म्यागेजिन


नेपाली सेनाका यी अधिकृत, जसले ११ वर्षपछि विश्वप्रसिद्ध सम्मान नेपाल भित्र्याए

नेपाली सेनाका यी अधिकृत, जसले ११ वर्षपछि विश्वप्रसिद्ध सम्मान नेपाल भित्र्याए

यज्ञराज जोशी
मंसिर ३०, २०७७ मंगलबार ९:५४,

सन् २००९ मा नेपाली सेनाका सञ्जीव कार्कीले बेलायतको विश्वप्रसिद्ध रोयल मिलिट्री एकेडेमीबाट सर्वोत्कृष्ट घोषित हुँदै ‘इन्टरनेसनल सोर्ड अफ अनर’ अवार्ड जितेका थिए।

त्यसयता यस एकेडेमीमा प्रत्येक वर्ष नेपाली सैनिक अधिकृत पुगेपनि त्यो अवार्ड भने जित्न सकेका थिएनन्। कारण यो अवार्ड जित्न सजिलो छैन। सन् १९४७ देखि अन्तर्राष्ट्रिय सैनिकहरुलाई तालिम दिँदै आएको एकेडेमीमा प्रत्येक वर्ष सबैलाई पछि पार्नसक्ने सर्वोत्कृष्ट सैनिकले यो अवार्ड पाउँछन्।

तर, नेपाली सेनाका लेफ्टिनेन्ट २१ वर्षीय पिटर थापाले गत शुक्रबार सो अवार्ड जिते।

‘आफ्नो देशलाई प्रतिनिधित्व गरेर म यहाँ आउन पाउनु नै ठूलो कुरो हो। अवार्ड नै जितेपछि बोनस भयो,’ थापाले नेपालखबरसँग भने, ‘त्यसमाथि ११ वर्षको अन्तरालपछि पुनः अवार्ड नेपाल फर्काउँन पाउँदा खुसी दोब्बर भएको छ। यसले पुनः एकपटक नेपाल आर्मी कुनै आर्मीभन्दा कम छैन भन्ने प्रमाणित गरेको छ।’

Peter Thapa 3

थापाले तालिममा सहभागी २४४ सैनिकलाई पछि पार्दै उक्त अवार्ड पुनः नेपाल भित्र्याएका हुन्। जसमा विभिन्न १९ देशका ३६ अन्तर्राष्ट्रियसहित बाँकी बेलायतका सैनिक अधिकृतहरु थिए।

कमिसनिङ कोर्स भनिने तालिम समापन क्रममा बेलायती महारानीको प्रतिनिधित्व गर्दै जर्नेल सर प्याट्रिक स्यान्डर्सले थापालाई उक्त अवार्ड प्रदान गरेका थिए। तालिममा सर्वोत्कृष्ट भएका थापाले अब ब्रिटिस अफिसर क्याडेटलाई तालिम समेत दिन पनि पाउनेछन्।

उक्त कोर्षमा अमेरिका, यूएई, जर्जिया, पाकिस्तान, उरुग्वे, कतार, मलेसिया, सिरिया, इराक, बहराइन, युक्रेन, केन्या, हंगेरी लगायत देशका सैनिक अधिकारीहरु सामेल थिए। उनीहरुलाई पछि पार्दै २ वर्षअघि मात्रै नेपाली सेनामा आवद्ध भएका थापाले अवार्ड हात पारेका हुन्।

‘विभिन्न देशका एकसेएक सैनिकहरुलाई पछि पार्दै अवार्ड जित्नु एकदमै गाह्रो थियो। एउटा सानो गल्तीले अगाडि बढ्ने बाटो रोकिन्छ। प्रत्येक पाइलामा एकदमै सही निर्णय लिएर अघि बढ्नुपर्छ,’ थापाले तालिम अवधिको चुनौती सुनाए, ‘आफूमाथि आएको जिम्मेवारी सुझबुझपूर्ण तरिकाले पुरा गरेको कारण नै सफलता हात परेको हो।’

Peter Thapa 2

धादिङ त्रिपुरासुन्दरी नगरपालिकाका थापा आफ्नै रहरले सेनामा भर्ती भएका हुन्। बुबाले पनि आफूलाई सेनामा भर्ती हुन उत्साहित पारेको उनी बताउँछन्।

‘मेरो परिवारका लगभग सबै विदेश छन्। बुबा पनि विदेश गएर आउनुभएको हो,’ थापाले भने, ‘बुबाले आफू विदेश बसेको र मैले देशमै रहेर सेवा गर्नुपर्छ भनेर हौस्याउनुभयो। मैले पनि देशका लागि सेवा गर्ने आर्मीभन्दा अरु माध्यम हुनसक्दैन भनेर यही रोजेँ।’

थापा २०७५ सालमा नेपाली सेनामा भर्ती भएका हुन्। पहिलो प्रयासमै उनी आर्मी अधिकृत क्याडेट पदमा छनोट भएका थिए। १८ महिने तालिममा लिखित, मौखिक, शारीरिक, नक्सा पढ्ने लगायत सम्पूर्ण परीक्षामा उत्कृष्ट अंक हासिल गरेपछि उनी बेलायतमा तालिम लिन योग्य ठहरिएका हुन्।

Peter Thapa 4

बेलायतको थप सैनिक कोर्सपछि आफ्नो क्षमता अभिवृद्धि गर्नुका साथै बेलायती सेनाको कार्यशैली र रणनीतिहरुबारे जानकारी हासिल भएको उनले बताए।

‘बेलायतको तालिमले मलाई आफ्नो क्षमता अभिवृद्धिका साथै यहाँको सेनाको कार्यशैली र रणनीति बुझ्ने मौका पनि मिलेको छ,’ थापाले भने, ‘नेपाल फर्केपछि यहाँ सिकेको ज्ञान सबैलाई बाँड्नेछु। जसले नेपाली सेनालाई देश र जनताको रक्षार्थ थप जिम्मेवार बन्न सहयोग पुग्ने विश्वास लिएको छु।’

तालिमको अवधिमा आफूले विदेशी सेनाभन्दा नेपाली सेनामा किट इक्विपमेन्टदेखि कार्यकौशलमा केही भिन्नता देखेपनि नेपाली सेना विस्तारै यी कुरामा अघि बढेको उनले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .