कोभिड–१९ को महामारीसँगै अहिले हङकङमा स्वास्थ्य क्षेत्रबाट निस्किने फोहोर चुनौतीको रुपमा देखापरेको छ।
हङकङको मेडिकल क्षेत्रको फोहोर व्यवस्थापनको लागि तोकिएको एकमात्र क्षेत्रले अब धान्न नसक्ने भएको छ। दुई वर्षअघिको तुलनामा हङकङमा स्वास्थ्य क्षेत्रको फोहोर करिब ६ गुणाले बढेको छ।
मार्च १९ देखि २३ सम्ममा हङकङमा प्रतिदिन ४८.७ टन मेडिकल फोहोर निस्किएको थियो। सन् २०१९ को तुलनामा यो संख्या ५.६ गुणाले धेरै हो।
सन् २०१९ को सोही अवधिमा हङकङमा ८.७ टन मेडिकल फोहोर निस्किएको थियो। गत वर्षकै तुलनामा पनि अहिलेको फोहोर चारगुणा धेरै हो। गत वर्षको सोही अवधिमा हङकङमा साढे १२ टन फोहोर निस्किएको थियो। कोभिड–१९ को पाँचौं लहरसँगै उल्लेख्य मात्रामा हङकङमा मेडिकल फोहोर बढेको हो।
स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै मेडिकल फोहोर पुनः प्रयोग गरिँदैन। यसलाई प्रशोधन गरेर सुरक्षित स्थानमा गाड्नुपर्छ।
यस्तोमा हङकङको क्वाई चुङमा मेडिकल फोहोर विसर्जनको क्षमता दैनिक २० देखि २४ टन मात्र छ। अहिले वैकल्पिक स्थानमा केही मात्रामा फोहोर विसर्जन गरिँदै आएको छ।
तर, बढ्दो मेडिकल फोहोरले अर्को स्वास्थ्य संकट निम्त्याउन सक्ने वातावरणविद्हरुले बताउँदै आएका छन्।
Shares

प्रतिक्रिया