हङकङमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमणको कारण अस्पतालमा भर्ना हुने बालबालिकाको मृत्युदर इन्फ्लुएन्जाको तुलनामा सात गुणा रहेको पाइएको छ। हङकङ युनिभर्सिटीले गरेको एक अध्ययनको क्रममा १५ प्रतिशत बालबालिकामा स्नायु प्रणालीसम्बन्धी जटिलता देखिएको थियो।
११ वर्ष वा त्योभन्दा कम उमेरका बालबालिकामा फेब्रुअरी ५ देखि २८ को बीचमा उक्त अध्ययन गरिएको थियो। अध्ययनमा ओमिक्रोनको बीए.२ सब भेरियन्टसहितको संक्रमण देखिएका बालबालिकामा मृत्युदर इन्फ्लुएन्जाको तुलनामा ७ गुणा बढी देखिएको थियो।
यद्यपि अहिलेसम्म हङकङमा कोरेना भाइरसको वास्तविक भेरियन्ट अर्थात अल्फा भरियन्टको संक्रमणबाट कुनै पनि बालबालिकाको मृत्यु भएको छैन। पछिल्लो समय ओमिक्रोन भेरियन्टको बीए.२ सब भेरियन्ट ८६ प्रतिशत नयाँ संक्रमितहरुमा देखिन थालेको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ।
विशेषज्ञहरुले ओमिक्रोनको बीए.२ सब भेरियन्ट धेरै गम्भीर देखिएको उल्लेख गरेका छन्। हङकङ युनिभर्सिटीको अध्ययनका अनुसार ओमिक्रोनको बीए.२ सब भेरियन्टको कारण अस्पताल भर्ना भएका बालबालिकाको मृत्युदर ०.३५ प्रतिशत छ। विशेषज्ञहरु भने यो दर वास्तविक दरभन्दा धेरै रहेको बताउँछन्।
सामान्य लक्षण भएका मानिसलाई अभिभावकले घरमा नै उपचार गराउने हुँदा संक्रमितको संख्या धेरै हुन सक्ने उनीहरुको भनाइ छ।
हङकङको आधिकारिक तथ्यांकअनुसार अध्ययनको अवधिमा बालबालिकाको मृत्युदर ०.०२ प्रतिशत थियो।
यो तथ्यांकमा भने अस्पताल भर्ना नभएका बालबालिकाको संख्या पनि समावेश छ।
Shares

प्रतिक्रिया