असनस्थित अन्नपूर्ण नारायण मन्दिरमा पुजारी नियुक्त भएपछि सहनशीला शर्मा झा अत्यन्त खुसी भएकी थिइन्। यसरी औपचारिक रुपमा पुजारी नियुक्त हुने सम्भवतः पहिलो महिला भएकाले उनलाई आफूमाथि गर्व लागेको थियो।
त्यसैले नियुक्तिलगत्तै बिहीबार उनले सामाजिक सञ्जालमार्फत खुसी बाँडिन्।
‘महिलालाई पुजारी नियुक्ति गर्ने नियम गुठी संस्थानमा रहेनछ। मैले पनि महिला पुजारी हुन मिल्दैन भन्ने जवाफ पाएँ तर पनि प्रयास गरिरहेँ र आज नियुक्ति पाएँ,’ उनले फेसबुकमा लेखेकी थिइन्, ‘पूजाआजाको अधिकार छोरालाई मात्र दिइन्थ्यो। आज मैले यो परम्परालाई जितेँ। मेरा पुर्खा पक्कै पनि खुसी छन् होला। सायद म नेपालकै प्रथम महिला पुजारी नियुक्ति भएको हो कि?’
तर, चौबीस घण्टा नबित्दै उनी यो पोस्ट हटाउन बाध्य भइन्। कारण नितान्त व्यक्तिगत विषयलाई लिएर उनीमाथि गरिएको आक्रमण।
सहनशीला पुजारी बनेलगत्तै उनलाई बधाई आउन थाले, सञ्चारमाध्यमले खबर छाप्न थाले। तर, थुप्रै मान्छेहरु भने उनको जीवनशैलीलाई लिएर लाञ्छना लगाउन र गालीबेइज्जत गर्नतिर लागे।
काठमाडौंमा हुर्केबढेकी सहनशीलाले पत्रकारितामार्फत आफ्नो करिअर सुरु गरेकी थिइन्। उनी अहिले आफ्नै इन्स्टिच्युट चलाइरहेकी छन्। स्वभाविक रुपमा उनले रेस्टुराँमा बसेर खानपिन गरेकी छन्, देशपरदेश घुमेकी छन्। तिनै फोटो उधिनेर मानिसहरु अहिले उनलाई गाली गरिरहेका छन्। धर्म मास्न खोजेको आरोप लगाइरहेका छन्। यसबाट सहनशीला निराश बनेकी छन्। उनले खुसी साट्न लेखेको स्टाटस पनि डिलिट गरेकी छन्।
‘जहिले पनि छोरातर्फ सर्ने अधिकार मैले पाएँ भनेर खुसी सेयर गर्न खोजेकी थिएँ,’ शुक्रबार कुपण्डोलस्थित उनकै कार्यालयमा सहनशीलाले नेपालखबरसँग भनिन्, ‘मान्छेहरुले गुठी संस्थानले पुजारी पदमा राख्यो भनेपछि एकदमै नराम्रो कमेन्ट गरे। आधुनिक मान्छे पुजारी हुनै सक्दैन?’
मानिसले यस विषय एकदमै साँघुरो सोच राखेको उनको भनाइ छ।
‘पुजारी भएपछि रातो साडी लाउनुपर्ने, माला जप्नुपर्ने भन्ने खालको उनीहरुको सोच देखियो,’ उनले भनिन्, ‘व्यक्तिगत र पेसागत जीवन अलग हो भन्ने पनि थाहा छैन। तर, म ती कुरालाई वास्ता नगरी आफ्नो कर्म गर्छु।’
***
अन्नपूर्ण नारायण मन्दिरमा सहनशीलाका पुर्खाले पुस्तौँअघि मूर्ति स्थापना गरेर पूजा गर्दै आएका छन्। दैनिक पूजापाठ गर्ने पुजारी भने भिन्न हुन्छन्। वर्षमा तीनपटक झा परिवारले मन्दिरमा पूजा गर्दै आएका हुन्। त्यसका लागि गुठी संस्थानले परिवारको एकजना पुरुषलाई पुजारी नियुक्ति गर्ने चलन छ।
यसरी नियुक्त भएका झा परिवारको पुजारीले प्रत्येक कृष्णअष्टमीका दिन मन्दिरबाट कृष्ण भगवानलाई घरमा लिएर जान्छन्, सजाउँछन्, नयाँ जामा लगाउँछन् र मन्दिरमा ल्याएर स्थापना गर्छन्। सुरुमा झा परिवारले पूजा गरेपछि बल्ल टोलबासीको पूजाको पालो आउँछ।
यस्तै दशैँको नवमीको दिनमा अन्नपूर्ण मन्दिरमा झा पारिवारले पूजा गर्छन्। दशैँको एकादशीको दिन मन्दिरमा कृष्ण भगवान भएको एकतलामाथि (असनको थला)मा झा परिवारले पाँच जना कुमारीको पूजा पनि गर्छन्।
सहनशीलाका अनुसार यही तीन पूजाका लागि झा परिवारलाई गुठी संस्थानले वार्षिक हजार, बाह्र सय रुपैयाँ पारिश्रमिक समेत दिने गरेको छ।
सहनशीलाका बुबा बितेपछि उनका भाइ प्रमोदको नाममा पुजारीको नियुक्ति पत्र थियो। एक दशकअघि प्रमोद पढ्न लण्डन गए। अहिले उनको बसोबास उतै।
यसबीच सहनशीलासँगै झा परिवारले प्रत्येक वर्ष तीनपटक परम्परागत ढंगले पूजा त गर्थे। तर, गुठी संस्थानले उनको परिवारको एक सदस्यलाई पुजारीको नियुक्ति दिने कुरा उनलाई थाहा थिएन।
गत चैतमा लकडाउन सुरु भएपछि एक आफन्तले सहनशीलाई यो कुरा बताइन्। त्यसपछि उनी गुठीमा पुगेर यसबारे विस्तृतमा बुझिन्।
पुजारीको नियुक्ति पत्र प्रमोदकै नाममा रहेको पत्ता लाग्यो।
‘तर, यो बीचमा हामीले निरन्तर पूजा गरिरहेका थियौँ। पुजारी पदवी लिएका भाइ लन्डनमा थिए। त्यो पद मैले किन नपाउने भनेर प्रस्ताव राखेँ,’ सहनशीलाले भनिन्, ‘महिलालाई दिन नहुने कानुनी प्रावधान पनि छैन भनेपछि गुठी संस्थानका मान्छेले छलफल गर्ने बताए।’
केही दिनमा गुठी संस्थानले सहनशीलालाई पुनः बोलायो र पूजा गरिराखेको प्रमाण वडा कार्यालयबाट ल्याउन भन्यो। सहनशीलाले भाइसँग कुरा गरिन्। प्रमोदले पनि दिदीलाई पुजारी नियुक्त गर्न मन्जुरीनामा दिए।
भाइको मन्जुरीनामासहित सम्पूर्ण विवरण बुझाएपछि वडाले सिफारिस पत्र बनाइदियो। त्यसपछि गुठी संस्थानले उनलाई पुजारीमा नियुक्त गरेको हो।
‘महिला पुजारी नियुक्ति गर्न मिल्ने कि नमिल्ने भन्नेबारे औपचारिक, अनौपचारिक रुपमा उहाँहरुसँग थुप्रै छलफल भएको हो,’ सहनशीला भन्छिन्, ‘मैले यसअघि पनि पूजा गरिरहेकी थिएँ। औपचारिक नियुक्ति पत्रमा मात्रै पुरुषको नाममा थियो। नियुक्तिपछि पनि पहिले गरिरहेको कामलाई नै निरन्तरता दिने हो भनेपछि उहाँहरु कन्भिन्स हुनुभयो।’
सहनशीलाले पाएको पुजारीको नियुक्ति उनीहरुको परिवारले पर्वहरुमा गर्दै आएको पूजाको निरन्तरता मात्रै हो। भाइ विदेशिएपछि ८२ वर्षीया आमासँगै सहनशीलाले यो परम्परा धान्दै आएकी थिइन्। बिहीबार भने उनले पुजारीको औपचारिकता पनि लिइन्।
सहनशीला आफू धर्ममा आस्था राख्ने तर अन्धविश्वास चाहिँ नमान्ने बताउँछिन्। धर्मकर्म गर्ने परिवारमा जन्मेकाले पहिलेदेखि नै सहनशीलालाई मन्दिरमा गर्ने पूजाआजा विधि राम्ररी थाहा छ।
तर, बिहीबार उनले पुजारीको नियुक्ति पाएको खबर सार्वजनिक भएपछि सामाज तरंगित भएको छ। यसलाई उनले एउटी महिला माथि जान लागी भनेर केहीमा ईर्ष्या देखिएको भनेर अर्थ्याइन्।
‘केही मानिसहरुले गलत सोच राख्नुभयो। कति मान्छेहरुलाई महिला किन माथि जाने भन्ने खालको सोच हुन्छ। उहाँहरुको नजरमा सारी पछ्यौरी लगाएको मात्रै महिला हुन्छ,’ उनले भनिन्, ‘मैले विगतदेखि नै गर्दै आएको काम भएकाले यसलाई असहज रुपमा लिनुपर्ने केही लाग्दैन। तर केहीमा ईर्ष्या देखियो।’
सधैँभरि पुरुष नै हुने ठाउँमा महिलाले नियुक्ति पाउँदा नकारात्मक टिप्पणी आएको उनको बुझाइ छ। समाजमा परिवर्तन आउन अझै केही समय लाग्ने उनी बताउँछिन्।
‘अहिले जुनस्तरसम्मको प्रतिक्रिया पाएँ, त्यसलाई हेर्दा परिवर्तन हुन समय लाग्ने देखिन्छ। एक किसिमको निराशा नै छाएको छ,’ उनले भनिन्, ‘मैले सुरुवात गरेँ तर सपोर्ट गर्नेहरु एकदमै कम भए। विरोध गर्नेहरुको जमात ठूलो छ। महिलाले काम गर्न खोज्दा यो हुँदैन त्यो हुँदैन नभन्नुस् बरु सहयोग गरिदिनुस् भन्न चाहन्छु।’
प्रतिक्रिया