हङकङमा हालै मात्र दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट फेला परेको छ। केही दिनअघि भल्भ भएको मास्कको कारण संक्रमण सरेको पाइएका व्यक्तिमा यो भेरियन्ट देखिएको हो।
साउथ चाइना मर्निङ पोस्टका अनुसार पहिलोपटक हङकङमा यो संक्रमण देखिएको हो। बिहीबार हङकङको स्वास्थ्य विभागले संक्रमितको जिनोम सिक्वेन्सिङ गर्दा नयाँ भेरियन्ट पुष्टि भएको हो।
यो भेरियन्ट सबैभन्दा धेरै उत्परिवर्तित (म्युटेट) भएको बताइएको छ। विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्टलाई ‘न्यु’ नाम दिन सक्ने अनुमान छ। अहिलेसम्म विश्वभर यो भेरियन्ट नौ जना मानिसमा देखिएको छ। जसमध्ये ६ जना दक्षिण अफ्रिका र तीनजना बोत्स्वानामा नागरिक छन्।
अहिलेसम्म यो भेरियन्टबारे स्पष्ट जानकारी आइसकेको छैन। तर, यो भाइरस सबैभन्दा धेरै उत्परिवर्तित भएकाले धेरै संक्रामक पनि हुन सक्ने वैज्ञानिकहरुले आशंका व्यक्त गरेका छन्।
अहिले भेटिएको नयाँ भेरियन्टमा कोरोना भाइरसमा ३२ प्रोटिन म्युटेसन देखिएको छ। जबकी यसअघिको सबैभन्दा संक्रामक मानिएको डेल्टा भेरियन्टमा १३ देखि १७ प्रोटिन म्युटेसन मात्र देखिएको थियो।
Shares
प्रतिक्रिया