री सूर्यप्रसाद उपाध्यायले विस्तृत विवरण दिएका थिए। अहिलेको ‘राष्ट्रिय सभा’ जस्तै उपल्लो सदनलाई त्यतिबेला ‘महासभा’ भनिन्थ्यो। 

गृहमन्त्री उपाध्यायले दिएको विवरण अनुसार, नेपाल–चीन सिमानापारि ठूलो संख्यामा चिनियाँ सैनिकहरुको जमघट देखिएको जानकारी मुस्ताङी राजाले श्री ५ को सरकारलाई गराएका थिए। त्यसपछि त्यहाँको वस्तुस्थितिबारे यथार्थ जानकारी गराउन नेपालबाट १५ असारमा सिमाना निरीक्षण गर्न नेपाली टोली गएको थियो। 

‘श्री ५ को सरकारको कर्मचारीहरुको दलमा १७ जना थिए, जसमा गाउँका मुखिया र भन्सारका कर्मचारी पनि थिए,’ गृहमन्त्री उपाध्यायले भनेका थिए, ‘त्यसैदिन थाहा भयो कि सिमानातिर नेपाली दल पुग्दा चिनियाँ सैनिकहरु नेपालको सिमानाभित्र पसी गोली चलाएछन्, जसबाट नेपाली दलका सुबेदार बमप्रसादको मृत्यु भयो।’ 

घटनामा नेपाली टोलीका एक जना गोलीले घाइते भए। अरु चाहिँ सकुशल रहे। नियन्त्रणमा रहेकामध्ये ६ जना केही समयपछि छाडिए। बाँकी १० जनालाई चीनले नेपाल सरकारलाई औपचारिक रुपमा हस्तान्तरण गर्यो। 

बमप्रसादका साथ सीमाक्षेत्र पुगेका सैनिकहरुलाई लीलादेवीले अर्काे वर्ष सिंहदरबारमा भेटेकी थिइन्। उनीहरुले लीलादेवीलाई घटनाबारे सुनाएका थिए। 

उनीहरुले दिएको सूचनाका आधारमा लीलादेवीले बताए अनुसार १७ सदस्यीय नेपाली टोलीको नेतृत्व बमप्रसाद नै गरेका थिए। सिमानातिर बढिरहेका बमप्रसाद घोडामा सवार थिए। 

यस्तैमा चिनियाँ सेनासँग बमप्रसादको टोलीको जम्काभेट भयो। उनीहरुले बमप्रसाद नेतृत्वको टोलीलाई खम्पा लडाकु ठाने। देख्नासाथ गोली चलाए। 

‘खम्पा ठानेर अकस्मात चिनियाँ सेनाले गोली चलाएछन्, गोली चल्न सुरु गरेपछि अरु चाहिँ भुइँमा सुतेछन्,’ लीलादेवीले भनिन्, ‘उहाँ (बमप्रसाद) घोडामा हुनुहुन्थ्यो। घोडामाथि भएकाले अरुजसरी सुरक्षित हुन सक्नु भएन। गोली मुटुमै लागेछ, मुटु नै छेडेपछि उहाँको चोला उडिहाल्यो। अरु चाहिँ भुइँमा सुतेकाले बाँचे।’ 

ती सैनिकहरुले बमप्रसादसँग रहेका सामानहरु फिर्ता ल्याइदिएका थिए। तिनमा घडी, कपडा लगायतका सामान थिए। 

आफ्नो व्यक्तित्वलाई अझ आकर्षक देखाउन हुनेखानेले सुनको दाँत लगाउने जमाना थियो त्यो। बमप्रसादले पनि एउटा सुनको दाँत हालेका थिए। 

उनी कपालमा तेल लगाउन छुटाउँदैनथे। मुस्ताङ जाँदा बोतलमा सुगन्धित तेल लिएर गएका रहेछन्। 

‘ती सिपाहीहरुले फिर्ता ल्याएका सामानमा तेलको बोतल पनि थियो, मुस्ताङ जाँदा रातो रङको तेल लिएर जानु भएको रहेछ,’ उनले सम्झिइन्, ‘त्यो बोतलको बिर्काेमा उहाँको एउटा कपाल अड्केको रहेछ। उनीहरुले फिर्ता ल्याइदिएको बोत्तलमा उहाँको कपाल थियो।’  

‘उहाँको चोला मुस्ताङमा उड्यो। मैले अन्तिम क्षणमा उहाँको अनुहार देख्न पाइनँ,’ उनले थपिन्, ‘उहाँको अनुहार देख्न नपाए पनि एक वर्षपछि उहाँको कपाललाई देख्न पाएँ। त्यसैलाई मैले उहाँको अनुहार ठानेँ।’ 

लीलादेवीका भनाइमा घटनामा घाइते हुनेमा बमप्रसादसँगै दोभाषेको रुपमा लगिएका स्थानीय मुस्ताङी थिए। 

घटनापछि चिनियाँ सेनाले बमप्रसादको मृत शरीर, नेपाली दलका बाँकी सदस्यहरु र उनीहरुको सामान नियन्त्रणमा लियो। ६ जना केही समयपछि छाडिए पनि बाँकी १० जना एक हप्ता चिनियाँ सेनाको नियन्त्रणमा रहे। 

पोखरामा रहेकी लीलादेवीलाई भने घटनाबारे २–३ दिनपछि मात्र जानकारी दिइयो। आफूले १५ दिनअघि विदाई गरेका पति मारिएको खबर सुन्नासाथ उनी बेहोस भइन्। 

घटनाबारे न्युयोर्क टाइम्सले दिएको समाचार (स्रोत : साम कोवान/द रेकर्ड नेपाल) 

१५ असार साँझ भएको घटनाबारे ‘अमेरिकाको ‘द न्युयोर्क टाइम्स’ ले भोलिपल्टको अंकमा समाचार प्रकासित गर्यो। विश्वका अन्य सञ्चारमाध्यमहरुले पनि प्रमुखताका साथ त्यो घटनाबारे समाचार प्रकाशन र प्रसारण गरे। 

जानकारहरुका भनाइमा सञ्चार र यातायातको कुनै सुविधा नभएको दुर्गम सीमा क्षेत्रमा भएको सो घटना तत्काल विश्वव्यापी हुनुमा मुस्ताङमा रहेको भारतीय सैनिक चेकपोस्टको भूमिका थियो। सञ्चारका साधनसहित भारतले मुस्ताङमा सैनिक चेकपोस्ट स्थापना गरेको थियो। 

‘बमप्रसाद राजा त्रिभुवन भन्दा पनि बढी चर्चित भइसके, उनलाई सारा विश्वले चिनिसक्यो, तिमी त्यस्तो विश्वचर्चित सैनिककी श्रीमती हौ,’ होस खुल्दा नजिकै रहेका गणपति गुण शमशेर राणा यिनै समाचारलाई आधार मानेर लीलादेवीलाई सम्झाइरहेका थिए, ‘यस्तो सैनिकको परिवार (श्रीमती) हुने भाग्य कमैलाई जुर्छ। यही कुरा सम्झेर चित्त बुझाऊ, नरोऊ। आफूलाई सम्हाल।’ 

एउटा छिमेकी देशको सेनाद्वारा अर्काे छिमेकी देशको सेना मारिनु निसन्देह गम्भीर घटना हो। यो घटनाले स्वाभाविक रुपमा नेपाल–चीन सम्बन्धमा तनाव सिर्जना गर्यो। 

यो घटनालाई आधार बनाएर भू–राजनीतिक शक्तिहरु स्वार्थको रोटी सेक्न उद्यत भए। यो घटनाको केही वर्षपछि मुस्ताङका विभिन्न स्थानमा अमेरिकी गुप्तचर संस्था ‘सीआईए’ को प्रायोजनमा खम्पाहरुको क्याम्प राख्न राजा महेन्द्रको स्वीकृति प्राप्त गर्नुमा सम्भवतः बमप्रसाद मारिएको ‘मुस्ताङ काण्ड’ लाई पनि आधार देखाइएको हुँदो हो। 

‘भू–राजनीति’ भनेको के हो, ८४ वर्षीया लीलादेवीलाई जानकारी छैन। तर, उनका पति बमप्रसाद मारिएपछि विकसित भू–राजनीतिक हलचलको हेक्का भने राम्रैसँग छ। 

‘जब उहाँ मुस्ताङमा मारिनुभयो, काठमाडौँमा ठूला–ठूला जुलुस निस्के, पोखरामा पनि जुलुस निस्केका थिए। ती जुलुसमा नेपालले चीनमाथि आक्रमण गर्नुपर्छ भन्ने नारा लाग्थे,’ उनी सम्झिन्छिन्, ‘अमेरिका चीनसँग नेपालको सम्बन्ध राम्रो भएको देख्न चाहँदैनथ्यो। नेपाल र चीन मिलेको भारतलाई पनि राम्रो लाग्दैनथ्यो। भारत र अमेरिकाको चाहना नेपाल–चीनमाथि लडाइँ होओस् भन्ने थियो।’

सत्तारुढ नेपाली कांग्रेसका कतिपय नेताहरु पनि परिस्थितिलाई उत्तेजित बनाउने प्रयासमा थिए।  

गृष्मबहादुर देवकोटाको ‘नेपालको राजनीतिक दर्पण (भाग २)’ मा उल्लेख भए अनुसार, मुस्ताङ घटनाको विरोधमा नेपाली कांग्रेसले १८ असारमा वसन्तपुरमा एउटा सभा आयोजना गर्यो, जहाँ पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइराला, कांग्रेस महामन्त्री श्रीभद्र शर्मा, कांग्रेस नेता विश्वबन्धु थापा लगायतका नेता वक्ताका रुपमा उपस्थित थिए। 

सभामा कांग्रेसका तीनै नेताको भाषण निकै उत्तेजक थियो। थापाले त चीनसँग लड्न भारत र अमेरिकाको सहयोग माग्नुपर्ने समेत बताएका थिए। 

‘हामी उपर कुनै ठूलो मुलुकले हमला गरे हामीले घबडाएर आत्तिनुपर्ने बेला छैन। हाम्रा लागि मद्दत दिने धेरै मित्रराष्ट्र छन्,’ कांग्रेस नेता थापाले भनेका थिए, ‘चीनसँग लड्न हामी भारत र अमेरिकासँग मद्दत माग्न सक्छौँ। विदेशी मद्दत माग्नुपर्ने परिस्थिति आए त्यसको दोषी कम्युनिस्टहरु हुनेछन्।’ 

कूटनीतिक कुशलताको परीक्षण 
अनुमान गरौँ, बमप्रसादको मृत्युलाई कारण देखाएर चीनविरुद्ध उत्तेजक गतिविधि गरिएको भए के हुन्थ्यो! गुप्त होस् वा पारदर्शी रुपमा– पक्कै पनि ती गतिविधिमा भारत–अमेरिकाको साथ–सहयोग रहन्थ्यो।  

अहिलेजस्तै ‘राष्ट्रवाद’ त्यो बेलापनि बिकाउ विषय थियो। कम्युनिस्टहरु ‘भारतविरोधी राष्ट्रवाद’ को आधारमा लोकप्रिय बन्दै थिए। दरबारले पनि जनसमर्थन हासिल गर्न यस्तै राष्ट्रवादको आड लिएको हो। 

चिनियाँ सेनाको गोलीबाट नेपाली सेनाका सदस्य मारिएको स्थितिमा चीनविरोधी राष्ट्रवादको आवरणमा उत्तेजक गतिविधिलाई प्रोत्साहन गर्दा बीपी पनि लोकप्रिय बन्न सक्थे। 

तर, बीपीले यो मार्ग अपनाएनन्। उनी नेपाल–चीन सुमधुर सम्बन्धका पक्षपाती थिए। भूराजनीतिक शक्तिहरुको उक्साहट नेपालको हितका लागि होइन, उनीहरुको स्वार्थका लागि हो भन्ने पक्कै उनलाई जानकारी थियो। 

त्यसैले, उनले यो विषयलाई नाराबाजीबाट होइन, कूटनीतिक वार्तालापको माध्यमबाट समाधान गर्न चाहे। 

यसका लागि उनले राष्ट्रहितलाई पहिलो प्राथमिकतामा राखे। 

बीपीले रोजेको यो मार्गमा चिनियाँ प्रधानमन्त्री चाउ एनलाइ सहयोगी र समझदार देखिए। भूगोल, अर्थतन्त्र र सैनिक शक्तिका दृष्टिले नेपाल चीनभन्दा कमजोर हो, थियो। तर, चिनियाँ प्रधानमन्त्रीले नेपाललाई समान सार्वभौमिकता भएको राष्ट्रका रुपमा व्यवहार गरे। चाउ एनलाइको यस्तो व्यवहार र मान्यताका कारण बमप्रसाद मारिएपछिको तनावपूर्ण स्थिति सहजै साम्य भयो। उनले नेपाललाई ‘अन्याय’ मा परेको कत्ति महसुस हुन दिएनन्।  

खासमा मुस्ताङ घटनाद्वारा सिर्जित तनावपूर्ण परिस्थिति बीपी र चाउ एनलाइको कूटनीतिक कुशलता परीक्षणको घडी थियो। दुवै पक्ष संयम नभएको भए तनाव बढ्न सक्थ्यो। नेपाल–चीनबीच बढ्दो तनाव बाह्य शक्तिहरुको हितमा हुने भएकाले उनीहरुले त्यसमा घिउ थप्न सक्थे। 

तर, बीपी र चाउ एनलाइले यो मामिलालाई कुशलतापूर्वक सम्हाले। त्यो कठिन परीक्षामा उनीहरु उत्तीर्ण भए।

मुस्ताङ–घटना सार्वजनिक भएको भोलिपल्टै (१६ असार) प्रधानमन्त्री कोइरालाले चिनियाँ समकक्षी चाउ एनलाइलाई विरोधपत्र पठाए। बीपीको पत्रमा नेपाली सीमाभित्र चिनियाँ सेनाको गोलीबाट नेपाली नागरिक मारिएको र अन्यलाई नियन्त्रणमा लिइएको उल्लेख गर्दै विरोध प्रकट गरिएको थियो। 

बीपीको पत्रको ‘रेस्पोन्स’ प्रधानमन्त्री चाउ एनलाइले भोलिपल्टै (१७ असार) गरे। चिनियाँ प्रधानमन्त्रीको पत्रमा सो घटनाबाट चीन सरकार निकै चिन्तित भएको उल्लेख थियो। र, भनिएको थियो, ‘यो दुर्भाग्यपूर्ण घटनाबारे स्थानीय अधिकारीहरुसँग सम्पर्क राखी विस्तृत विवरण बुझ्ने प्रयास हामी गर्दैछौँ।’ 

‘घटनाका सम्बन्धमा रिपोर्ट प्राप्त हुनासाथ श्री ५ को सरकारलाई तुरुन्त सूचित गरिनेछ, यदि महामहिम (प्रधानमन्त्री कोइराला) को पत्रमा उल्लेख भए अनुसार नेपाली नागरिक मारिएको उक्त दुर्भाग्यपूर्ण घटना साँचो हो भने चिनियाँ सरकारले गहिरो खेद प्रकट गर्नेछ। नेपाली नागरिकलाई साँच्चिकै थुनुवामा राखिएको हो भने उनीहरु निश्चय नै तुरुन्त मुक्त गरिनेछन्।’

तीन दिनपछि बीपीले चाउ एनलाइको अर्को पत्र प्राप्त गरे। २० असार (२०१७) को त्यो (दोस्रो) पत्रमा चिनियाँ सेनाको गोलीबाट नेपाली नागरिक मारिएको स्वीकार गरिएको थियो। 

चीन (तिब्बत) को अरि जिल्लाका सीमारक्षकहरुबाट प्राप्त जानकारीको हवाला दिँदै चिनियाँ प्रधानमन्त्रीले ‘चीनविरोधी लुटेरा’ ठान्दा सो घटना भएको उल्लेख गरेका थिए। यस मामिलामा आफ्नो (चिनियाँ) सेनाको तर्फबाट गम्भीर लापरबाही भएकोमा खेदका साथ नेपाल सरकारसँग क्षमायाचना समेत गरेका थिए। 

चिनियाँ प्रधानमन्त्रीको पत्रमा उल्लेख भए अनुसार, जुन २८ तारिखको दिन साँझ पौने पाँच बजे चीन–नेपाल सिमाना नजिकै चिनियाँ इलाकाभित्र तिब्बती विद्रोही लुटेराहरु दमन गर्न चिनियाँ जनमुक्ति सेनाको एक दलले कोर भन्ज्याङदेखि अन्दाजी एक किलोमिटर उत्तरपट्टि घोडचडीहरुको एक जमात आफूपट्टि आइरहेको देखेको थियो। चिनियाँ सेनाले तिनीहरुलाई ‘विद्रोही लुटेरा’ ठान्यो। त्यसपछि उनीहरुले गोली चलाए। गोलीबाट एकजनाको मृत्यु भयो। त्यसपछि एकजना घाइतेसहित १० जनालाई उनीहरुले पक्राउ गरे। 

‘त्यसपछि पत्ता लाग्यो कि तिनीहरु विद्रोही लुटेरा नभई नेपालीहरु रहेछन्,’ पत्रमा भनिएको थियो, ‘उपरोक्त विवरणबाट यो बुझिन्छ कि केवल गलत धारणाबाट हुन गएको यो एउटा दुर्भाग्यपूर्ण घटना थियो।’ 

‘यो अप्रत्याशित र दुर्भाग्यपूर्ण घटना चिनियाँ सेनाका निम्न दर्जाका केही व्यक्तिहरुको लापरबाहीको परिणाम थियो,’ प्रधानमन्त्री चाउ एनलाइको पत्रमा भनिएको थियो, ‘चिनियाँ सरकार यस घटनाप्रति गहिरो खेद प्रकट गर्दछ, श्री ५ को सरकार समक्ष क्षमायाचना गर्दछ र त्यस दुर्भाग्यपूर्ण मृत्युप्रति समवेदना प्रकट गर्दछ।’ 

चिनियाँ प्रधानमन्त्रीले घटनामा आफ्नो पक्षबाट गल्ती भएको स्वीकार गरिसकेका थिए। नेपालसँग माफीसमेत मागेका थिए। त्यसैले २४ असारमा बीपीले चिनियाँ समकक्षीलाई अर्काे पत्र पठाए, जसमा क्षतिपूर्तिवापत् ५० हजार रुपियाँ माग गरिएको थियो। 

यो मागको प्रत्युत्तर २९ असारको पत्रमार्फत् चिनियाँ प्रधानमन्त्रीले दिए। त्यो पत्रमा चिनियाँ प्रधानमन्त्रीले नेपालले माग गरेबमोजिमको रकम उपलब्ध गराउने वचनबद्धता प्रकट गरेका थिए। 

लगत्तै त्यसैदिन (२९ असार) बीपीले चाउ एनलाइलाई पत्र लेखे। त्यो पत्रको बेहोराले देखाउँछ, नेपालले माग गरे अनुसार क्षतिपूर्ति बापतको रकम चीनले नेपाललाई तत्काल उपलब्ध गराएको थियो। 

चीन भ्रमणको क्रममा चाउ एनलाइ र बीपी 

‘मुस्ताङ इलाकाको सीमा दुर्घटनाबाट हुन गएको भौतिक क्षतिको क्षतिपूर्तिस्वरुप हामी (नेपाल) ले माग गरेको रु. ५० हजार रकम जुन शीघ्रतासाथ चीन सरकारले चलान गर्यो, त्यसका लागि म महामहिम (चिनियाँ प्रधानमन्त्री चाउ एनलाइ) लाई धन्यवाद प्रकट गर्न चाहन्छु,’ बीपीले त्यो पत्रमा भनेका छन्, ‘हाम्रो दुई देशबीचको मैत्रीलाई कायम गर्न र अझ सुदृढ गर्न तपाईंको इच्छाको प्रमाणको रुपमा श्री ५ को सरकार क्षतिपूर्ति तिर्ने यस तत्परताको सराहना गर्दछ।’

चीनद्वारा माफी माग, तत्काल क्षतिपूर्ति प्रदान जस्ता घटनाले दुई मुलुकबीच विश्वासको वातावरण निर्माण भयो। बीपी र चाउ एनलाइको प्रबुद्ध व्यवहारका कारण दुई मुलुकबीचको सम्बन्ध पूर्ववत् सौहार्द्रतातिर फर्कियो।  

तर, यो कुरा कतिपय नेताहरुलाई मन परिरहेको थिएन। उनीहरु परिस्थिति उत्तेजक बन्दै गएको देख्न चाहन्थे। यस्तो चाहना राख्नेमा बीपीका दाजु मातृकाप्रसाद कोइराला पनि थिए। तिनै मातृका– जो प्रधानमन्त्री हुँदा २००९ मा चीनको निगरानी गर्न नेपालको उत्तरी सीमामा भारतीय सैनिक चेकपोस्ट राख्ने सहमति प्रदान गरिएको थियो। 

‘चाउ एनलाइको चिठीले सुबेदार मरेको काण्ड टुङ्गियो, तापनि यसले हामीलाई झन् अप्ठेरोमा पारेको छ,’ २९ असारको एउटा वक्तव्यमा पूर्वप्रधानमन्त्री मातृकाले भनेका थिए, ‘चाउ एनलाइको चिठीमा नयाँ सूत्रपातको संकेत पाइन्छ। इतिहास तथा घटनाक्रमले गर्दा हामी सशंकित हुनु परेको छ।’ 

त्यसक्रममा उनले आफू प्रधानमन्त्री हुँदा चीनले केआई सिंहलाई शरण दिएको भन्दै आक्रोश पोखेका थिए। उनले भनेका थिए, ‘म प्रधानमन्त्री छँदा नेपालका विद्रोही शरणार्थीलाई चीनले शरण दिएको मात्र होइन, नेपालको विरोधमा पेकिङ रेडियोमा बोल्न समेत दिएको थियो।’ 

यस्ता उत्तेजक अभिव्यक्ति र आशंकाहरुको जवाफ बीपीले १८ साउन (२०१७) मा संसदको बैठकमा दिए। ‘मुस्ताङ काण्डको अध्याय समाप्त भइसकेकोे छ, सधैँ त्यसैलाई कोट्याइरहनु हुँदैन,’ प्रधानमन्त्री कोइरालाले भनेका थिए, ‘चीनले भविष्यमा आक्रमण गर्ला भन्ने आशंकाको आधारमा परराष्ट्र नीति बनाउनु उचित हुँदैन।’ 

बीपी सही थिए। चीनले माफी मागेको र क्षतिपूर्तिसमेत प्रदान गरिसकेको थियो। अब पनि बमप्रसादको मृत्युलाई विवादको विषय बनाइरहँदा नेपालले प्राप्त गर्नसक्ने केही थिएन। 

बरु अब नेपालले गर्नुपर्ने भनेको बमप्रसाद मारिएको स्थान नेपाली सीमाभित्र पर्छ भनेर सिद्ध गर्नु थियो। किनकि बमप्रसादको मृत्युसँगै उनी मारिएको स्थानको विषयमा नेपाल र चीनबीच मतैक्य थिएन। नेपालको भनाइ त्यो नेपाली सीमाभित्र पर्छ भन्ने थियो भने चीनले आफ्नो सिमानाभित्र घटना भएको दाबी गरेको थियो। 

बीपी त्यो ठाउँ नेपाली सीमाभित्र पर्छ भन्ने साबित गर्नतिर लागे। 

बमप्रसादको सहादतले आर्जेको भूमि 
बमप्रसादको मृत्युमा चीनले माफी मागेपछि र ५० हजार रुपियाँ क्षतिपूर्ति दिएपछि यो विषय सहज रुपमा टुङ्गियो। तर, सँगसँगै अर्काे गम्भीर विषय सतहमा आयो। त्यो थियो– सीमा विवाद। 

त्यसअघि ‘छोटन मार्पाे’ भन्ने स्थान कतातिर पर्छ भन्ने विवाद नेपाल–चीनबीच थिएन। 

बेइजिङमा नेपाल–चीन सीमा सम्झौता भएसँगै दुवै मुलुकका अधिकारी सम्मिलित नेपाल–चीन सीमा कमिटी गठन भएको थियो। सीमा कमिटीले कार्य आरम्भ गरेपछि विवादित इलाकाको रुपमा सूचीकृत गरेका सीमाक्षेत्रमा किमाथांका र थुदाम (तत्कालीन धनकुटा), रसुवा इलाका र जुम्लाको नारा–नाग्ला मात्र थिए। 

तर, बमप्रसादको मृत्युसँगै उनी मारिएको स्थान पनि विवादित सीमाक्षेत्र बन्न पुग्यो। नेपाल चीन सीमा कमिटीको प्रतिवेदनमा भनिएको छ, ‘चिनियाँ सेनाको गोलीबाट बमप्रसादको मृत्यु भएपछि दुई सरकार (प्रधानमन्त्री) बीच भएको पत्राचारमा केवल मृतकको क्षतिपूर्ति मात्र उल्लेख थिएन, घटनास्थलको अधिकारको विषयमा पनि पत्र व्यवहार हुन गएको थियो।’ 

चाउ एनलाइले बीपीलाई २० असार (२०१७) मा लेखेको दोस्रो पत्रमा ‘भुलवश आफ्नो सेनाको तर्फबाट नेपाली नागरिकको मृत्यु भएकोमा क्षमा’ माग्दै ‘घटना भएको ठाउँ चिनियाँ भूभाग हो’ भन्ने दाबी गरिएको थियो। 

‘यो घटना मुस्ताङ इलाकामा होइन, कोरभन्ज्याङदेखि उत्तरपट्टिको ठाउँमा भएको थियो, यो साल मार्च (फागुन–चैत २०१६) महिनामा चीन र नेपालको बीच आदानप्रदान भएको मानचित्र अनुसार कोरभन्ज्याङ चीन र नेपालको परम्परागत सीमारेखाबाट उत्तरपट्टि पर्दछ,’ चिनियाँ प्रधानमन्त्रीले त्यो पत्रमा भनेका थिए, ‘त्यसकारण घटनास्थल स्पष्टतः चिनियाँ इलाकाभित्र पर्दछ र चिनियाँ सैनिकहरु नेपाली इलाकाभित्र प्रवेश गरेका छैनन्।’ 

चिनियाँ समकक्षीको यो दाबीलाई प्रधानमन्त्री कोइरालाले त्यसैदिन पठाएको पत्रमार्फत् अस्वीकार गरे। 

‘घटनास्थलबारे हामी दुईबीच मतान्तर देखिएको छ,’ उनले लेखेका थिए, ‘उक्त घटना नेपाली क्षेत्रमा घटेको भन्ने अडान बदल्ने श्री ५ को सरकारले कुनै कारण देखेको छैन।’ 

अर्थात् बमप्रसाद मारिएको स्थान नेपाली सीमाभित्रै पर्छ भन्ने दाबी बीपीले गरेका थिए। 

घटनाको झण्डै दुई महिनापछि १२ भदौ (२०१७) मा एक कार्यक्रममा कोइरालाले चिनियाँ प्रधानमन्त्रीको दाबी किन गलत छ भन्ने सविस्तार व्याख्या गरे। 

‘मुस्ताङ क्षेत्रमा ‘कोरला’ भन्ने स्थान छ, त्यो नेपाल सरहदभित्र पर्छ। कुनै नक्साहरुमा ‘कोरपास’ को पनि उल्लेख छ। तर त्यो चाहिँ तिब्बत (चीन) मा पर्दछ।’ बीपीको भनाइ थियो, ‘केही दिनअघि भएको अप्रिय सीमा घटना नेपाल–तिब्बत सीमाभन्दा ३१० गजयता घटेको हो, तर कोरलाको मतलब ‘कोरपास’ हुनसक्ने हुनाले यो सन्देह भएको हुनसक्छ। कोरला र कोरपासबीच ७ मिलको फासला (दुरी) छ।’

जे होस्, अब बमप्रसाद मारिएको स्थान पनि विवादित सीमास्थलको सूचीमा चढ्यो। २९ असारको अर्काे पत्रमार्फत् बीपीले यो विषयलाई ‘सीमा कमिटी’ मार्फत् टुङ्ग्याउन गरेको प्रस्तावलाई चिनियाँ प्रधानमन्त्रीले स्वीकार गरेका थिए।  

सीमाङ्कन नहुँदै बीपी १ पुस २०१७ मा राजा महेन्द्रद्वारा अपदस्थ गरिए। उनी प्रधानमन्त्री छँदा गठन भएको सीमा कमिटी चाहिँ यथावत रह्यो। कमिटीले सीमा निर्धारणको कामलाई निरन्तरता दिइरह्यो। 

तर, सीमा कमिटीलाई बमप्रसाद मारिएको ‘छोटन मार्पाे’ कसको सीमाक्षेत्रभित्र पर्छ भन्ने टुङ्ग्याउन हम्मे पर्यो। ‘नेपाल–चीन सीमा कमिटीको प्रतिवेदन’ का अनुसार, सगरमाथा शिखर सम्बन्धमा जस्तै ‘छोटन मार्पाे’ को अधिकारको विषयमा पनि कमिटीमा उत्तिकै लामो बहस भएको थियो। 

बेइजिङमा सम्पन्न सीमा कमिटीको दोस्रो अधिवेशन (५ माघ–४ फागुन २०१७) मा दुई मुलुकबीच त्यस्तो बहस भएको थियो। 

बमप्रसाद मारिएको स्थान ‘छोटन मार्पाे’ लाई आफ्नो सीमाभित्र पार्न दुवैले प्रतिष्ठाको विषय बनाए। यो स्वाभाविक पनि थियो। 

किनकि, त्यो स्थान नेपालभित्र परे बमप्रसाद मारिएको घटनामा चीनको गल्ती देखिन्थ्यो, चिनियाँ सेना सीमा अतिक्रमण गरेर नेपालतर्फ प्रवेश गरेको पुष्टि हुन्थ्यो। चीनतर्फ परे गल्ती नेपाली पक्षको देखिन्थ्यो, नेपाली सैन्य दलले सीमा अतिक्रमण गरेकाले घटना भएको रहेछ भन्ने सन्देश जान्थ्यो। 

नेपाल–चीन सीमाको २४ नं नक्सा, नक्सामा देखिने २२ र २३ नं सीमास्तम्भभन्दा केही तल बमप्रसाद मारिएका थिए 

त्यसैले, सीमा कमिटीको दोस्रो अधिवेशनमा ‘छोटन मार्पाे’ को विषयमा लामो बहस भयो। तर, यो विषय टुङ्गिएन। परिणाम, सीमाक्षेत्रमै ‘संयुक्त सर्वे दल’ पठाएर यो विषय टुङ्ग्याउने निर्णयमा दुवै पक्षले गरे।   

‘फिल्ड’ मै जाने भएपछि दुवै पक्ष लचिलो बने। दुवै पक्ष आ–आफ्नो अडानबाट पछि हटे। त्यसक्रममा सीमाङ्कन सुरुवातका लागि चिनियाँ पक्षले उत्तरतर्फको विन्दु छनोट गर्यो, नेपालले दक्षिणतर्फको विन्दु रोज्यो। 

चिनियाँ प्रस्ताव अनुसार उत्तरतर्फको ‘कोल्हो’ र नेपालको प्रस्ताव अनुसार दक्षिणतर्फको ‘घ्युटु’ भन्ने स्थानलाई विन्दु बनाएर त्यो क्षेत्रको रेखाङ्कन (सीमाङ्कन) सुरु भयो। 

‘संयुक्त दलले प्रस्तुत गरेको यो रेखाङ्कन आपसी हित र सल्लाहको भावनामा निश्चित गरिएको थियो,’ सीमा कमिटीको प्रतिवेदन भन्छ, ‘यस अनुसार सुबेदार बमप्रसाद मारिएको स्थल ‘छोटन मार्पाे’ भन्ने स्थल नेपाली इलाकाभित्र पर्न गएको छ।’ 

सीमाङ्कनका क्रममा दुई मुलुकले आ–आफ्नो जमिन सट्टापट्टा गरेका थिए। त्यसक्रममा मुस्ताङ इलाकाको जमिन पनि सट्टापट्टा भयो। 

नापी विभागका पूर्व महानिर्देशक एवं सीमाविद् बुद्धिनारायण श्रेष्ठको विसं २०५७ को मदन पुरस्कार प्राप्त पुस्तक ‘नेपालको सिमाना’ मा उल्लेख भए अनुसार, सट्टापट्टाका क्रममा नेपालबाट १०८ वर्गकिमि जमिन चीनतर्फ गएको थियो। चीनबाट नेपालतर्फ ३५२.५० वर्गकिमि आएको थियो। 

अर्थात् आफूले गुमाएभन्दा दोब्बर बढी जमिन नेपालले चीनबाट प्राप्त गर्यो। निस्सन्देह त्यसमा बमप्रसादको सहादतस्थल ‘छोटन मार्पाे’ पनि थियो। 

‘चिनियाँ सेनाको गोलीबाट नेपाली सेनाका सुबेदार मारिएका थिए,’ सीमाविद् श्रेष्ठले भने, ‘यत्ति मात्र भनौँ, नेपाली मारिएको घटना भएकाले त्यो ठाउँ नेपाली सीमाभित्र पर्यो। यसमा चीनले पनि सहमति जनायो।’ 

निश्चय पनि बमप्रसाद लडाइँ लड्न नेपाल–चीन सीमाक्षेत्र गएका थिएनन्। दुर्भाग्यपूर्ण घटनामा उनको मृत्यु हुनपुग्यो। 

तर, सीमामा बगेको उनको रगत खेर गएन। बमप्रसादको रगतको जगमा मुस्ताङमा नेपालले ठूलो क्षेत्रफल जमिन प्राप्त गर्यो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .